Friday, January 15, 2010

देउवालाई प्रधानमन्त्रीको ललीपप

दुई ठाउँ जितेकोलाई मान्न तयार छौँ: माओवादी-

उजिर मगर, काठमाडौं, माघ १- एकीकृत माओवादी कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि विकल्प खुला राखेको छ। प्रधानमन्त्रीमा आफूलाई मत दिए ३ सय १ मत पुर्‍याउने देउवाले माओवादीलाई प्रस्ताव गरेपछि उसले विकल्प खुला राख्ने निश्कर्ष निकालेको हो।माओवादीले मत दिएपछि आफ्ना पक्षमा रहेका सभासदहरूको मतले आफू आवश्यक ३ सय १ मत पुर्‍याउने देउवाले प्रस्ताव गरेका छन्। देउवाले उपसभापति गोपालमान श्रेष्ठ मार्फत माओवादी नेतृत्वमा त्यस्तो प्रस्ताव पुर्‍याएका हुन।

माओवादी सभासद खिमलाल देवकोटा र श्रेष्ठको पहलमा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग दुई चरण वार्ता समेत भइसकेको छ। केही दिनअघि देवकोटा देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।देउवालाई सरकार नेतृत्व गर्ने पहल बारे उपसभापति श्रेष्ठले भने- 'माओवादीको कुन तहका नेताले भने?' भनेर उल्टो प्रश्न गरे। उनले भने- 'अहिले माधव नेपालकै सरकारलाई निरन्तरता दिने हो भन्ने पार्टीको नीति छ।'सरकार नेतृत्वको लागि पहिले माओवादी आफैले दाबी गर्ने र त्यसको विकल्प नभए माधव कुमार नेपाल सरकारलाई गिराउन देउवाका लागि विकल्प खुला राख्ने निश्कर्षमा पुगेको माओवादीका एक नेताले बताए।
देवकोटाले देउवाद्वारा आफू विकल्पको रूपमा सरकार नेतृत्व गर्न तयार रहेको प्रस्ताव स्वभाविक रहेको बताए। 'देउवाले पनि अहिले सरकारबाट संविधान निर्माण नहुने भएपछि आफू विकल्प दिनु स्वभाविक हो', देवकोटाले भने।नेपाल नेतृत्व सरकारबाट संविधान निर्माण हुन नसक्ने, माओवादीलाई सरकार गठन गर्न कतैबाट अनुकुल नबन्ने अवस्था र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले छोरी सुजतालाई अघि सार्न खोजेपछि देउवाले आफू विकल्प भएको तर्क माओवादीलाई दिएका छन्।
उनले पहिलो वार्तामा लिने काम गरेको, कोइरालाले संसदीय दलको चुनावमा सहयोग नगरेको अवस्थामा आफूलाई सहयोग गर्न माओवादीसँग प्रस्ताव गरेका छन्। 'सिंगापुरमा भएको कोइराला वा दाहाल मध्ये एक प्रधानमन्त्री बन्ने सहमति समेत कार्यन्वयन नभएपछि मात्रै उच्च संयन्त्र बनेको हो। पहिलो वार्तामा मैले नै लिएको हुँ। यो अवस्थामा सहयोग गर्नुपर्छ', देउवाको प्रस्ताव उद्धृत गर्दै ती माओवादी नेताले भने।'दुई ठाउँ हारेको मान्छेलाई प्रधानमन्त्री मान्नु भन्दा दुई ठाउँ जितेकालाई प्रधामन्त्री मान्नु कुनै आपत्ति हुन्न भन्ने निश्कर्ष पार्टीको हो', माओवादीका एक नेताले नागरिकसित भने- 'नेतृत्व हामीले नै गर्नुपर्छ भन्ने मान्यता त छदैं छ। तर, विकल्पका रूपमा देउवाप्रति खुला रहने निश्कर्ष हो।'
एमाले वरिष्ठ नेता नेपालको नेतृत्व सरकारबाट संविधान लेखन पुरा नहुने निश्कर्षमा कांग्रेस समेत पुगेकाले विकल्प खोजिएको स्रोतले बतायो। अहिले पार्टीको नीति नेपाल सरकारलाई नै निरन्तरता दिने भएको हुँदा सबै भेटघाट गोप्य राखिएको छ।
देउवाले सरकार नेतृत्व गरेपछि सहयोग गर्ने विकल्प खुला राखे पनि सरकारमा जाने वा नजाने विषयमा समेत छलफल भएको छ। 'समर्थन गरिसकेपछि सरकारमा जानुपर्छ वा बाहिरै रहेर सहयोग गर्ने भन्ने विषयमा छलफल भएको छ, निश्कर्षमा पुग्न सकिएको छैन', माओवादीका ती नेताले भने।माओवादीले कांग्रेसको महाधिवेशन नजिएको बेला पुनः देउवालाई अघि सारेका छन्। 'भारतले उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन दबाब दिएको' आरोप लगाएर भावी प्रधानमन्त्री उम्मेदवार पुष्पकमल दाहाल बनेपछि माओवादीभित्रैबाट सरकार नेतृत्व गर्ने विषय झन टाढा बन्दै गएको छ।

No comments:

Post a Comment