• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, September 13, 2009

    जापानमा वार्षिक पाँचसय नेपाली कामदारको सम्भावना


    काठमाडौं, भदौ २७  नेपालबाट वार्षिक पाँचसय औद्योगिक प्रशिक्षार्थी कामदारले जापानमा गएर शीप सिक्ने संभावना छ। हालै जापान भ्रमणबाट फर्केको नेपाल उद्योग बाणिज्य महासंघको टोलीले विगतमा गएका प्रशिक्षार्थी कामदारबाट जापानका उद्योगी प्रेरित भएको जनाएको छ। 
    'विगतमा गएका ६ जना नेपाली प्रशिक्षार्थी कामदारबाट जापानी निकै प्रभावित छन्, नेपालबाट ठूलो संख्यामा प्रशिक्षार्थी कामदारहरु पठाउन सकिने आधार बनेको छ,' महासंघका अध्यक्ष कुशकुमार जोशीले भने। 
    जापानमा नेपाली प्रशिक्षार्थी कामदार लिने जिट्कोले बेरोजगारलाई नभै बिभिन्न औद्योगिक प्रतिष्ठानमा कम्तिमा दुई वर्षदेखि निरन्तर काम गरिरहेकालाई शीपमुलक व्यबसायीक तालिम दिने भएको छ। 'त्यहाँ तीन वर्षसम्म रहेर शीप सिकिसकेपछि नेपाल फर्किएर यहाँको औद्योगिक विकासमा योगदान दिने यो कार्यक्रमको उद्वेश्य हो,' जोशीले भने। 
    औद्योगिक प्रशिक्षार्थी कामदार वार्षिक पाँचसय जना छनौट गरेर पठाउन सकिने उनले वताए। कम्तिमा एसएलसी उत्तिर्ण गरेको र कम्तिमा २० वर्ष उमेर पुगेर ३० वर्ष नकटेका व्यक्ति प्रशिक्षार्थी कामदारका रुपमा जान सक्ने प्रावधान छ। 
    प्रशिक्षार्थी कामदारका रुपमा जान प्रतिव्यक्ति २० हजार रुपैयाँ मात्र शुल्क महासंघले लिन्छ। उनीहरु त्यहाँ तीन वर्षे प्रशिक्षार्थी अवधि पुरा भएपछि नेपाल फर्केर यहाँको उद्योगधन्दामा शीप प्रयोग गर्नुपर्ने हुन्छ। 
    प्रशिक्षार्थी कामदार छनौट र पठाउने विषयमा विगतमा महासंघ र बैदेशिक रोजगार व्यबसायी संघ बीचमा विवाद देखिएको थियो। यसपटक भने दुबै संस्थाका अध्यक्षले एक मञ्चबाट जिट्कोको निर्देशिका अनुसारै उद्योगमा काम गरेका कामदार पठाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 
    'जिट्कोको जुन नीति छ त्यसै अनुसार रहेर बैदेशिक रोजगार व्यबसायीले प्रशिक्षार्थी कामदार पठाउनेछन्,' बैदेशिक रोजगार व्यबसायी संघका अध्यक्ष तिलकबहादुर रानाभाटले भने। जिट्कोसँग सम्झौता भएको पाँच वर्षसम्म पनि महासंघले प्रशिक्षार्थी कामदार पठाउन नसकेको भन्दै श्रम मन्त्रालयले बैदेशिक रोजगार व्यबसायीलाई पनि यो काममा संलग्न गराउने निर्णय गरेको थियो। 
    'यो बैदेशिक रोजगारी होइन, जापानमा गएर सिप सिक्ने मात्र हो,' अध्यक्ष जोशीले भने। त्यहाँ तीन वर्षसम्म सिप सिकिसकेपछि नेपालमा फर्कनुपर्नेछ। 
    महासंघका अध्यक्ष जोशीको नेतृत्वमा जापानमा प्रशिक्षार्थी कामदारको संभावना बुझ्न गएको नेपाली व्यबसायीको टोलीले त्यहाँका उद्योगीसँग नेपालमा संयुक्त लगानीका विषयमा छलफल पनि गरेको थियो। 
    'चीन र भारतको बजार लक्षित गरेर नेपालमा संयुक्त लगानीका उद्योग खोल्न जापानका उद्योगीले चासो दिएका छन्,' जोशीले भने। जापानको ओसाका चेम्बर अफ कमर्सका पदाधिकारीले नेपाली उद्योगपतिसँग संभाव्य परियोजनाका विषयमा आउँदा दिनहरुमा छलफल गर्ने प्रस्ताव समेत राखेका थिए। जापानको एओटिएसले नेपालका साना तथा मझौला उद्योगीलाई तालिम दिन समेत सहमति जनाएको छ। नेपालका ३० जना साना तथा मझौला व्यबसायीलाई एओटिएसले तालिम दिने भएको छ। 

    No comments:

    Post a Comment