• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 13, 2009

    के भन्छन् नेता ?


    सुवासचन्द्र नेम्वाङ
    अध्यक्ष, संविधानसभा
    अन्य देशमा सिकेको सीप, क्षमता र हैसियतलाई मुलुकको विकासमा सदुपयोग गर्ने प्रयास गैरआवासीय नेपालीबाट भइरहेको छ । यो मुलुकको विकास र उन्नतिका लागि सकारात्मक कदम हो । हाम्रा छिमेकी देशहरू भ्ारत र चीनको विकासमा त्यहाँका गैरआवासीयहरूले खेलेको भूमिकालाई हेर्दा पनि हामी गैरआवासीय नेपालीबाट हाम्रो देशको प्रगतिका लागि केही हुन सक्छ भन्ने आशा गर्न सक्छौँ । उनीहरूले आफू बसेको मुलुकबाट प्राप्त गरेको सीप, क्षमता र हैसियत आफ्नो मुलुकको विकासका लागि लगानी गर्नुपर्छ ।
    गैरआवासीय नेपालीबाट अहिलेसम्म केही महत्त्वपूर्ण उपलब्धि मुलुकले पाएको छ । उनीहरूको लगानीलाई उपयोग गर्ने आधारहरू मुलुकले तय गरेर अगाडि बढ्नसके अझै त्यसले मुलुकका लागि थप उपलब्धि दिन सक्छ । तर, हामीले अहिलेसम्म उनीहरूको लगानीलाई देशमा उपयोग गर्ने स्पष्ट आधार तयार गर्न सकेका छैनौँ । उनहरूले आफू बसेका विकसित मुलुकसँग नेपाललाई जोड्ने काम अहिलेसम्म गरेका छन् । त्यहाँ आफूलाई स्थापित गरेका छन् । यो उपलब्धिलाई उपयोगको आधार राज्यले तय गर्नुपर्छ र देशहितमा उनीहरूको भावनालाई समेट्नुपर्छ । अहिले भइरहेको गैरआवासीय नेपालीको अधिवेशनले मुलुकमा लगानीका आधारलाई स्पष्ट गर्न पनि मद्दत गर्छ भन्ने मैले आशा लिएको छु ।
    नारायणमान बिजुक्छे
    अध्यक्ष, नेमकिपा
    गैरआवासीय नेपालीले कस्तो क्षेत्रमा लगानी गर्न खोजेका छन् भने कुरा प्रस्ट भएको छैन । उनीहरूको लगानीलाई कसरी उपयोग गर्ने भन्ने सरकारको नीति पनि प्रस्ट छैन । यसमा हामीभन्दा पनि सरकार र उनीहरूबीचको कुरा महत्त्वपूर्ण हुन्छ । हामी मुलुकमा अनियन्त्रित विदेशी पुँजीको लगानीका पक्षमा छैनौँ । तर, नेपालीले नै कमाएको पुँजी आफ्नो देशविकासका निम्ति राज्य मातहत लगानी हुन्छ भने त्यो सकारात्मक कुरा हो ।
    उनीहरूले लगानी गर्ने पुँजी कस्तो हो, कसरी आर्जित हो भन्ने कुरा पहिले स्पष्ट हुनुपर्छ । अनि त्यो राज्य मातहत रहेर लगानी गरिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो । नत्र, अनियन्त्रित लगानीले अंकको हिसाब ठूलो आउने मात्र हो मुलुकको स्थितिमा तात्त्विक अन्तर आउँदैन । एनजिओको लगानीजस्तो कसले कस्तो पैसा के उद्देश्यले लगानी गरेको छ थाहै हुँदैन । कसले केका लागि लगानी गर्न खोज्दै छ, पहिले सरकार स्पष्ट हुनुपर्छ भन्ने हाम्रो ठहर छ ।
    हरिबाबु चौधरी
    (सदस्य-सचिव, राखेप)
    खेलकुदमा एनआरएनको लगानीलाई म स्वागत गर्छु । हुनत यसबारे केही जानकारी मलाई छैन ।
    लगानी गर्नु भनेकै नेपाली खेलकुदको विकास हो । यस क्षेत्रमा उनीहरू आउन चाहेमा राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले सधैँ सहयोग गर्नेछ । एनआरनको लगानीबाट यहाँको खेलकुदले धेरै राहत पाउनेछ ।
    गणेश नेपाली
    खेलकुदमन्त्री
    पद सम्हालेदेखि नै खेलकुदमा लगानीको आवश्यकता महसुस गर्दै आइरहेको छु । भनेजस्तो बजेट नहुँदा देशका विभिन्न स्थानमा रहेका रंगशाला, कभर्डहल, खेल-मैदान लथालिंग अवस्थामा छन् । यी क्षेत्रमा उनीहरूले लगानी गरे भने हाम्रो खेलकुद अगाडि बढ्न सक्नेछ । अझ दीर्घकालीन नीति ल्याएर लगानी गर्न आएमा लामो समयसम्म नेपाली खेलकुद ढुक्कका साथ अगाडि बढ्नेछ । र, दीर्घकालीन लगानीले गुणात्मक रूपमा उत्कृष्ट खेलाडीको उत्पादन हुनेछ भन्ने विश्वास लिएको छु । खेलकुदमा पनि लगानी गरून् भनेर म पनि एनआरएनसँग कुराकानी गरिरहेको छु ।
    गणेश थापा,
    (अध्यक्ष) नेपाल फुटबल संघ
    अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि लगानीको अवसर छ । नेपाली खेलकुदलाई पनि एनआरएनले सहयोग गरून् भन्ने चाहना राखेको छु । एनआरएनले नेपाली खेलकुदमा लगानी गर्ने मनसाय बनाएमा अवश्य पनि हामी सबैले सहयोग गर्नेछौँ । हामी उनीहरूसँग काँधमा काँध मिलाएर खेलकुदको विकास गर्न तत्पर छौँ । उनीहरूको योजना कस्तो छ त्यो बुझ्न जरुरी छ । योजनाअनुसार लगानी गर्‍यो भने निश्चित रूपमा खेलकुदको विकास चुलिनेछ ।
    अर्जुननरसिंह केसी
    सहमहामन्त्री, नेपाली कांग्रेस
    नेपालबाट विदेशमा रहेर काम गरिरहेका नेपालीलाई राज्यले सधैँ सम्मान र सहयोग गर्नुपर्छ । उनीहरूको साधन-स्रोत र क्षमतालाई राज्यले मुलुकको विकासमा प्रयोग गर्न सक्नुपर्छ । दोहोरो नागरिकताका साथै परिचयपत्रको पनि अहिले कुरा उठिरहेको छ, तर उनीहरूलाई राज्यले विनाझन्झट आफ्नो स्रोत र साधनको नेपालमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । उनीहरूको योग्यताको सबै पक्षले कदर गर्दै उचित रूपमा प्रयोग गर्नुपर्छ । उनीहरूलाई निराश होइन, उत्साहको वातावरण बनाउनुपर्छ ।
    युवराज ज्ञवाली
    एमाले सचिव

    विदेशमा बसेर नेपालीले आर्जन गरेको सम्पत्ति र सीपलाई नेपालको विकासमा लगानी गर्न गैरआवासीय नेपालीको सम्मेलनले महत्त्वपूर्ण योगदान गर्छ । विश्वका विभिन्न ठाउँमा आर्जन गरेको दक्षता र कमाइ आफ्नो देशको विकासमा लगानी गर्ने उनीहरूको प्रतिबद्धता र जागरुकतालाई स्वागत गर्नुपर्छ । गैरआवासीय नेपालीको संगठनले विश्वभरका नेपालीलाई संगठित गरेर मुलुकप्रति दायित्व निर्वाह गर्न प्रेरित गरेको छ ।
    चित्रबहादुर केसी
    अध्यक्ष, राष्ट्रिय जनमोर्चा

    हाम्रै देशका पार्टीहरूको यो हालत छ । विदेशमा बस्ने नेपालीले लगानी गर्लान्, देश समृद्ध होला र लगानी सदुपयोग होला भन्नेमा कति विश्वस्त हुन सकिएला । अहिलेसम्म गैरआवासीय नेपालीबाटै मुलुकले केही पाएको मैले त्यति अनुभूत गरेको छैन । तैपनि, मातृभूमिका लागि विदेशमै बस्ने नेपालीको केही गरौँ भन्ने चाहनालाई सकारात्मक मान्नुपर्छ ।

    सरकारले झुटो आश्वासन दिनुहुँदैन
    - राजेन्द्र खेतान
    उद्योगी
    नेपालको आर्थिक विकासका लागि यहाँका व्यवसायी र एनआरएनले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । अहिलेको युगको माग पनि यही हो । नेपालभित्र मात्र होइन, बाहिरका नेपालीले पनि आर्थिक समृद्धिका लागि योगदान गर्न सक्छन् । सरकारले नेपालभित्रकै लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सकेको छैन । अहिलेको जस्तो अस्तव्यस्त अवस्थामा नेपालकै लगानी बाहिरिन लागेको छ । यहीँको लगानी बाहिरिन लागेका वेला बिचरा एनआरएनहरूले कसरी लगानी गर्न सकुन् । नेपालमा अहिलेको जस्तो असुरक्षा रहीरहेमा एनआरएनले लगानी गर्ने वातावरण बन्दैन ।
    विदेशमा बस्ने नेपाली सबै नभए पनि ठूलो लगानी गर्ने हैसियत राख्ने पनि छन् । उनीहरूले यहाँको श्रम समस्या, शान्ति-सुरक्षा, कर र चन्दा असुलीको बेथिति हटेमा ठूलो लगानी भित्र्याउन सक्छन् । तर, सरकारले यहाँका यस्ता समस्यालाई सम्बोधन गर्ने कार्य गरेको छैन । सरकारले खालि आश्वासन मात्र दिने गरेकाले अहिलेसम्म लगानीमैत्री वातावरण नबनेको हो ।
    एनआरएन आर्थिक, बौद्धिक, प्राविधिक ज्ञान भएका हुनुका साथै अनुभवबाट समेत खारिएका छन् । यस्तो जनशक्तिले गरेको लगानीले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालमा वातावरण बनाउने कार्यमा सरकारले पहल गरेमा यो क्षमता प्रयोग हुन सक्छ । जसले देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
    एनआरएनलाई लगानी गर्ने वातावरण बनाउन सरकारले दोहोरो पासपोर्टको व्यवस्था गर्नुपर्ने देखिन्छ । तर, एनआरएनले दोहोरो नागरिकता मागिरहेका छन् भने सरकारले पनि दिने घोषणा गरेको छ । सरकारले यस्तो झुटो आश्वासन दिएर मात्र हुँदैन । राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले पनि दोहोरो नागरिकता दिन सजिलो छैन । एनआरएनलाई सुविधा र लगानीमैत्री वातावरण बनाउन सरकारले दोहोरो राहदानीको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
    नेपालको आर्थिक विकासमा सहयोग गर्न सक्ने खालका एनआरएनलाई आकषिर्त गर्न सरकारले उद्योग विभागजस्तै अर्को विभाग बनाएर प्रोत्साहन गर्नुपर्छ । यसले उनीहरूलाई लगानी गर्न उत्साहित बनाउनेछ ।
    गैरआवासीय नेपाली राष्ट्रका गौरव हुन्
    - चन्द्र ढकाल
    अध्यक्ष, नेपाल-मलेसिया चेम्बर अफ कमर्स
    नेपालमा जन्मिएर पनि विदेशी भूमिमा पुगेर उद्योग-व्यवसाय गर्नर्र् सक्ने गैरआवासीय नेपाली राष्ट्रकै गौरव हुन् । उनीहरूले विदेशमा पुगेर कमाएको सम्पत्ति, सिकेको सीप र ज्ञान देशमा प्रयोग गर्न सकिए नेपालको समृद्धि टाढा छैन ।
    गैरआवासीय नेपालीले विदेशमा जे-जसरी लगानी गरेका छन् त्यसलाई स्वदेशमा भित्र्याउन सकिए देश-विकासमा ठूलो फड्को मार्न सकिन्छ । खासगरी जलविद्युत्जस्ता दिगो सम्भावनाका क्षेत्रमा उनीहरूको लगानी ल्याउन सकियो भने धेरै फाइदा लिन सकिन्छ ।
    सरकारले विदेशी लगानी स्वागत गर्ने बताउँदै आएको छ, गैरआवासीय नेपालीको लगानी भित्र्याउन अझ सहज वातावरण बनाइनुपर्छ । बन्द, हडतालजस्ता राजनीतिक कारणले जन्मिने समस्याबाट आर्थिक क्ष्ाेत्रलाई मुक्त गर्न सक्नुपर्छ । हालसम्मको आँकडा हेर्दा गैरआवासीय नेपालीको लगानी विस्तारै स्वदेशमा आकषिर्त हुन थालेको छ । तर, यसलाई तीव्र वृद्धि गर्न सरकारकै भूमिका पहिलो हुनेछ ।
    जहाँ रहे पनि दुःख उही
    - डा. तारानाथ शर्मा,
    साहित्यकार
    गैरआवासीय नेपालीले मुलुकबाहिर बसेर कमाएको पैसा देशभित्र लगानी गर्न चाहन्छन् भने त्यो निकै राम्रो काम हो । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ । जीवा लामिछाने, उपेन्द्र महतोहरूले साहित्य-संस्कृतिको उत्थानमा पनि निकै सहयोग गरिरहेका छन् । यो झन् राम्रो पक्ष हो । उनीहरूको सहृदयता मलाई निकै मन पर्छ ।
    अमेरिका र क्यानाडामा बसेर पैसा कमाउने नेपाली धेरै छन् । उनीहरू आफूले कमाएको धेरै पैसा नेपालका लागि खर्च गर्छन् । नेपालीहरू जहाँ रहे पनि रगत त नेपाली नै हुँदोरहेछ । हाम्रो देशमा बाहिर बसेकाले केही गर्न खोजे भने त्यो राम्रो कुरा हो । त्यसमा सबै नेपाली सकारात्मक हुनुपर्छ । एनआरएनका आँखा विद्युत्, खानेपानी, स्वास्थ्य, वृद्धाश्रमतिर पनि जानुपर्छ । अनि, हामी चौतर्फी रूपमा खुसी हुन सक्थ्यौँ ।
    देशबाहिर बसेका कति नेपाली इज्जतिलो काम गर्छन् भने कति नपढेका नेपाली कुल्ली, दरबानमा पनि छन् । मैले आज मात्रै गैरआवासीय नेपाली रोहिणी शर्मालाई भेटेँ । उनी एरिजोनामा बस्छिन् । उनी पनि 'यस देशका लागि केही गर्नुपर्‍यो' भनेर उत्साहित छिन् । बाहिर बस्ने नेपालीको पीडाको कुरा गरिसाध्य छैन । गनिसाध्य पनि छैन । उनीहरूका आँसु पुछ्न अब निकै गाह्रो छ । कति नेपाली छन्, जो धेरै सुख पाएका छन् । कति छन्, जसका टाउकामा दुःखका ठूला भारी छन् । जहाँ गए पनि नेपालीका दुःख त एउटै रहेछन् ।
    दोहोरो नागरिकता देशले थेग्न सक्दैन
    - सिपी मैनाली
    अध्यक्ष नेकपा माले
    एनआरएनलाई दोहोरो नागरिकता दिनुहुदैन भन्ने हाम्रो पार्टीको धारणा हो । नेपालले दोहोरो नागरिकता थेग्न सक्दैन । बरु यसको ठाउँमा उनीहरूलाई दीर्घकालीन भिसा दिने वा आवत-जावत सहज बनाउने व्यवस्था मिलाउन सकिन्छ । सरकारले उनीहरूलाई लगानीको वातावरण बनाइदिनुपर्छ ।
    लगानी सुरक्षाको प्रत्याभूति दिनुपर्छ । उनीहरूले छानेको विषयमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । उनीहरूले विदेशमा कमाएको सीप र अर्थ लगानी गर्न खोज्नु प्रशंसनीय छ । नेपालमा हरेक काम ढिलो र सुस्त छ ।
    अलि छिटोछरितो हुने व्यवस्था गर्नुपर्छ । लगानीमैत्री वातावरण हुनुपर्‍यो । यसबाहेक उनीहरूका पनि केही दायित्व छन् । उनीहरूले विदेशमा आर्जन गरेको सीप घमण्ड नगरी प्रयोग गर्न तयार हुनुपर्छ । उनीहरूले आफ्नो वंश नेपालमा बस्छन् भन्ने सम्झनुपर्छ । पैसामुखीभन्दा पनि नेपाली आवश्यकतालाई सम्बोधन गर्ने ठाउँमा लगानी गर्न तयार हुनुपर्छ । उनीहरूले नेपाली मौलिकतालाई बचाउनुपर्छ ।
    भाषणमा भन्दा काममा ध्यान दिनुपर्छ
    - उपेन्द्र यादव
    अध्यक्ष, मधेसी जनअधिकार फोरम
    सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्न जरुरी छ । अनि मात्र देशभित्र र बाहिरबाट पनि लगानी भित्रिन सक्छ । हामीले अहिलेसम्म लगानीको वातावरण नै बनाउन सकेनौँ । औद्योगिक शान्ति-सुरक्षा, कानुनी राज्यको प्रत्याभूतिविना नयाँ लगानी भित्रिन गाह्रो हुन्छ । विदेशमा बस्दै आएका एनआरएनको दोहोरो नागरिकतासम्बन्धी केही सर्त छन् । उनीहरूलाई सम्पत्ति राख्न, आर्जन गर्न पाउने अधिकार राज्यले प्रदान गर्नुपर्छ । उनीहरूका सन्तानले नेपाल आउन खोज्दा आउन सक्ने वातावरण बनाइदिनुपर्छ ।
    एनआरएनले पनि भाषणभन्दा काममा ध्यान दिन जरुरी छ । चाडबाडका वेला नेपाल आएर ठूला कुरा मात्र नगरी देशमा लगानी गर्न र लगानी भित्र्याउन जोड दिइनु जरुरी छ । राज्यको औद्योगिकीकरणको नीतिलाई सहयोग पुर्‍याउने र देशमा बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ एनआरएनको भूमिका राज्यलाई सघाउन केन्दि्रत हुनुपर्छ ।
    एनआरएनको भूमिकामा हामीले गर्व गर्नुपर्छ
    मदनकृष्ण श्रेष्ठ
    कलाकार
    हामी कतिपयले देशभित्र बसेर पनि देश बिर्सिरहेका हुन्छौँ । तर, गैरआवासीय नेपालीले विदेशमा बसेर पनि आफ्नो मुुलुक सम्भिmरहेका छन् । संकटकाल, विषम राजनीतिक अवस्थामा तथा अहिले पनि विदेशी भूमिमा रहेका नेपालीले पठाएको पैसाका भरमा देश चलिरहेको छ । नेपालमा बसेर प्रगति गर्न गाह्रो छ । कतिपय नेपालीले विदेशमा गएर प्रगति गरेका छन् । यसमा हामीले गर्व गर्नुपर्छ । गैरआवासीय नेपालीले एनआरएन गठन भएपछि दोहोरो नागरिकताको माग गरिरहेका छन् । तर, हाम्रो सरकारले भने उनीहरूलाई नागरिकता दिन्नँ पनि भनेको छैन । दिएको पनि छैन । यो सुस्त मनस्थितिको उपज हो । अरू देशले पढेलेखेका प्रतिभाशाली नेपालीलाई खोजी-खोजी आफ्नो देशको नागरिकता दिएर राखेका छन् । तर, हाम्रो सरकारले भने विदेशमा कमाएको पैसा आफ्नो देशको विकासमा लगाउँछु भन्दा पनि वातावरण तयार गरिदिएको छैन । यस कुरामा दुःख लाग्छ ।
    एनआरएनले नेपाल र नेपाली जनताका लागि करोडौँ रुपैयाँ चन्दा दिएका छन् । यो निकै सराहनीय छ । उनीहरूलाई यहाँ लगानी गर्ने वातावरण तयार गरिदिनुपर्छ । एनआरएनको आफ्नो देश र जनताप्रतिको चासोलाई सरकारले सम्बोधन गर्नुपर्छ ।
    यसपालि एनआरएनको चुनाव हुँदै छ । एनआरएनजस्तो विशुद्ध संस्थामा राजनीतिक चलखेल सुरु भएको छ । एनआरएनलाई राजनीतिक पार्टीहरूले आ-आफ्नो रंग दिएर राजनीति गर्ने अर्काे अखडा बनाउँदै छन् । एनआरएन राजनीति पार्टीरहित हुनुपर्छ । राजनीतिक पार्टीहरूलाई मेरो व्यक्तिगत अनुरोध पनि यही छ, एनआरएनलाई विशुद्ध संस्था नै रहन दिउ"m । कुनै पार्टीले आफ्ना पक्षमा पार्ने चाल नचलोस् । एनआरएन सबैको हो । पार्टीहरूको घुसपैठ नहोस् ।
    एनआरएनले अन्य व्यवसायमा झैँ नेपाली फिल्म निर्माणमा पनि लगानी लगाएको छ । यो निकै सकारात्मक कुरा हो । एनआरएनका केही सदस्यले हाँसिदेऊ एकफेर नामक फिल्म निर्माण गरेका छन् । जसमा म पनि अभिनीत छु । एनआरएनका सदस्यसँग मेरो राम्रो हिमचिम छ । उनीहरूको कार्यक्रममा म विश्वका थुप्रै मुलुक पुगेको छु । जहाँ गए पनि हामी नेपाली एक हौँ भन्ने भावना उनीहरूमा छ ।
    कलाकारलाई अवसर जुटाइदिएको छ
    मनोज गजुरेल
    हास्य कलाकार
    गैरआवासीय नेपालीहरूको संगठन एनआरएन तथा विदेशी भूमिमा रहेका नेपाली संघसंस्थाहरूको कार्यक्रमका लागि म झन्डै दुई दर्जन मुलुक पुगिसकेको छु । हामीले गर्व गर्नुपर्छ, एनआरएनले हामी नेपाली कलाकारलाई अझ व्यावसायिक बनाएको छ । अवसर दिलाएको छ । कलाकारका साथै सामाजिक कार्यकर्ता पनि भएकाले एनआरएनसँग मेरो निकटता अलि गाढा छ । उनीहरू नेपाली कलासंस्कृतिप्रति निकै मरिमेट्छन् । तर, यहाँबाट जाने कलाकारले यो बुझ्नुपर्छ कि हामीले त्यहाँ गएर ठेट नेपाली कार्यक्रम गर्नुपर्छ । कतिपय कलाकारमा विदेशको प्राेग्राम भएकाले विदेशी स्ट्यान्डरको गर्नुपर्छ भन्ने भ्रम व्याप्त छ । यो सच्याइहाल्नुपर्छ । उनीहरू मौलिक नेपाली कला हेर्न चाहन्छन् । एनआरएनले आफ्नो बालपुस्तामा पनि नेपाली संस्कृतिप्रति सचेतना जगाउन जरुरी देख्छु म । कला-संस्कृतिको भाषा संसारभरका सबै मान्छेले बुझ्छन् । एनआरएनले विश्वमा फैलिएर रहेका सम्पूर्ण नेपालीलाई गोलबद्ध गर्नका लागि सांस्कृतिक अभियान छेड्नुपर्छ ।
    खेलकुदलाई राम्रो सहयोग
    विनयराज पाण्डे
    अध्यक्ष, नेपाल क्रिकेट संघ
    लगानीकै अभावमा नेपाली खेलकुदको स्तर माथि उठ्न नसकेको हो । विदेशमा खेलकुदमा पर्याप्त मात्रामा लगानीकै कारण उनीहरूको खेलकुद अवस्था विश्वस्तरमा पुगेको छ । तसर्थ, नेपाली खेलकुदमा पनि एक निश्चित लगानीकर्ताको आवश्यकता महसुस भएको छ । यसमा पनि एनआरएनहरूले चासो देखाएमा अझै राम्रो । एनआरएन लगानीकर्ता बने पक्कै पनि नेपाली खेलकुद उकासिनेछ । भौतिक संरचनामा पैसा लगाएमा यहाँको खेलकुदले गति लिनेछ । अझ क्रिकेटकै कुरा गर्दा हामीसँग अन्तर्राष्ट्रिय स्तरको रंगशाला छैन । अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनमा उनीहरूले सहयोग गरेमा नेपाललाई एक तटस्थ भूमिका रूपमा प्रयोग गर्न सकिने अवसर पनि छ । छिमेकी राष्ट्रलाई यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न निम्तो पनि दिन सक्छौँ । क्रिकेटका माध्यमबाट नेपालको पर्यटकीय व्यवसाय विकासमा टेवा पुग्नेछ ।
    खेलकुदमा एनआरएनको लगानी खाँचो
    - ध्रुवबहादुर प्रधान
    अध्यक्ष नेपाल ओलम्पिक कमिटी
    गैरआवासीय नेपाली (एनआरएन) बाट नेपाली खेलकुदमा लगानीको धेरै आशा गरेको छैन । यदि उनीहरूले खेलकुदमा लगानी गरेमा निकै राम्रो हुनेछ । उनीहरूसँगको हातेमालोमा नेपाली खेलकुदले निकै फड्को मार्नेछ । नेपाली खेलकुदमा लगानी गर्ने यहाँ पर्याप्त ठाउँ छ । स्थायी कोषका रूपमा लगानी गर्दा निकै फलदायी हुनेछ । खेलकुदमा स्थायी कोष खडा गर्न सकिएको खण्डमा खेलाडीको प्रशिक्षणमा समस्या आउनेछैन । खेलाडीलाई विदेशमा स्कलरसिप मिलाउन सकियो भने धेरै वेश हुनेछ । यसले प्रतिभावान् खेलाडी विकास गर्नमा मद्दत पुर्‍याउनेछ । तर, लगानी गर्नेले प्रतिफलको आशा पक्कै पनि गरेको हुन्छ । विनाप्रतिफल कसैले पनि लगानी गर्न रुचाउँदैन ।
    नारायणकाजी श्रेष्ठ
    उपाध्यक्ष, एनेकपा (माओवादी)
    गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता उपलब्ध गराउने हाम्रो पार्टीको नीति हो र यसको कार्यान्वयन चाहन्छौँ । एनआरएनले आफूसँग भएका सीप, ज्ञान र प्रविधि नेपाललाई विकसित राष्ट्र बनाउन प्रयोग गर्नुपर्छ । एनआरएनहरूले मुलुकबाहिर रहेर गरेको प्रयत्न प्रशंसनीय छ । देशबाहिरका नेपालीले देशका लागि केही गर्ने चाहना राखेपछि त्यसका निम्ति उचित वातावरण तयार गरिदिने सरकारको काम हो । देशको स्वाभिमानलाई रक्षा गर्ने एउटा मूलभूत प्रश्न हो यो । नेपाली स्वाभिमानी र सम्मानित छन् भन्नेमा एनआरएनहरूले ध्यान दिनैपर्छ ।
    धेरै रंग छन् डायस्पोराका
    अभि सुवेदी
    साहित्यकार
    देशबाहिर बसेर पनि आफ्नो देश सपार्ने सपना प्रशंसायोग्य छ । यो देश सपार्ने आत्मस्वीकृति नै सबैभन्दा राम्रो पक्ष हो । गैरआवासीय नेपालीको एजेन्डा र उद्देश्य सकारात्मक छ र त्यसले देश विकासमा फड्को मार्न सघाउ पुर्‍याउनेछ । 'म गर्छुभनेर अगाडि आउने संस्थालाई एनआरएनले लगानी गरिदिए हुन्थ्यो । डायस्पोराका विभिन्न रंगहरू बाहिर पोखिएका छन् । कोही भिसाविना पनि काम गरिरहेका छन् । कति नेपाली दुःखी छन् । त्यस्ता वर्गलाई समेट्नुपर्छ एनआरएनले । सबै नेपाली सूचीकृत छैनन् बाहिरका । अदृश्य नेपालीलाई पनि समेट्न सके एनआरएन अझ फैलिन सक्थ्यो । सरकारले उनीहरूलाई दोहोरो नागरिकता दिनुपर्छ ।
    विदेशी होइन एनआरएनको लगानी
    सुरज वैद्य
    वरिष्ठ उपाध्यक्ष, नेउवा महासंघ
    एनआरएन विभिन्न क्षेत्रमा लगानी गर्न सक्षम भए पनि लगानी कुन क्षेत्रमा गर्ने भन्ने सरकारको नीति नहुदा समस्या भएको छ । अहिलेसम्म आएको एनआरएनको लगानी अनुत्पादक क्षेत्रमा केन्दि्रत छ । नेपालमा लगानी भित्र्याएका छौँ भन्नेहरूले पनि घरजग्गाजस्ता क्षेत्रमा मात्र लगानी गरेका छन् । यसले आर्थिक विकासमा खासै योगदान गर्दैन । नेपालको साँच्चै विकास गर्ने हो भने एनआरएनले आफ्नो लगानीलाई जलस्रोत, खनिज, कृषि, पर्यटनजस्ता उत्पादनमूलक क्षेत्रमा केन्दि्रत गर्नुपर्छ ।
    यसका लागि उनीहरूले पैसै ल्याउनुपर्छ भन्ने होइन, विदेशमा बसेकाले सिकेको ज्ञान मात्र ल्याए पनि पुग्छ । त्यहाँ सिकेको केही ज्ञान नेपालमा पनि लगानी गरेमा यहाँको विकासमा सहयोग पुग्नेछ ।
    वाषिर्क मिटिङले बन्दैन देश
    रेखा थापा
    चर्चित नायिका
    देश बनाउनका लागि विदेशमा बसेर वर्ष-वर्षमा मिटिङ गरेर, ठूलाठूला भाषण मात्र गरेर हुँदैन । विदेशमा कमाएको पैसा आफ्नो मुलुकमा लगाएर देश सम्पन्न र शक्तिशाली बनाउनुपर्छ । दसैँ-तिहार मनाउन नेपाल आउने र त्यही मौकामा सम्मेलन गरेर गरिब जनतालाई आश देखाउने तरिका मलाई ठीक लागेको छैन । मुख र पैसाले मात्र देश बन्दैन । देश बनाउन विचार र मन पवित्र हुनुपर्छ । एनआरएनहरू यहाँ पनि लगानी लगाएर अझै पैसा कमाउन
    चाहन्छन् । उनीहरूको लगानीको उद्देश्य विशुद्ध सेवामुखी हुनुपर्छ ।
     
    दोहोरो नागरिकता दिनुपर्छ
    सुरेन्द्रवीर मालाकार
    अध्यक्ष, नेपाल चेम्बर कमर्स
    एनआरएनको विश्वव्यापी सञ्जालका कारण हामीलाई कतिपय ठाउँमा नेपाली सामग्री चिनाउन र निर्यात प्रवर्द्धन गर्न सजिलो भएको छ । दोहोरो नागरिकताबारे सरकार प्रस्ट छैन । उनीहरूको लगानी सुरक्षित हुने एउटा मापदण्ड बनाएर त्यो दिनुपर्छ । सामाजिक क्ष्ाेत्रमा एनआरएको लगानी राम्रो छ । तर, व्यावसायिक लगानीका लागि आवश्यक पूर्वाधार तयार पार्नु जरुरी छ । प्राविधिक रूपले दीक्षित गैरआवासीय नेपालीले मुलुकको मुहार फेर्नेगरी नयाँ स्वरूप दिन सक्छन् । त्यसैले प्राविधिक र शिक्षित जनशक्तिलाई मुलुक फर्काउन पनि उचित वातावरणका साथ सरकारले पहल गर्नुपर्छ ।
    विदेशी होइन एनआरएनको लगानी
    डा. नेत्र तिमल्सिना
    अध्यक्ष, गैसस महासंघ
    अहिले एनआरएनहरूको लगानी भित्र्याउन राज्यले आवश्यक वातावरण बनाइदिनु जरुरी छ । विदेशमा बसेर कमाएका तर स्वदेशमा केही गर्न चाहने एनआरएनको लगानी स्वदेशी नै हो, विदेशी होइन । विदेशी कम्पनीको लगानी ल्याउनभन्दा नेपालीहरूकै लगानी ल्याउँदा राज्यलाई बढी फाइदा हुन्छ । विदेशी कमपनीको लगानी आउँदा विदेशी हस्तक्षेप र अनावश्यक दबाब आउन सक्छ । विदेशी स्वार्थमा निर्भर गर्छ, त्यो उद्योगको लगानीभन्दा पनि । भारतले पनि विदेशमा बस्दै आएका एनआरएनको लगानी भित्र्याएर मुलुकको बृहत्तर विकासमा टेवा पुर्‍याइरहेको छ । एनआरएनहरूले पनि सुविधा मागेअनुसार लगानीको प्रतिबद्धता जाहेर गर्नुपर्छ । नेपालमा लगानी गरेर राष्ट्रलाई औद्योगिकीकरणमा लैजान टेवा पुर्‍याउनुपर्छ ।



    No comments:

    Post a Comment