• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, October 13, 2009

    प्रवासमा नेपाली पत्रकारिता

    केपी ढुंगाना

    नेपाली बिदेसिने क्रमसँगै नेपाली पत्रकारितासमेत विस्तार भएको छ । जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली भाषाका सञ्चारमाध्यमको समेत प्रारम्भ भएको छ । युरोप, अमेरिका, खाडी र एसियाली राष्ट्रमा नेपाली भाषाका सञ्चारमाध्यम बढ्दो छ ।
    २०५० को प्रारम्भमा अनलाइन पत्रिकाबाट सुरु भएको प्रवासी पत्रकारिता १६ वर्ष टेक्दा छापा, रेडियो र टेलिभिजनमा समेत प्रवेश गरिसकेको छ । छापामाध्यमको संख्या पनि अनलाइनकै हाराहारीमा पुगिसकेका छन् भने विस्तारै रेडियो र टेलिभिजनको संख्यासमेत बढिरहेको छ ।
    image०५० पछि नेपालीका लागि जब श्रमकै लागि तेस्रो मुलुकका ढोका खुल्ला भए तब उनीहरूको संख्या ह्वात्तै बढ्यो । गैरआवासीय नेपाली संघका अनुसार हालसम्म करिब २५ लाख नेपाली प्रवासमा छन् । त्यसमध्ये ६० प्रतिशत नेपाली मजदुरीका लागि खाडी राष्ट्रमा रहेका छन् । ०५० देखि २०५५ मा कोसेढुंगाको रूपमा प्रवासमा पत्रकारिताले तीव्रता पाएको बताउँछन् गैरआवासीय नेपाली ।
    छापा माध्यममा साप्ताहिक, पाक्षिक र मासिक रूपमा पत्रिका प्रकाशित भइरहेका छन् । साउदी अरबमा प्रेस चौतारी खबर पाक्षिक प्रकाशित भइरहेको छ । बेलायतमा युरोपको नेपाली पत्र, एभरेस्ट टाइम्स, नेपाली सन्देश र नयाँ सन्देश साप्ताहिक प्रकाशित हुने गरेका छन् ।
    हङकङमा एभरेस्ट र सनराइज साप्ताहिक प्रकाशित हुँदै आएका छन् । अस्ट्रेलियामा नेपाली पत्रिका र अस्ट्रेलियाको नेपालीपत्र प्रकाशित हुँदै आएका छन् । प्रवासमा सबैभन्दा धेरै नेपाली पत्रिका प्रकाशित हुने राष्ट्रको सूचीमा छ
    मलेसिया । मलेसियामा श्रम साप्ताहिक, श्रीअभिलेख, नेपाल पृष्ठभूमि, नेपाल सन्देश, हाम्रो आवाज र नेपाली खबर साप्ताहिक रूपमा प्रकाशित हुँदै आएका छन् ।
    अमेरिकामा विश्वपरिक्रमा, विश्वसन्देश, नेपाली समाचार, एभरेस्ट टाइम्स र नेपाली खबर प्रकाशित भइरहेका छन् । इराकमा समेत तीनवटा साप्ताहिक नेपाली पत्रिका प्रकाशित हुने गरेका छन् । श्रमको खोजीमा इराक पुगेका नेपालीले ताजी, बलाद टाइम्स र बुक्का साप्ताहिक प्रकाशित गर्दै आएका छन् । कतारमा राजधानी र कान्तिपुर साप्ताहिक प्रकाशित हुँदै आएका छन् । इजरायलमा चौतारी मासिक प्रकाशित हुने गरेको छ ।
    अमेरिका र मलेसियाबाट प्रकाशन सुरु भएको नेपाली खबरका प्रकाशक धर्मराज भुसालको भनाइमा प्रवासी पत्रकारिताले विस्तारै व्यावसायिक आकार लिँदै छन् । उनले भने- 'प्रवासबाट छापिने पत्रिकाहरूको मुख्य स्रोत नेपालबाट प्रकाशित हुने पत्रपत्रिका र अनलाइन भए पनि अहिले भने विस्तारै व्यावसायिक रूपमा कार्यालय र सञ्चारकर्मी नै राखेर पत्रिका प्रकाशित गर्ने प्रक्रिया
    बढेको देखिन्छ ।'
    जापानमा साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको नेपाली समाचारका सम्पादक भुषण घिमिरेको विश्लेषणमा जुन रूपमा छापा पत्रकारिताको विकास भएको छ त्यो रूपमा गुणस्तरमा सुधार आउन सकेको छैन,' उनले भने, 'प्रायः प्रवासी पत्रकारिता अनलाइनमा आएका कुरा छापामा र छापामा आएका अनलाइनमा राखेर चलेको छ ।'
    प्रवासमा फस्टाएको पत्रकारिताका कारण नेपालमा भइरहेका घटनाक्रम बिदेसिएका नेपालीलाई जानकारी दिन र बिदेसिएका नेपालीको अवस्था नेपालमा रहेकालाई जानकारी दिन सहज भएको उनको अनुभव छ ।
    विदेशमा छापा पत्रकारिता कठिन भएको उनले सुनाए । युरोप, अमेरिकालगायतका देशमा रहेका नेपाली छापा माध्यममा भन्दा पनि अन्य माध्यमप्रति बढी रुचि राख्ने गरेको उनले बताए । घिमिरेका अनुसार प्रायः सहजै इन्टरनेटमा पहुँच नहुने र मनोरञ्जनका साधनसमेत सीमित भएका खाडी राष्ट्रमा छापा पत्रकारिता फस्टाएको छ ।
    अनलाइको बाढी
    प्रवासबाट प्रकाशित हुने अनलाइन पत्रिकाको संख्या तीन दर्जनभन्दा बढी छ । नेपाली पुगेका देशैपिच्छे अनलाइन पत्रिकाहरू सञ्चालित छन् । विदेशमा रहेका नेपालीबाट प्रकाशित पहिलो अनलाइन पत्रिकाको रूपमा नेपालीपत्र डटकमलाई लिने गरिन्छ । जापान पुगेका नेपालीले नेपालजापान डटकम सञ्चालनमा ल्याए । जापानमै समुद्रपारि डटकमसमेत सञ्चालनमा आयो । हङकङमा एचकेनेपाल डटकम सञ्चालनमा छ ।
    अमेरिकाबाट युएसनेपालीन्युज डटकम, जनपुकार डटकम र डिसिनेपाल डटकम चलिरहेका छन् । कतारमा नेपालकतार डटकम, प्रवासीनेपाली डटकम, नेपालअरब डटकम र युवाबहस डटकम प्रकाशित छन् ।

    बेलायतबाट नेपालयुके डटकम र नेपालबि्रटेन डटकम सञ्चालित छन् । फ्रान्सबाट फ्रिनेपाल डटकम प्रकाशित भइरहेका छन् । पोर्चुगलमा रहेका नेपालीले नेपालपोर्चुगल डटकम सञ्चालन गरिरहेका छन् भने कोरियाबाट नेपालकोरियान्युज डटकम र नेपालीकोरिया डटकम सञ्चालित छन् ।

    कुवेतबाट कुवेतनेपाल डटकम, मलेसियाबाट नेपालमलायाखबर डटकम र जर्मनबाट नेपालजर्मन डटकम चलिरहेका छन् । इनेपालन्युज डटकम, युरोनेपाल डटकम, नेपालदुबई डटकम, नेपालकतार डटकम, नेपालसिंगापुर डटकम र एसकेनेपाल डटओआरजीलगायतका अनलाइन पत्रिका प्रवासी नेपालीले सञ्चालन गरिरहेका छन् ।
    घिमिरे छापा माध्यममको तुलनामा अनलाइन पत्रकारिताको बाढी नै आएको बताउँछन् । युरोप र अमेरिकामा छापा माध्यमको तुलनामा अनलाइन पत्रकारिताको बढी विकास भएको उनको अनुभव छ । घिमिरेले भने, 'अहिले नेपाली पुगेका हरेक राष्ट्रको पछाडि नेपाल जोडेर अनलाइन पत्रिका चलाइरहेको फेलापर्छ जुन सरकात्मक हो ।'
    अनलाइन पत्रकार संघका सचिव प्रवेश सुवेदी प्रवासी नेपालीले अनलाइन पत्रकारिताको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् । उनले भने, 'प्रवासी नेपालीको योगदानका कारण नेपाली अनलाइन पत्रकारिताको तीव्र विकास र विस्तार भएको छ । संख्याको विस्तारसँगै गुणस्तरमा समेत ध्यान दिन सक्ने हो भने अनलाइन पत्रकारिताको विकास थप गुणस्तरीय हुन सक्थ्यो ।'
    रेडियो र टेलिभिजन
    छापा र अनलाइन मात्र हैन, रेडियो, टेलिभिजनसमेत चलाएका छन् गैरआवासीय नेपालीले । बु्रनाई, बेलायत र नेपालबाट संयुक्त रूपमा चलाइएको बि्रटि्रसफोर्स ब्रोडकास्टिङ सर्भिस सबैभन्दा चर्चामा रहेको रेडियो मानिन्छ । अमेरिकाबाट दोभान नामक अनलाइन रेडियो सञ्चालनमा रहेको छ भने क्यानडा पुगेका नेपालीले नमस्ते रेडियो चलाइरहेका छन् ।
    भू-उपग्रहमार्फत सञ्चालनमा आएका नेपालबाट सञ्चालित टेलिभिजनको वर्चश्व बढ्दै गए पनि प्रवासी नेपालीले विदेशी भूमिबाट समेत टेलिभिजन चलाइरहेका छन् । अमेरिकाबाट सगरमाथा टेलिभिजन र बेलायतबाट नेपाली टिभी सञ्चालनमा रहेका छन् । नेपाली टेलिभिजनले आफ्नो क्षमता युरोपभर विस्तार गरेको छ । अमेरिकाबाट सञ्चालित सगरमाथा टेलिभिजन प्रवासबाट सञ्चालित पहिलो टेलिभिजन मानिन्छ । यो भू-उपग्रह र इन्टरनेट दुवै प्रविधिबाट प्रसारण भइरहेको छ ।
    संगठित हुँदै छन् प्रवासी पत्रकार
    पत्रकारिताको बढ्दो विकाससँगै विदेशमा रहेका सञ्चारकर्मीहरू संगठित हुँदै छन् । प्रवासमा रहेका करिब एक सय २० जना पत्रकार नेपाल पत्रकार महासंघमा आबद्ध भइसकेका छन् । महासंघका महासचिव पोषण केसीका अनुसार हङकङ, कतार, दुबई, युएई, जापान, मलेसिया र दक्षिण कोरियामा महासंघको शाखा स्थापना भएको छ । अस्ट्रेलिया र पोर्चुगलमा शाखा खोल्न प्रस्ताव आएका छन् ।
    'प्रवासी पत्रकारले प्रवासी नेपाली पत्रकार संघको रूपमा प्रवासी पत्रकारको छाता संगठन गठन गरी महासंघसँग आबद्ध हुने प्रयास गरेका छन् । तर, महासंघको विधानले त्यस्तो संगठन स्वीकार गर्न नसक्ने कारण संघ गठनको अभियान पूरा हुन सकेको छैन ।'

    No comments:

    Post a Comment