Tuesday, July 30, 2013

कृषिमा चितवन : सम्भावना र आवश्यकता

पछिल्लो समय परोपकारी पत्रकारिता अँगालिरहेका पत्रकार एकल सिलवालको चाख कृषिमा समेत बढ्दै गएको छ । उनी विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल पनि छन् । लामो समय पत्रकारिताबाट जीवन निर्वाह गरेका उनको पेशा पत्रकारितासंगै कृषि बन्ने तयारीमा छ । उनी भन्छन्,‘अबको भूमिकामा मैले पत्रकारितालाई सोख, धर्मलाई परोपकार र कृषिलाई मुख्य पेशा बनाउन लागिरहेको छु ।’ पत्रकार एकलले भनेजस्तै चितवनको माटोमा पनि अब कृषिले व्यवसायीकरणको बाटो लिंदैछ । धेरै मान्छे अब कृषिमा लाग्दैछन् । यो त भयो, उनको व्यक्तिगत पेशा । उनको एउटा सामाजिक संस्था पनि छ, मितेरी फाउण्डेशन । मितेरीले विपन्न वर्गको जीवनस्तर उकास्न पनि कृषिकै सहारा लिने तयारी गरेको छ । 
चितवनको लोथरबाट करिब ८ घण्टा पैदन हिंडेपछि कान्दा गाउँ पुग्न सकिन्छ । २०६७ जेठमा यहाँ विषालु च्याउ खाएर ८ जना चेपाङहरुको मृत्यू भयो । कस्तो च्याउ खान हुने या कस्तो नहुने भन्ने जानकारी नहुँदा चेपाङ वस्तीमा नै रुवावासी मच्चियो । आयस्रोत नहुँदा जंगली च्याउको भर पर्ने वाध्यता थियो । अहिले कान्दामा पत्रकार एकलकै सक्रियतामा कृषिमै आत्मनिर्भर हुने खालको अभियान लक्ष्मी प्रतिष्ठानको सहयोगमा मितेरीले ल्याएको छ । त्यहाँका चेपाङलाई ‘च्याउ होइन, स्याउ’ खुवाउन हरेकलाई स्याउ रोप्न लगाइएको छ । विस्तारै स्याउको विरुवा बढ्दैछ । विषालु च्याउ पनि नचिन्ने चेपाङहरु पोषिलो स्याउ कुरेर बसेका छन् । 
अन्नका रुपमा वनका भीरपाखा र खोरिया खोस्रेर थोरै मकै कोदो उव्जाउने कान्दाका चेपाङलाई स्याउले सफलता पायो भने धेरै चेपाङका लागि यो कृषि पेशा बन्न सक्छ । यही अभियानमा छन्, मितेरीका एकल र सिंगो मितेरी समूह । ‘च्याउ चेपाङलाई स्याउ चेपाङ’ बनाउन जुम्लाका बागवानी प्राविधिक श्रीबहादुर भण्डारीले कान्दाको हावापानी र माटोको मिहिन अध्ययन गरिसकेका छन् । कान्दामा जुम्लाकै जस्तो कालोमाटो रहेछ । जुम्ला स्याउकै लागि प्रसिद्ध छ । यसैले कान्दामा स्याउको सम्भाव्यता बोकेर त्यहाँ ५१५ स्याउका विरुवा लगाइएका छन् । अबको पाँच वर्षभित्र कान्दामा स्याउ फल्ने आशा गरिएको छ । चेपाङहरु आफ्नै हातले फलाएको स्याउ खान हतारिएका छन् । अनि यसलाई कृषि व्यवसाय बनाउने अभियानमा छन् ।
कान्दा जस्तै स्याउको सम्भावना भएको क्षेत्र चितवनमा धेरै छन् । चितवनका पहाडी गाविसमा यसको सम्भावना धेरै छ । किनभने समुद्री सतहबाट १६०० मिटरमाथि उचाइमा स्याउ फल्छ । चितवनका धेरै पहाडी गाविसहरु १६०० मिटर उचाइमै छन् । 
चितवनमा स्याउको सम्भावना रहेको कुरा चेपाङले विषालु च्याउ नखाइदिएको भए थाहा हुन्थेन । विषालु च्याउले चेपाङको ज्यान लिएपछि बल्ल त्यहाँ पत्रकार पुगे । अनि यसले संसारभर चर्चा पायो । एकल जस्तै मनकारी नेपालीहरु त्यो ठाउँमा पुगेर कृषिकै माध्यमबाट चेपाङहरुको जीवनस्तर उकास्न लागि परे । यस्तै चितवनको काउले पनि स्याउको लागि सम्भावना भएको क्षेत्र हो । यो पहाडी गाविसलाई पनि ‘कान्दाको हजुरबाउ’ भनेर चिन्छन्, स्थानीय वासिन्दाहरु । यहाँ पनि स्याउको सम्भावना छ । हात्तीवाङ लगायतका पर्यटकीय क्षेत्रमा स्याउ लगायतका वनस्पतिले किसानको जीवनस्तर उकास्न सकिन्छ भने त्यहाँ आउने पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । यहाँ अहिले केही किसानहरु मिलेर इलामको जस्तै चियावारी बनाउने अभियानमा छन् ।
चितवनलाई ७६ औं जिल्लाको रुपमा लिने गरिन्छ । कृषिसंगै विभिन्न उद्यमशील उद्योगहरुको सम्भावना भएको क्षेत्र हो, चितवन । यहाँ रातोदेखि कालो माटोसम्ममा उव्जनी उव्जाउन सकिन्छ । अब पोल्ट्रीको राजधानीको रुपमा मात्रै चितवनलाई लिने दिन गए । कुनैबेला चितवन केका लागि प्रसिद्ध छ भन्दा सबैको उत्तर हुन्थ्यो,– तोरी । तर अहिले तोरी चितवनका गाउँगाउँ चाहारी चाहारी हिंड्नुपर्छ । यहाँ तोरी फलाउने किसान पाउन छाडियो । चितवनमा समथर भुभाग भएकाले तोरीको सम्भावना अझै भएको कुरामा कृषि विशेषज्ञको दुइ मत छैन । तोरीदेखि स्याउ फलाउने ठाउँमा किसानलाई प्रोत्साहित गर्ने खालका योजना भने आएका छैनन् । चितवनमा तोरी नहुँदा माहुरी पाल्ने किसानहरुले माहुरी चराउन अन्यत्र जिल्ला धाउनुपर्ने वाध्यता छ ।  
कृष्णप्रसाद अधिकारी चितवनका उद्यमी हुन् । उनले धेरै उद्योग चलाएका छन् । साथै कृषिको क्षेत्रमा चितवनलाई हेर्ने दृष्टिकोण पनि भिन्नै खालको छ, उनको । चितवन यसै हरेक कुराले देशको ७६ औं जिल्लाको रुपमा चिनिन्छ । तै पनि अधिकारी थप्छन्,‘नेपालका ७४ जिल्लालाई एकातिर र चितवनलाई अर्कोतिर राखेर तराजुमा राख्ने हो भने कृषि र उद्यमको क्षेत्रको रुपमा चितवनकै पल्ला भारी हुन्छ ।’ उनको यो विश्लेषण निकै घतलाग्दो छ । हुनपनि अहिले यहाँ माछापालन, केराखेती, बंगुरपालनदेखि नयाँ कृषिका उत्पादनले बजार लिएको छ । चितवनमै रहेको चित्रवन मिल्कका कारण धेरैको गाइपालन पनि फष्टाएको छ । पोल्ट्रीका क्षेत्रमा त चितवन देशकै राजधानी भैहाल्यो ।
कृषिको यत्रो सम्भावना बोकेर पनि चितवनमा यसको प्रवद्र्धनका लागि राज्यबाट खासै कदम भने चालिएको छैन । हुन त सबै कुरा राज्यबाट अपेक्षा गर्नुपनि हुँदैन । तैपनि राज्यले किसानको अभिभावक बनेर काम गराइलाई मलजल दिएमा धेरैको जीवनस्तर अगाडि बढ्न सक्ने कुरामा कृषिमा लागेका अभियन्ताहरु बताउँछन् । चितवनको रामपुरमै ‘कृषि तषा पशु विज्ञान अध्ययन संस्थान’ छ । भविष्यमा कृषि क्षेत्रमा लाग्ने र लाग्न चाहनेहरुले कृषि क्याम्पस भएकै नाताले उसबाट धेरै अपेक्षा राखेका हुन्छन् । तर विडम्बना रामपुर कृषि क्याम्पस नजिकै राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र भएर पनि नजिकैका मकैबारीमा फलेका मकैका घोंगामा दाना हुँदैनन् । भएका पनि थोता हुन्छन् । अनि मकै खेती गर्छु भनेर कस्सिएको किसानले कसरी आगामी दिनमा मकै लगाउला ? 
कान्दाको माटोमा च्याउ फल्ने बारेमा थाहा पाउन हुम्लाबाट प्राविधिक ल्याउनुप¥यो । आफ्नो बारीमा कुन अन्न बाली राम्रो हुन्छ भन्ने बारे अझै धेरै किसान अनविज्ञ छन् । जग्गाजमीन नभएकाहरु त यसै किसानी काम नगर्ने भए  । तर प्रशस्त जग्गा जमीन भएकाहरु समेत यो अज्ञानताका कारण खेतबारी बाँझै राखेर बसेका छन् । यो कुरा बुझाइदिने समेत कोहि भएन । कसैको लहैलहैमा लागेर एउटा बाली लगायो, तरिका नजान्दा जमीन र जाँगर खेर गएको अनुभव पनि छ, धेरै किसानको । अहिले चाहिँ नीजि स्तरबाट खोलिएका कृषि सम्बन्धि संघसंस्थाले बरु कृषिमा काम गरिरहेका छन् । 
राज्यले गर्नुपर्ने काम नीजि स्तरबाट सञ्चालन गर्नु झनै राम्रो हो, त्यो पनि उच्च व्यवस्थापनका साथ । किसानकै लागि भनेर यस्तै काम गरेको छ, चितवनको किसान कल सेण्टरले । आफ्नो जग्गामा कुन अन्नबाली लगाउँदा राम्रो हुन्छ भनेर जान्न जग्गाको माटो सेण्टरमा लगेर दियो भने उसले सुझाव दिन्छ,–यो अन्नबाली यसरी लगाउनुस् । बीचमा कुनै अफ्ठ्यारो प¥यो भने १६६०–५६५२–९९९ मा फोन गर्नुस् । फोन गरेको पैसा लाग्दैन । सेवा, सल्लाह र सुझाव पनि हामी निशुल्क दिन्छौं ।’ यो किसान कल सेण्टरमा किसानलाई आइपर्ने समस्या समाधान गर्न कृषि प्राविधिकहरु बसिरहेका छन् । देशभरका किसानहरुले फोन गरेरै भएपनि यो सेण्टरबाट फाइदा लिएको बताईन्छ । एग्रिकेयरले सुरु गरेको किसान कल सेण्टरले चितवनमा लोकप्रियता पाइसकेको छ । जहाँ दैनिक २ सयको हाराहारीमा किसानले फोन गरेर आफ्नो समस्याको समाधान खोज्ने गरेका छन् । 
अहिले नेपालमा केहि सम्भावना नदेखेर प्रतिभा पलायन तिब्र रुपमा बढेको छ । राजनीतिक अस्थिरताले देश उथलपुथल छ । भएको एउटा कृषि क्याम्पसले राम्रो शिक्षा दिन सकेको छैन । राजनीतिक रंगले क्याम्पसलाई अस्तव्यस्त पार्दा कृषि क्षेत्रमा लाग्न चाहने नेपालीहरुलाई ठेस लागेको छ । कृषि क्रान्ति भन्दा राजनीतिक क्रान्तिबारे क्याम्पसमा चर्चा बढि हुन्छ । विद्यार्थीहरु मारमुंग्रीमा बढि उत्रन्छन् । यस्तो भएपछि आम किसानले यसबाट के अपेक्षा गर्ने ? यसैले पनि नीजि स्तरबाट खुलेका कृषि सम्बन्धि संघसंस्थाहरुको भर पर्नुपर्ने वाध्यता चितवनका किसानलाई रहँदै आएको छ । अब चितवनका किसानहरुको स्तरोन्नतीका लागि रामपुर क्याम्पसले सोँच्नैपर्ने भएको छ । 
नयाँ उन्नत जातको खोजी गरी आधुनिक र वैज्ञानिक विधिले खेती गर्न किसानलाई अब पनि सघाइएन भने चितवनको कृषिमा अहिले देखिएको सम्भावना सेलाएर जानेछ । यसो हुँदा प्रतिभा पलायन फस्टाउँछ । साँच्चै कृषिलाई सरकारले महत्व दिने हो भने प्राविधिक र वैज्ञानिकको माग उच्च र कृषिप्रति धेरै उत्साही युवालाई कृषि क्षेत्रमा अझ आकर्षित गर्न सकिन्छ । कृषि पढेपछि माटोमै खेल्न चाहने आँटिला प्राविधिकले व्यावसायिक तरकारी खेती, पशुपालनलगायत आधुनिक र्फम खोलेर कयौं बेरोजगार युवालाई देशमै रोजगारी दिन सक्छन् । धेरै मानिस गैरकृषि पेसातिर मात्रै जाने हो भने खाने मुख बढ्छ र काम गर्ने हात घट्छ । यसैले माटोमा पसिना चुहाउन चाहने उत्साही युवाका लागि कृषिकर्म सही बाटो हो । कृषिको यो आवश्यकतालाई चितवनले सम्भावनाको बाटो खोलिदिएको छ । 
चितवनको माडी उपत्यकामा चार गाविस छन् । जसलाई वरीपरि पहाडले घेरेको छ । कुनैबेला सिंगो चितवन माडीकै उत्पादन खाएर बाँच्थ्यो । तर अहिले अवस्था फेरिएको छ । माडीमा अधिकांश माछा पोखरी बनेका छन् । धान, मकै र तरकारी फलाउने ठाउँमा कि त प्लटिंग बनेको छ , कि माछा पोखरी । हुँदाहुँदा माडीले समेत तरकारीका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था आएको छ । ‘एकाविहानै माडी जाने बसमा छतभरि तरकारीका बोरा देख्न सकिन्छ ।’ माडी किर्तनपुरका शिव सुवेदीको गुनासो छ । माछापालन कृषिकै एउटा उपज भएपनि सबैले एउटै पेशा अँगाल्दा सफल बन्न नसकेका उदाहरण पनि छन् । सुवेदी भन्छन्,‘आवश्यकता र सम्भावना हेरेर मात्रै किसानले कृषि कर्ममा हात हाल्नु राम्रो हुन्छ ।’ चितवनका किसानले लिएको कृषिको सम्भावनालाई राज्यले आवश्यकता सम्झेर सहयोग गरेमा देशको अर्थतन्त्र र कृषिकर्मले नयाँ बाटो लिनेमा आम चितवनवासीहरु ढुक्क छन् । अब भने व्यवसायिक कृषिका लागि चितवनले छुट्टै चिनारी दिनुपर्ने भएको छ । विषालु च्याउ खाने चेपाङलाई रसिलो स्याउले व्यवसायिक बनाउन सके व्यवसायिक कृषिमा चितवनले नयाँ चिनारी दिनेछ ।
२०७० साउन ९ गते बुधबार प्रकाशित चितवन पोष्ट दैनिकको अभिमतबाट

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete