• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, October 26, 2009

    हिरोका बाबु जसले ३३ बिहे गरे


    लक्ष्मण सुवेदी
    एउटा नेपाली पुरुषले बढीमा कति पटकसम्म बिहे गर्न सक्छ ? दुईपटक, चारपटक वा पाँचपटक ? या दर्जनपटकसम्म ! तपाईं यस्तै सोच्दै हुनुहुन्छ भने अनुमान निकै कम छ । धादिङ, निगालेका कर्णमानसिंह बस्नेतले आफ्नो जिन्दगीमा ३३ पटकसम्म बिहे गरे ।

    सुन्दा अपत्यारिलो लागे पनि वास्तविकता भने यही हो । 'जवानीमा ३३ वटी बिहे गरेँ । अहिलेकी चम्पालाई ल्याएपछि पनि अरू एउटी ल्याएँ । पछि धपाइदिएँ,' अहिले काठमाडौं, थानकोटमा स्थायी बसोवास गर्दै आइरहेका ८७ वर्षीय वृद्ध कर्णमानसिंहले गर्विलो शैलीमा भने, 'चम्पालाई बिहे गरेपछि उनको शीलस्वभाव, माया तथा घरपरिवारप्रतिको जिम्मेवारी बहन गर्नुपर्दा त्यति अन्त मन डुलाउन मन लागेन ।'

    उनकी हालकी श्रीमती चम्पा कर्णमानको जीवनमा ३२औँ श्रीमतीका रूपमा आएकी हुन् । चम्पाले भने आफूलाई बिहे गरेपछि पनि श्रीमान्ले अन्य चारजना ल्याएको बताइन् । 'काजीसँग बिहे गरेपछि मासुभात खान पाइन्छ भनेर आउँथे । मैले कुटेर धपाइदिएँ । म आएपछि एउटी विधवालाई बिहे गरेर ल्याएका थिए, पछि भगाइयो उनलाई पनि,' उनले भनिन्, 'बिहे हँुदा म तेह्र वर्षकी थिएँ । उहाँ ४३ वर्षको । बढो मुस्किलले घर धानेँ ।'
    कर्णमानसिंहको पहिलो बिहे १५ वर्षको उमेरमा भएको थियो । बाबुले उनको पहिलो बिहे धुमधामसँग गरिदिएका थिए । बाबुले बिहे गरिदिएकी केटी उनलाई मन परेन । कारण, निगालेका बस्नेत काजी कर्णमानसिंह बस्नेतलाई मन परेन भनेपछि मन परेन परेन । साह्रै जण्ड स्वभावका थिए रे उनी । अनि त बिहे गरेको तीन दिनमै अर्की केटी बिहे गरे । 'म अलि डेन्जर थिएँ,' यी वृद्ध आफ्नो विगत सम्झँदै बोले, 'निगालेको बस्नेत काजी आयो भनेपछि मान्छेहरू शिर झुकाएर बस्थे । म जे गर्थें, कसैले त्यसलाई विरोध गर्न सक्दैन्थ्यो । पहिली श्रीमती मन नपरेपछि बिहे गरेको तेस्रो दिनमै अर्की भित्र्याएँ ।' दोस्री श्रीमती भित्र्याएपछि पहिलीलाई के गरेछन् त ? 'मेरोअगाडि को बोल्न सक्ने ? कुटेर लखेटेँ,' विनापश्चात्ताप उनी भन्दै थिए, 'मैले जे भन्थेँ, त्यही हुन्थ्यो । मदेखि मान्छेहरू थर्कमान हुन्थे ।'
    कर्णमानका कुरा सुन्दा लाग्छ उनले आफ्नो जवानीमा पट्याउन सकेका सबै केटीलाई श्रीमती बनाए । भने, 'मलाई बिहे गर्न भनेपछि सधैं रहरको विषय थियो । बिहे गरेर ल्याएका केटी कसैको नाम याद छैन मलाई ।' बिहे गरेपछि उनले आफैंले नाम जुराइदिने रहेछन् श्रीमतीको, काली, गोरी, साइँली, माइली यस्तै-यस्तै । उनले भने, 'कतिको त मैले अनुहार पनि बिर्सिसकेँ ।'
    श्रीमती भगाउने तरिका पनि त्यत्तिकै रोचक ढंगमा उनले सुनाए । 'म जहाँ जान्थेँ, त्यहीँ बिहे गर्थें,' उनले भने, 'नयाँ श्रीमती ल्याएपछि पुरानीलाई कि कुटेर कि भने टीका लगाएर पठाइदिन्थेँ ।' आफ्नी श्रीमती टीका लगाएर अरू कसैलाई दिन खोज्दा पनि कसैले नलग्ने रे, डरले । कारण रहेछ, काजीले पछि फेरि केही गर्छन् कि भनेर । 'दुईवटीलाई त टीका लगाएर दिएँ,' उनले सम्भिए, 'टीका लगाएर दिएपछि दाजुबहिनीजस्तो भयौ भन्थे । खुसी भएर आफ्नो बाटो लागे दुईवटी त ।' उनलाई पनि ठ्याक्कै याद रहेनछ, कतिऔँ श्रीमतीबाट हो कुन्नि, एउटा छोरा जन्मिएछ । त्यो छोरा ०१९ सालदेखि इन्डिया पसेको अहिले कहाँ, के गर्दै छ, अत्तोपत्तो छैन रे ।
    कोतपर्वमा मारिने पहिलो व्यक्ति अभिमानसिंह बस्नेतका पाँचौं पुस्ता यिनलाई लाग्छ, मान्छेले मान्नु वा आफूसँग अरू डराउनुमा आफूमा भएको आँट, साहस र बहादुरी नै प्रमुख कारण हुन् । 'म निकै बलियो थिएँ । कतै लडाइँ पर्‍यो भने मान्छे नै उठाएर हानिदिन्थेँ । कसैसँग डराउँदिनँ थिएँ । निगालेका बस्नेत काजी भनेपछि कसैको दाल गल्दैनथ्यो,' उनले पटक-पटक भने, 'हाम्रा बाबुहरू आठभाइ सबै सामान्य थिए । जेठाको छोरो म जेठो मात्रै कहाँबाट यस्तो जण्ड भएँ । थाह भएन ।' आठभाइ बाबुमध्ये ६ भाइ सिपाहीका जागिरे थिए । कर्णमानले पनि पटक-पटक सिपाहीको जागिर खाँदै छोड्दै गरे । 'नेपाल र इन्डियामा गरेर पाँचचोटि सिपाहीमा जागिर खाएँ । कहीँ पनि काम गरिरहन मन लागेन । आफूलाई बाहिर रवाफ देखाउँदै मस्ती गरेर हिँड्ने बानी लागेको, त्यति जाबो तलबका लागि के मरिमेट्नु भनेर जागिर छोड्दै हिँडेँ,' उनले भने ।
    कर्णमानसिंहले केही वर्ष राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरको आठपहरियाको रूपमा काम गरे । 'महाराजाको तीनवटा सवारी चलाउञ्जेल म आठपहरिया थिएँ । चितवनको सवारी चलाएर फर्किएपछि जागिर छोडिदिएँ,' उनले भने । किन त ? 'तलबै थोरै, ३२ रुपैयाँ, खुलेर मासु, रक्सी, चुरोट खान पनि नपुग्ने । त्यसमाथि म भने आफूले कमाएको जति सबै दुःखी-गरिबलाई खुवाउने गर्थें,' उनले सुनाए ।
    कोलकातामा उनका फुपूका छोरा -दाइ) थिए । उनै दाइसँगै बस्दा उनले सिपाहीको जागिर खाए । त्यहीवेला कर्णमानले आफ्नै मेजरकी श्रीमती उडाएछन् । कसरी त ? 'मेजरका दुईवटी श्रीमती थिए । बसाइ नजिक-नजिक थियो । रात परेपछि मेजरले सधैं स्वास्नी कुट्ने गर्दथ्यो । एक दिन एउटीचाहिँ मेरो कोठामा आई । मैले सोधें, 'के हो तिमीहरूको सधैं कोकोहोलो सुनिन्छ नि ?' उसले भनी, 'मेजरले सधैं कुट्छ । तपाईंसँग शंका गर्छ ।' अनि मैले पनि भने, 'मसँग बिहे गर्छेस् त ?' उसले भनी, 'हजुरजस्तो मान्छेले लगे त जाने थिएँ नि ।' अनि मैले भने, 'म त यहाँ सिपाहीको जागिर खान्छु । मसँग पैसा छैन । तँसँग पैसा छ भने लिएर आइज म लग्छु । अर्काे दिन उसले ३२ हजार रुपैयाँ लिएर आई । अनि म उसलाई लिएर भागेँ ।' मेजरकी श्रीमती लिएर भागेपछि उनी गएछन् आफ्नो पञ्जावी साथीकोमा । नौतले घर भएको पञ्जावीले उनी र उनकी नयाँ श्रीमतीलाई नौ तलामाथि ३२ दिनसम्म लुकाएर राखेछ । 'उसले पैसा ल्याएकी थिई । उसकै पैसामा मोज गरियो,' बूढाले भने, 'त्यो मेजरले मलाई धुइँधुइँती खोजेछ । कहाँ भेटाउनू ?' मेजरकी श्रीमती लिएर उनी हिँडेछन् दार्जिलिङतिर । भगाएर ल्याएकी नयाँ श्रीमतीको मन विचार गरेछन्, 'मसँग पैसा छैन । तिम्रो मनसाय के छ ? जागिर पनि सिद्धियो ।' उनले भनिछिन्, 'म त यही अस्पतालमा नर्स काम गर्छु ।' अनि उनले तिनलाई त्यहीँको एउटा अस्पतालमा नर्सको काम लगाइदिएर हिँडेछन् । 'खर्साङमा आएर सोध्दा पो थाहा भयो, ऊ त निकै पढेकी रहिछ । म त अनपढ, एक अक्षर पनि नजान्ने । उसलाई त्यहीँ छोडेर हिँडेँ । मसँग आठ हजार बचेको थियो,' बूढाले भने । खर्साङमा मेजरकी श्रीमती छोडेर हिँडेपछि बाटैमा फेरि अर्की भेटेछन् उनले । 'फेरि उसलाई पनि लिएर हिँडेँ,' उनले भने, 'निगाले आएर तीन वर्ष उसैसँग बसेँ । पछि उसलाई पनि छोडिदिएँ ।'
    कोलकातामा सिपाही हुँदा तीनजना मान्छे खसी काटेझैं छिनालेको स्मरण उनीसँग छ । भएको के रहेछ भने, कोलकाता मार्केटमा तीनजना आएर एउटा इनारको पानीमा विष हाल्न लागेका रहेछन् । त्यो कुरा थाहा पाएपछि मान्छे काट्न सक्ने सिपाही को छ ? भनेर सोधीखोजी भएछ । अरू सबै सिपाही पछि हटेछन् । कर्णर्मान भने म काट्छु भनी अघि सरेछन् । अनि उनले ती तीन मुसलमानलाई खसी काटेझैं चटाचट काटेछन् । 'अदालतले मलाई मान्छे किन काटिस् ? भनेर सोध्यो । मैले दस लाख मान्छेको ज्यान जोगाउनका लागि तीनजना काटेँ त के बिगि्रयो ? भने । न्यायाधीश, वकिल सबै खुसी भएर ताली पड्काएका थिए,' उनले भने, 'विष हालेको पानी खाएको भए दस लाख मान्छे मर्थे । मैले तीनजना मारेर त्यत्रा मान्छेको ज्यान बचाएँ ।' फोर्सले बहादुरी काम गरेबापत आफूलाई दस हजार भारतीय रुपैयाँ बक्सिस दिएको उनले स्मरण सुनाए ।
    बिहे गरेका कतिपय श्रीमतीसँग अहिले पनि भेट हुन्छ उनको । टीका लगाएर अरूलाई दिएका श्रीमतीसँग भने भेटघाट हुँदा गफगाफ हँुदोरहेछ । 'उनीहरूलाई भेट्दा कस्तो छ जीवन भनेर सोध्छु,' उनले भने, 'मैले चासो व्यक्त गरेपछि उनीहरू पनि खुसी हुन्छन् । आफ्ना सन्तानको प्रगतिबारे कुरा सुनाउँछन् ।' आफूबाट पिटाइ खाएर भागेकाहरूसँग भने बोलचाल हुँदैन रे उनको । 'के बोल्थे, म पनि वास्ता गर्दिनँ,' उनले भने, 'कतिपय खुसी जीवन बिताइरहेका छन् भने कतिपय दुःखमै छन् ।'
    चम्पालाई बिहे गरिसकेपछि पनि आफूले एउटी विधवा बिहे गरेको बताउँदै उनले भने, 'चम्पा माइत, मकवानपुर गएकी थिई । १५ दिनपछि लिन गएँ । दुई महिनापछि आउँछु भनी । र्फकेर आउँदै थिएँ । बाटोमा एउटी विधवाको घरमा बसियो । कुरा मिल्यो । उसका छोराछोरी, भैंसी, बाख्रा, सबै सामान लिएर आएँ । एक वर्ष सँगै बसियो । उसका बच्चा पनि पालेँ मेलै । पछि, चम्पाले भो अब छोडिदिनुस् भनी । पछि उसका सबै सामान दिएर ससम्मान पठाएँ ।' त्यसपछि भने आफूले बिहे नगरेको बताउँदै उनले थपे, 'चम्पाकी आमा, मेरी सासू मभन्दा कान्छी, मेरो पहिलो छोरो चम्पाभन्दा जेठो । सासूभन्दा ज्वाइँ जेठो भन्दै मान्छेहरूले कुरा गर्न थालेपछि बिहेको चक्करमा लागिनँ ।'
    बिहे गरेका कतिपय श्रीमती पेटमा बच्चा लिएर भागेको उनी बताउँछन् । 'कतिपय त मेरो बच्चा पेटमा बोकेर भागे । मैले जा भनेपछि नगई सुखै नहुने, के गरून् त बिचरा,' उनले भने, 'तर आजसम्म कोही पनि मलाई बाबु भएको दाबी गर्न आएको छैन ।'
    एकजना जम्दारले सानैदेखि आफ्नी छोरीको बिहे निगाले काजीसँग गरिदिने घोषणा गरेका थिए रे । 'जोकोहीले मेरी छोरी पाल्न सक्दैन । म त निगाले काजीलाई नै मेरी छोरी दिन्छु भनेर पाँच वर्षको उमेरमा टीका लगाएर आफ्नी छोरी मेरो नाममा गरिदिएका थिए,' कर्णमानले सम्भिmए, 'पछि मैले उसलाई पनि बिहे गरेँ ।' उनीसँग पनि यिनको घरबार लामो समय जान सकेनछ ।
    जवानीमा उनी एउटै हातले सिंगै खसी मार हान्थे । दिनहुँ एक धार्नी मासु तथा बीस-बाईस ग्लास रक्सी पिउने गर्थे रे । उनले अतीतका ती दिन स्मरण गरे, 'रक्सी तानेपछि जोस आउने भन्या । मान्छेहरू भन्छन्, रक्सी, चुरोट, गाँजा खाने मान्छे धेरै बाँच्दैन तर म अहिले ८७ वर्षमा लागेँ । अहिलेसम्म ज्युँदै छु ।'
    पटक-पटक जागिर छोड्दै हिँड्दै गरेका उनी आफूलाई पैसा चाहिएमा थानकोट राजमार्गमा उभिएर बस रोक्थेँ । बसका मालिक, ड्राइभरले खुरुखुरु उनलाई पैसा बुझाउँथे । 'केही गर्न पर्दैनथ्यो । निगालेको बस्नेत काजी भनेपछि मान्छेहरू आफैंले पैसा दिन्थे,' उनले भने, 'मेरो फुपूको छोरो गणेश र म भयौँ भने के चाहियो र ? पैसानाथे त त्यसै ओइरिन्थ्यो ।' उनी रक्सी पिउन थानकोटमा पूरा गाडी जाम गरी बीचबाटोमा बस्थे । गाडीमालिक उनको अगाडि चुइँक्क पनि बोल्न सक्दैनथे । उनी सन्तुष्ट भएपछि मात्र बाटो खुल्थ्यो । आफूलाई सबैले मान्ने गरेकाले सम्मानस्वरूप आफूलाई माया गरेको दाबी गर्छन् उनी यस्तो व्यवहारलाई ।
    कर्णमान पछि व्यापारमा लागे । थानकोट चेकपोस्टमा आठ वर्षसम्म होटल चलाएका उनको होटलमा मान्छेको मारामार हुन्थ्यो रे । 'उभिनेसम्म ठाउँ हुँदैनथ्यो,' उनले भने, 'खान आउने मान्छे नै थेग्न नसकिने । निकै चल्थ्यो ।' होटलबाट कमाएर ०११ सालमा जम्मा १६ सय रुपैयाँमा थानकोटमा आठ रोपनी जग्गा किनेको बताउँदै उनले भने, 'बच्चाबच्चीको भविष्यका लागि यतिचाहिँ गरेँ । मैले कहिल्यै पैसाको मतलब गरिनँ । मैले कमाएको पैसा जोगाएको भए त पूरै थानकोट किन्न सक्थेँ ।'
    चेकपोस्टको होटल बेचेपछि उनले सिनामंगल, नायक भुवन केसीको बाबु मदनमोहनको घरमा फ्ल्याट लिई पुनः होटल सुरु गरे । त्यहाँ पनि उनको होटल मारामार चल्यो । सम्झँदै भने, 'भाँडा माझ्ने मात्रै ४० जना कामदार थिए । दिनमा ३०-४० वटा खसी ढल्थे । ३० पाथी दूध जान्थ्यो । दिनहुँ पाँच-छ सय मान्छेलाई खुवाउनुपर्ने ।' कर्णमानको तागत कति छ भनेर एक दिन राति पचास-साठीजना गुन्डा उनको होटलमा आएछन् । त्यो कुराको सुराकी पहिल्यै पाएर उनले खसी काट्ने खुकुरीमा धार लगाएर राखेका रहेछन् । होटलका चारजना कालिगढलाई पनि पहिल्यै तयार गरेर राखेका रहेछन् । जब गुन्डाहरू आए तब उनको कालिगढले बाहिरबाट चुकुल लगाइदिएछ । अनि निकालेछन् बूढाले सिरुपाते खुकुरी । बूढाको हातमा खुकुरी देखेपछि ती सबै डराएर भाग्न खोजेछन् । बूढाले भनेछन्, 'निगाले काजीसँग भिड्न त्यति सजिलो छैन बाबु हो ।' त्यसपछि उनीले आफूहरूले खाएको २९ सय रुपैयाँ बिल तिरेर हिँडेछन् । 'यस्ता लफडा त कति भए कति,' उनले भने, 'मेरो नामैले मान्छे थर्किन्थे । भिड्ने कसको हिम्मत ?' उनको होटलको डिमान्ड भक्तपुरमा पनि भएछ । २० वर्ष सिनामंगलमा व्यापार गरेपछि गठ्ठाघरमा सुरु गरेछन् । त्यहाँ पनि मान्छे थेग्न नसकेपछि होटेल व्यापारबाट हात धोएको बताए । 'मान्छेको भीडले पैसा लिनै नभ्याइने । आज खाएकाको पैसा भोलि हिसाब गर्न नभ्याइने,' उनले भने । त्यसकारण सिनामंगलमा आठ-दस लाख, गठ्ठाघरमा पनि त्यत्तिकै पैसा डुबेको उनले बताए ।
    हालकी श्रीमती चम्पालाई भने बाजा बजाएर बिहे गरेको उनी बताउँछन् । 'मसँग ४२ हजार रुपैयाँ थियो । एक रुपैयाँ पनि खर्च भएन,' उनले भने, 'सबै माइतीले खर्च गरे ।' आफूभन्दा ३० वर्ष कान्छी चम्पालाई ३२औँ श्रीमती बनाएर भित्र्याएका कर्णमानसिंह उनीसँग बिहे गरेपछि भने आफ्नो जिन्दगीले नयाँ मोड दिएको बताउँछन् । चम्पाबाट उनका एक छोरी र दुई छोरा गरी तीन सन्तान छन् ।
    जेठो छोरा नेपाली फिल्म क्षेत्रका चल्तीका निर्माता, निर्देशक सोभित बस्नेत हुन् भने कान्छा छोरा नायक तथा निर्माता जयकिसन बस्नेत हुन् । छोरीको बिहे भइसक्यो । आफ्ना छोराहरूले फिल्म क्षेत्रमा कमाइरहेको नामबाट आफू निकै सन्तुष्ट रहेको बाबु कर्णमान बताउँछन् । 'मेरा छोराहरू तगडा छन् । अरू लाइनमा लागेको भए यत्तिको नाम कमाउन गाह्रो हुन्थ्यो,' उनले भने, 'अरू काम गरेको भए ज्यानको खतरा पनि हुन सक्थ्यो । फिल्म त राजाले पनि हेर्छन्, माओवादीले पनि हेर्छन् ।'
    उनका जेठा छोरा सोभित पनि विभिन्न नायिकासँगको अफेयरलाई लिएर वेलावेलामा विवादमा आइरहन्छन् । छोरा सोभितले पनि बाबुकै बिँडो धान्न खोजेका त होइनन् ? 'मेरो बिँडो धान्नेजस्तो जमाना त कहाँ छ र,' बाबु कर्णमानले भने, 'छेउछाउ पुग्न खोज्या हो कि ?'

    आफ्नो जीवनकथालाई लिएर फिल्म बनाए निकै गजब हुने मूल्यांकन उनले गरे । 'मैले गरेका सबै कुरा सुन्न तीन दिन तीन रात लाग्छ बाबु,' उनले भने, 'जिन्दगीमा के-के गरियो-गरियो ।' विगत तीन वर्षदेखि भने कर्णमान कमजोर भएका छन् । आँखा धमिलो देख्छन्, कान कम सुन्छन् । छिनछिनमा पिसाब लागिरहन्छ । सजिलै हिँड्न सक्दैनन् । 'पहिला त म खतरा थिएँ । बुढ्यौलीले कमजोर भएको छु,' उनले अनुमान गरे, 'अझै दस वर्ष त बाँच्छु कि ?'


    No comments:

    Post a Comment