• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, October 4, 2009

    परदेशमा दशैं कसरी आँउछ हँ ?


    -उत्तम बाबु श्रेष्ठ-
    निर्धारित समयभित्रै गर्नपर्ने कामहरुको ठुलो फेहरिस्ते छ, पढ्नै पर्ने सन्दर्भ सामाग्रीहरुको सुची पनि लामो नै छ । केहि कामहरु त यस्ता छन् जसलाई तीन दिन भित्रमै सकाउनु पर्नेछ । हातमा किताव छ, आँखा कितावका पानाहरुमा छन् तर मन र ध्यान किताव तिर कत्ति छैन्, मन र ध्यान नेपालमा छ, अझ भन्दा घरमा छ । कितावका पानाहरुमा तथ्याकंसास्त्रका लामा र जटिल समिकरणहरु छन् तर मनको समिकरण त्यो भन्दा कति हो कति जटिल । टिकाको दिन नजिकिदै गर्दा बुवाको त्यो शब्द झन् कानैमा आएर गुन्जिए जस्तो लाग्छ, मानौ बढेमानको घण्टी कसैले बजाइरहेको छ मेरो कानैको छेवैमा । दशैं आउन मुस्किलले दुई हप्ता वाँकी थियो होला मैले घर छाड्दा । निस्कने साइतको वेला वुवाले टिका लगाइ दिंदै भन्नु भएको थियो । “यहि टिकालाई दशैंको टिका मानेस् “। त्यसपछि उहाँको गला अवरुद्घ हुन पुगेको थियो । ती शब्दहरु आजको दिनमा कानैमा गुन्जिरहेका छन् । घरको तस्बीर आँखामा नाची रहेको छ । छेवैमा श्रीमती ल्यापटपसँग खेलिरहेकी छे । न उनी मलाई सोध्न सक्छे घर मिस गरिरहेको हो? भनेर, न मैले नै। समान पिडा भएको वखतमा हामी प्राय निश्प्रश्न र निरुत्तर हुन्छौं र कर्तव्यपथमा हिडेको अभिनय गर्दछौं । साच्चै भावना र कर्तव्यको जटिल समिकरणमा अल्झिएर हामी कठिन समयमा वाँचिरहेका छौ ।
    विदेशमा बसाईमा चाडबाड आँउदा घर सबैलाई “मिस” गरिरहेका छन् । साथीहरुका फेसवुकका स्टाटस मेसेजमा कसैले भुटन मिस गरेका छन् त कसैले सुकुटी । नभएको कुरा मिस गर्ने मान्छेको जात । केहि समय पहिले घरजाने प्लेन, वस, खसी, दशैंका जमरा, टिका आदि इत्यादि फोटे उपहारको ताँती लागेको थियो । सायद अव त्यसको उत्कर्षसकिए जस्तो लाग्छ । हाम्रा साझा पिडा, कुण्ठा, वेदना र खुशीहरु हिजो आज काँचको स्क्रीनमा पोखिन्छ र त्यहि विलाउँछ । कहिले कहि त्यस्ता उपहारहरु मलाई केटाकेटीमा भात पकाउने खेल खेलेको जस्तो लाग्छ । केटाकेटीमा हामीहरु साना साना खैनीका डब्बाहरुमा माटो वा वालुवाका भात पकाएर खेल्थ्यौं । अनि पाकेपछि खाएको अभिनय गर्दथ्यौ । खैनी डब्बामा पकाइएका माटोका भातहरु निकै खाँदै दिनभर खेल्दथ्यौं तर साँझमा पेट भोकै हुन्थ्यो । खेल्दासम्म भोक हराँउदथ्यो तर सकिएपछि पिडा उस्तै । सायद भर्चुवल उपहार साटासाट पनि त्यहि हो – भावनाको बिनिमय काँचको पर्दादेखि काँचको पर्दासम्म । हो, हामी भर्चुवल संसारका वाँचिरहेका छौं ।
    मलाई थाह छ, मेरो संस्कृति र यहाँको संस्कृतिमा जमिन आसमानको फरक छ । “रोम जाँदा रोमनले जस्तै गर” भनिने अंग्रेजी उखान सायद मेरो पुस्ताको लागि होइन । अहिले विदेशीएको हाम्रो पुस्ता क्रिसमस र थ्याक्स् गिभिङलाई पनि आफ्नो चाड मान्न सक्दैनौं र दशैंमा घर सम्झेर दुखी हुन पनि छाड्दैनौं । समय, पुस्ता र भुगोलको यहाँ ठुलो संक्रमणकाल छ । अस्तिसम्म हेक्का भएन सोमवार टिका हो भनेर । याद होस् पनि कसरी ती कुराहरु प्राथमिकता भित्र पनि पर्न पाँउदैन जस्तो लाग्छ चापचापहरुमा रुमल्लिरहँदा । नत्र प्राध्यापकलाई किन सोमवार आँउछु भनेर भनिदिन्थे र ? समय दिइसकेपछि फिर्ता के लिनु । हाम्रो चाड भनेर विदा पाइने होइन । सायद समस्या सबैको उस्तै होला । सकेसम्म मिलाउने कोशिस गर्ने हो । काम सकेर आइसकेपछि भरे श्रीमतीसँग बसेर टिका लगाँउला, केहि साथीहरुको जमघट पनि छ। राती अवेरसम्म काम गर्नेहरुले पनि आफ्नै तरिकाले दशै मनाउने सोचेका होलान् । टिकाको साइत यहाँ चल्दैन सबैको आ-आफ्नै साइत छ । ए, म पुस्ताको कुरा गर्दै थिए । सायद यो पुस्तालाई जस्तो दोघार र अप्ठ्यारो अर्को पुस्तालाई हुँदैन होला । उनीहरुलाई क्रिसमस र थ्याक्स् गिभिङलाई नै आफ्ना चाड मान्दा हुन् । तर हामी फेरिन सक्दैनौं, कम्तीमा म चाँही सक्दिन ।
    सानैमा दशैंको वेला निकै खुशी भइन्थ्यो । दशैको अष्ठमीको दिन काटिने राँगा, खसीको मोल दुइ हप्ता भन्दा अघिदेखि नै गाँउघरमा फैलिसकेको हुने । रोगटे पिंग र लिंगे पिंग, अनि पारिवारिक जमघटमा खेलिने जुवातास सिँगो गाँउ एक भए जस्तो लाग्थ्यो त्यो सद्भाव कहिले पाइएला र यहाँ । उतिवेला वर्षरिमा एकजोर लुगा आँउथ्यो दशैंको वेलामा त्यसको कस्तो अधैर्य प्रतिक्षा हुन्थो । एउटा नयाँ टिर्सट मात्रै पाँउदा पनि खुशीको सिमा रहन्थेन । अहिले त्यो भन्दा बढि लुगा किनिएला नयाँ लुगाको लागि दशैं नै कुर्ने पर्ने आवश्यकता रहेन, तर नयाँ लुगा किन्दा त्यसरी खुशी भएको संझना कहिल्यै छैन हिजोआज । ती खुशीहरु अबको समयले हामीलाई दिन मुस्किल छ । मलाई त लाग्छ, ती खुशीका क्षणहरु अहिले हजारौं डलरको अनुसन्धानवृती पाँउदा वा कुनै वैज्ञानिक जर्नलमा लेख प्रकाशित हुँदा भइने खुशी भन्दा पनि अनमोल छ । राम्रो लुगा, मिठो खाने आशा भन्दा धेरै पर गैसकेका छन् खुशीका सिमारेखाहरु । परदेशको यो भौतिक सम्पन्नता विच पनि केहि हराए जस्तो, केहि गुमाए जस्तो अनुभुती भइरहेको छ । परदेशमा दशैं कसरी आँउछ हँ ? आफ्नो अनुभव बाँड्ने कि ?

    No comments:

    Post a Comment