Tuesday, July 2, 2013

हनिमुन बिर्साउने राष्ट्रपतिको क्यान्सर यात्रा


हाम्रा राष्ट्रपति रामवरण यादव मेडिकल डाक्टर पनि हुन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लाग्दैगर्दा राष्ट्रपतिको ‘अपुताली’ परेपछि उनले कांग्रेसको महामन्त्री पद छाडे । पार्टीको साधारण सदस्यबाट पनि राजिनामा गरी आम नेपालीका साझा व्यक्तित्वका रुपमा उनले आफूलाई उभ्याउने कोशिष गरे । राष्ट्रपति भएपछिका उनका यात्रा केही समय सामान्य नेपालीसरह थियो । आफ्ना कारणले कोहि नेपालीलाई क्षति नहोस् र नेपाललाई पनि खति नहोस् भन्ने चाहना उनको थियो । परिणामतः जीवनभर कांगे्रसी भएपनि उनले नेपाली कांग्रेसलाई काखी च्यापेनन् । आफू मधेशी भएर पनि पहाडे र हिमालीलाई उत्तिकै सम्मान व्यक्त गरे । नेपाली झण्डा विर्सिएनन् । प्रधानमन्त्री र मन्त्रीहरु टाइसुटमै सजिएर उनीकहाँ काम विशेषले आउँदा राष्ट्रपति यादव नेपाली पोशाकमै हुन्थे । अगाडि नेपाली झण्डा हुन्थ्यो । नेपाली स्भाभिमान र इमान्दारीताका लागि उनको यो योगदानलाई अधिकांश नेपालीले मन पराए । 
दुईसय वर्षभन्दा अगाडिदेखि राजतन्त्रले जरो गाडेर बसेको देशमा गणतन्त्र आएलगत्तै नेपालको प्रथम राष्ट्रपतिमा सूचिकृत हुने सौभाग्य पाएका यादवलाई सुरुसुरुमा आम नेपालीका माझ लोकप्रिय हुने रहर थियो । त्यसैले उनी सबैका हाइहाइ हुन चाहन्थे । करिब चार वर्ष अघिको कुरा हो, राष्ट्रपति यादव आफ्नो दुःखेको दाँतको उपचार गराउन वीर अस्पताल गए । यसअघि पनि उनी महाराजगंजस्थित शिक्षण अस्पतालमा आँखा जचाउन गएका थिए । यसअघिका देशका राष्ट्रप्रमुख सरकारी अस्पतालमा गएर आफ्नो स्वास्थ्य जाँच गराएको घटना विरलै सुनिन्थ्यो । अझैपनि हाम्रा ठूला नेता विरामी पर्दा सहरका ठूला नसिर्ङहोम वा विदेशी अस्पतालमा जान्छन् । तर हाम्रा राष्ट्रपतिले आफ्नो स्वास्थ्य जाँच गर्न सरकारी अस्पताल नै रोजेको प्रसंगले धेरै नेपालीलाई खुशी तुल्यायो । उनको यो कदमले गरिब नेपाली जनतालाई सरकारी अस्पतालमा ठूला मान्छे पनि आउँदा रहेछन् भन्ने राम्रो सन्देश पनि दियो । अधिकांश नेपालीमा सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा छ । तर ठूला व्यक्ति नै सरकारी अस्पतालमा आएपछि ‘हामी गरीब मात्र जाने अस्पताल’ भनी हीन भावना राख्ने नेपालीको सोचाइमा परिवर्तन ल्याउन मद्दत गरेकाले उनको यो कदमलाई धेरैले सलाम पनि गरे ।
एउटा मेडिकल डाक्टरबाट सरकारी अस्पतालको विश्वसनियतालाई प्रमाणित गर्न यादवको ‘राष्ट्रपति’ पदले समेत सघायो । संगसंगै उतिबेला डा.यादवले नेपालका सबै अस्पतालहरु उपचारका लागि योग्य भएको कुरा पनि दोहो¥याए । उनले यसो पनि भने,‘ नेपालमा जुनसुकै रोगको उपचार सम्भव छ । हामी कुनैपनि उपचारका लागि विदेश जान पर्दैन ।’ उतिबेला वीर अस्पतालमा डा. यादवको उपचार डा.प्रविण मिश्र र डा.यज्ञबहादुर भण्डारीले गरेका थिए । उनी आफ्नो उपचारका लागि विदेश गएनन् पनि । यद्दपि यति राम्रो छवी बनाएका राष्ट्रपतिले आफ्नो अडानलाई पाँच वर्षसम्म टिकाउन भने सकेनन् । 
राष्ट्रपति भएको पाँच वर्षपछि हाम्रा राष्ट्रपतिलाई ठूलो आन्द्रामा घाउ देखियो । जचाउन त यसपालि पनि शिक्षण अस्पतालमै जचाएका हुन् । अनि ग्राण्ड अस्पतालमै गएर सिटी स्क्यान गरेका हुन् । तर डा. शशि शर्मा नेतृत्वको मेडिकल बोर्डले राष्ट्रपतिलाई जापान जान सुझायो । उनीहरुले राष्ट्रपतिको ठूलो आन्द्रामा भएको घाउलाई क्यान्सरको संकेत गरे । रोगको पहिचान गर्न र थप उपचारका लागि राष्ट्रपति जापान जाने भए । जापान जानको लागि आठ जनाको जम्वो टोली तयार भयो । ‘हनिमुन यात्रा’को शैलीमा सबै जापान गए । जापान गएर ६० लाख सकियो । राष्ट्रपतिलाई क्यान्सरको ‘क’ पनि देखिएन । धन्य रहेछौं, हामी नेपाली । हाम्रा राष्ट्रप्रमुखलाई क्यान्सर रोग नभएकोमा हामीले हामी आफैलाई भाग्यमानी सम्झनैपर्छ । राष्ट्रपतिमा क्यान्सर नभएको पुष्टि अस्पतालले ग¥यो । जापानको टोकियो अस्पतालले यादवको कोलोनोस्कोपी, इन्डोस्कोपी, सीटी स्क्यान, एक्सरे परीक्षण गरेर क्यान्सर नभएको पुष्टि गरेको थियो ।
यतिबेला राष्ट्रपति जापान जाँदा नेपालमा ठूलो बाढि पहिरो आयो । धेरै धनजनको क्षती भयो । सुदुरपश्चिमको सुन्दरतालाई यो प्राकृतिक विपत्तिले विरुप बनाइदियो । उपचार खर्चको नाममा गरीव राष्ट्रको ६० लाख कुम्ल्याएर हिँडेका राष्ट्रपति सुदुरपश्चिमको आँशुमा रुन सकेनन् । बरु जापानकै रमझममा रमाए । गैरआवासीय नेपालीले आयोजना गरेका औपचारिक कार्यक्रममा सरिक भए । आठ जनाको जम्बो टोली सहित उपचार गर्न हिँिडेपनि राष्ट्रपतिको तमकझमकले उनी कुनै हनिमुन यात्रामा हिँडेको जस्तो लाग्थ्यो । कुनै विहेभोजको निम्तालु जसरी टोली देखियो । ‘तीन करोड नेपालीको आशिर्वादले म सञ्चै छु । देशलाई केहि नहोस्’ पनि भन्न राष्ट्रपतिले भ्याए । एउटा राष्ट्रप्रमुख भएर औपचारिक कार्यक्रमपछि नेपाली समुदायका बीच ‘रक्सी’ खानसम्म भ्याए । राष्ट्रपतिले सम्बोधन गरेका तीन करोड नेपालीका माझ आफूहरु पनि परेपछि जापानका नेपालीहरु समेत दंग भए । केहीले भने राष्ट्रपतिको यो भूमिकालाई मन पराएनन् । सामाजिक सञ्जाल ‘फेसबुक’ र ‘ट्वीटर’ भरि जापानकै नेपालीले समेत विरोध जनाए । नेपाली विद्यार्थी समाज, जापानका पूर्व अध्यक्ष समेत रहेका कृष्ण भेटवालले फेसबुकमै राष्ट्रपतिप्रति असन्तुष्टि पोख्दै भने,‘ अहिले तपाई स्वस्थ हुनुहुन्छ राम्रै भयो । तर धेरै रक्सीको चुस्की नलिनुहोला । साच्चै नै क्यान्सर हुने डर रहन्छ । तपाईंलाइ साच्चैं नै क्यान्सर भो भने नेपाली हुनुको नाताले हामी नेपालीलाई दुःख लाग्छ ।’ 
समग्रमा उपचारका नाममा राष्ट्रपति जापान गएको कुरालाई धेरै नेपालीले मन पराएनन् । स्वयम् नेपाली चिकित्सकहरुले समेत यसप्रति असन्तुष्टि जनाइरहेका छन् । नेपालकै क्यान्सर विशेषज्ञहरुसंग सल्लाह नै नगरि जापानका डाक्टर पत्याउनुलाई नेपालका डाक्टरले राम्रो मानेका छैनन् । हुन पनि चितवनमा दक्षिण एशियाकै उत्कृष्ठ कहलिएको क्यान्सर अस्पताल छ । सार्क मुलुकहरुबाट समेत चितवनको क्यान्सर अस्ताललाई ‘राम्रो उपचार गर्ने थलो र सुविधासम्पन्न अस्पताल’को रुपमा लिने गरिन्छ । तर ‘नजिकको तीर्थ प्यारो नलागे’ जस्तै राष्ट्रपतिलाई पनि सात समुद्रपारिकै अस्पताल प्यारो लाग्यो । घुम्न पनि पाइने, माइण्ड फ्रेस पनि हुने र उपचार समेत गर्न पाइने भएर जापान गएको भए, वेग्लै कुरा । होइन भने एकातिर मुलुकमै क्यान्सरको उपचार सम्भव छ भन्ने, तर अर्कोतिर क्यान्सरको सामान्य रोग जाँच्न बाहिरी मुलुक जाने प्रवृत्तिले अब यहाँका अस्पताल र चिकित्सकबाट आम नेपालीले कस्तो उपचारको अपेक्षा गर्ने ? एउटा सवाल उव्जिएको छ ।
अहिले आएर चितवनको क्यान्सर अस्पतालले नयाँ उपचार पद्धति समेत भित्राएको छ । प्रत्यक्ष भिडियो मार्फत अन्य अस्पतालका चिकित्सकहरुसंग प्रत्यक्ष कुराकानी गरी बिरामीको उपचार गर्ने प्रविधि ‘टेलिमिडिसिन’ क्यान्सर अस्पतालले सञ्चालनमा ल्याएको छ । आजभन्दा ३३ वर्षअघि विश्वका अरु मुलुकमा भित्रिएको यो सेवा क्यान्सर अस्पतालले अहिले लिएर आएपछि सबैलाई आकर्षित गर्नका लागि राष्ट्रपतिले यसैबाट आफ्नो उपचारको सुरुवात गर्नुपथ्र्यो । टेलिमेडिसिन भनेको इन्टरनेटको सहायताले अर्को अस्पतालका चिकित्सकसंग प्रत्यक्ष सम्पर्क गरी उनीहरुसंग समन्वय र परामर्श गरी बिरामीको उपचार गरिने पद्धति हो । विशेष गरेर जटिल खालका क्यान्सर रोग उपचार गर्न अन्य अस्पतालका अनुभवी चिकित्सकसंग दोहोरो संवाद गरी तत्काल समस्याको समाधान गर्न यो सेवा प्रभावकारी मानिन्छ । यदि यहाँका चिकित्सकबाट राष्ट्रपतिको उपचार सम्भव नभएमा जापानकै डाक्टरबाट पनि तत्काल सल्लाह र सुझाव लिन सकिने थियो । यो कुरालाई न राष्ट्रपतिले सम्झिए । न त उनलाई जापान जान सुझाउने चिकित्सकहरुले नै मनन गर्न सके । 
सकेसम्म राम्रो प्रविधि र सुविधासम्पन्न अस्पतालमा गएर जचाउनु राम्रो पनि हो । यसले रोगको पहिचान छिट्टै गर्छ र चाडो उपचार गर्न पनि पाइन्छ । तर आफ्नै देशमा यो सुविधा हुँदाहुँदै विदेश धाइरहने कुरालाई राम्रो मान्न चाहि सकिदैन । आखिर राष्ट्रपतिको यो विमार सामान्य रहेछ । एकपटक आफ्नै देशका चिकित्सकबाट आफ्नै देशमा जचाइदिएको भए उनको के विग्रन्थ्यो ? राज्यको माथिल्लो निकायमा भएँ भन्दैमा देशको ढुकुटी यसरी रित्याउन पाइन्छ र ? पदमा नहुँदा पैसाको लोभले अस्पताल गएर सिटामोलसम्म किनेर खान नसक्ने ‘लोभी’ हरु पदमा आइसकेपछि उपचारका नाममा मनग्गे पैसा खर्च गर्न नडराउने परिपाटी हाम्रा नेताहरुमा अझै विद्यमान छ । कुनै बेला पुरुष सांसदले औषधि खर्चका नाममा सुत्केरीलाई प्रयोग गर्ने औषधि समेतको बील चढाएर खाएको चर्चा अझै पुरानो भएको छैन । उपचार गर्न पाइन्छ भन्दैमा मनपरि गर्ने परिपाटीलाई यसपटक राष्ट्रपतिले पनि पछ्याए । कुनै समय ‘उपचार सकेसम्म नेपालमै गर्दा राम्रो र राम्रा डाक्टर नेपालमै छन्’ भन्ने राष्ट्रपतिले आफूलाई पर्दा भने नेपालको स्वास्थ्य अवस्थालाई  ‘खत्तम’ सावित गरिदिए । अब एउटा राष्ट्रप्रमुख नै नेपालको स्वास्थ्य अवस्थाप्रति सन्तुष्ट छैन भने आम नेपाली कसरी विश्वस्त हुन सक्लान् ? 
राष्ट्रपतिलाई नेपालको स्वास्थ्य अवस्था ‘खत्तम’ लाग्नु स्वाभाविक पनि हो । किनभने पाठेघरको अपरशेशन गर्नेलाई घाँटीको अपरेशन गरेर पठाइदिने अस्पताल यहीँ छ । अपरेशन गरेपछि अपरेशन सामग्री शरीरभित्रै राखिदिने डाक्टर यहीँ छन् । महिलाको भूँडी ठूलो देख्दैैमा हत्तपत्त ‘डेलिभरी केस’ मा लैजाने डाक्टरले यहाँका अस्पताल भरिभराउ छन् । विरामीलाई १ मिनेट पनि राम्रोसंग समय नदिई सबै रोगको पहिचान गर्ने डाक्टर नेपालमा छन् । अनि डाक्टरले लेखिदिने ‘प्रेसक्रिप्सन’ भन्दा फरक औषधि दिने औषधि व्यवसायी यहीँ छन् । कान दुखेकालाई नाइटाको औषधि दिएर पठाउने नेपाली चिकित्सा प्रणालीलाई हाम्रा राष्ट्रपतिले पनि कसरी विश्वास गरुन् ? यही भएर र यिनै कुरा सुनेर आफ्नो रोगको उपचार जापानमै सम्भव छ भन्ने कुले राष्ट्रपतिलाई छोएको हुनसक्छ ।
नेपालको स्वाथ्यप्रणाली नराम्रो भयो भन्दैमा राज्यका उच्च तहमा वसेकाहरुले यहाँको चिकित्सा पद्धतिलाई वेवास्ता गर्ने हो भने यो क्षेत्र अझ खस्कन सक्छ । यहाँ भएका नराम्रो विसंगतिलाई सबै मिलेर अनुगमन गर्नुपर्छ । राज्यको उच्च तहले यहाँका अस्पताल र नर्सिङहोम चाहर्ने हो भने बल्ल यहाँको चिकित्साप्रणाली पनि सुध्रिन्छ । चिकित्सकहरु ‘एलर्ट’ भएर बस्छन् । होइन भने यो क्षेत्र झनै छाडा हुनेछ । अहिले मुलुकका राष्ट्रपतिले नपत्याएको नेपालको स्वास्थ्य क्षेत्रलाई अब सामान्य नेपालीले पनि विश्वास गर्नेछैन । कसैले पनि विश्वास नगरेपछि यहाँका चिकित्सकहरु पनि किन नेपालमा बस्थे र ? उनीहरु जसले विश्वास गर्छ, उतै लाग्छन् । उनीहरु हाम्रा लागि काम लाग्दैनन् । सबै जापान, अमेरिका, बेलायत र अष्ट्रेलिया लगायतका विकसित देशहरुमा ‘दास’ भएर बस्नेछन् ।  
२०७० असार १८ गते मंगलबार चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’ बाट
http://echitwanpost.net/index.php?dailyPost=issue&SID=1100

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete