Friday, December 18, 2009

राज शव्दप्रति क्रन्तिकारीहरुको घृणा

नाममा के छ र भन्या!

शरच्चन्द्र वस्ती
बेलायतका विलियम शेक्सपियरकै भाकामा भारतका अब्दुर्रहीम खानखाना भन्छन् – ठूला मानिसलाई सानै नामले पुकारे पनि ती घटेर साना हुँदैनन्। चाहे गिरिधर भन्नोस् अथवा मुरलीधर, कृष्णलाई के फरक पर्छ?
नाम भनेको सामाजिक सहमति हो। एक खालको फूललाई गुलाफ भनेर चिन्ने हाम्रो सामाजिक सहमति छ, त्यसैले त्यो गुलाफ भयो। त्यसलाई रोज भन्ने सहमति शेक्सपियरको समाजमा छ, त्यसैले त्यहाँ त्यसको नाम गुलाफ नभएर रोज भएको छ। रूसी, चिनियाँ, नर्वेली वा रुवान्डाली समाजमा त्यो न गुलाफ हो न त रोज नै।
चलिआएको, समाजमा स्वीकृत भैसकेको नाममा अनावश्यक कचिंगल मच्चाउनुको कुनै अर्थ छैन। सारमा परिवर्तन छैन भने नाममा किचकिच गरेर के फाइदा? तर उही वस्तु, उही कुरालाई बुझाउने नाम फेरेर मानिस क्रान्तिकारी भएको भ्रम सँगाल्छन् र वितरण पनि गर्छन्। काँडाविहीन गुलाफ बनाउन सक्ने सामर्थ्य, प्रयास वा चाहनासम्म पनि हुँदैन तर ती भन्छन् – गुलाफको पहिलो अक्षरबाट दुर्गन्ध आउँछ र शुरूका दुई अक्षरले पनि फोहोरी वस्तुको चित्र आँखासामु उभ्याउँछन्। त्यसैले परम्परालाई तोडेर यसको नाम बदल्नुपर्छ र ‘सुलाफ’ राख्नुपर्छ।
लंगडो मानसिकता यस्तै तर्कको लौरो टेकेर उभिन्छ र खर्ल्याङखुट्टी गर्दै अर्काको टाउकामा त्यही लौराले हिर्काउन धक मान्दैन। यस्तै लौराको आडमा प्रजातन्त्र शब्दलाई लोकतन्त्रले विस्थापित गर्दैछ। तर्क छ – प्रजा शब्दले राजाको शासित, रैती भन्ने अर्थ बुझाउँछ, जनता बुझाउँदैन। कुइरेको चश्मा लगाएर हाम्रो भाषालाई हेर्ने चश्माचक्षुहरूलाई के थाहा – प्रजा शब्द राजा भन्ने शब्द र संस्था उत्पत्ति हुनुभन्दा धेरै पहिलेदेखि प्रचलित नाम हो जसको अर्थ ‘लोक’भन्दा भारी छ। कारण : दुवै शब्दले जन वा जनता भन्ने एउटा समान अर्थ त बुझाउँछन् तर त्यस बाहेक ‘प्रजा’ शब्दले मानिसका सन्तान अर्थात् चेतना भएका व्यक्ति भन्ने अर्को विशिष्ट अर्थ पनि बुझाउँछ। उता ‘लोक’ले चाहिं सामान्य रूपमा आँखाबाट देखिने निर्जीव वस्तु भन्ने दोस्रो अर्थ बुझाउँछ, जस्तै–चन्द्रलोक। अब भन्नोस्, भाषाको तराजुमा हाल्दा कुन शब्दको अर्थ भारी हुँदोरहेछ?
राजतन्त्र गयो त्यसैले राज शब्दसँग घृणा गर्नुपर्छ भन्ने अर्को शब्दद्रोही तर्क छ। तर्कबहादुरहरूले लोकतन्त्र बलियो पार्ने एकमात्र उपाय देखेका छन् – राज शब्द हटाएर त्यसको ठाउँमा सर्वत्र लोक शब्द राख्ने। युरेका! शहरभरि सबैतिर हरियो रंग पोतेर वातावरण संरक्षण गर्ने काठमाडौं महानगरको पुरानो ‘आइडिया’को जुम्ल्याहा भाइजस्तो लाग्ने यही तर्कको पुच्छर समातेर एकजना क्रान्तिकारी अर्थमन्त्रीले राजमार्गलाई लोकमार्ग भनेर न्वारन गरे। (मानिसहरू भन्छन्, त्यसको नाम त लोकमार्ग होइन परलोकमार्ग पो राख्दा पो बढी सार्थक र यथार्थमुखी हुन्थ्यो !) के थाहा, अब राजदूतलाई लोकदूत, राजनीतिलाई लोकनीति, देवराजलाई देवलोक र देवेन्द्रराजलाई देवेन्द्रलोक भन्न थालियोस्। अथवा शब्दकोषबाटै राज शब्दलाई विस्थापित गरियोस्।
शब्दसँगको द्वेष राज शब्दमा मात्र सीमित छैन। सामन्तवादको गन्ध आयो र राष्ट्रियता कमजोर हुनेभयो भनेर नाम फेर्ने र त्यति गर्नासाथ क्रान्तिले पूर्णता पाइहाल्छ भन्ठान्ने उपबुज्रुकहरूको लर्को आँखाले भ्याइनसक्नु छ। तर तिनकै अगुवाले आफ्नै नाम चाहिं किन नफेरेका होलान् – अचम्म लाग्छ। जस्तै : मथुराप्रसादको नामले राष्ट्रियताको अवमूल्यन गर्छ। विदेशको दलाल जस्तो देखिने त्यो नामको सट्टा असनप्रसाद अथवा बनेपाप्रसाद किन नराखेको होला? डिल्ली र राज शब्द मिसिएको डिल्लीराज डबल प्रतिगामी नाम भयो, त्यसको सट्टा काठमाडौंलोक नाम किन प्रयोग नगर्ने? अझ देवेन्द्रराजमा त देव, इन्द्र र राज तीनवटै शब्द सामन्त, शोषक र राजतन्त्रका प्रतीक एवं पर्यायवाची छन्, लोकतान्त्रिक गणतन्त्रमा तिनलाई बोकेर कति हिंड्ने? पहाडी उपनामले मधेशीलाई ठाडै विभेद गर्छ, त्यसको सट्टा नेपाली वा समावेशी भन्ने उपनाम किन नराख्ने? स्टालिनमान र चिनियाँमानदेखि भारती र भारतदत्त सम्मको लोकतान्त्रिक रूपान्तरण किन नगर्ने? बाबुराम शब्दले आफ्नो बाबु राम हो (अर्थात् जसलाई लोकले उसको बाबु भनेर चिन्ने गरेको छ त्यो वास्तविक बाबु होइन) भन्ने अर्थ दिन्छ। बाबु मात्र होइन, आमाको समेत गरिमामा प्रश्नचिन्ह खडा गर्ने त्यो नाम बाबुरामले तत्काल किन नङ्खयाल्ने? अनि माधवकुमार अझ पनि ‘कुमार’ नै हुन् भने तिनका सन्तान चाहिं कसबाट जन्मिए?
गिरिजाप्रसादले वाइसीएललाई यंग क्रिमिनल लीग भनिदिंदा माओवादीहरू आगो भए। तर क्रिमिनलको सट्टा कोअर्डिअल (मैत्रीपूर्ण) अथवा कन्टिनेन्ट (ब्रह्मचारी) शब्द प्रयोग गर्दैमा वाइसीएल सभ्य र संयमित हुने हो त? प्रयोग गरिने शब्दले सही अर्थ बुझाउनुपर्छ भन्नेमा शंका छैन। तर चरित्र, स्वभाव, स्तर, कार्यशैली, प्रवृत्ति, मनोवृत्ति आदि यथावत् राखेर शब्द मात्र फेर्नुको के अर्थ हुन्छ? फूटपाथको चियापसल माथि ‘फाइवस्टार’को साइनबोर्ड लगाउनुको के तुक?
नेपाली गुरुहरूले समुद्रपारिबाट नेपाल आएका शब्दहरूको मोटो श भ्यासेक्टोमी गरेर पातलो पारिदिएका छन्। उनीहरूको कृपाले उताका शेक्सपियर हामीकहाँ ‘सेक्स पियोर’ भएका छन्, जसको अर्थ हुन्छ – विशुद्ध लिंग वा शुद्ध यौन (झर्रो नेपाली शब्द आफैं खोज्नोस्)। नाममा केही छैन भन्ने ती बूढा स्वर्गबाट नेपाल झरे भने आफ्नो नामको बिजोग देखेर के भन्थे होलान्? जुलियटको मुखबाट भनाइएको ‘नाममा के छ?’ भन्ने उक्ति कायमै राख्थे होलान् कि थाप्लामा हात राखेर डिलिट गर्थे होलान्?

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete