• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, September 13, 2009

    जापानको मदारी र बाँदर



    कृष्ण प्रसाई टोकियो टावरमा चढेर आँखाले भ्याएजति सबै दृश्यहरुमा आँखा र मनलाई मनोरञ्जन दिएर मानावुसान  सान शब्द जापानमा मान्छे वा सम्मानित पहाडको नामपछि आउँछ) सँगै के तल उत्रिएको थिएँ मेरै अगाडि बडेमाको ल्यान्डक्रुजर गाडी आएर रोकियो । ल्यान्डक्रुजर गाडी त मैले प्रशस्त देखेको थिएँ तर यसअधि देखिएका ल्यान्डक्रुजरभन्दा मैले देखिरहेको यस गाडीको बनोट र प्रकृतिमा केही भिन्न थियो । स्वाभाविक ल्यान्डक्रुजर गाडीभन्दा आकार र आयतनमा केही ठूलो गाडीबाट मैले हेर्दाहेर्दै एउटा अचम्मको ज्यान भएको बाँदरलाई उसका मालिकले बडो इज्जतपूर्वक गाडीको पछाडिपटिको ऊ बसिरहेको सुविधासम्पन्न सिटबाट निकाल्यो । म भने अचम्म र उदेक मानेर बाँदरलाई हेर्न थालेँ । त्यति मोटो र खाइलाग्दो बाँदर मैले यसअघि कहिलै देखेको थिइनँ । सुनेको थिएँ, जनकपुरको रामजानकीमन्दिरको आसपासमा एउटा अजंगको बाँदर छ जसलाई स्थानीय भाषामा बौवा हनुमान भन्छन् र सामान्य अरु बाँदरभन्दा उसको वजन निकै बढी छ । भक्तहरुले खुसी भएर उसलाई हनुमानकै सगोत्रीसँग दाँजेका हुँदा हुन् । हेर्न मन हुँदाहुँदै जनकपुरको बौवा हनुमान बितेपछि मलाई धेरै पछिसम्म थकथक लागेको थियो आफ्नै देशमा भएको त्यति ठूलो बाँदरलाई भेट्न नपाएकोमा । यतिखेर त्यस बाँदरलाई देख्नेबित्तिकै मेरो मनमा एक्कासि बौवा हनुमानको याद आयो । स्वदेशमा देख्न नपाएको बौवा हनुमानको भाइ यति टाढा सात समुद्र काटेर कसरी जापानसम्म आइपुग्यो ? मलाई अचम्म लाग्यो । किनभने मेरा अगाडि मैले कल्पना गरेकै बौवा हनुमान प्रत्यक्ष खडा थियो । तर यसलाई मैले अति सुविधासम्पन्न टोकियो सहरमा भेटिरहेको थिएँ । तर ऊ मेरो देशमा स्वर्गे भइसकेको बौवा हनुमानजस्तो कुनै मन्दिरमा थिएन ऊ त करोडाँै रुपैयाँ पर्ने अति सुविधासम्पन्न गाडीमा विशेषरुपले उसका लागि बनाइएको गाडीको सिटबाट आफ्ना मालिक मदारीको सहयोगले उत्रिन लाग्दैथियो । मैले त्यस बाँदरलाई गाडीबाट उत्रिएपछि पनि विभिन्न कोणबाट हेर्नथालेँ । पक्कै त्यो सामान्य थिएन । मसँगसँगै उसलाई हेर्ने मान्छेहरुको क्रमशः भीड पो लाग्नथाल्यो । टोकियो टावर चढ्न आएका मान्छेहरु पनि टावर चढ्न छाडेर उसलाई हेर्नथाले । गाडी चलाएर बाँदरलाई ल्याउने मदारी उसको मालिक भएको पक्का हुन बेर लागेन । नभन्दै सयौँ दर्शकहरुलाई भेला पारेर मदारीले त नचाउन पो थाल्यो बडेमानको त्यस बाँदरलाई । बाँदरको कला हेर्न दर्शकहरुको भीड बाक्लिँदै गयो । बाँदरले आफ्ना नाचहरु मदारीको आज्ञाअनुसार देखाउँदै गयो । बौवा बाँदरले आफ्नो करामत देखाउने क्रममा मदारीले उसलाई उनीहरुको जापानी भाषाबाट जेजे भन्यो सोहीअनुसार उसले गर्दैगयो । यस क्रममा आफ्नी प्रेमिकालाई माया कसरी गर्नुपर्छ, बूढो भएपछि आफ्ना आमाबाबुलाई कसरी स्याहार गर्नुपर्छ–लगायतका कर्महरु मदारीकै आज्ञाअनुसार उसले सबै दर्शकलाई देखायो । लामो उफ्रने कला, माथि उफ्रने कला, टोकरी लिएर बिरामी आमाका लागि चन्दा सङ्कलन गरेको कला निकै उत्कृष्ट थिए उसका । मैले थाहा पाएँ मदारीले बाँदरलाई राम्ररी रत्याएको रहेछ । आममान्छेले सोच्ने भन्दा फरक खालको कर्ममा रत्तिएर अनुशासन पालन गरेकैले दुवै नङ र मासुजस्ता भएर बाँचेका रहेछन् । अनुशासित भएर रहँदा बाँदर र मदारी दुवैको भलो भएको पाएँ मैले त्यस चटकबाट । एक घण्टाजति हामीले उसका भएभरका सबै कला हे¥यौँ । उसका कलासँगसँगै मदारीको आज्ञाअनुसार बाँदरले पैसा पनि उठाउन थाल्यो । पाँच सय, एक हजार, दुई हजार जापानी येनका थुप्रा लागे दर्शकबाट दिएका पैसाको । मेरो साथीले पनि दुई हजार येन फाल्यो बाँदरको खेललाई । मैले पनि गह«ाँै मनले एक हजार येनको नोट फालिदिएँ मेरो देशको बौवा हनुमानको भाइलाई । एकैछिनपछि उसको चटक सकियो र पैसा बटुलेर बाँदरलाई अघि आएकै गाडीको पछिल्लो सिटमा बसाएर सबैलाई सायोनारा  फेरि भेटौँला) भनेर ऊ कुन्नि कता बेगियो । मदारी त बाँदर लिएर गयो तर एक हजार येनको चोट मेरो मनमा निकैबेरसम्म बिझाइरह्यो । हिसाब गरेको झन्डै नेपाली सात सय रुपैयाँको हाराहारीमा थियो त्यो मैले दिएको पैसा । नेपालमा भए पाँच रुपैयाँले काम चल्नेथियो तर त्यो जापानका लागि भने दस रुपैयाँ नेपालीको महŒव राख्दथ्यो त्यसले । किनभने केही दिनअघि मात्र कियो प्लाजा होटलमा मसहित अरु दुईजना जापानी साथीले सामान्य तीन कप चिया र स्पगेटी खाएबापत तिरेको चानचुन आठ हजार येनको नगदी बिल मेरै गोजीमा हाँसिरहेको थियो अझैसम्म । प्रतिकप चियाको झन्डै एक हजार नेपाली रुपैयाँ हाराहारी दाम तिरेर पहिलोपटक मैले पनि रेकर्ड राखेको थिएँ । यति रकम तिर्ने मेरो हैसियत र ल्याकत भने थिएन तर एउटा अनुभव थियो जीवनमा । पैसा तिर्नुको नमीठोसँगै कहिल्यै नबिर्सने अनुभवको झोला बोकेको थिएँ मैले । बाँदर त गयो उसको खेल सकेर, तर उसले धेरै तरङ्गहरु उठाएर गयो मेरो मनभरि । नेपाली एक लाख हाराहारीको आम्दानी गरेर आफ्नो खेल सकेको हुनुपर्छ मदारीले । उसले करिब पौने घण्टाको लगानीमा उठाएको रकम म साधारण नेपाली भएर सोच्दा अनौठो नै थियो तर यथार्थ के थियो भने ऊ जापानी थियो । बाँदर नचाउने मदारी पनि ‘मेड इन जापान’ नै थियो । यसको कमाइ नेपालका कुनै पनि ओहोदामा काम गर्ने कर्मचारीको भन्दा कैयौँ गुणा बढी थियो । कुनै घुस्याहा कर्मचारीले टेबलमुनिबाट उठाउने रकमभन्दा पनि सम्भवतः ज्यादा थियो । जाबो बाँदर भनेर के गर्ने ? जाबो मदारी भनेर के र्ने ? त्यसो त नेपालमा झैँ जापानमा पनि बाँदरहरु नभएका होइनन् । फुजीसान छेउछाउका पहाडहरु र साइतामा प्रान्तका पहाडी इलाकाहरुमा निकै बाँदर देख्न पाइन्छ । तर तिनीहरु नेपाल वा भारतका जस्ता आसे छैनन् । कसैले दिइहाल्छ र खाइहालूँ भनेर तिनीहरु बाटो कुरेर बसेका पनि हुँदैनन्् । तनीहरुका लागि सरकारले जंगल सुरक्षितरुपमा छाडिदिएको हुन्छ र बाँदर निस्फिक्रीरुपमा जंगलमा भएका फलपूmल खाएर रमाइरहेका हुन्छन् । त्यहाँ प्रविधि र विकास ढकमम्क फुलेकैले होला मानवसमुदायबाट जंगल र प्राकृतिक सम्पदामा अतिक्रमण हुँदैहुँदैन । बरु सुरक्षा र संरक्षण हुन्छ । सार्वजनिक ठाउँलगायत सरकारी वनजंगलमा जति फूल फुलून् कसैले टिप्दैनन् त्यहाँ । फलहरु पाकेर जंगलै ढाकियोस् तर कसैका चोर हातहरु पर्दैनन् त्यसमा । कसैका नजरहरु त्यो देखेर आक्रमणमा जाँदैनन् । यस्ता धेरै दृश्य र उदाहरणहरु जापानयात्राको क्रममा मैले प्रशस्तै देखेको र भेटेको छु । जतिखेर चिचिबू र ओगानो  साइतामा प्रान्त) का बाटामा भेटिएका जंगलहरुमा जामुना र फँडिर पाकेर बाटै कालाम्य हुनेगरी झरेका हुन्थे । तर मैले कुनै यात्रुले गाडी रोकेर फल टिपेको देखिनँ । जहिले पनि फल पाकेको मौसममा दिनहुँ हिँडिरहनुपर्ने ती बाटाहरु भएर गाडीमा जब म यात्रा भर्थें सधैँ आफूले सानो छँदा जोगेन राजवंशीका बगैँचामा फलेका चिचिला आँप, लिची चोरेर खाएको मात्र सम्झिन्थेँ । नेपालमा त सार्वजनिक ठाउँमा फलेका फलहरु पाक्नै नपाई चिचिला अवस्थामै मानव–आक्रमणमा परेर सकिन्छन् तर जापानमा देखेँ, पाकिसकेको जंगली फल पनि कसैले टिप्दैनन् । त्यसैले म सम्झन्छु जापानका जंगली जन्तुहरु, चराचुरुङ्गीहरु नेपालका भन्दा कयौँ गुणा भाग्यमानी छन् । तिनीहरुले कुनै खाद्यान्न–अभाव झेलेर मानववस्ती र बाटाघाटातिर भौँतारिइरहनुपर्दैन । भोकमरीको समस्या नझेलेकैले होला तिनीहरु स्वस्थ छन्, मोटाघाटा छन् र मान्छेका प्रिय छन् । घरपालुवा जनावर कुकुर र बिरालाहरुको समेत जापानमा नियमित स्वास्थ्य–परीक्षण हुन्छ । जनावारमा पनि मान्छेमा गरिएजस्तै रोगपरीक्षणबाट महँगा खाले शल्यक्रिया गरेर रोग निको पारिन्छ । आखिर यी सबै कुरा हुने र नहुने, विकसित र अविकसित देशका चिनारी त होलान् । ááá जापानी बाँदर ल्यान्डक्रुजरभित्र वातानुकूलित अवस्थामा कतै सयर गरिरहेको हुँदोहो अहिले, तर मैले मेरा देशका बाँदरहरु सम्झन थालेँ । पशुपति, गुह्येश्वरी र स्वयम्भूमा भएका लुतो लागेका भएजति सबै बाँदरहरु सम्झें । तीर्थालुका हातमा भएको फलपूmल र अन्न झम्टेर आफ्नो जीविकोपार्जन गर्न विवश भोकमरीपीडित मेरा राजधानीवासी ती बाँदरहरु पनि सम्झें। कहिलेकाहीँ करेन्ट लागेर सामूहिकरुपमा मर्ने पशुपतिका बाँदरहरु सम्झें । यति सम्झाइमा मात्र सीमित हुन नसकेर मैले प्रयोगशालाका लागि परीक्षणमा जानलागेका नेपाली बाँदरहरु पनि सम्झन पुगेँ । त्यतिले मात्र पुगेन मलाई । सिमाना काटेर पारि सिक्किमको यात्रा गर्दा बाटैभरि यात्रुको आशमा बाँचेका बाँदरहरुको दयनीय अवस्था झनै सम्झें । फ्रायडका पुर्खाको बिजोग हेर्दा यता र समुद्रपारिको तुलना नै हुनसक्ने खालको थिएन । “कहाँको राजा भोज कहाँको गङ्गु भैया ?” मलाई लाग्यो मेरा देशका बाँदरहरुको समस्या केवल बाँदरहरुको मात्र थिएन त्यो सम्पूर्ण देशकै समस्या थियो । देश हाँक्ने मदारीहरुको पनि समस्या थियो । नेपालको भन्दा पाँचदोब्बर जनसङ्ख्या भएको जापानमा बाँदरको सङ्ख्या नेपालको जति छैन । तर जति छन् ती आमनेपाली जनताभन्दा सम्पन्न र सुखी छन् । तिनलाई अनिकाल लाग्दैन । तिनीहरुमाथि मानवआक्रमण र ज्यादती पनि हुँदैन । नेपालमा बाँदरको सङ्ख्या जापानको भन्दा दसौंदोब्बर होला तर नेपालका कुनै पनि बाँदर जापानको एउटा बाँदरजति पनि कामयाब निस्किएका छैनन् । नेपालका प्रयोजनहीन बाँदरहरुको आयआर्जन छैन । तिनीहरुमध्ये कुनैको पनि स्पष्ट कमाइ छैन । त्यसो त बाँदर रत्याउनसक्ने एउटै पनि नेपाली मदारी अझसम्म नेपालमा भेटिएका छैनन् । मान्छे रत्याउन सक्ने मदारीसमेत नभएको मुुलुकमा यस्तो कल्पना गर्नु मनासिब पनि हुँदैन । तर राम्रो मदारीको टड्कारो आवश्यकता भने मैले मेरो देशमा देखेको छु । म सम्झन्छु बाँदरजस्तै मान्छे रत्याउन सके आधा समस्या त्यसै समाधान हुनेथियो नेपालको । मान्छे रत्तिएपछि बाँदरलाई रत्याउन अझ सजिलै हुने थियो भन्ने मेरो ठम्याइ हो । रत्तिएका मान्छे र तालिमप्राप्त बाँदरहरुले कहिल्यै मानव–मूल्य, मान्यता र सम्पदामा आक्रमण गर्दैनन् । मानवकलाको सिको सिक्ने जनावरमा बाँदर डल्फिनकै हाराहारीमा आउँछ । संवेद्य जनावर बाँदरहरु आखिर डार्विनले गल्ती गरेका रहेनछन् भने हाम्रै पुर्खा पनि हुन् । मन्दिर र अन्य धार्मिकस्थलमा बसेर उनीहरुले मच्चाउने गरेको रडाको र लुटतन्त्र नेपालको परिवेश हेरेरै उनीहरुले पनि सिकेका हुन् । ‘देशअनुसारको भेष र कपालगुनको केस’ भनेको पनि यही कारणले होला । अरुको नक्कल गर्न र गरिएको नक्कल चाँडै सिक्न संसारभरका बाँदरहरुको जन्मजात गुण नै हो । मानव–नक्कल गर्न सिकेकैले हाम्रा देशका बाँदरहरुबाट हामी प्रताडित भएका छौँ । यसै प्रसङ्गमा बाँदरको एउटा चाखलाग्दो कथा मेरा सिक्किमेली मित्रले सुनाएका थिए । सुन्तला पाकेको मौसममा अचेल जुन बाँदर–आतङ्क सिक्किममा छ त्यस्तो दस वर्षअघिसम्म थिएन रे । किनभने पहिलापहिला बाँदरले सिक्किममा सुन्तला खाँदैनथे रे । बाँदरहरुले जब सुन्तला आफ्नो मुखैअगाडि तास्न खोज्दथे सुन्तलाको बोक्राबाट उछिट्टिएको पर्प¥याउने पानी र त्यसको रागले तिनीहरु हैरान हुन्थे र छोडाउन लागेको सुन्तला तत्काल भुइँमा फ्यात्त फ्याँकेर कुलेलम ठोक्थे रे । तर कुनै समय साना केटाकेटीले सुन्तला छोडाउँदै र खाँदै गरेको दृश्य कुनै संवेद्य बाँदरले देख्यो र तत्कालै सिक्यो पनि । आजभोलि सिक्किमे बाँदरले पाकेको सुन्तला समातेर कम्मरपछाडि लगेर राम्ररी ताछेर सुन्तला छोडाइसकेपछि अगाडि ल्याएर खान थालेका छन् रे । यो पनि कुनै कुशल बालक मदारीकै सिको बाँदरले सिकेको हुनुपर्छ । अब कुनै दिन सिक्किममा भोकमरी लागेर ती बाँदरका सन्तान नेपालतिर छिरे भने तिनीहरुले नेपालका आफ्ना सगोत्रीलाई पनि सिकाउनेछन् र नेपालका बाँदरहरुबाट सुन्तला–आतङ्क हुनबेर लाग्नेछैन । जापानको बाँदर नचाउने मदारीको बुिद्ध र कलालाई मैले प्रशंसा गर्नैपर्ने हुन्थ्यो । मान्छेले मान्छे चलाउन नसक्ने भइसकेको मेरो देशले जापानका एकाध मदारीलाई नेपाल झिकाएर मदारीको कला सिके कसो होला भन्ने सोचेँ मैले । बाँदर नै हुनु छ भने जापानका मmैं किन नहुने ? मदारी नै हुनु छ भने जापानको झैँ किन नहुने ? तर यो मेरो नितान्त र व्यक्तिगत विचारभित्रको आग्रहगत सोचाइ मात्र हो ।

    1 comment:

    1. धेरै उत्कृष्ट छ । - मुखाले

      ReplyDelete