Monday, February 14, 2011

जापानमा व्यापारिक सफलता पाउने केही मन्त्रहरू

नेपालबाट भर्खर भाषा बिद्यार्थीका रुपमा जापान भित्रिएका तपाई हामी अधिकांशको सपना हो-’जापानमा ब्यापार ब्यबसाय थाल्नु र आफुले सोंचेअनुसार सफलता पाउनु । भाषा, भिसा, संस्कृति, जापानीहरुको आचरण आदिबारेमात्रै ज्ञान भएर पुग्दैन जापानमा ब्यबसायीक सफलता पाउनका लागि ।
ब्यापार-ब्यवसाय शुरु गर्दा उद्यमीहरुले नाफा, सुरक्षा र ग्यारेन्टीको आशा राखेका हुन्छन् । कुनै पनि देशमा ब्यबसाय गर्नुअघि त्यहाँको राजनीतिक स्थिति, सामाजिक परिवेश र कार्यस्थलको बाताबरणबारे जान्नु आवश्यक हुन्छ । यदि तपाई जापानमा केहि ब्यापार-ब्यबसाय गर्ने मनस्थितीमा हुनुहुन्छ भने जापानी सस्कृति, सामाजिक परिवेश र जापानीहरुको कामप्रतिको स्थापित मान्यता बुझ्नु अति जरुरी हुन्छ । ‘जापानी सस्कृतिको बेवास्ता गर्ने उद्यमीलाई ब्यापारिक सफलता मिल्न गाह्रो हुन्छ,’ बेकर डोनेल्सनका एसोसिएट मसाई ओकुराले भन्छिन- ‘जापानी सस्कृतिमा असभ्य र अपच हुने कार्य वा ब्यबहार नगर्न सम्बन्धित बिज्ञसँग सल्लाह गर्नु बुद्विमानी हुन्छ ।’
एक सफल ब्यबसायीको रुपमा आफूलाई स्थापित गर्न सफल ओकुरासँगको कुराकानी संक्षिप्तमा तल दिइएको छः
पहिलो भेटबार्तामा कस्तो ब्यबहार गर्ने ?
नम्र र भद्र ब्यबहार जापानीहरुको आदर्श हो । जापानमा शिर निहुर्‍याई अभिभादन गर्ने चलन छ । तसर्थ तपाई ब्यापार सम्झौता गर्दा वा छलफलमा सहभागी हुनुअघि शिर निहुर्‍याई अभिभादन गर्नु उचित हुन्छ । हात मिलाउनु वा ढाड पछाडि धाप मार्नुलाई धेरै जापानीहरुले अनौठो र अशिष्टरुपमा लिने गर्छन् । पश्चिमी सस्कृतिबारे त्यति धेरै हेलमेल नभएका जापानी उद्यमीहरुसँग कुनै किसिमको शारिरिक सामिप्यता असज हुनसक्छ । ब्यापारिक सम्बन्ध विकासका लागि कार्डको आदनप्रदान महत्वपूर्ण हुन्छ । कार्ड लिंदा वा दिंदा दुबै हातको प्रयोग गर्नाले सम्मान प्रकट भएको मानिन्छ । आमनेसामने बार्ता गर्दै हुनुहुन्छ भने कार्ड टेबलमै राखी कुरा गर्दा तपाईले समकक्षी उद्यमीलाई दिएको सम्मान स्पष्ट झल्कन्छ, त्यसैले यस्ता कुरामा ध्यान दिनुहोस् ।जापानमा धेरै बिदेशी उद्यमीहरुको साझा समस्या हो-भाषा । अन्तराष्ट्रिय भाषाको रुपमा अंग्रजीको प्रयोग भएको पाइए पनि जापानमा जापानी भाषा कै बढी प्रयोग हुन्छ । भाषा अनुबादकले तपाईलाई अंग्रेजीमा उल्था गरी छलफल गर्न सहयोग गर्नेछन् । जापानी उद्यमीहरु आफ्ना समकक्षीलाई उच्च सम्मानका भाषा प्रयोग गर्दछन् । जति उच्च सम्मानको भाषा हुन्छ, त्यसको प्रस्फुटन त्यति नै लामो हुने गर्दछ । जापानीहरु दीर्घकालिन ब्यापारिक सम्बन्ध मन पराउँछन् । द्विपक्षिय ब्यापारिक वार्ताका क्रममा गम्भीर सम्झौताबारे तुरुन्तै प्रस्ताव नगरिहाल्नोस, जापानीहरु प्रायः यस्तोखाले हतारो रुचाउँदैनन् । आफ्नो एजेन्डा र मुद्दालाई विस्तारै प्रस्तुत गर्नाले निश्चित सम्झौता हाँसिल गर्न सजिलो हुन्छ ।
आफ्नो ग्राहक वा समकक्षीबारे बिस्तृत जानकारी लिंदा अनौपचारिक तरिका अपनाउनु उचित हुन्छ । त्यसको लागि तपाईले बैठकपछि सँगै चिया वा खाजा खाने, हप्ताको अन्त्यमा गल्फ खेल्न आमन्त्रित गर्नेजस्ता उपाय अबलम्बन गर्न सक्नुहुन्छ । यसरी जापानी उद्यमीहरुको मन र विश्वास जित्न सकेमा औपचारिक छलफलका समयमा गम्भिर प्रकृतिका विषयमा सहमती गर्न सजिलो हुनेछ ।
सम्झौता प्रक्रियामा प्रवेश गरेपछि के गर्ने ?
ब्यापारिक छलफल र सम्झौताका क्रममा आवाज ठूलो बनाउनु वा आफ्नो मनोभावलाई नियन्त्रण गर्न नसक्नु हानिकारक हुनेछ । यसले जापानी उद्यमीको नजरमा तपाईको नकारात्मक छबि प्रबाह गर्नेछ । बार्ताका क्रममा बिबादजन्य विषय आएमा वा तनाबपूर्ण स्थिती सिर्जना भएमा शान्त हुनु र अनुहारमा मन्द मुस्कान ल्याउनु ब्यबहारिक र फाइदाजनक हुन्छ । अस्विकार गर्नु वा नकारात्मक जवाफ दिनुलाई जापानीहरुले रुखो ब्यबहार मान्छन् । जापानी उद्यमी तथा ब्यापारीहरुले कुनै सम्झौता तोड्न चाहेमा उनीहरुले अनुहारमा मुस्कान र मिठा शब्दहरुको प्रयोग गर्ने गर्दछन् । यसको मतलब हो उनीहरु सम्झौतापछि पनि सुमधुर सम्बन्ध राख्न चाहन्छन् र कुनै पनि दुश्मनीको खतरा मोल्न चाहन्नन् ।
लैङ्गिक विविधता र ख्याल पुर्‍याउनुपर्ने कुरा ?
बास्तवमा जापानमा लैङ्गिक विविधतालाई प्रश्रय दिनेखाले कुनै कानुन रहेको छैन् । तर पनि पुरुष कामदारको तुलनामा महिला कामदारले उच्चतहको काम पाउँदैनन् । महिलाहरुलाई पदोन्नतीका अबसरहरु पनि निकै कम रहेको पाइन्छ । विशेषगरी महिलाहरुलाई निश्चित पेशा अबलम्बन गर्न भन्दा पारिबारिक दायित्वभित्र बाध्ने सामाजिक परिवेश रहेको छ । यसकारण धेरै जापानी महिलाहरुले पार्ट-टाइम काम गर्ने र बिबाहपछि रोजगारबाट रानीनामा दिने प्रचलन देखिन्छ । तैपनि कार्यस्थलमा लैङ्गिक भेदभावलाई हतोत्साहित गरिन्छ । हाल महिला कामदारहरुले पनि उच्च ओहदामा बसी उत्तरदायित्व बहन गर्न थालेका छन ।
जापानमा ओभर-टाइम काम गर्दा अतिरिक्त तलब वा सुविधाको ब्यबस्था हुनुपर्ने कानुनी प्रावधान रहेको छ । अफिस चाडै आउने वा ढिलो समयसम्म काम गरी तपाई आफूले काम गर्ने कम्पनीप्रति बफादारिता प्रदर्शन गर्न सक्नुहुन्छ । यसले तपाईको दीर्घकालिन रोजगारीलाई सुनिश्चित गर्छ । यसैकारण धेरै जापानी पुरुष कामदारहरु निवृतिकरण नपाउन्जेलसम्म काम गरिरहेको पाइन्छ । कम्पनीको नीतिविपरित बोल्नु वा कार्य गर्नुले तपाईको पदोन्नतीमा मात्र नभई जागिर नै धरापमा पार्ने छ । आफूभन्दा विशिष्ट पदाधिकारीले भनेको मान्नु र सहकर्मीसँग सौहार्द बाताबरणमा काम गर्नाले जागिर दिगो हुने निश्चित छ । विश्व आर्थिक मन्दीका कारण जापानी अर्थतन्त्र केहि खस्किएको अबस्थामा ब्यापारीक लाभ वा सुनिश्चित रोजगारको कुरा गर्नु बुद्दिमानी नहोला ।
यदि तपाई भर्खरै नेपालबाट भाषा बिद्यार्थीका रुपमा जापान प्रवेश गर्नुभएको छ भने भिसासम्बन्धी आबश्यक प्रकृया भने पुरा गर्नुपर्छ । पढाई सकेपछि बिद्यार्थी भिसालाई कसरी बिजनेस भिसामा परिवर्तन गर्न सकिन्छ भनेर सोचिराख्नु बुद्धिमानी हुनेछ । भाषा, भिसा, कम्पनी वा र्फम रजिष्ट्रेसन, सम्बन्धीत सरकारी कार्यालय र कानुनी परामर्शदातासंगका काम सकेपछि तपाई जापानी बिजनेसम्यानसंग कसरी ब्यबहार गर्ने भन्नेबारे ध्यान दिनु मनासिव होला ।
(यो आलेख अनुभवी नेपाली व्यव्सायी, जापानमा व्यबसायसम्बन्धी बिभिन्न पुस्तक तथा पत्रपत्रिकामा आधारित रहि टोक्यो नेपाल डटकम्को सम्पादन समूहले तयार पारेको हो ।)http://www.tokyonepal.com/2011/01/12/7818.html

0 comments:

Post a Comment