Tuesday, July 30, 2013

व्यवस्थापन विवाद र बन्द बालकुमारी

वि.सं.२०२२ सालमा नारायणगढमा स्थापना भएको बालकुमारीको ‘स्कुले’ विद्यार्थी जीवन काटेको पनि दुई दशक पार हुन लाग्यो । बालकुमारीमा कक्षा १० पढ्दा हामी अरु विद्यार्थी भन्दा ‘पाका’ थियौं । किनभने उतिबेला त्यहाँ उच्च मावि थिएन । कक्षा ६ देखि १० सम्म मात्रै पढाई हुन्थ्यो । आफ्नो भन्दा माथिल्लो कक्षा स्कूलमा नभएको र तलका भाईबहिनी ‘प्यारा’ लाग्नु स्वाभाविकै हो । तल्ला कक्षाका विद्यार्थीलाई होच्याएर स्कुलमा अराजकता निम्त्याई विवाद गरेको कसैले कतैबाट थाहा पाइएन । बालकुमारी पढेकाहरु उतिबेला अधिकांश ‘घरानिया’ नै मानिन्थे । नारायणगढ भरतपुरका बजारियादेखि गाउँगाउँबाट बालकुमारी पढ्न आउनेको लस्कर लाग्थ्यो । विद्यार्थीको चापले ‘दरवार’ जस्तो लाग्ने बालकुमारीको ३ तले भवन पनि अपुग हुन्थ्यो । स्कुलले रजत जयन्ती मनाउँदा हामी कक्षा ७ का विद्यार्थी थियौं । रजत जयन्तीमा नारायणगढ बजार परिक्रमा गर्दा सारा नारायणगढ नै हाम्रो लाग्थ्यो । विद्यार्थीका सेता निला ड्रेसले हाम्रो बालकुमारीलाई ‘शान्तिको प्रतीक’ मान्थ्यो । वास्तवमा बालकुमारीमा पढ्नुको मज्जा बेग्लै थियो । 
कक्षा १० मै पढ्दाको कुरा हो । नारायणगढको गणेश चलचित्र मन्दिरमा ‘वक्त हमारा हे’ भन्ने हिन्दी फिल्म चल्यो । केही साथीहरु कक्षा छाडेरै ‘टिफिन’ पछि फिल्म हेर्न हलतिर लागे । उतिबेला कक्षामा हरेक शिक्षकले हरेक पिरियडमा विद्यार्थीको हाजिरी गर्नुपर्ने चलन थियो । ‘टिफिन’ पछि ‘सरस्वती मीस’ले नेपाली पढाउनुहुन्थ्यो । उहाँको पिरियडमा कक्षामा केही विद्यार्थी अनुपस्थित भएपछि चासो बढ्यो । कक्षामा साथीहरु को कहाँ गए भन्ने जानकारी कसैले गराएन । भोलिपल्ट कक्षामा विद्यार्थीहरु आए । ‘सरस्वती मीस’ को फेला परिहाले । उहाँले आफ्नै सुत्र लगाएर विद्यार्थीहरु ‘वक्त हमारा हे’ भन्ने फिल्म हेर्न गएको पत्ता लगाउनुभो । उहाँले कसैलाई केही गर्नुभएन । मात्र अघिल्लो दिन कक्षा छाडेर फिल्म हेर्न गएकाको आँखामा आँखा जुधाउँदै भन्नुभो,–‘वक्त किसका हे भाई ?’ उहाँको त्यो प्रश्नले ती विद्यार्थी साथीहरु लाजले रातापिरा भए । अनि कहिल्यै ती विद्यार्थी पढाइ छाडेर अरु बदमासी गरेको समेत पत्तो पाइएन । बाँकि विद्यार्थी पनि सजग भईहाले । हामीले पढ्दा ‘सरस्वती मीस’ को हातमा कहिल्यै लठ्ठी देखिएन । तर उहाँले गलत बाटोमा लाग्ने विद्यार्थीलाई दिने वचन चाहिँ वाण जस्तै तिखो हुन्थ्यो । जुन वाण कुलतमा लाग्ने विद्यार्थीका लागि सुखद सन्देश बन्थ्यो । कक्षामा हाजिरी रजिष्टर बोकेपनि नाम भनेपछि विद्यार्थीले ‘एस मीस’ भन्नुपर्थेन । किनभने एक मिनेट कक्षामा आँखा डुलाएकै आधारमा को विद्यार्थी आए नआएको उहाँलाई सम्झना हुन्थ्यो । वर्षौअघि आफूले पढाएको विद्यार्थीको नाम धेरैपछिसम्म उहाँलाई कण्ठ हुन्थ्यो । उहाँका सबै ‘चेलाचेली’ यस्ता कुराले उहाँप्रति अझैसम्म खुशी देखिन्छन् । 
समयक्रमसंगै ‘सरस्वती मीस’ अर्थात् सरस्वती रिजाल अहिले बालकुमारी उच्च माविकी प्राचार्य हुनुहुन्छ । बालकुमारीमा सेवा गर्ने उहाँको समय अब डेढ वर्षभन्दा बढि छैन । तर सरस्वतीको मन्दिर बालकुमारीमा पछिल्लो समय बेथिती बढिरहेको छ । व्यवस्थापन समिति निर्माणका क्रममा बनेको किचलोले यो मन्दिरलाई विजोग बनाइदिएको छ । गएको जेठ १३ गते कमल आचार्यको अध्यक्षतामा गठन भएको विद्यालय व्यवस्थापन समिति राजनीतिक आडमा कसैलाई मान्य र कसैलाई अमान्य भएपछि यसले निम्त्याएको विवादले अहिले उनै ‘सरस्वती मीस’को कार्यकक्षमा ताला लागेको छ । प्राचार्य बस्ने कुर्सी टेबल तोडफोड भएको छ । विद्यालयले पाएका सम्मान र पदकहरु भुईभरि टुक्राटुक्रा भएर छरिएका छन् । शैक्षिक सामग्रीमा समेत क्षती पुगेको छ । यो घटनाले प्राचार्य रिजाललाई ‘असक्षम र दुष्ट’ बनाइदिएको छ । 
व्यवस्थापन समितिको नाममा बालकुमारीमा बढिरहेको बेथिती साम्य पार्न एउटा प्राचार्यको प्रयास अझसम्म पनि सार्थक बन्न सकिरहेको छैन । किनभने प्राचार्यभन्दा माथि अघोषित रुपमा राजनीतिक दलहरुले यो मुद्धालाई उचालिदिएपछि जिल्ला शिक्षा कार्यालय समेत निरिह बनिरहेको छ । विद्यालयमा जेठ १३ गते बसेको अभिभावकहरुको भेलाले कमल आयार्यलाई व्यवस्थापन समितिको अध्यक्ष बनायो । भेलामा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि समेत उपस्थित थिएन । अझ सबै राजनीतिक दल सम्बद्ध
अभिभावकहरु पनि सो भेलामा उपस्थित थिए । तर जसरी गठन भएपनि नेपाली कांग्रेससम्वद्ध ‘नेपाल विद्यार्थी संघ’लाई आचार्य अध्यक्ष भएको मन परेन । ‘खेताला अभिभावक’ ले आचार्यलाई नियमभन्दा बाहिर रही अध्यक्ष बनाएको भन्ने नेविसंघको आरोप रह्यो । यसलाई प्राचार्य रिजालले समेत ‘पिछलग्गु’ बनेर समर्थन गरेको उसले बतायो । यस्तो भेलाबाट बनेको अध्यक्षलाई ‘हामी मान्दैनौं’ भनेर प्रशान्त अधिकारी अध्यक्ष रहेको नेविसंघ क्षेत्र नं. ३ ले भनेपछि उसले पहिलो चरणमा यसलाई सच्याउनुपर्ने माग राखी जेठ २२ गते ‘शैक्षिक गतिविधि प्रभावित नहुने’ गरी विद्यालयको लेखा र प्रशासन कक्षमा ताला लगायो । असार २८ गते जिल्ला शिक्षा कार्यालयले विद्यालयमा गठन गरिएको व्यवस्थापन समिति नियमसम्मत भएको र बाँकि रिक्त सदस्यमा अन्यलाई मनोनित गरी समितिलाई पूर्णता दिन पत्राचार ग¥यो । तर बालकुमारीमा व्यवस्थापन समिति गठन गर्न चरणवद्ध आन्दोलन गर्दै आएको नेविसंघ क्षेत्र नं.३ ले गत हप्ता विद्यालयमा विज्ञप्ति प्रकाशित गरी प्रशासन कक्ष तोडफोड ग¥यो । विज्ञप्तिलाई आधार मान्दा अनिल अधिकारी, रञ्जन पौडेल, नागेन्द्र पौडेल, सन्तोष लामा र निशान अर्याललाई नेविसंघले आन्दोलनको नेतृत्व गर्न पठाएको देखिन्छ । अहिले विद्यालयमा तोडफोड गरेरै भएपनि उनीहरुको आन्दोलनले ‘सफलता’ पाएको छ । 
आइतबार बालकुमारी पुग्दा सरस्वतीको मन्दिर तोडफोड भएको देखेर धेरैले नमज्जा मानिरहेका थिए । २२ वर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयलाई यो स्वरुपमा ल्याएका जवाहरलाल प्रधान पनि निकै निराश देखिन्थे । प्राचार्यको कोठामा ‘भोटे ताल्चा’ लगाएका थिए, नेविसंघका जवानहरुले । कोही भित्र नपसुन् भनेर । अनि ढोकैमा आफूहरुको पुरुषार्थ देखाउन ‘ताल्चा लगाउनुको कारण’ बताइएको थियो, आफ्नै लेटरप्याडमा । नेविसंघको सोही लेटरप्याडको सिरानमा महामानव विपी कोइरालाको भनाइ थियो, ‘शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने स्थल होइन, यो त सिद्धान्त र विचारको द्वन्द्वात्मक भूमी हो ।’ अनि यसैको तल आन्दोलनको नेतृत्व गर्ने अनिल अधिकारीले हस्ताक्षर गरेका थिए । 
आफूहरुलाई महामानव विपीको सच्चा अनुयायी ठान्नेहरुको हर्कतलाई त्यही ताल्चा लगाइएको कोठाको झ्यालबाट चियाउँदा सजिलै देखिने तोडफोडले गिज्याइरहेको थियो । स्कुलले पाएको सम्मान र पदक भुईमा छरपस्ट त्यो हर्कतबाट छट्पटाइरहेका थिए । भित्र थुनिएका शैक्षिक सामग्री विद्यार्थीको भविष्य देखेर रोएको थियो । शैक्षिक क्षेत्रमा देखिएको त्यो ‘बाहुबल’बाट टेबल कुर्सीका सीसा झैं त्यो स्कूलमा पढिरहेका भाईबहिनीको भविष्य छियाछिया भएको संकेत दियो । 
अहिले बालकुमारीको शैक्षिक गतिविधि अवरोध नगर्ने भनि नेविसंघले लगाएको ताला यो पंक्ति लेखिरहँदा पनि खुलेको छैन । बालकुमारीले धेरै राम्रा विद्यार्थीहरु वर्षेनी उत्पादन गरिरहेको छ । एसएलसीमा नेपाल टप गरेकासम्म इतिहास बालकुमारीसंग छन् । डाक्टर, इन्जिनियर लगायत धेरै सामाजिक र राजनीतिक व्यक्तित्व उत्पादन गर्नमा बालकुमारीको योगदान महत्वूर्ण छ । यस्ता विद्यार्थी उत्पादन गर्ने क्रममा धेरै ‘नेविसंघ’मा आवद्ध विद्यार्थीहरु पनि बालकुमारीका उत्पादन हुन् । तर उनै ‘नेविसंघ’बाट बालकुमारी बन्द हुनु, तोडफोड हुनुलाई जायज मान्न सकिंदैन । शैक्षिक गतिविधि अवरोध नगर्ने भनि बन्द गरिएपनि यसबाट आउने परिणामले शैक्षिक गतिविधिलाई नविथोल्ला भन्न सकिन्न । एसएलसीको पुरक परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय पठाउने फर्महरु बन्द कोठाभित्र थुनिएर बसेका छन् । प्राचार्य रिजालको कार्यकक्ष बन्द हुँदा यसले निम्त्याउने तनावले विद्यार्थीहरुमा समेत राम्रो शैक्षिक वातावरण पुग्न सकेको छैन । लेखा शाखा बन्द हुँदा शिक्षकहरुले तलब खान सकेका छैनन् । मरीमरी काम गर्ने शिक्षकले दाम नपाउँदा उसले गर्ने कामको बारे सम्बन्धित विथार्थीहरुले गम्भीर भएर सोंच्न जरुरी छ । विद्यालय व्यवस्थापन समितिको नाममा विद्यालयको जुनसुकै क्षेत्र बन्द गरेर विद्यालयलाई ‘रणमैदान’ बनाइयो भने यो प्रकृया लम्विन सक्छ । सुनिदैंछ, यस्तो रणमैदान बनाउन राजनीतिक रङको आधारमा भूपू विद्यार्थीहरु समेत लागिपरेका छन् । यस्तै हो भने प्राचार्य सरस्वतीदेखि विद्याकी देवी सरस्वतीसम्मको श्राप लाग्नेछ । समस्यालाई ठूलो बनाउने भन्दा पनि समाधानतर्फ जानु नै अहिलेको आवश्यकता हो ।   
नेपालीले जानेको सत्य कुरो के हो भने गत वर्षको मंसिर ११ गते सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा ग¥यो । विद्यालयमा राजनीति गरेर कुनैपनि बहानामा विद्यार्थीको पढाई प्रभावित पार्न हुन्न भन्यो । यस्ता लिखित दस्तावेज जताततै छन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउने नारा सबै ठाउँमा छरिएका छन् । तैपनि शैक्षिक क्षेत्र प्रभावित हुनचाहिं अझै छाडेको छैन । कतिसम्म गैरजिम्मेवार हुँदोरहेछ त नेपालीको स्वभाव र बानी । शिक्षकलाई तनावमा राखेर विद्यार्थीको पढाई अगाडि बढ्न सक्दैन भन्ने कुरा त जान्नपर्ने हो नि । नितान्त शैक्षिक मुद्धामा सम्बन्धित पक्षले चासो र सरोकार नदेखाएपछि स्वमय् विद्यार्थीहरुले नै विद्यार्थीका लागि गरेको आन्दोलनलाई केहि हदसम्म जायज मान्न सकिएला । तर यहाँ त सामान्य मुद्धादेखि राजनीतिक सवालसम्म विद्यार्थीको पढाइलाई प्रभावित हुनेगरि आन्दोलनको उठान गरिन्छ । अझैपनि भर्खरै फक्रिन लागका कोपिलाहरुलाई चुँडालेर फाल्ने प्रयास कतिञ्जेल गर्ने ?
विद्यालय बन्द हुँदा र शिक्षकलाई तनावमा राख्दा विद्यार्थी नयाँ कुरा जान्नबाट वञ्चित हुन्छ । विद्यालयमा बन्द हड्तालबाट हुने दुरगामी असरको भयावह परिणामको लेखाजोखा गरेर साध्य छैन । सरोकारवालाहरु सबै मिलेर विद्यालय शान्तिक्षेत्र हो भन्ने प्रत्याभुति नदिलाएसम्म विद्यालय बन्द भइनै रहन्छ । विद्यार्थी संगठनहरुले कलिला विद्यार्थीलाई ढाल बनाएर राजनीति गरिरहन्छन् । अनि राजनीति गर्नेका कुरालाई कति पत्याउने, प्रधानमन्त्रीको कुर्सी हल्लाउन र घुर्की लगाउन लगातार शैक्षिक क्षेत्रलाई तारो बनाइरहन्छन् । अब फेरि व्यवस्थापन समितिका नाममा विद्यालयलाई राजनीतिक अखडा बनाउने प्रयत्न गरिंदैछ । यो बालकुमारीमा मात्र होइन, धेरैजसो स्कुलमा देखिन्छ । यसपालि गुरुपूर्णिमाका दिन बालकुमारीका गुरु–गुरुआमाहरु तनावमा परे । आदर गर्नुपर्ने दिन अनादर बेहोर्नुप¥यो । प्रशासन टुलुटुलु हेर्न बाहे केही जान्दैन । जब राजनीतिक नेतृत्व निकम्मा भइदिन्छ, जायज नाजायज माग राख्नेहरुलाई समेत विद्यालय र विद्यार्थी मसला बन्नुपर्नेछ । यसैले व्यवस्थापन समितिका नाममा बालकुमारीमा देखिएको विवाद साम्य पार्न सबै राजनीतिक दलहरुले ‘हाम्रा’ भन्दा पनि ‘राम्रा’ मान्छे खोज्न जोड दिनैपर्छ । अन्त्यमा असल खराब जे भएपनि सुनेको, देखेको र पढेको सबै विषयका स्रोतहरु हाम्रा गुरु–गुरुआमाहरु हुन् । हामी जे हौं, हामीले पढेका विद्यालय र तिनै गुरु–गुरुआमाका परिणाम हुन् । यो जीवनचक्र जस्तै हो । पुस्तौपुस्तासम्म यो सत्य रहिरहन्छ । यसैले सबै विद्यालयका सबै विद्यार्थीले यो कुरालाई मनन गरी आफ्ना परिणामका स्रोतहरुलाई नमन गर्नका लागि पनि शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउनु जरुरी छ । आउनुस्, यसैका लागि एकाकार बनौं । 
२०७० साउन १५ गते मंगलबार चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’बाट

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete