• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, December 4, 2009

    लन्डनमा भारतीय विद्यार्थीको पनि बिचल्ली

    ब्रिटेन भारतीयका लागि शिक्षा आर्जन गर्ने आकर्षक थलो रहिआएको छ । तर, यहाँ उच्च शिक्षा हासिल गर्ने सपना बोकेर गएका भारतीय विद्यार्थी यतिखेर यस्तो बिचल्लीमा परेका छन् कि बिहान-बेलुकाको खाना पनि खान पाइरहेका छैनन् उनीहरू । बि्रटेन पढ्न गएका कयौं विद्यार्थी बिहान-बेलुकाको छाक टार्नकै लागि साउथहल नामक स्थानमा रहेको गुरुद्वारा धाउने गरेका छन् । खाना किन्ने पैसा नभएपछि उनीहरू यसरी गुरुद्वारामा जान बाध्य भएका हुन् ।
    नितिन बालिया केही दिनअघि विद्यार्थी भिसामा बि्रटेन आए । उनी अहिले गुरुद्वाराको शरणमा छन् । 'म कोठाभाडा तिर्न सक्दिनँ । कलेज जान गाडीभाडाका लागि पनि आफन्तसँग पैसा सापट लिने गरेको छु,' उनी भन्छन् ।
    विदेश पठाउने एजेन्टबाट ठगिने नितिन बालिया एक्ला भने होइनन् । रवि सिंहले अक्टोबरमा बिजनेस म्यानेजमेन्टको पढाइ सुरु गरे । उनी भन्छन्, 'भारतमा एजेन्टहरू बि्रटेनमा पार्टटाइम काम मिलाइदिने वाचा गर्छन् । पढाइका लागि हामी आफैंले काम गरेर पैसा जुटाउन सक्ने बताउँछन् । तर, यहाँको वास्तविकता भने एकदमै फरक छ । यहाँ रोजगारी नै पाइँदैन ।'
    साउथहलस्थित गुरुद्वाराका अध्यक्ष दिदार सिंह भन्छन्, 'थुप्रै भारतीय विद्यार्थी हामीकहाँ खाना खान आउँछन् । खाना दिन हामीलाई कुनै समस्या छैन । तर, उनीहरू बस्ने ठाउँ पनि माग्छन् । दुई-चार दिन बस्न दिन त सकिन्छ । तर, हामी उनीहरूलाई धेरै समय राख्न सक्दैनौँ ।'
    यस वर्षको जुनदेखि अगस्टसम्म मुम्बई, दिल्ली र बंगलादेशको राजधानी ढाकामा बि्रटिस हाई कमिसनले १९ हजार नौ सय ५० छात्रछात्रालाई विद्यार्थी भिसा प्रदान गरेको थियो ।
    विद्यार्थी भिसा प्रदान गर्दा विद्यार्थीले आफूसँग बि्रटेनमा बस्न र खानका लागि पर्याप्त पैसा भएको देखाउनुपर्छ । लन्डनस्थित आप्रवास मामिलाका सल्लाह तथा अपिल सेवाका निर्देशक हरजाप सिंहका अनुसार धेरै मानिसले यस प्रावधानको फाइदा उठाइरहेका छन् । उनी भन्छन्, 'अक्टोबरभन्दा पहिले आवेदनकर्ताले बि्रटेन जानुभन्दा केवल एक दिनअगाडि आफ्नो खातामा पढ्नका लागि पर्याप्त पैसा भएको देखाउनुपर्थ्यो । गहिरिएर हेर्ने हो भने जो-कोहीले पनि भिसा आवेदन दिनुभन्दा अगाडि सापट मागेर पैसा जम्मा गर्न सक्छ । अहिले भिसा आवेदन दिनुभन्दा २८ दिन पहिले नै खातामा पैसा चाहिन्छ ।'
    नयाँ प्रावधानले पनि भिसा आवेदन दिनेको संख्यामा केही फरक नपारेको हरजाप सिंह बताउँछन् । बि्रटेनमा आएर काम गरेर पढ्ने उद्देश्यले पैसा नभएका थुप्रै विद्यार्थी आउने गरेको उनी बताउँछन् ।
    २१ वर्षे नितिन बि्रटेनमा बिचल्ली परिन्छ भन्ने थाहा भएको भए पञ्जाव छोडेर बि्रटेन आउने थिइनँ भन्छन् । उनले भिसाका लागि एजेन्टलाई ६ सय पाउन्ड तिरेका थिए । कलेजशुल्क र विमान टिकटका लागि थप दुई हजार चार सय ८० पाउन्ड तिरेका थिए । बाबुआमाले आफ्नो जीवनको सम्पूर्ण पुँजी नितिनका लागि खर्च गरे । यतिले नपुगेर उनीहरूले आफन्तबाट पनि पैसा सापट माग्नुपरेको थियो । 'हामीलाई धोका दिइयो,' नितिन भन्छन्, 'इन्टरनेटमा विशाल र भव्य कलेज देखाइएको थियो । तर, यथार्थमा कलेज साह्रै सानो थियो । भारतमै योभन्दा धेरै राम्रा कलेज छन् ।'
    केही दिनअघि मात्र साउथहलमा श्री गुरुसिंह सभाले विद्यार्थीलाई सहयोग गर्न एक टेलिफोन हेल्पलाइन सुरु गरेको छ । धेरै भारतीय विद्यार्थीले आफूलाई घर फर्काइदिन अनुरोध गर्ने गरेको अध्यक्ष दिदार सिंह बताउँछन् । तर, उनीहरूलाई भारत पठाउन आफूहरूसँग पर्याप्त साधनस्रोत नभएको उनले जानकारी गराए । उनले पञ्जावका सबै स्थानीय मिडियासित बि्रटेन आउनुभन्दा अगाडि विद्यार्थीलाई सबै खर्चको व्यवस्था मिलाउने सन्देश दिन आग्रह गरेका छन् ।
    बिचल्लीमा परेका नितिन भन्छन्, 'मैले जागिर पाएँ भने मात्र म कोठाभाडा तिर्न सक्छु । जागिर पाइएन भने घर र्फकन्छु । तर, यो मेरा लागि लाजमर्दाे कुरा हुनेछ । बि्रटेन आउँदा लिएको ऋण कसरी तिर्ने होला, खोइ ?'
    भारतीय विद्यार्थीले पाएका दुःख विदेश पढ्न जान चाहने नेपाली विद्यार्थीका लागि पनि गतिलो शिक्षा हुनसक्छ । युरोप या अमेरिकामा पार्टटाइम काम गरेर पढाइखर्च जुटाउन सकिन्छ भन्ने दलाल या एजेन्टका कुरा पत्याएर राम्ररी नबुझी विदेशमा पढ्न गइयो भने दुःख पाउने सम्भावना हुन्छ । 
    http://www.nayapatrika.com/newsportal/middle_page/8685.html


    1 comment:

    1. यो ठगहरु र ठगिनेहरु कहाँ नहोला खै। जे होस जानकारिको लागि धन्यवाद

      ReplyDelete