• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, October 23, 2009

    हङकङमा भिसा खोल्न पहल


    साढे चार वर्षदेखि रोकिएको हङकङ रोजगारी खोल्न सरकारले पहल सुरु गरेको छ । जेठ, ०६४ सालमा हङकङ सरकारले द्वन्द्वको कारण देखाउँदै नेपाली कामदारलाई भिसा रोक लगाएको थियो ।
    माओवादी युद्ध सकिएपछि पनि हङकङले निर्णयमा पुनर्विचार गरेको छैन । साढे चार वर्षपछि हालै श्रम मन्त्रालयका अधिकारीले हङकङ गई निर्णय पुनर्विचार गर्न औपचारिक आग्रह गरेका छन् । 'नेपाली महिलाका लागि हङकङ सबैभन्दा उपयुक्त रोजगार गन्तव्य भएकाले बन्द भिसा खुलाउने प्रयास थालिएको हो,' मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने, 'नेपालमा फेरिएको परिस्थितिबारे हामीले हङकङ अधिकारीलाई विस्तृत जानकारी गराएका छौँ । उनीहरूले गम्भीरतापूर्वक लिएको बताउँदै विकसित अवस्थाको समीक्षा गर्ने आश्वासन दिएका छन् ।'
    हङकङमा नेपाली घरेलु कामदारको न्यूनतम तलब तीन हजार पाँच सय ८० हङकङ डलर तोकिएको छ । हाल त्यहाँ घरेलु कामदारका रूपमा नेपाली महिलाको संख्या सात सय २० छ । साढे चार वर्षअघि एक हजार आठ सयको हाराहारीमा नेपाली महिला कामदार थिए । स्थानीय परिचयपत्र प्राप्त गरी नेपालीमूलका करिब १८ हजार मानिस हङकङमा बस्छन् ।
    साढे चार वर्षअघि नेपालसँगै नाइजेरिया र श्रीलंकाको भिसा पनि रोकिएको थियो । तर, ती मुलुकले कामदारका लागि भिसा नखोले खुला व्यापारमा कडाइ गर्ने चेतावनी दिएपछि हङकङले निर्णय पुनर्विचार गरेको थियो । नेपालले भने यसबीचमा पहल गरेको थिएन ।
    नेपालले पहल नगरेको, नेपालसँग हङकङको खासै व्यापारिक सम्बन्ध नभएको, नेपाली कामदारले पछिल्लो समयमा राम्रो छाप पार्न नसकेको र हङकङमा चीनबाट बसाइ सरेर आएको नयाँ पुस्ताले नेपालीको योगदान नबुझेका कारण त्यहाँको सरकारले नेपाललाई कम वास्ता गरेको निष्कर्ष श्रम मन्त्रालयले निकालेको छ ।
    मन्त्रालयले हङकङ भ्रमणको क्रममा त्यहाँस्थित कामदार, नेपाली समाज, सरकारी अधिकारी र सांसदसँग कुराकानी गरी सो निष्कर्ष निकालेको हो । 'नेपाली महिला यौन व्यवसायमा लागेको, फर्जी विवरण पेस गरेर शरणार्थी भत्ता बुझ्ने गरेको र फर्जी विवरण तयार गर्न स्थानीय समाजले सहयोग गर्ने गरेकोलगायतका कारणले पनि नेपालीप्रति सरकारले सहानुभूति नराखेको बुझियो,' एक सहभागीले बताए ।
    हङकङ अधिकारीसँग नेपाली सरकारी प्रतिनिधि र स्थानीय समाजले नेपालबाट शरणार्थी नआउने प्रतिबद्धता व्यक्त गर्दै त्यहाँ फैलिएका विभिन्न भ्रम निवारण गर्ने प्रयास गरेका थिए । हङकङले नक्कली शरणार्थी आएका कारण भिसा रोकेको दाबी गरे पनि साढे चार वर्षको अन्तरमा शरणार्थी संख्या झन् बढेको छ । यो अवधिमा शरणार्थी संख्या १६ जनाबाट पाँच सय पुगेको छ ।
    पछिल्लो समयमा फिलिपिन्स र इन्डोनेसियाले घरेलु तालिम दिएर कामदार पठाउन थालेका कारण पनि नेपालतिर हङकङको ध्यान नगएको बताइएको छ । 'त्यहाँ सक्षम कामदारको अभाव छैन, त्यसैले नयाँ मुलुक खोज्नेतिर कसैको चासो छैन,' भ्रमणमा सहभागीले भने, 'नेपाल आपैले पहल गर्नुपर्छ ।'
    हाल नेपालबाट हङकङमा करिब १० करोड रुपैयाँबराबर निर्यात र एक अर्ब रुपैयाँबराबर आयात हुने गरेको छ । हङकङ व्यापारिक राज्य भएको हुनाले उसले अन्य देशसँग राख्ने सम्बन्ध व्यापारिक नाफा- नोक्सानमा आधारित हुने जानकारहरू बताउँछन् ।
    नेपाली महिला घरेलु कामदारको उपयुक्त अर्का गन्तव्य इजरायल पनि अहिले रोकिएको छ । नेपालका वैदेशिक रोजगार व्यवसायीले महँगो शुल्क लिएर कामदार पठाएको भन्दै महँगो शुल्क लिने कम्पनीलाई कारबाही नगरेसम्म भिसा रोक्ने निर्णय इजरायल सरकारले गरेको छ ।
    यसैगरी, खाडी मुलुकमा नेपाली महिला कामदार असुरक्षित भएको भन्दै सरकार आफैँले घरेलु काममा पठाउन स्थगन गरेको छ । महिलाका लागि उपयुक्त मुलुकको रूपमा अहिले लेवनान मात्र रहेको छ ।

    No comments:

    Post a Comment