• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, January 28, 2010

    बेलायतका नेपाली विद्यार्थीबीच रुवाबासी

    नवीन पोखरेलनवीन पोखरेल

    लन्डन-, २०६६ माघ ९ - 
    यूके बोर्डर एजेन्सी (यूकेबीए) ले नियम उल्लंघन गरेर 'करोडौं कुम्ल्याउन उद्यत' भन्दै ६७ कलेज निलम्बन गरेपछि त्यहाँ अध्ययनरत हजारौं नेपालीको उच्च शिक्षा लिने सपना चकनाचुर भएको छ । लाखौं खर्चेर बल्लतल्ल आएका नेपाली विद्यार्थीबीच रुवाबासी नै चलेको छ । 
    यूकेबीएको यस निर्णयले मुख्यतः ती कलेजमार्फत यूके आउन आवेदन दिइरहेका अन्तर्राष्ट्रिय विद्यार्थीको प्रक्रिया र यूकेमै रहेका विद्यार्थीको भिसा अवधि थप्ने प्रक्रिया दुवै स्थगित हुनेछ । 
    होम अफिसको नियम मिच्ने ती कलेज यो साता निलम्बनमा परेपछि नेपाली विद्यार्थी मानसिक तनावमा छन् । निलम्बित कलेज सदाका लागि बन्द भए अर्को नयाँ खोज्न उत्तिकै रकम जुटाउनुपर्ने र भिसा थप्ने प्रक्रियासमेत अवरुद्ध हुने भएपछि विद्यार्थी समस्यामा परेका हुन् । नेपालीद्वारा सञ्चालित दुई कलेजसमेत निलम्बनमा परेका छन्, जहाँ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत थिए । 'यूके उत्रेकै साता कलेज निलम्बनमा परेछ, तिरेको ४ हजार पाउन्ड डुब्ने पो चिन्ता भयो,' साउथ इस्ट लन्डनस्थित नेपालीको कलेजमा अध्ययनरत एक विद्यार्थीले गुनासो गरे, 'अब काम नपाउनुको पीडाभन्दा कलेजको टेन्सनले रुनु न हाँस्नु भएको छु ।'
    यूकेबीएले लाइसेन्स लिँदा गरेका सर्तहरू पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेज गरिदिन सक्छ । मापदण्डविपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाउने, आफ्नो छडकेमा शैक्षिक संस्थाको आधारभूत संरचना र पठनपाठन सन्तोषजनक एवं विद्यार्थीको रेकर्ड दुरुस्त नदेखे लाइसेन्स खोस्ने वा रद्द गर्ने अधिकार यूकेबीएलाई छ । निलम्बित ह्यामरस्मिथ कलेजमा पढ्ने केसी थरकी एक विद्यार्थीले भनिन्, '८ लाख ऋण खोजेर ५ महिनाअघि यूके आएको । काम छैन, त्योमाथि कलेज बन्द भएर थप मर्माहत हुनुपर्‍यो ।' अढाइ वर्षअघि बेलायत आएकी अल्फा मेरिडियन कलेज लन्डनमा व्यवस्थापन विषय अध्ययनरत ठकुरीलाई भने भिसा थप्ने बेलैमा कलेज निलम्बनको खबरले विक्षिप्त बनाएको छ । 'भिसा पठाउने बेला यस्तो खबर सुनियो, अब के पो हुने हो ?' उनले दुखेसो गरिन् ।
    बीएलजे सोलिसिटर्सका लिगल कन्सल्टेन्ट महेश दाहालले निलम्बनलगत्तै विद्यार्थी आत्तिँदै आफ्नो र्फममा आएको बताए । 'लाखौं खर्चेर यूके आएका विद्यार्थीमा रुवाबासी नै चलेको छ । सबैजना अब के हुने हो भनेर अन्योलमा छन्,' दाहालले भने, 'नेपालका कन्सल्टेन्सीले विद्यार्थीका कागजात हाई कमिसन पठाउनुअघि होम अफिसको आधिकारिक वेबसाइट हेरेर मात्र अघि बढेमा धेरैको हित हुने देखिन्छ ।' 
    यूकेबीएको तर्फबाट आएका 'भिजिटिङ अफिसियल' ले त्यस्ता शैक्षिक संस्थालाई के कारण 'सस्पेन्ड' गरिएको हो भन्नेछन् र २८ दिनभित्र यूकेबीएले दिएको पत्रको लखित प्रमाणसहित प्रत्युत्तर दिनुपर्नेछ । प्रत्युत्तर सन्तोषजनक नआए सदाका लागि कलेज नै बन्द गरिदिनेछ । २८ दिनभित्र जवाफ दिन नसक्ने अवस्था भए निलम्बित कलेजले थप समय माग गर्न सक्नेछन् । टियर ४ अन्तर्गत लाइसेन्स सस्पेन्ड भएको अवस्थामा कुनै पनि 'सस्पेन्डेड' कलेजले विद्यार्थीका लागि नयाँ भिसा लेटर वा 'सीएएस' जारी गर्न नमिल्ने प्रावधान छ । 
    'लाइसेन्सप्राप्त शैक्षिक संस्थाले आफ्नो काम, कर्तव्य र अधिकार उल्लंघन गरेमा र त्यसबाट अध्यागमन नियन्त्रणमा खतरा भएमा यूकेबीएले निलम्बन गर्न सक्छ,' बि्रटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर राजु थापा भने । 'त्यस्ता कलेजलाई स्पोन्सर रजिस्टर्डबाट हटाउनेछ र निलम्बन अवधिभर कुनै पनि विद्यार्थीलाई अध्ययनका लागि भिसा लेटर वा सेन्टर सीएएस जारी गर्न रोक लगाउनेछ । सस्पेन्ड कलेजले कुनै पनि विद्यार्थी अध्ययनका लागि भिसा लेटर वा सीएएस जारी गरे यूकेबीएले थप कारबाही गर्नेछ,' उनले भने ।
    कलेज सञ्चालक भने निलम्बनको खबरलाई सामान्य भन्दै यो निर्णय केही समयका लागि मात्र भएकाले संयमता अपनाउन सुझाव दिएर विद्यार्थीको आक्रोश शान्त पार्न खोजिरहेका छन् । 'हाम्रो २८ दिनका लागि लाइसेन्स दिने अधिकार मात्र गुमेको हो, पढाइ त सुचारु नै छ,' निलम्बित लन्डन कलेज अफ ल एन्ड म्यानेजमेन्टका ओटिएचएम डिपार्ट हेड शेखजियल हकले कान्तिपुरसँग भने, 'भिसा अवधि थप्न लागेका विद्यार्थीले केही समय कुर्नुपर्ने भो । वास्तवमा विद्यार्थीलाई भन्दा हामीलाई बढी चिन्ता छ, पुनः लिने प्रक्रिया अघि बढाइसकेका छौं ।'
    विद्यार्थीसँग कलेज सस्पेन्ड हुनु अगाडिको भिसा लेटर छ र बि्रटिस हाई कमिसनले अध्ययनका लागि 'इन्ट्री क्लियरेन्स्' दिए पनि कलेजका समस्या समाधान नभइन्जेल बेलायत नआउन सुझाव दिन्छन् थापा । 'इमिग्रेसन अफिसरले त्यस्ता विद्यार्थीलाई प्रवेश दिनसमेत रोक लगाउन सक्नेछन् । त्यसैले विद्यार्थीले होम अफिसको वेबसाइटमा कलेजहरू रजिस्टर्ड छन्/छैनन् समयमै जानकारी लिएर मात्र आउन उचित हुनेछ,' उनले सुझाए ।
    नेपालमा कन्सल्टेन्सीहरूको झूटा आश्वासन, विद्यार्थी पनि कलेजबारे बेखबर, अध्ययनभन्दा रोजगारी बढदो प्राथमिकता, आवेदन दिँदा यथेष्ट रकम भएको पुष्टि गर्ने तर बेलायत प्रवेश गरेपछि यूकेबीएले निर्दिष्ट गरेको 'मेन्टिनेन्स् फन्ड' आफ्नो खातामा नहुँदा विद्यार्थीले समस्या भोगिरहेका छन् । कलेज सस्पेन्ड, लाइसेन्स रद्द आदि कारण विद्यार्थीले तिरेको ट्युसन शुल्कसमेत गुमाउँदैछन् ।

    No comments:

    Post a Comment