• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, December 18, 2009

    चढाउँदिन मृतक पत्रकारको सूचीमा मेरो नाम

    टीका विष्ट

    १३ मंसिरको साँझ घरबाट आमा बिरामी भएको खबर आएको थियो । केही समययता आफ्नै कामले सदरमुकाम खलंगामा नै बस्दै आएकी थिएँ । काम मिलाएर आमालाई भेट्न जाने मनस्थिति बनाएँ । आजसम्म प्रकाशित लेखहरूको फाइल हेर्दै लेखाइको समीक्षा गरेँ । रात छिप्पिँदै थियो । नयाँ लेख्ने विषयमा सोच्दै निदाइँछु । भोलिपल्ट बिहान करिब सवा ६ बजेको हुँदो हो, मोबाइलको घन्टी बज्यो । डराएँ कतै आमालाई बिरामीले त च्यापेन - घरबाटै फोन आयो होला भनी मोबाइल हेरेँ ।
    'नो नम्बर'बाट फोन आएको थियो । त्यस्तो फोन कहिलेकाहीँ झुक्किएर टेलिकमबाटै आउँछ र रिसिभ गरेमा मोबाइल बिग्रिन्छ रे भन्ने मेरो बुझाइ थियो । त्यसैले फोन उठाइन । दुई मिनेटको अन्तर थियो होला, फेरि त्यसैबाट फोन आयो । के बिग्रेला र भनेर उठाएँ । 'हेलो' नभन्दै गुडमोर्निङको शब्द सुनियो । मोर्निङ, मैले भने, 'को बोल्नु भयो -' अनि केटामान्छेको मोटो र खाँदिलो स्वरमा उत्तर आयो 'किन चाहियो तँलाई - दुनियाँको सिन्दूरको बारे लेख्ने ।' अनि भन्दै गयो, 'खुब पत्रकार भैया छ नि - सान छ - तीर्थाको सिन्दूरको बारे तलाइँ बोल्ने के अधिकार - आफ्नो सिन्दूरको माया र रहर छ कि छैन - पठाइदिउँ र्स्वर्गवास -' आदि ।
    मैले भने, 'को हो तपाइँ यस्ता कुरा गर्ने -' उत्तरमा उसले भन्यो, 'मलाई चिन्नु पर्‍या छैन तैंले । कति छ भन्ने लाग्छ जीवनको आयु -' तथानाम शब्दहरू । मलाई आर्श्चर्य लाग्यो र रिस पनि उठयो । अलि चर्को स्वरमा भने, 'तपाइँलाई के अधिकार यस्ता कुरा गर्ने - कमसेकम आफ्नो परिचय त दिनूस् - को हो - कहाँबाट हो - कुन निकायबाट बोल्दै हुनुहुन्छ - केको आधारमा गर्दै हुनुहुन्छ यतिका कुरा -'
    मैले कुराको बिट नमार्दै ऊ बोलिहाल्यो, 'अझ बढ्ता कुरा गर्ने - बाँच्ने रहर छ कि छैन - मृतक पत्रकारको लिस्टमा चढाइदिउँ तेरो नाम - आइन्दा तँलाई यस्तो प्रशिक्षण दिन नपरोस् । तेरो जीवनको आयु छोट्टिदै छ । जतिखेर, जहाँ, जे पनि हुनसक्छ । ख्याल गरेस् ।' त्यसपछि फोन कटयो ।
    यसरी फोन कहिल्यै नआएकाले होला केही पनि सोच्न नसक्ने भएँ । यति बिहानै बाँच्ने दूरी घटेको थ्रेट आएको छ, कसैलाई भनौ भने कुनै प्रमाण छैन । सबै काममा प्रमाण खोज्ने मान्छेले आधारविहीन आफ्नो कुरा कसैलाई भन्दा नपत्याउलान् भन्ने डर । फोन आएको न नम्बर छ, न आवाज रेकर्ड । नभनौ त भोलि हुने कुनै पनि घटनाको संकेत यो नबन्ला भन्न सकिँदैन । अलमलमा परेँ ।
    त्यस दिन इद परेकाले र्सार्वजनिक बिदा थियो । सबै कार्यलयहरू बन्द थिए । बजारमा चहलपहल निकै कम थियो । मलाई भने यो फोनले को, किन, कहाँबाट, अब के हुन्छ जस्ता कुराले मनमा बत्ति बालेका थिए । त्यसैले बजारतिर झरेँ । धम्कीको कुरा कसैलाई भन्नु भन्दा पनि नम्बरविहीन फोन किन आउँछ भन्ने कुरा जान्नु थियो मलाई । एकजना साथीलाई सोधेँ । मोबाइलमा नम्बरबिनाको फोन किन आउँछ हँ - उसले भन्यो, 'सेट बिग्रिएमा त्यसो हुन्छ रे ।' मेरो सेट भेरी नदी तर्दा पानीमा परेको थियो । त्यही सम्झें र ए होला भने तर चित्त बुझेन । फेरि टोपबहादुर खड्कालाई सोधें । उनले यस विषयमा अनविज्ञता प्रकट गरेँ । त्यसै दिन दिउँसो त्यसै गरी फेरि फोन आयो । अनि टेलिकम रुकुमका प्रमुख कृष्ण गौतमलाई सोधें । विदेशबाट आएको नम्बरमा कहिलेकाहीँ यस्तै हुन्छ, उनले भने । टेलिकमले यस्तो हुन्छ भनेपछि एक खालको राहत भयो । त्यसपछि पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष नारायण शाहलाई सबै घटनाबारे जानकारी गराएँ । म पत्रकार महासंघको केन्द्रीय पार्ष भएकाले पनि होला, यसबारे महासंघको केन्द्रमा जानकारी गराइयो । महासंघ रुकुम, प्रेस चौतारी, प्रेस युनियनले घटनाको निन्दा गर्दै विज्ञप्ति निकाले । रेडियोहरूमा समाचार बजे । त्यसै दिन राति मेरो कोठाको वरिपरि केटाहरू घुमिराखे । कतिपयले मेरो बसाइका बारेमा खोजी गरेको पनि पत्ता लाग्यो ।
    घटना यतिमात्र हो । घटनास्वरूप र प्रकृतिमा जति सानो छ, त्यो भन्दा कयौं गुणा बढी त्रास हुँदो रहेछ । अनि मैले आफैँले आफैंलाई प्रश्न गर्न थालेँ, 'आखिर किन आयो त यस्तो फोन -' तीथाको सिन्दूरसँग प्रसंग जोडेर मैले एउटा लेख लेखेको याद आयो । कुरा कात्तिक १० गतेको हो । सामुदायिक रेडियो सिस्ने एफएमको उद्घाटनका दिन रुकुम आएका सञ्चारमन्त्री शंकर पोखरेलको विरोधका क्रममा उत्तेजित माओवादी कार्यकर्ताले विद्या भण्डारी र तीर्थाको सिन्दूर खोई - भन्ने प्रश्नमा नारा लगाएका थिए । त्यो नारा र विरोध कार्यक्रमको दृश्य त ममात्र होइन, त्यस दिन खलंगा आएका सबैको दिमागी फाइलभित्र कैद होला । विद्या र शंकरको कुरा मेरो विषय बनेन । ०५५ मा मेरै गाविस गरायलामा माओवादीले हत्या गरेका यदु गौतमकी श्रीमती तीर्थाको सिन्दूर कहाँ छ - भनी प्रश्न गर्ने माओवादीको नैतिकता गुमेको जस्तो मलाई भान भयो । मैले त्यही विषयमा लेख्न आवश्यक ठाने र लेखें । रुकुमबाट प्रकाशित हुने जन्तिधारा साप्तिहिकमा प्रकाशित भयो । तीर्थाको पार्टी र्समर्थकमात्र नभएर सबैबाट लेखको प्रशंसा भयो । मलाई पनि थोरै हौसला मिलेझैं भयो । यो विषय जिल्लाबाहिर पनि पुर्‍याउन त भन्ने लाग्यो । त्यसपछि त्यही विषयमा नयाँ कोणबाट अर्को एउटा लेख लेखें । मंसिर १३ गते दाङको गणतन्त्र दैनिकमा छापिएछ । गणतन्त्रमा छापिएकै दिन पहिलो प्रतिक्रिया दाङबाट पत्रकार दुर्गालाल केसीले दिएका थिए । यसको पनि धेरैले तारिफ गरे । त्यसै भोलिपल्ट यस्तो 'थ्रेट' आयो । हो यो 'थ्रेट'लाई पनि लेखको प्रतिक्रिया नै मान्नुपर्छ । तर, के विश्वास - 'थ्रेट' दिने मान्छे अहिलेसम्म अज्ञात छ भने, भोलि यस्तै हुन्छ भन्ने कस्ले जान्छ र -
    मैले लेखेको लेख न त मेरो विचार हो, न परिकल्पना । त्यो लेख पढ्दा तपार्इं जो कसैलाई पनि रेडियो उद्घाटन कार्यक्रममा आफैं सहभागी भएको झैं लागेको थियो होला । यदि कसैले लेख नाटकीय ढंगले लेखिएको भन्छ भने उक्त लेख पुन पढ्न अनुरोध गर्छु १० गते खलंगामा गएको जो कसै पनि साक्षी बन्न सक्ने कुरा पनि उल्लेख गर्न चाहन्छु ।
    त्यस दिन तीर्थालाई भनेको कुरा मलाई चित्त बुझेन र लेखें । त्यो लेख लेखेर न म तीर्थाको सरपुग्नु थियो, न कुनै अवार्ड हात पार्नु । विचार र आस्थाले म पनि कुनै पार्टीलाई माया र र्समर्थन गरुँला तर कुनै पनि राजनीतिक पार्टीको पदीय जिम्मेवारीमा मेरो नाम भेट्न सकिँदैन । फेरि सामुदायिक रेडियो सिस्नेको म सञ्चालक समितिको मान्छे पनि होइन, न त कर्मचारी । त्यसैले लेखको विषय, शब्द, शैली, सुरु र अन्त्य कस्तो थियो भन्ने मलाई भन्दा बेसी तपाईंहरूलाई थाहा छ । मात्र मलाई आफैंले श्रीमान्को आयु सक्ने अनि श्रीमतीको सिउँदोमा सिन्दूर देख्न चाहनेहरूका आँखामा पट्टी बाँध्नका लागि म 'तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई -' भन्ने लेख लेख्न राजी भएँ र लेखें ।
    सबैको सिर्जना सबैलाई मन नपर्न सक्छ । त्यसैले त सिर्जनशील व्यक्तिका आ-आफ्नै पाठक, श्रोता, दर्शक र र्समर्थक हुन्छन् । मेरो लेखाइ कतिलाई मन पर्‍यो भन्ने कुराको हिसाबकिताब त मसँगै होला तर मेरा कुनै पनि लेखाइहरू कसैलाई रिझाउन र कसैलाई चिढाउन लेखिएका छैनन् ।
    म को हुँ भन्ने म राम्रोसँग बुझ्छु । मेरो धर्म, कर्म के हो भन्ने पनि मलाई राम्रोसँग थाहा छ । पत्रकारिता मेरो जीवन्त पेसा हो र नेपाल पत्रकार महासंघले जारी गरेको आचारसंहिताभित्र रहेर काम गर्नु मेरो दायित्व । यसका अलावा मेरा हरेका क्रियाकलापप्रति औंला ठडयाउने त नेपाल सरकारको कानुन छ ।
    कुनै पनि सञ्चारकर्मीका समाचार, लेख, रचनाप्रति प्रतिक्रिया दिन जो कसैलाई पनि छुट हुन्छ । म पनि तपाईंहरूले दिएका प्रतिक्रियाका आधारमा हिजोका लेखाइहरूको समीक्षा गर्छु आजको लेखाइको विश्लेषण गर्छु जसकारण भविष्यको मेरो लेखाइको संकेत तपाईंहरू गर्न सक्नुहुन्छ । त्यसैले म मेरा हरेक लेखहरूको अन्त्यमा इमेल ठेगाना दिन कहिल्यै भुल्दिन । म चाहन्छु मेरो लेखाइको जस्ताको तस्तै प्रतिक्रिया आओस् र मलाई लेखाइमा परिमार्जन गर्न टेवा मिलोस् ।
    तीर्थाको सिन्दूरको विषयमा लेखिएको मात्र होइन, मैले लेखेका सबै समाचार र लेखहरूको जिम्मेवारी मैले लिनुपर्छ । यदि मेरो लेखाइले पत्रकार आचारसंहिता यो वा त्यो ढंगबाट कुल्चिन्छ र समाजमा नकारात्मक असर पारेका छन् भने गर्नुहोस मलाई खबरदारी र कानुनी उपचार । प्रभावअनुसार म माफी माग्न, पेसाबाट पलायन हुन, जेल जान र मृत्युको सजाय भोग्न पनि तयार छु । तर, सच्चाइको मार्गभन्दा एक इन्च तलमाथि गर्दिन । डराउँदिन गल्तीबिना फोनबाट आउने धम्कीबाट पनि । सिन्दूर लाउँला नलाउँला, त्यो मेरो कुरा हो तर कारणबिना झुकेर माफी माग्दिन । र, रहर पनि छैन मलाई आफ्नो नाम मृतक पत्रकारको सूचीमा चढाउन ।
    सधैं 'स्वतन्त्र प्रेस, सुरक्षित पत्रकार'को नारा फलाक्दै पत्रकारिता पेसामा लामबद्ध भएका दर्जनौ पत्रकार, जसले बाध्यकारी परिस्थिति आएपछि अन्याय अत्याचारका विरुद्धमा लड्दालड्दै मृत्यु भोगे, सलाम गर्छु ती वीर कलमजीविहरूलाई । म आफ्नो मर्यादा र पेसाप्रति संधैं निष्ठावान रहेर काम गरिरहेको छु र यो यात्रा निरन्तर रहने छ ।
    नगर मलाई फोन । तिम्रा शब्द सुन्न मलाई फुर्सद र रहर छैन । न त कहर छ, तिम्रो बाध्यकारी अवस्था स्वीकार्न । यथार्थको गहिराइमा डुबेर बस्छु बरु, अहँ तिम्रो धम्क्याइले हुँदिन पेसाबाट पलायन । थप ऊर्जा प्राप्त भएको छ, मानिसहरूका मनभित्रका रहरहरू मनभित्रै सीमित पार्ने विवशतालाई लथालिंग र भताभुंग पार्न अनि बाध्यकारी जन्जिर चुँडाल्न । नम्बरविहीन कल आएकाले नम्बर उल्लेख गर्न सकिएन । त्यसैले पनि यही र यो निकायको मान्छे भन्न गाह्रो छ । तर, मेरो लेख तीर्थाको सिन्दूर अनि माओवादी पार्टीसँग गाँसिएकाले र फोनमा पनि यदुको ठाउँमा पुर्‍याइदिउँ भन्ने अभिव्यक्तिले अब अनुमान गर्न कसैलाई गाह्रो पर्दैन होला ।
    के-के न गरौंला, कस्तो न कस्तो होला भन्ने जस्तो गरेर क्रान्तिको भ्रम र्छर्दै सुहाउनु न बसाउनुको आडम्बरले सबै मानिस, संस्कृति र पेसालाई कुरुप बनाइयो । युद्धबाट आक्रान्त र निसास्सिएर आएको भोको स्याल एकातिर आहाराको खोजीमा कलमजीविहरूलाई प्रयोग गरिँदैछ, अर्कोतिर असली लोकतन्त्रको ढ्वाङ फुकिँदैछ । यो त अलि मिलेन कि कमरेड -
    जसले प्रेस स्वतन्त्रताको पक्षमा दरिला मुट्ठी उठाएर गुलिया शब्दमा चोटिला भाषण गर्छन्, उनीहरूबाट नै कलमजीविहरूको घाँटी रेटिएका छन् । कस्तो भयो होला - आफ्नै सहयोद्धाको लास डोकोमा बोकेर थन्क्याउँदा शिविरमा रहेका लडाकूलाई सोध । त्यस्तै हुन्छ सँगै कलम चलाएकाहरूको मृत्यु, बेपत्ता, कुटपिट र धम्किको कुरा सुन्दा । प्रेस स्वतन्त्रताको नारामा सबै पार्टी संगठन, संस्थाहरूले ऐक्यबद्धता जनाए । सबै कार्यान्वयनको प्रक्रियामा छन् होला । तर, जसले कार्यान्वयन नभएको भन्दै दोष अरूलाई थुपारेर आफू पानीमाथिको ओभानो बन्न खोज्दैछन्, उनीहरूबाटै हिजो पत्रकारले ज्यान गुमाए आज पनि त्यो खतरा मरेको छैन । देशमा पटकौं पटक फरक-फरक नेतृत्वमा सरकार बने तर पत्रकारका लागि भने 'जुन जोगी आए पनि कान चिरिएका' भन्ने उखान सावित भयो । कसैले पनि पत्रकारको आधारभूत कुराको पूर्ति र सुरक्षा गर्न सकेन ।
    समाज र देशका लागि दिनरात जोखिम मोलेर कलम, क्यामरा र कम्प्युटर चलाइरहेका दुइ दर्जन सञ्चारकर्मीले बिनाकारण मृत्युसँग सम्झौता गर्नु पर्‍यो । मलाई पनि लेख लेखेकै आधारमा ज्यान मार्ने धम्कीहरू आइरहेका छन् । कसरी पो गरुँला र मृत्युसँग सम्झौता त - यदि मेरै कमजोरी रहेछ भने त सबैतिरबाट बेवास्ताको सिकार बनिएला, नत्र त मेरो पेसाको सुरक्षाका लागि नेपाल पत्रकार महासंघ लगायतका निकायहरू छन नि - जन्मदिने आमाको मात्र नभएर टीका विष्ट त रुकुम, राप्ती र सिंगो नेपालकै छोरी हो । रुकुममा जन्मिएर यहाँकै हावापानीले हुर्किएको हुँदा यसै पनि मैले रुकुमको माटोको ठूलो ऋण बोकेकी छु । त्यसैले आमा-बुबा, परिवार, आफन्तमात्र नभएर अब टीकाबाट जिल्ला, अञ्चल र देशले केही आस गरेको हुनर्ुपर्छ र मैले पूरा परिश्रम गर्नुपर्छ । तर, यात्राको सुरुवातमै मृत्युसँग हस्ताक्षर गर्नुपर्छ भन्ने तँ को होस् -
    tikanewsrukum@gmail.com
    -पत्रकार विष्टमाथि आक्रमण हुनुपूर्व २२ मंसीरमा रुकुमबाट निक्लने जन्तीधारा साप्ताहिकमा यो लेख प्रकाशित भएको थियो)


    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete