Monday, June 4, 2012

शान्ति र संविधानको यात्रामा बदल्नुपर्ने भूमिका

जनताले व्यग्र प्रतिक्षाका साथ कुरेर बसेपनि आखिर नयाँ संविधान पाउन सकेनन् । चार वर्षअघि निर्वाचनमार्फत बनेको संविधानसभा पनि निकम्मा सावित भयो । संविधान बनाउन गएकाहरुमध्ये कोहि संविधान बन्न नसकेकोमा रोएरै भए पनि चित्त बुझाइरहेका छन् त कोहि एकअर्कालाई सत्तोसराप गरेर । संविधान सभा विघटन गरेर प्रधानमन्त्रीले आगामी मंसिर  ७ मा नयाँ जनादेशका लागि भन्दै निर्वाचनको घोषणा गरेका छन् ।
यो राजनीतिक उथलपुथलले अबका बाँकि दिन राजनीतिक दलहरु र अन्य नेपाली समुदायकाबीचमा हिलो छ्यापाछ्याप र दोषारोपण गर्नेबाहेक अरु केहि पनि हुदैन भन्ने संकेत देखाईसकेको छ ।वितेका चार वर्ष संविधानका लागि भन्दै देशले धेरै आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक संकट वेहोर्यो । संविधान सभाको निर्वाचन अघिको अवस्थाका बारेमा त झन् कुरै नगरौं । यही अवस्था रहिरहेमा यो संकट अझै लम्बिने निश्चित छ । राम्रो चिज पाउन हरेक नराम्रा र अप्ठेरा स्थितिको पनि सामना गर्नपर्छ । हरेक निराशाका बीचमा आशाका रेखाहरु पनि कोरिएका हुन्छन् । अब यही आशाका रेखाहरु पहिल्याएर अगाडि बढ्नेबाहेक अरु विकल्प छैन हामीसंग ।
हाम्रा जति सबै राम्रा र राम्रा जति सबै हाम्रा भन्ने राजनीतिक दल र यीनका नेतृत्वपछाडि अन्धोभक्त बनेर हिड्ने नेपाली समाजको परिपाटीले नै देशको हालत यस्तो भएको हो । संविधान नबन्नुमा जति राजनीतिक दल र नेताहरु दोषी छन्, त्यति नै हामी नेपाली जनता पनि दोषी छौं । उनीहरुका राम्रा कामका बारे समर्थन र नराम्रा कामका बारे बेलैमा खबरदारी गर्न सकेका भए देशले आजका दिनमा संविधान पाउँथ्यो । तर सकिएन । नेताहरुले भने भन्दैमा जहाँ भन्यो त्यहिं, जतिबेला भन्यो त्यतिबेला जुलुस, नाराबाजी र हड्तालमा सामेल भइदिएपछि कसरी बन्छ त संविधान ? संविधान सभा भंग हुने चाल पाएपछि बल्ल कुकुर भुकेजसरी संविधान सभाहलमा भुक्ने सभासद्हरुको चालबाजी सभासद् बनेकै दिनदेखि आफ्ना नेतालाई खबरदारी गर्नपट्टी लागेका भए देशमा यो अनिष्ट हुने थिएन । अहिले आएर चुहाएको गोहीका आँशु कतिदिन टिक्छ र ? जनतालाई संविधान दिन नसक्नुको दोष यतिबेला जिम्मेवार तहमा बसेकाहरुबाट एकले अर्कालाई थोपर्ने काम भएको छ । अनि हामी तिनै नेताका बोलीमा लोली मिलाइरहेका छौं । आफ्ना नेताले अरुलाई गरेको गाली सुनेर अझै ताली मारिरहेका छौं । अझै पनि तिनका बोलीमा लोली मिलाउने र गालीमा ताली मार्ने हामी जनता कस्ता ? अब हामी अरुका र कसैका होइन, आफ्नो बन्न सिकौं ।
हुन त देश चल्ने राजनीतिले हो । राज्यको नीति नै राजनीति हो । तर यो नीति परिचालन गर्ने सवालमा नेताहरुले गम्भीर गल्ती गरे । अझै पनि यही गल्तीका पछाडि दौडिएर देशलाई अर्को भूमरीमा हाल्ने सहयोगी भूमिका अब नेपाली जनताले बदल्नैपर्छ । राजनीतिलाई चटक्कै त्याग्नेभन्दा पनि राजनीतिका नाममा हुने गलत क्रियाकलाप र नेताहरुको भुलभुलैयालाई त्याग्न सकियो भने राजनीति पनि सप्रिन्छ । अनि नेताहरु पनि सुध्रन्छन् ।संविधान नबन्नुमा एकले अर्कोलाई दोष लगाउनुमा केहि तुक छैन ।
संविधान बनाउन गएका सभासद्को भन्दा पनि वितेका दिनमा राजनीतिक दलका नेतृत्वहरुको चलखेल बढि भयो । सडक नारा लगाउने, बन्द हडताल गरेर जनतालाई सास्ती दिनेका कुरा मात्रै नेताहरुले बढि सुने । पछिल्लो समयमा संघियताका नाममा जातजातीबीच फाटो ल्याउने काम भयो । शाही शासनकाललाई बिर्साउने जसरी पत्रकारहरुलाई कुट्ने र तर्साउने काम भयो । मान्छे यति अराजक बने कि कोहि पनि कसैको नियन्त्रणमा रहन सकेनन् । अमुक भीडका कुरा मात्रै सुन्ने, उनीहरुका माग पुरा गर्नपट्टी राजनीतिक दलको सिफारिसमा सरकार पनि लाग्यो । एउटा भीडले उपद्रो मच्चाउन सक्यो भने उसले जे र जति मागेपनि दिने संस्कार विकसित भयो नेपालमा । यस्तो लाग्थ्यो, माग्नेले जे पनि र जतिपनि माग्ने । माग्न हुनेपनि माग्ने । माग्न नहुने पनि माग्ने । अनि दिनेले जति पनि दिने । दिन मिल्ने पनि दिने । दिन नमिल्ने पनि दिने । मानौं, यो देश बोल्नेहरुको मात्रै हो । मौन बस्नेहरुका लागि हुँदै होईन । जनजातीका नाममा आन्दोलन भयो । थारुहरुका नाममा देश ठप्प भयो ।
ऐतिहासिक जनआन्दोलनलाई विर्साउने किसिमले सुदुरपश्चिममा जल्यो । मधेशी समुदायले आगो बाले । बाहुन क्षेत्री समेत आन्दोलनमा उत्रिए । अखण्डताका नाममा चितवनमा पनि तनाव भयो । सबैले तेर्साएका माग कागजका खेस्रामा पुरा पनि भए । तर व्यवहारमा भएन । देश र हाम्रो समुदाय उस्तै र यस्तै रह्यो । अलिअलि बँचेखुचेको नेपाली समुदायबीचको स्वाभिमान र इमान्दारिता पनि जातीयता र क्षत्रीयताका नाममा गरिएका आन्दोलनले तहसनहस बनाइदियो । यदि आन्दोलनले नै सबैथोक हुनेभए किन चाहिएको थियो संविधानसभाको निर्वाचन ? किन बनाएको तेत्राविधि सभासद् ? यसैले अब हामीले बुझ्नैपर्छ, सबैको निकास आन्दोलन मात्रै होइन ।
सबै माग राजनीतिक दल र सरकारले मात्रै पुरा गर्न सक्दैन । अझै पनि हामी अबुझ र विवेकहिन भयौं भने देश ठप्प हुन्छ । देशमा फेरि आन्दोलन, बन्द हड्ताल हुन्छ । संविधान बन्न नसकेको झोंकमा राजनीतिक दलका नेताबाट एकले अर्कोलाई गर्ने गालीका भजनमण्डली मात्रै बनियो भने शान्ति र संविधानको यात्रा अझ अनिश्चित छ । आन्दोलन गर्नेपरे विचारको आन्दोलन गरौं । ढुंगामुढा र बन्दको होइन । अरुका विचारलाई सम्मान गरेर केहि समय वाकयुद्ध गरौं ।
हतियारको बलले होइन, अध्ययनले निखारिएर शीतयुद्ध गरौं । बन्दलाई सधैंका लागि बन्द गर्ने साहस तपाई हामी एक्लै परेपनि गरौं । अझै पहाड खसिसकेको छैन । केहि समय हामी हाम्रा नेताका भजनमण्डली नबनिकन उनीहरुलाई उनीहरुकै बीचमा राखेर आत्मसमीक्षा गर्न दिइयो भने पक्कै पनि देशले शान्ति र संविधान पाउँछ । शान्ति र संविधानप्रति उनीहरु प्रतिवद्ध भए भने विधि, प्रकृया र समय कुनै ठूलो कुरै होइन ।

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete