Sunday, June 23, 2013

एसएलसी : ‘सुसाइड लर्निङ सर्टिफिकेट’

यस वर्षको एसएलसीमा चितवनको स्काइराइडरबाट १३० जनाले परीक्षा दिए । ७३ जनाले विशिष्ट श्रेणीमा पास गरे । स्कूलको नतिजा अनुसार तीन जना विद्यार्थी यो ‘फलामे ढोका’ बाट पार पाउन सकेनन् । चितवनकै उत्कृष्ट विद्यालयमा पर्ने स्काइराइडरबाट एसएलसी दिएका अच्यूत दवाडीले विशिष्ट श्रेणीमा ९१.३७ प्रतिशत अंक ल्याएर ‘जिल्ला प्रथम’ भए । यो सुखद् खबरसंगै जिल्लामै स्काइराइडरको अर्को दुःखद् खबर पनि जोडियो । भविष्यमा डाक्टर बन्ने सोंच बनाएका दवाडीलाई एसएलसीले दिएको खुशीले अर्को निराशा पनि थपियो । आफूसंगै एसएलसी दिएका स्काइराइडरकै साथीलाई एसएलसीकै कारण गुमाउनु प¥यो । नतिजा सार्वजनिक भएको दुई घण्टा नबित्दै अपरान्ह चार बजेतिर स्कूलबाटै एसएलसी दिएका अर्का विद्यार्थी अनिश अमगाइले परीक्षामा अनुत्तिर्ण भएको थाहा पाएपछि आत्महत्या गरे । १६ वर्षे कलिलो उमेरलाई एसएलसी परिणामले चुँडेर लग्यो । उनका लागि विद्यालय र अभिभावकले गरेको लगानी खेर गयो । संगसंगै अनिशले बाँकि संसार देख्न पाएनन् । यसअघि मोवाइलबाट नम्बर हेरेका उनी फेल भएपछि निराश भए । फेल भएलगत्तै आफ्नै घरको कोठाको पंखामा झुण्डिएर आत्महत्या गरे । 
स्काइराइडरले एसएलसीमा उत्कृष्ट बनेर आफ्नो साख उचो भएको सम्झेपनि एउटा विद्यार्थीले अनाहकमा जीवन गुमाउँदाको पीडाले पक्कै पनि विद्यालयको साख गिराएको छ, समाजको अगाडि । अनिशले ‘सामाजिक’ विषयमा आफूलाई सफल बनाउन सकेनन् । उनी फेल भए । दश वर्षभन्दा बढि अध्ययन गरेर तीन घण्टाको एउटा परीक्षा अनिशका लागि जीवनको मापदण्ड हुन सक्थेन । तै पनि उनको आत्महत्याले विद्यालयले सिकाउने समाज उपयोगी व्यवहारिक शिक्षा कमजोर रहेछ भनि पुष्टि गर्छ । विद्यालयमा पढेका सबैले राम्रो अंक पाउँदैनन् । सबैको समान ज्ञान पनि हुँदैन । तर एउटा विद्यार्थीलाई एसएलसीका अगाडि मृत्यू केही होइन र मरेर पनि एसएलसी उत्तीर्ण गराउनुपर्छ भन्ने सिकाइले आजभोलीका विद्यार्थी परिणाम आफ्नो पक्षमा नआउने वित्तिकै ‘आत्महत्या’ बाटो रोज्न वाध्य हुन थालेका छन् । 
यस वर्षको एसएलसी परीक्षामा असफलता हात लागेपछि स्काइराइडरका अनिशले मात्रै आत्महत्या गरेनन् । सिन्धुपाल्चोककी सबिना बस्नेत, रुकुमकी सुनीता केसी, पर्साकी फूलकुमारी कुर्मीले पनि आत्महत्या गरे । रुकुम सदरमुकाम खलंगास्थित त्रिभुवन जनता उच्च माविबाट परिक्षा दिएकी सुमित्राले पनि घरकै कोठामा झुण्डिएर आत्महत्या गरिन् । परीक्षामा असफल भएको थाहा पाउने वित्तिकै २५ मिटर माथि घर नजिकैको पानी टंकीबाट जनकपुरकी रुमा पाण्डेले आत्महत्याको प्रयास गरिन् । धन्न उनलाई परिवारले बचाए । अघिल्ला वर्षको एसएलसी परिक्षाको परिणाम सार्वजनिक भएपछि पनि देशभर ७ जना विद्यार्थीले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा सबै छात्रा थिए । यस वर्षको एसएलसी परीक्षामा आत्महत्या गर्नेमा १ जना छात्रबाहेक अरु सबै छात्रा हुन् ।
आत्महत्या गर्नेहरु सबै एसएलसीमा फेल भएपनि फेल भएका सबैले आत्महत्या गरेका छैनन् । ती विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद छ, जसले असफलता नै सफलताको खुड्किलो हो भन्ने कुरो बुझे । तर असफल विद्यार्थीहरुले आत्महत्याको स्थल घरनजिकै या घरकै कोठामालाई रोजे । त्यो, पनि छात्राहरु नै एसएलसीबाट भयवित भएर बढि आत्महत्या गर्ने सूचीमा थपिए । एसएलसी भनेको सौहार्दपूर्ण वातावरणमा लामो स्कूले जीवनबाट पार पाउने तह हो । नामैले पनि यो स्कूल छाड्ने ‘सर्टिफिकेट’ मात्रै हो । तर एसएलसीलाई पछिल्लो समयमा हुनेखानेहरुले ठूलो ‘हाउगुजी’ बनाइदिए । ‘फलामे ढोका’ भन्दिए । एसएलसी पास गरिएन भने संसारै डुव्छ भनेर सिकाइयो । यस्तै सिकाइले विद्यार्थीले संसार छाड्न वाध्य भए । विशेष गरी नीजि विद्यालयले एसएलसीलाई मात्रै आफ्नो प्रतिष्ठासंग तुलना गरे । ‘एसएलसीमा सफल भए सबै सफल’ भन्ने उनीहरुको बुझाइ रह्यो । यस्तो अस्वस्थ प्रतिष्पर्धाले विद्यार्थीलाई जसरी पनि एसएलसीमा उत्कृट नतिजा ल्याउन वाध्य पारियो । हुन त स्कूलबाट धेरै विद्यार्थी पास भएर विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए सबैका लागि राम्रो हुन्छ । तर एसएलसीलाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै एसएलसीको परिणाममा छ भन्नु चाहि गलत हो । परीÔामा असफलता जीवनकै असफलता कदापि होइन, किनभने जीवन एउटा असफलताले रोकि“ंदैन । एसएलसीलाई जति ठूलो हाउगुजी बनाएर प्रचार गरिदैछ, उति नै यसको परिणाम ओरालो लाग्दैछ । पहिले कक्षा ९ र १० को पाठ्यक्रमलाई जोडेर निकालिने एसएलसीको प्रश्नपत्र अहिले कक्षा १० मा मात्रै सीमित छ । विद्यार्थीले थोरै पढ्नपर्दा पनि नतिजा कमजोर निस्कने, त्यहीमाथि फेल भएका विद्यार्थीले आत्महत्याको बाटो रोज्ने परम्पराले एसएलसीलाई अब ‘स्कूल लिभिङ सर्टिफिकेट’ नभनि ‘सुसाइड लर्निङ सर्टिफिकेट’ भन्ने अवस्था आएको हो । 
पैसा हुने बोर्डिङ स्कूल र पैसा खन्याउन सक्ने यसका अभिभावकले अर्जुनवाण जस्तै ‘एसएलसी’ नै ‘टार्गेट’ गरेर पढाइरहेको अवस्था छ, अहिले । सरकारी स्कूल पनि उही बाटोमा छ । एसएलसीलाई मात्रै शैक्षिक गुणस्तरको मापन गर्ने सरकारी शैलीले नीजि विद्यालय पनि अछुतो रहन सकेका छैनन् । एसएलसीमा राम्रो परिणाम ल्याउन सके अर्को वर्ष धेरै विद्यार्थीलाई आफ्नो विद्यालयमा पढाउन सकिने र राम्रो आयआर्जन गर्न सकिने लक्ष्यमा नीजि विद्यालय केन्द्रीत छन् । राम्रा कहलिएका बोर्डिङ स्कूलमा भर्ना गर्न ‘प्लेग्रुप’ का विद्यार्थीलाई पनि ‘प्रवेश परिक्षा र अन्तर्वार्ता’ लिने गरिन्छ । तर आफैले प्रवेश परिक्षा लिएर आफ्नै विद्यालयमा भर्ना गरी पढाएको विद्यार्थी एसएलसीमा गएर फेल हुन्छ । अनि यस्ता स्कूलका ‘प्रवेश परिक्षा’ को मापन के हो ? एसएलसी अगाडिका कक्षाहरुमा उनीहरुले विद्यार्थीलाई कसरी पढाए ? यसको अनुगमन कसले गर्ने ? 
समग्र रुपमा करिब ४१ प्रतिशत विद्यार्थी यसपालिको एसएलसीको परिक्षामा पास भए । यसमध्ये करिब ९० प्रतिशत विद्यार्थी ‘घोकाइ र रटाइ’ले पास भएका छन् । समसामयिक विषयवस्तुमा सिर्जनात्मक र प्रयोगात्मक परीक्षा लिइयो भने यस्ता विद्यार्थी धेरै असफल हुन्छन् । अलिअलि जान्नेबुझ्ने र हुनेखाने ‘डिस्टिङसन’ वालाहरु विदेश पढ्न गइहाल्छन् । बाँकि विद्यार्थीहरु यतै रुमल्लिन्छन् । व्यवहारिक रुपमा ‘घोकन्ते विद्या’ले काम गर्दैन । सामान्य हिसाब हातैले औंला भाँचेर या कण्ठै गर्न सिपालु आफ्नै ‘हजुरबुवा हजुरआमा’का अगाडि अहिलेका एसएलसी प्रमाणपत्रधारीहरुलाई त्यही हिसाब गर्न ‘क्याल्कुलेटर’ नभई हुँदैन । अनि विस्तारै यस्ता निराशलाग्दा व्यावहारिक नतिजाले आजका विद्यार्थीहरु अपरिपक्व हुँदै गइरहेका छन् । लाखौं किशोरकिशोरीहरुको भविष्यलाई अनिश्चित बनाइरहेको छ । 
एकातिर पढाइको चाप, अर्कातिर अभिभावक र शिक्षकहरुले बारम्बार ‘अंक एवं परीÔा परिणाम’ बारे मात्रै विद्यार्थीमागि चासो लिने परिपाटीले धेरै स्कूलहरु साँच्चै ‘सुसाइड लर्निङ सेन्टर’ अर्थात् आत्महत्या प्रशिक्षण केन्द्र बनेका छन् । अब एसएलसीलाई जीवनको फलामे ढोका ठानेर एसएलसी फेल भएकाहरु त कामै नलाग्ने हुनेजस्तो अतिशयोक्तिपूर्ण धारणालाई चिर्न विद्यालयस्तरमै यस्ता शिक्षा दिनु आवश्यक छ । एसएलसी अनुत्तीर्ण भइसकेपछि बाबुआमाले छोराछोरीमाथि गरेकोे लगानी खेर गएको ठान्ने या राम्रो श्रेणी ल्याउन नसके त्यस्ता छोराछोरीलाई अपराधीसरह व्यवहार गर्ने गर्छन् । यसो हुनु राम्रो होइन । किनभने मान्छेको जीवन जस्तो ठूलो कुरा केही होइन ।
अझै पनि सानैदेखि बालबालिकामा एसएलसीको असफलताप्रति डर देखाइएको छ । नकारात्मक भाव उत्पन्न गराइएको छ । उत्तीर्र्ण हुन नसके बाबुआमाको सपना पूरा गर्न नसकेको अरोप लगाइन्छ । जीवनभन्दा पनि परीÔाको अंक नै हो भन्ने सन्देश दिईन्छ । उता विद्यालयले एसएलसीको शतप्रतिशत सफलतालाई नै आफ्नो भविष्यको मानक मान्छ । असफल हुने सम्भावित विद्यार्थीहरुमा हीनताबोध नै जाग्नेगरी व्यवहार गरिन्छ । परिणामतः यस्ता क्रियाकलापले विद्यार्थीलाई ‘आत्महत्या’ तिर अग्रसर पक्कै गराउँछ । यसैले एसएलसीको भयावह मनोदशालाई सबैले बुझ्ने भाषामा ‘यो सामान्य परीक्षा हो र असफलतापछि सफल हुन सकिन्छ’ भन्ने सन्देश विशेषतः सबै विद्यालय प्रशासन र अभिभावहरुले आफ्ना विद्यार्थीहरुलाई दिन जरुरी छ । यसपालि या यसभन्दा अघि एसएलसी परीक्षामा असफल भएर आत्महत्या गरेका विद्यार्थी सबै सम्बन्धित विद्यालय र अभिभावकका कारणले नभएका पनि हुन सक्छन् । विद्यालयले पढाएर पनि विद्यार्थीहरुले ‘बुझ पचाएका’ हुनसक्छन् । अभिभावकहरुले घरायसी प्रशिक्षण दिएर पनि विद्यार्थीथे नटेरेका हुनसक्छन् । एसएलसी अघिनै यस्ता बुझ पचाउने विद्यार्थीका सम्बन्धमा सम्बन्धित विद्यालयले अनुगमन गर्नु जरुरी हुन्छ । यसैगरी अभिभावकले पनि एसएलसीको सम्भावित परिक्षाप्रति आफ्ना छोराछोरीको धारणा बुझ्ने कोशिष गर्नु आवश्यक छ । 
अहिले त एसएलसीको परीक्षाफल प्रकाशित भएको केही समयमै सबैको हात र कानमा आइपुग्छ । सूचना प्रविधिको फड्कोसंगै एसएलसी परीणाम बुझ्न झन् सरल बनाएको छ । पहिले पहिले आफ्नो परिणाम थाहा पाउन हप्तौं कुर्नपर्ने वाध्यता थियो । अहिले त्यो अवस्था टरेर गएको छ । कम्प्युटरमा क्लिक गरेको र मोवाइलमा एसएमएस गरेको भरमा परिणाम पत्ता लाग्छ । उहिले जस्तो ‘गोरखापत्र’ कुरिरहनुपर्ने झण्झट हुँदैन । अब यो द्रुत सूचना प्रविधिलाई उपयोग गरेर भएपनि ‘सम्भावित आत्महत्या’ मा कमी ल्याउन सकिन्छ । 
एसएलसी परिणामलाई सुरुमै सार्वजनिक सञ्चारमाध्यममा सार्वजनिक गरिँदा धेरै विद्यार्थी हिनतावोधका कारण फेल भएका पनि भेटिएका छन् । यसैले एसएलसी परिणाम सुरुमै सम्बन्धित विद्यालयमा पठाउने र फेल भएका विद्यार्थीहरुलाई सोही विद्यालय र उसका अभिभावकहरुले हिनतावोध नहुने गरी सम्झाएपछि मात्रै सार्वजनिक सञ्चारमाध्यमका लागि खुल्ला गरिदिने हो भने पनि एसएलसी परिणामबाट हुने सम्भावित आत्महत्याबाट पार पाउन सकिन्छ । होइन भने एसएलसीवाला किशोर किशोरीलाई अबका वर्षका परिणामले झनै ‘सुसाइड लर्निङ सर्टिफिकेट’ दिइरहनेछ । स्कूलहरु सरस्वतीको मन्दिर बन्ने छैनन् । यो त ‘सुसाइड लर्निङ सेण्टर’ बन्नेछन् । प्रत्यक्ष रुपमा आत्महत्या गर्न प्रेरित नगरेपनि आम स्कूल, अभिभावक र सरकारी रवैयाले राम्रो सम्भावना बोकेका विद्यार्थीहरुलाई एसएलसीले ‘आत्महत्याको पाठ’ सिकाइरहनेछ । तर हाम्रो कामना एसएलसी सधैं ‘स्कूल लिभिङ सर्टिफिकेट’ नै बनोस् । 
(२०७० असार ४ गतेको चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’बाट )

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete