गौतम दाहाल,अमेरिका
आखिर हाम्रो परिचय संस्कृतिसँगै जोडिएको छ। तर जब यसरी विदेशी भूमिमा पसिना बगाउँदै गर्दा आफ्ना सांस्कृतिक धरोहरका रुपमा रहेका चाडबाडले ढपक्कै छोप्दा मन कति खिन्न हुने रहेछ भन्ने अनुभूति भईरहेछ यो दशैंमा। हामी प्रवासिएका नेपालीहरुप्रति जति नै सहानुभूति देखाए पनि पीडाको मर्म मापन गर्न कसैले सक्दैन। जो नेपाली जहाँ जसरी रहेपनि देशको सांस्कृतिक दूतको रुपमा पुर्याएको योगदानको मुलुकले कहिले पनि कदर गर्न जानेन। बरु उल्टो आरोप लाग्छ हामीलाई विदेश बसेर भाग खोज्ने र खोस्नेहरु भन्ने। तर विदेश अधिकांश नेपालीको रहर नभएर बाध्यता हो भन्ने यथार्थलाई पनि बुझिदिनु पर्यो देश बनाउने नारा दिने र यस्तै खोक्रो नाराको पछाडि आफ्नो स्वार्थ पुरा गर्न दौडधुप गर्नेहरुले।भावना र कर्तव्य निकै फरक हुने रहेछ। कहिलेकाँही म यस्तै भावनामा यति कमजोर बन्न पुग्छु त्यो बेला अरु सारा व्यर्थ र गौण लाग्छन्। तर जिउनु पर्ने रहेछ यथार्थ र कर्तव्यको जगमा। कम्प्युटरमा बसेर किबोर्ड थिचिरहँदा यो क्षण विगत झल्कन्छ कम्प्युटरको स्त्रि्कनमा। तर अब न ती गुमेका दिनहरु फिर्ता आउँछन् मात्र भुल्न नसक्नुको अनुभूति। म समय,भोगाई र यथार्थको जञ्जीरमा गुजि्ररहेछु कुनै कुनामा। सिंगो आकाश पनि मलाई अपुरो लाग्छ यो बेला क्षितिजपारीको आकाशलाई निलेको पो छ कि जस्तो भ्रम मभित्र उत्पन्न भईरहेछ। म आफैंलाई समयले कैदी बनाएर कजाई रहेछ।
सुनसान यी मानव वस्तीहरु आफैंलाई गिजाईरहेजस्तो। दशैं लागेको छ मलाई। खै किन हो यसवर्ष दशैंको अनुभूति भिन्न हुँदैछ। धेरै भयो अभिभावक र परिवारजन्बाट टाढिएको। सबै आफ्नै संसारमा छन्। चार महिना अघि सनफ्रान्सिस्कोमा भेट भएथ्यो करीब ६ वर्षपछि मामा दिनेश पोखरेल र अर्को मामाको छोरा भाई रबीसँग। त्यो क्षण पारिवारिक मिलनको क्षण थियो। अघिपछि विदेशमा सबै आफ्नै धुनमा व्यस्त हुन्छन्। तर जब चाडबाड आउँछ तब सबैले विदेशमा आफ्नाआफन्त खोज्दछन्। म समयको कैदी न त उम्कन नै सकेको छु न त यो जञ्जाल तोड्न नै। निरीह निरस जिन्दगी घोट्दैछु यहाँ। अनि सम्झन्छु आफ्नाआफन्त सबैलाई। ६ कक्षादेखि एस.एल.सी. सम्म सँगै पढेको साथी अबन पनि पानीभित्र जिन्दगीका अमूल्य पलहरु बिताईरहेछ यहाँ। अनि नियमित कुरा हुन्छ दुःख सुखका , ती दिनहरुका जुन समय अब फर्कदैन यो यात्रामा। गुमेका पलहरु सम्झेर रौसिनुको कुनै अर्थ छैन तर भुल्न सकिन्न। अबनसँग कुरा हुँदा दशैं आउँछ। खसीको मासुको चर्चा हुन्छ। अनि न्यूयोर्कबाट पिपलमणी सिग्देलसँगको शुभकामना आदानप्रदानसँगै यही दोहोरिन्छ दशैं,तिहार,देउसी,भैलो,चाडबाड,आफ्नाआफन्त सबैलाई काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा नै छोडेर आइयो। हो त नि। पिपलमणीजीले भनेजस्तै सबै कुरा हामीले त्यहीं छोडेर आयौं। त्यसैले यहाँ हाम्रो चाडबाडमा छुट्टी मिल्दैन। कहिलेकाँही त कुन चाड कहिले पर्छ भन्ने समेत हेक्का रहँदैन।
यतिखेर सबैले सबैलाई सम्झेर शुभकामना आदानप्रदान गर्ने लहर चलेपछि दशैंले ढपक्कै ढाकेको महसुस हुन्छ। शनिवार दिउँसो दुई महिना अघि मात्र हाइटी पुग्नुभएका मामा विश्व पोखरेलको फोन आयो शुभकामनाका लागि। झण्डै आठ वर्षपछि दूरभाषामार्फत् कुराकानी हुन पाउँदा मात्र पनि खुशीले मन दंग। मामाको शुभकामनामा आर्थिक प्रगतिको आशिर्वाद पनि छ। विदेशमा बसेपछि आर्थिक जोहो नै गर्नुपर्छ भाञ्जा भन्ने आग्रह छ मामाको। कमाइधमाईको कुराकानी हुन्छ अनि भावना न हो बहकिन्छ मन अनियन्त्रित भएर। तत्काल सनफ्रान्सिस्कोमामा दिनेश मामालाई सम्पर्क गर्छु उहाँको फोन उठ्तैन। अनि फेरि काममा नै जोतिन्छु।
यी चाडबाडहरु कति प्यारा छन् हाम्रा लागि। हिन्दू धर्म वास्तवमै आफैंमा धनी छ संस्कारका लागि। तर परिवर्तनको फोस्रो नारामा लहडिनेहरु चन्द्र र सूर्य अंकित झण्डा त फेर्नुपर्छ भनेर कुँडलिन्छन् भने हाम्रो संस्कति र धार्मिक महत्वको आवश्यकता जगाउन कता लाग्थे होलान् र? घृणा लाग्छ यस्ताहरुदेखि र धिक्कार्छु म यस्ताहरुलाई। सबै जाति,धर्म र संस्कृतिको साझा पर्व हो दशैं। अनि नेपाली पहिचानको अमूल्य धरोहर हो देशको झण्डा। मन यसरी चारैतिर भौतारिन्छ।
फोन मार्फत् आफ्नाआफन्त सबैसँग कुरा गरेपछि एक्लोपन निकै बढ्छ। डाहा लाग्छ आफैंसँग। क्यालिफोर्नियाबाट भाई मिलनको फोन आउँछ त्यस्तै सन्देश लिएर। काठमाडौं घरमा फोन गरेको सबैले तासमा यति जित्यौं र यति हार्यौं भनेर सुनाईदिएपछि मिलन पनि दशैं मिस गरेछु भन्छ मसँग। खै के मिस गरिएको छैन र यहाँ? तैपनि हामी हराईरहेछु यही। पैसा कति कमाइयो? कस्तो छ जिन्दगी? यी सामान्य जिज्ञासा हुन्छन् मप्रति सबैका। तर नगरी काम पुग्दैन खान साँझ र बिहान भन्ने चरीको बिलापको कविता नै मेरो जिन्दगीको यथार्थ हो भन्दा पत्याउन्नन् कोही। अनि के को कमाई हुनु? काम गरेर यहाँ नै अनेकथरी बिल तिर्दा जहिले पनि हातमा लाग्यो शुन्य नै भईरहेछ यो कैदी घण्टे जिन्दगीको उपलब्धि। …त्यसो भए किन बसेको त अमेरिका?’ प्रश्नले आफैंलाई थिच्छ। शायद भोलिको सुखद भविश्यको आशामा। यो बाहेक मसँग अर्को कुनै जवाफ छैन अहिलेसम्म।
…काठमाडौंमा जग्गाको भाउ बढेको छ। घर बनाउन निकै महंगो छ। कुनै कुरा पनि भर छैन। तैपनि जग्गामा लगानी गरे राम्रै हुन्छ।’ आफन्तहरुको सुझाव यस्तै हुन्छ। तर लगानी गर्ने के? जवाफ खोजिरहेछु। …बस्ने त स्वदेशमै हो बावु। स्वदेशमा जस्तो आफ्नोपन मान,सम्मान र इज्जत त कहीं पाइन्न विदेशमा। विदेशमा बसेर देशका बारे चासो राख्नु ,सिक्नु र यहाँ फर्केर त्यसको सदुपयोग गर्नुपर्छ,’ बुढ्यौलीले थिच्दै लगेका कान्छा हजुरबाको यो सुझावले मन गह्रुँगो बनाउँछ फेरि एकपटक। उहाँ उर्जा थप्नुहुन्छ मेरो अमेरिकी व्यस्त जिन्दगीका बीच पनि जारी रहेको सामाजिक सक्रियताबारे। पैसा सबैले कमाउँछन् तर मान,सम्मान र इज्जत सबैले कमाउन सक्दैनन् भन्दै उहाँ मेरो सक्रियताप्रति गौरव गर्छु भन्दा मन फेरि फुरुक्क हुन्छ। तर समाज आर्थिक मापदण्डले तहसनहस बन्दै गएको स्थितिलाई मापन गर्ने हो भने पैसा बाहेक यो संसारमा अरु सबै व्यर्थ लाग्छ लोभीपापीहरुलाई।
धेरै वर्ष भयो यसरी परिवारसँग टाढिएर चाडबाडमा एक्लो बस्नुपरेको। ८७ वर्षीय हजुरबालाई गतवर्ष दशैंमा अर्को वर्ष टीका थाप्न आउँछु भनेको अस्ति जस्तो लाग्छ। तर आज एक वर्षपछि फेरि त्यही कुरा दोहोर्याउँदा कान पटक्कै सुन्न छाड्नुभएका हजुरबाको भावविव्हल शब्द ठोकिन्छ …खै बाबु काल पर्खेर बसेको छु। हिंडडुल गर्न सक्दिन। अर्को वर्षसम्म भेट हुन्छ कि हुँदैन। जे भएपनि दुर्गा भवानीले तेरो रक्षा गरुन्। ‘ मन अमिलो हुन्छ यो क्षण। खै कुन परिबन्दले मलाई यसरी लखेट्दैछ? किन म यसरी सबैबाट टाढा विरानो बन्दैछु? सिड्नीबाट बहिनीको फोन आउँछ त्यही कुरा …यसपालीको तिहारमा पनि भेट नहुने भो। ‘ किन यसरी सबैतिर निराशाको काँडाले मात्र घोच्छ यो जिन्दगी?
आज सोमबार दशैंको मूख्य दिन। नियमित काममा थप अतिरिक्त समय काम गर्ने रुटीन छ। तर निकै एक्लोपनले विरक्त बनाएकोले काममा नजाने निधो गरेर भौंतारिरहेको छु सडकतिर। सबै काठमाडौंकै जस्तो अनुभूति हुन्छ, आज सडक पनि सुनसान लाग्छ। चहलपहल पनि पातलिएको जस्तो भ्रम हुन्छ। साँच्चै अमेरिकालाई पनि हाम्रो दशैंले छोपेजस्तो लाग्छ। विरक्तिसँगै कफी पिउन कफीसपतिर छिर्छु ,छिमेकीको …दशहरा मुवारक ‘ भन्ने शुभकामना कानमा गुञ्जन्छ अनि अघिपछि कहिले नबोल्ने त्यही छिमेकी आफ्नो जस्तो लाग्छ। कफी बनाउँदै गर्दा ऊ त्यहाँ काम गर्ने सबै नेपालीहरु टीका लगाउन छुट्टी मागेर गएको जानकारी दिन्छ र कफी दिंदै सोध्छ मेरो खाली निधार हेरेर किन टीका नलगाएको भनेर। मसँग कुनै जवाफ छैन। म …फेरि भेटौंला’ भन्दै कफी लिएर घर फर्कन्छु र ऐनामा हेरेर आफैंसँग प्रश्न गर्छु …खै मेरो निधारमा रातो टीका र कानमा सिउरने जमरा?’ मन एकतमासले एकोहोरिन्छ कति वर्ष भएछ यसरी खाली निधारको दशैं भनेर सम्झन खोज्दा खोज्दै आँखाबाट अनायास झरेको आँशु गालामा छचल्किएर भुईतिर बग्दैछन्। आफूलाई सम्हाल्न गाह्रो भए जस्तो लाग्छ। कफी पनि पिउन मन लाग्दैन। त्यसैत्यसै मन भक्कानिन्छ। यसरी यो वर्षको दशैं न त खसी,न त पीङ, न त टीका पोहोर जस्तै खाली निधार बित्दैछ।
No comments:
Post a Comment