Friday, July 19, 2013

सुरक्षित सवारीमा ‘मापसे’को प्रभावकारिता

गएको वैशाख २० गते राति चितवन रामनगरमा चालकले ‘मापसे’ गरेको एक मोटरसाइकल दुर्घटनामा प¥यो । रातिको घटना भएकाले हारगुहार गर्दा पनि कोहि बचाउन आएनन् । घटना भएको करिब एक घण्टापछि घटनामा स्थानीय व्यक्ति नै परेका कारणले रामनगरवासीको ध्यान घटना भएतिर मोडियो । मोटरसाइकल पछाडि बसेकाको अवस्था चिन्ताजनक रहेछ । चालकको अवस्था सामान्य थियो । उनीहरुलाई अस्पताल लगियो । अस्पतालको आइसीयूमा राखेको तिन दिनपछि पछाडि बस्नेको निधन भयो । प्रहरीका अनुसार उनीहरु दुवैले राती रक्सी खाएर मोटरसाइकल चलाएका थिए । 
रक्सी खानु या ‘मापसे’ गरेर सवारी साधन चलाउनु दुर्घटना निम्त्याउनु हो । ‘मापसे’ ले एकछिन मनोरञ्जन दिएपनि जीवनभरि बाँचेकालाई पीडा दिन्छ । दुर्घटना अकल्पनीय हुनेगर्छ । तर ‘मापसे’ ले निम्त्याउने दुर्घटना झनै पीडादायी हुन्छ । मर्ने त मरेर गैहाले । बाँच्नेहरु र मर्नेका आफन्त, शुभचिन्तकलाई यस्ता दुर्घटनाले जीवनभरि पीडा दिइरहेको हुन्छ । चितवनमा बेला बेला ‘मापसे’ गरेर सवारी साधन चलाउनेलाई कडाइका साथ अनुगमन गरिएपनि यसको प्रभावकारीतामा भने कमी आइरहेको छ । यसअघि पनि चितवनमा सवारी दुर्घटना व्यापक भैरहेको छ । अधिकांश दुर्घटना ‘मापसे’ गरेरै भएका छन् । त्यसमा पनि १८ देखि ४० वर्ष उमेर समूहका बढि व्यक्तिहरु दुर्घटनामा परेको तथ्याँक छ । मापसे जाँचमा भएको प्रभावकारीताको कमीले आम ‘मापसे’वालाहरु दुर्घटनाको शिकार बनिरहेका छन् । 
प्रहरीलाई झोंक चल्यो भने गौंडा ढुकेर साँझ परेपछि ‘मापसे’ चेक गरेको पाइन्छ । चिनेजानेका र समाजका ‘हुनेखाने’लाई प्रहरीको त्यो गौंडा पहिल्यै थाहा हुन्छ । तर सामान्य मान्छेलाई गौंडा पहिल्याउन मुश्किल पर्छ । गौंडा थाहा नपाएका ‘हुनेखाने’ हरु प्रहरीको कारवाहीमा परेपनि फुत्किहाल्छन् । जसले गर्दा मापसे गर्दाको कारवाही कसका लागि हो भन्ने कुरा छुट्याउन सबैलाई गाह्रो पर्नु स्वाभाविकै हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चितवनमा भएका दुर्घटनामा ५५ जनाले ज्यान गुमाएका छन् । अधिकांश मापसे गरेरै भएका छन् । गत वर्ष पनि ६७ जनाले ज्यान गुमाए । अधिकांशको कारण मापसे गरेरै भएको हो । 
चितवनमा मापसे गरेकाहरुबाट प्रहरीले राजस्व पनि उठाउँछ । तर यता मान्छेले मापसे गर्न छाडेका छैनन् । दुर्घटनामा पनि कमी आएको छैन । उता भने राजस्व बढेको बढेइ छ । गत वर्ष मापसे लगायत विभिन्न सवारी कारवाहीमा परेकाबाट करिब ४४ लाख रुपैयाँमा सीमित भएको राजस्व अहिले आएर ६० लाखको हाराहारीमा उठेको छ । यसमध्ये करिब ३ लाख त मापसे गरेकाहरुबाट राजस्व उठेको छ । यसले के संकेत गर्छ भने, चितवनमा पनि अझै सुरक्षित तरिकाले सवारी साधन चलाउनेतर्फ मान्छेको ध्यान जान सकेको छैन । जसले ‘मापसे’ मात्र होइन, सिंगो सवारी सुरक्षाप्रति प्रश्नचिन्ह उव्जाएको छ । यसले प्रहरीको ‘मापसे’विरुद्ध अभियान कुनै रक्सी उत्पादक, होटेल तथा रेस्टुरेन्ट व्यवसायी वा मादक पदार्थ सेवनकर्ताविरुद्ध लÔित पक्कै छैन भन्ने संकेत दिन्छ । 
‘मापसे’ गरी सवारी चलाउने चालक कारबाहीमा पर्नुलाई अभियानको सफलता मान्ने हो भने पनि नेपाली समाजमा यो अभियानको कुनै प्रभाव परेको नदेखिनु चाहिँ गम्भीर चिन्ताको विÈय हो । प्रहरीले त ‘मापसे’पछि सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्ने खतरा देखेर त्यसको न्यूनीकरणका लागि अभियान सुरु गरिसकेपछि समाजमा पनि सकारात्मक प्रभाव देखिनुपर्ने हो । ‘मापसे’पछि सवारीसाधन चलाउने प्रवृत्तिमा कमी आउनुपर्ने हो । तर, परिणाम ठिक उल्टो देखिँदै आएको छ । यसले गर्दा पनि मापसे समाज र प्रहरीकै निम्ति पनि गम्भीर चुनौती बन्दै गइरहेको अनुमान गर्न कठिन छैन । 
‘मापसे’ गरेर सवारी साधन चलाउनु भनेको दुर्घटना निम्त्याउनु हो । यसमा कसैको पनि दुइ मत छैन । तर ‘मापसे’ कर्ताहरुलाई गर्ने कारवाही पारदर्शी हुन नसक्नु चिन्ताको विषय हो । जसले दुर्घटना समेत निम्त्याएको छ । केही समय पहिले काठमाडौंमा दुइ जना युवाले ‘मापसे’ गरेर मोटरसाइकल चलाए । रातको समयमा बाटोमा प्रहरीले ‘मापसे’ जाँच गरेको रहेछ । ती युवाहरु बाटोमा प्रहरीले ‘मापसे’ जाँच गरेको थाहा पाउने वित्तिकै मोटरसाइकलको गती तीब्र बनाए । प्रहरीलाई छल्न उनीहरुले गरेको प्रयास सफल हुन सकेन । अल्लि अगाडि ट्रक कुदिरहेको थियो । तीब्र गतिमा कुदिरहेको मोटरसाइकल त्यही ट्रकमा गएर ठोक्कियो । उनीहरुमध्ये एकको ज्यान गयो । मापसे जाँच गर्ने प्रहरीको तौरतरिका ठिक भएन भन्ने गुनासो यस्ता प्रकारको घटनाले पनि काठमाडौंमा त्यतिबेलै उठ्यो । 
अहिले ‘मापसे’ गर्नेहरु प्रहरीको आँखा छलेरै भएपनि ‘मापसे’ गरिरहेका छन् । प्रहरीले गौंडा ढुकेर कारवाही गर्छु भनेपनि मापसे यात्रा जारी छ । राजस्व बढ्नु भनेकै मापसे गर्नेको संख्यामा वृद्धि हुनु हो । ‘मापसे’अनुगमनलाई प्रभावकारी रुपले अगाडि बढाउने हो भने हरेक होटल र रेष्टुराँका अगाडि प्रहरीको अनुगमन बढाउनुपर्छ । हरेक प्रहरी बीट अगाडि मापसे जाँच गराउनुपर्छ । अनि बल्ल मापसे गर्नेहरुको संख्यामा कमी आउँछ भने अकस्मात हुने दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ । 
विकसित देशहरुमा पनि मापसे गरेर सवारी साधन चलाउन पाइदैन । यसरी मापसे गरेर सवारी साधन चलाएको पाइएमा दुर्घटनामा मान्छे मारेर पाइने सजाय सरह हुन्छ । रेष्टुरेण्ट र बारहरुमा बसेर मज्जाले ‘मापसे’ गर्न पाइन्छ । तर सवारी चलाउनेले ‘मापसे’ गर्न पाउँदैन । यदि सवारी चलाउनेले पनि होटलमा बसेर ‘मापसे’ गरी सवारी चलाएको भेटेमा प्रहरीले सवारी चालकसहित होटल मालिकसंग पनि ठूलो परिणाममा राजस्व सहित कारवाही गर्ने अधिकार प्रहरीलाई दिइएको हुन्छ । यसैले सवारी चालकलाई ‘मापसे’ गर्ने सवालमा होटल मालिक पनि सचेत हुन्छ । किनभने सवारी चालकलाई ‘रक्सी खान किन दिइस्’ भनेर प्रहरीले होटल मालिकलाई सोध्छ र ठूलै दुर्घटना भएको अवस्थामा होटल बन्द हुन सक्छ भने उ जेल समेत जान सक्छ । हाम्रोमा भने त्यस्तो कानुन छैन । बाटोमा जे जुकै होस्, होटल भित्रको कुरो कसैलाई मतलब भएको पाइदैन । 
‘मापसे’ जाँच गर्दा त सडक दुर्घटनामा सवारीको हालत यस्तो छ भने ‘मापसे’ जाँच नहुने हो भने झनै दुर्घटना बढ्छ । यसैले मापसे जाँचकीहरुले गौंडा कुरेर बस्नुभन्दा सम्बन्धित होटलबाट निस्कने मापसेवालाहरुलाई त्यहीँ जाँच गर्ने व्यवस्था मिलाउने हो भने मापसे जाँचको प्रभावकारिता अझ बढ्छ । बाटोमै समातेपनि कुन होटलमा कति खाएको हो भन्नेसम्मको सोधपुछ गर्नसके मापसे जाँचको प्रभावकारिता बढ्छ । कमसेकम होटल मालिकलाई समेत मादक पदार्थ सेवन गरेकालाई सवारी साधन चलाउन नदिनेसम्मको सचेतना दिनु आवश्यक छ । यसरी पैसाकै लागि पटक पटक उसले यस्तो कुरा उल्लंघन गरेमा उसलाई समेत कारवाहीको दायरामा ल्याउनु जरुरी छ । 
‘मापसे’ जाँचका क्रममा घरायसी काममा परिवारसहित सानोतिनो काम लिएर हिँडेका सर्वसाधारण समेत पर्ने गरेका छन् । कहिलेकाहिँ उनीहरुको साथमा ‘व्लुबुक’ नभएपनि लाइसेन्स साथमा हुन्छ । कहिलेकाहि लाइसेन्स पनि साथमा हुँदैन । तर उनीहरुलाई मापसे नगरेको भएपनि ‘व्लुबुक’ नलिएकै कारण प्रहरीले दुःख दिइरहेको हुन्छ । त्यतिबेला हातमा डण्डा लिएर बसेका प्रहरीको काम लाइसेन्स र ‘ब्लुबुक’ लिने होइन । प्रहरीको शक्ति जे कामका लागि हो, उही कामका लागि खर्चिनुपर्छ । मोटरसाइकलवालाहरुले त ‘व्लुबुक’ लिएर हिँड्न झण्झटिलो ठान्छन् । साथमा लाइसेन्स भइसकेपछि उनीहरुलाई समेत तल्लो दर्जाका प्रहरीले ‘मापसे’ कै हाराहारीमा राखेको भेटिन्छ । यसमा पनि सम्बन्धित प्रहरी प्रमुखको ध्यान जानु जरुरी छ । 
‘व्लुबुक’ लाई पनि लाइसेन्स जस्तै सजिलो तरिकाले साथमा लिएर हिँड्न मिल्ने बनाउन सके राम्रो हुनेथियो । ‘व्लुबुक’ त लिएरै हिँड्न अप्ठ्यारो छ । हातमा झोला नभएकाहरुलाई लिन पनि गाह्रो छ । अरुभन्दा पनि हराउने र च्यातिने डर उत्तिकै । यसैले सम्बन्धित निकायले यसतर्फ पनि विचार गरेमा ‘मापसे’ जाँचको लक्षित उद्देश्य पुरा हुनेछ । जे कुराका लागि जाँच्न खोजिएको हो, त्यो लक्ष्य प्रहरीले पुरा गर्नसक्छन् । अन्यथा ‘मापसे’का नाममा प्रहरी मोटाउने वाहेक अरु काम हुन सक्दैन । अहिले भइरहेको ‘मापसे’ जाँच राम्रो छैन भन्नु भन्दा पनि यसको प्रभावकारिता खस्कँदै जानु चिन्ताको विषय हो । 
२०७० साउन १ गते मंगलबारको चितवन पोष्ट दैनिकमा प्रकाशित अभिमतबाट

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete