• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 13, 2009

    सामाजिक क्षेत्रमा एनआरएनको सहयोग

    विष्णु पोखरेल

    विदेशमा बसेर कमाएको पैसा नेपालीले आफ्नै लागि मात्र खर्चेका छैनन् । विभिन्न कारणले बिदेसिएका उनीहरूले आफ्नो कमाइएको केही हिस्सा व्यक्तिगत र संस्थागत रूपमा नेपालको सामाजिक क्षेत्रमा पनि लगाएका छन् ।
    विदेशमा होस् वा स्वदेशमा गैरआवासीय नेपालीहरू (एनआरएन) व्यावसायिक लगानीका साथै सामाजिक लगानीमा पनि अग्रसर भएका छन् । विदेशमा रहँदा त्यहाँका नेपालीलाई परेको समस्या समाधानमा क्रियाशील हुने एनआरएनले नेपालको विभिन्न क्षेत्रमा पनि सहयोग पुर्‍याउँदै आएका छन् ।
    स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कला र साहित्यजस्ता क्षेत्रमा पनि एनआरएनको लगानी हुने गरेको छ । सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति देखाउन एनआरएनहरू पछि परेका छैनन् । 'विदेशमा रहे पनि हाम्रो मन नेपालको वरिपरि घुमिरहेको हुन्छ,' एनआरएनको चौथो विश्वसम्मेलन तयारी समितिका उपसंयोजक डा. हेमराज शर्मा भन्छन्, 'त्यसैले हामीलाई व्यावसायिक मात्र होइन, सामाजिक क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्छ ।'
    सामाजिक उत्तरदायित्वका निम्ति एनआरएनहरूले शिक्षा र स्वास्थ्यको क्षेत्रदेखि मानिसको मृत्युपछि गरिने काजक्रियाका लागि आवश्यक किरियापुत्री भवन बनाउनसमेत सहयोग गरेका छन् । यत्ति मात्र होइन, उनीहरूले साहित्यसेवीलाई पुरस्कृत गर्ने र जनचेतना जगाउने कार्यका लागि पनि सहयोग गर्न बाँकी राखेका छैनन् ।
    चौथो एनआरएन विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. उपेन्द्र महतोले आइतबार मात्र पशुपतिनाथ परिसरको किरियापुत्री कम्लेक्स जीर्णोद्धार र मर्मतका लागि व्यक्तिगत रूपमा तीन करोड सहयोग गर्ने सम्झौता गरे । यसअघि पनि करिब सवा करोड व्यक्तिगत लगानी गरेर सोही क्षेत्रमा महतोले एउटा किरियापुत्री भवन निर्माण गराएका थिए । विदेशमा बस्ने नेपालीहरूको छाता संगठनको नेतृत्व सम्हालिरहेका महतोले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरिसकेका छन् ।
    नेपालको विभिन्न क्षेत्रमा व्यावसायिक लगानीसमेत गरेका महतो सामाजिक क्षेत्रमा पनि लगानी गर्न चुकेका छैनन् । आफ्नी आमाको सम्झनामा सिराहामा निर्माण गरिदिएको फूलकुमारी महतो विद्यालय र अस्पतालले पनि उनले सामाजिक उत्तरदायित्व बोध गरेको देखाउँछ । व्यक्तिगत रूपमा मात्र होइन, संस्थागत रूपमा पनि एनआरएनहरूले विभिन्न सामाजिक क्षेत्रमा लगानी गरेका छन् ।
    एनआरएनले राजधानीको भृकुटीमण्डपस्थित नेपाल राष्ट्रिय पुस्तकालयलाई पनि सहयोग गरिरहेको छ । सो पुस्तकालयलाई ई-लाइबे्ररी बनाउने कोसिसमा एनआरएन लागिपरेको छ । एनआरएनको संस्थागत लगानीमा पुस्तकालयलाई आधुनिकीकरण गर्न लागिएको छ । उसो त एनआरएनकै सहयोगमा त्रिभुवन विमानस्थललाई सयवटा ट्रली प्राप्त भएको छ । विभिन्न मुलुकमा बसोवास गर्ने एनआरएनहरूले सामूहिक रूपमा ती ट्रलीको व्यवस्था गरिदिएका हुन् । अस्ट्रेलिया, हङकङ, रसिया, जापान, बेलायतलगायतका एनआरएन र एनआरएनसम्बद्ध संस्थाले सहयोग गरेर दिएका ट्रली अहिले पनि विमानस्थलमा गुडिरहेका छन् ।
    पशुपतिमा किरियापुत्री भवन बनाउन सहयोग गर्ने एनआरएनले देवघाटमा दुई सय शय्याको वृद्धाश्रम बनाउन पनि सहयोग गरेका छन् । करिब एक करोड नेपाली रुपैयाँको सहयोगमा देवघाटमा वृद्धाश्रम बनिरहेको छ । यसका लागि विभिन्न देशका एनआरएनले सहयोग गरेका छन् । एनआरएन जर्मनीका अध्यक्ष दिल गुरुङ भन्छन्, 'नेपालको विकासका लागि एनआरएनहरू व्यावसायिक मात्र होइन, सामाजिक लगानी गर्न रुचाउँछन् ।'
    सन् २००३ मा सम्पन्न पहिलो एनआरएन विश्व सम्मेलनबाटै सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका एनआरएनहरूले सामाजिक क्षेत्रको लगानीलाई अझ विस्तार गर्दै लगेका छन् । रसियमा बस्ने एनआरएन जीवा लामिछानेले साहित्य क्षेत्रमा पनि योगदान पुर्‍याइरहेका छन् । उनले चितवनमा पद्मश्री साहित्यसम्म स्थापना गरेर मोफसलका साहित्यकारलाई सम्मानित गर्दै आएका छन् ।
    व्यावसायिक लगानीसँगै सामाजिक क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने मान्यताका कारण साहित्यिक पुरस्कार स्थापना गरेको उनको भनाइ छ । 'आफ्नो गाउँ, समाज, कला, संस्कृति र साहित्यको माया नलाग्ने कुरै भएन,' जीवा भन्छन्, 'यसलाई जीवन्त राख्न केही गराै भनेर पुरस्कार स्थापना गरिएको हो ।'
    एनआरएनहरू व्यावसायिक मात्र होइन, सामाजिक क्षेत्रमा लगानी गर्न उत्साहित छन् भन्ने कुरा चौथो विश्वसम्मेलनका अवसरमा राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा बनाइएको सगरमाथा आरोही तेन्जिङ नोर्वे र एडमन्ड हिलारीको प्रतिमाले समेत पुष्टि गर्छ । उनीहरूले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्नेहरूको प्रतिमा बनाउने कार्यमा समेत सहयोग गरेर सामाजिक उत्तरदायित्वको नमुना देखाउन पछि परेनन् ।

    No comments:

    Post a Comment