Tuesday, June 11, 2013

माडीको घाउ : अब धेरै नचर्काऊ

आठ वर्षअघि जेठ २३ गते चितवन माडीस्थित बादरमुडे खोलामा माओवादीले एक यात्रुवाहक बसलाई ‘विद्युतीय धराप’मा पार्दा ३८ जनाको मृत्यू र ७२ जना घाइते भएपछि सो घटनाको सर्वत्र आलोचना भयोे । माओवादीले पनि सार्वजनिक रुपमै घटनाका सम्बन्धमा माफी माग्यो । प्रचण्डले पनि आफूले सो घटना थाहा पाएपछि आफूलाई तीन दिनसम्म खान र सुत्न मन नलागेको बताउदै माडीमै पुगेर त्यहा“का सर्वसाधारणसंग माफी माग्ने कसम खाए ।
माओवादी जनताका सामु खाएको कसम नौ वर्ष लाग्दा समेत पुरा नभएपछि घटनाका पीडितहरुले गएको विहीबार यसलाई बाँदरमुडेमै पुगेर ‘कालो दिन’ को रुपमा सम्झिए । माओवादीले घटना घटाएको दिन त माडीवासीलाई यसै पीडा हुने भैहाल्यो । नौ वर्षे पीडादायी वर्षहरु उनीहरुका लागि झनै जोखिमपूर्ण रह्यो । उतिबेला घाइते भएकामध्ये ३ जना पनि पछि मृत्युको सूचीमा थपिए । घाइतेको उपचार खर्चले नेटो काट्यो । अभिभावक गुमेपछि तिनका सन्तानले उचित शिक्षादिक्षा र लालनपोषण पाएनन् । घटनाले दिएको पीडा सम्झेर माओवादीलाई सराप्नुबाहेक उनीहरुसंग विकल्प पनि भएन । राहत दिन्छन् भनेर आशा गर्नेहरुलाई माओवादी नेताहरुले भाषण मात्रै दिएर फर्काए । साना बालबच्चाको मुखको दूध बेचेर घाइतेले उपचार गर्नुप¥यो । न्याय र राहतको पर्खाइमा बसेकालाई पीडामाथि पीडा थपियो । पीडाको घाउ जति फाल्न खोजेपनि उप्किएन । यसको खाका रहिनै रह्यो । राम्रोसंग उपचार गर्न पाए पीडाको घाउ पक्कै सुक्थ्यो । मर्ने त मरेर गइहाले । मृतक परिवारलाई झनै यसको घाउ बल्झिरह्यो । घाइतेको पीडा झन् कसरी कम हुन सक्थ्यो होला र ? 
घटना घटेको वर्षौ भइसक्दा पनि घटनाको प्रकृति र पछिको परिवेशले सामान्य मान्छेको त अझै पनि आङ नै सिरिङ्ग हुन्छ । घटनाका पीडितहरुले मृतकहरुको सम्झनामा ‘कालो दिन’ मनाउँदा काठमाडौंबाट पत्रकार कनकमणि दीक्षित पनि बाँदुरमुडे पुगेका थिए । नौ वर्षअघिको पीडाको घाउ थाम्न नकसेर आँशु झारेका पीडितका माझ उनले भने,‘ माओवादीले मान्छेको मासु मात्रै चिन्दा रैछन् । मान्छेको मासु चिन्नेले उनीहरुको आँशु चिन्न सक्दैनन् भन्थे । हो रैछ ।’ हुन पनि मान्छे मार्न उनीहरुलाई उतिबेला केहि जस्तो लागेन । बाँदरमुडेमा यात्रुवाहक वसलाई धरापमा पारि मान्छे मार्दा प्रयोग गरिएको ‘विद्युतीय धराप’ अन्जान र अज्ञानतावश भएको थिएन । घटनास्थलबाट ३०० मिटर परसम्म तार लगि ‘स्वीच अन’ गरेर बस र बसभित्रका मान्छेलाई उनीहरुले छियाछिया पारेका थिए । भूलवश धराप विछ्याएपनि ३०० मिटर परको रुखबाट ‘स्वीच अन’ नगरेका भए यो घटना घट्ने थिएन । किनभने उनीहरुले बसमाथि छतभरि आफ्नै छिमेकी र आम सर्वसाधारणलाई देखेका थिए । यस्तो जघन्य अपराधको जति नै निन्दा गरेपनि कम हुन्छ । तर घटनाका दोषीलाई सार्वजनिक गर्ने र उनीहरुलाई कानूनी कठघरामा उभ्याइ पीडितलाई ‘न्याय’ दिने माओवादी प्रतिवद्धता समयक्रमसंगै हावादारी सावित हुँदै गइरहेको छ । उल्टो सो घटनामा संलग्न भएकाहरु माडी क्षेत्रमै छाती फुलाएर हिँडेका छन् । माओवादीकै बल र सिफारिसमा जिल्लाकै सार्वजनिक चासो र सरोकार राख्ने ठाउँको ‘उच्च ओहदा’मा कुर्सीै जमाएर बसेका छन् । आफ्नै आँखा अगाडि तेत्रो घटना घटाउनेलाई आठ वर्षसम्म माओवादीले ‘अन्नपानी दिएर पालेको’ टुलुटुलु हेर्न परेपछि बाँदरमुडे पीडितलाई चित्त बुझ्ने कुरो पनि भएन । माओवादीले बँदरमुडे घटनामा आफ्ना कार्यकर्ताहरु सुजन कुमाल(सुजन), चण्डीका पौडेल(साहस), अनक मगर(किसन) र शिव रेग्मी(हर्क)को संलग्नता रहेकोे स्वीकारेको छ । घटनापछि उपचारका क्रममा अधिकांश घाइतेको घरखेत सकिएको छ । कतिपयले बालबालिकाले पढाई छाडेका छन् । कति युवा ऋण तिर्न पढाई छाडेर विदेश हिंडिसकेको अवस्था छ । तर यस्ता कुरालाई न राज्यले सम्बोधन ग¥यो, न त माओवादीले नै । 

माडीमा माओवादीले तेत्रो घटना घटाउँदा पनि अन्ततः माडीवासीले माओवादीलाई नै मन पराइदिए । माओवादीकै सहयोगबाट अमिक शेरचन त्यस क्षेत्रबाट संविधान सभामा निर्वाचित भए । पछि जनमोर्चा र माओवादी एकिकरण भएपछि एमाओवादी जन्म्यो । अमिक शेरचन एमाओवादीका सभासद् भए । उतिबेला माडी घटनाको चर्को विरोध गरेको जनमोर्चाले पनि एमाओवादीमा विलय भएपछि पीडितका पक्षका बोल्न चाहेन । पीडितका कुरा भन्दा पार्टीकै कुरा ठिक लाग्यो । पार्टीकेन्द्रको ह्वीपमा कार्यकर्ता लागे । घटना घट्दा अधिकांश जनमोर्चाका कार्यकर्ता पनि थिए । पार्टी एकिकरण भएपछि पीडितहरु पनि एमाओवादीमै लागे । कतै राजनीतिक आस्था नभएकाहरु पनि ‘कुनैबेला पोलेको आगोले भविष्यमा सेक्छ’ भन्दै माओवादी बने । तर पोलेको मात्रै भए त माओवादीको आगोले सेक्थ्यो होला । ढडाइसकेको आगोले सेक्न सकेन । आगो होइन, उनीहरुलाई मलम चाहियो । यद्दपि त्यो मलम अहिलेसम्म माओवादीले पीडितलाई चित्त बुझ्ने गरी लगाइदिन सकेको छैन । राज्य संयन्त्र माओवादीको चंगुलमा भइसकेपछि उसबाट अपेक्षा गर्नुपनि बेकार भयो । माओवादी बाहेकका कांग्रेस एमाले र अरु पार्टीका मान्छेहरु पनि सधैं पीडितका पछि किन लाग्थे ? वर्षको एक दिन जेठ २३ गते ‘गोहीको आँशु’ चुहाइदिने बाहेक उनीहरुले पनि केही गर्न सकेनन् । विडम्बना त्यही ‘गोहीको आँशु’ चुहाउन तत्कालीन जनमोर्चा र माओवादीका मान्छेहरु गएको जेठ २३ गते बाँदरमुडे पुग्ने आँट गर्न सकेनन् । यसले संकेत ग¥यो,– ‘मान्छेको मासु चिन्नेले उसको आँशु चिन्न सक्दोरहेनछ ।’
माडी घटनाका पीडितका नाममा समर्थन जनाएर आफ्ना मतदाता बढ्ने भए अन्य राजनीतिक पार्टीले पीडितका पक्षमा राहत र न्यायको आवाज बोलिरहने थिए होलान्, तर अवस्था पीडितका पक्षमा बोल्ने रहेन । माडी घटना जस्तै अन्य यस्तै दर्दनाक घटनाका पीडितलाई न्याय दिन त केन्द्रमै ‘न्याय र राहत’ को प्याकेज ल्याउनुपथ्र्यो । तर सबै कांग्रेसका सुशील कोइरालादेखि एमालेका झलनाथ खनालसम्मका नेताहरु एमाओवादी अध्यक्ष प्रचण्डसंगै नतमस्तक बन्दै लम्पसार परिरहेका छन् । 
माओवादीले माडीमा घटना घटाइसकेपछि पहिलोपटक २०६३ कात्तिक ३ गते चितवनको फूलवारीमा प्रचण्ड, बादल र बाबुराम भट्टराईले पीडितहरुसंग प्रत्यक्ष कुराकानी गरे । वरीपरी माओवादीले भिरेका बन्दुकको कुन्दाले घेरेर गरिएको वार्तामा प्रचण्डले घटना पीडितलाई मात्रै होइन, सिंगो माडीलाई नै लाभ हुने खालको ‘राहत प्याकेज’ दिने भनेको कुरा पीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले अझै सम्झन्छन् । माडीमा जान असुरक्षाको कारण देखाउ“दै प्रचण्डले उतिबेला माडी जाने कष्ट उठाएनन्, बरु पचास किलोमिटर टाढाबाट उतिबेला माडीवासीहरुलाई बोलाएका थिए । पीडितहरुले आफूले राखेका माग र पोखेका पीडाका साक्षीका रुपमा जिल्लाका सञ्चारकर्मी र मानवअधिकारवादीलाई वार्तामा संगै राख्न खोजेपनि माओवादीले यो अवसर पनि दिएनन् । पीडितहरुलाई यो अनुमति नदिंदा माडी घटनाका पीडितहरुप्रति माओवादी अझ गम्भीर हुन सकेनन् । माओवादीले सो भेटघाटमा सञ्चारकर्मीलाई बस्नमात्र होइन, तस्विर खिच्न र छायांकन गर्न समेत दिएका थिएनन् । घाइतेसंगै एकैसाथ वार्तास्थल पुगेपनि माओवादीले घाइतेलाई वार्ता हुनु अघिसम्म पनि अलग्ग्ै राखेका थिए । माओवादीले भनेको सो प्याकेज प्रोग्राममा शिक्षा, राहत र विकासका सवै कुराहरु समेटिएका थिए । पीडितहरुसंग गरिएको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले उतिबेला भनेका थिए,“हामीले माडीलाई सो दर्दनाक घटनासंग मात्रै जोड्दैनौं । अब पीडित मात्रै होइन, समग्र माडीवासीको उत्थानका लागि माओवादी त्यहा“ नया“ कार्यक्रम लिएर जान्छ । माडीलाई अब नया“ माडीको रुपमा विकास गरिन्छ ।’ 
फूलवारीको ‘राहत प्याकेज’ घोषणापछि प्रचण्ड एकैपटक गएको फागुनमा माडी महोत्सव उद्घाटन गर्न झुल्किए । महोत्वस उद्घाटन गर्न आएका प्रचण्ड पीडितहरुसंग डराए । प्रहरी प्रशासनले प्रचण्डको असुरक्षा हुने बुझ्यो । उद्घाटन अवधिभर माडी घटनाबाट पीडित बनेका कृष्ण अधिकारीलाई इलाका प्रहरी कार्यालय माडीले ‘तपाईसंग जरुरी सल्लाह गर्नुछ’ भनि बोलाएर प्रहरी कार्यालयमै राख्यो । जब प्रचण्ड माडी महोत्सवको उद्घाटन मन्तव्य दिएर हेलिकप्टर चढेर गए, अनि बल्ल कृष्ण अधिकारीलाई पनि छाडियो । सकेसम्म ठूलो आर्थिक प्रलोभन र सांसद बनाउने जस्ता विभिन्न प्रलोभन देखाएर माओवादीले आफूलाई किन्न खोेजेको तर नसकेपछि आफ्नो विरोधमा स्थानीय माओवादीहरु समेत लागेर ‘जतिबेला जे पनि हुनसक्ने’ भन्दै आफूलाई पीडाभाथि झन् पीडा थपिदिएको अधिकारीको भनाई छ । यस्ता कुरालाई माओवादीले बेलैमा सम्बोधन गर्न जरुरी छ । माडी महोत्सवमा आएका बेला प्रचण्डले सरकारलाई भनेर पीडितका नाममा ६० लाख रुपैयाँ विनियोजन गर्न लगाएको बताएका थिए । यो रकम पीडितले आफूखुशी खर्च गर्न पाउने भनिएको थियो । प्रचण्डको यो कुरा हावादारी रहेको पीडितहरुले तब थाहा पाए, जतिबेला ‘द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रम’का नाममा शान्ति मन्त्रालयले आफू मातहत रहने गरी ‘वरीपरी तारवार लगाएर पैसा लिन बोलाएको’ थियो । पीडितहरु भन्छन्,‘ विजुली नभएको माडीमा कोल्ड स्टोरेज जस्ता आयोजनाको के काम ?’
माडी घटना दर्दनाक हो, यसमा दुइमत छैन । दलगत स्वार्थका लागि राज्यको ढुकुटी रित्याउनु राम्रो पनि होइन । माओवादीका पछिल्ला व्यवहारले पनि माडीवासीको न्यायलाई माओवादीले पैसाले किन्न खोजेको बुभिन्छ । पीडितलाई न्याय र राहत संगसंगै दिने वातावरण नभएसम्म उनीहरुलाई आश्वस्त पार्न सकिने ठाउँ देखिदैन । यसैले बिनाकसुर माओवादीबाट यो नियति भोग्न बाध्य बनाइएका अभागी गाउ“लेहरुलाई आश्वस्त पार्न माओवादीले अझै पनि आफ्नो संगठनभित्रको दण्डहिनता निरुत्साहित गर्नुपर्ने र कारवाहीलाई प्रमाणित नगर्दासम्म यो घाउ सधैं आलै भएर रहन्छ । पीडितका जायज मागलाई सम्बोधन गरिदिए माओवादीले बाँदरमुडेको आगामी वार्षिकोत्सवलाई फेरि ‘कालो दिन’का रुपमा मनाउने थिएनन् । अनि पीडाको घाउ पनि सुक्दै जाने थियो ।  
२०७० जेठ २८ गते मंगलबारको चितवन पोष्ट दैनिकबाट



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete