Thursday, September 3, 2009

विवाह जब कसैको व्यवसाय बन्छ...

काठमाडौं। व्यवसाय पनि कस्तो? एउटासित बिहे गर्यो , केही महिनासँगै बस्यो र पैसा ठगेर छाडिदियो। एउटा होइन, दुइटा होइन– २५–२६ वर्षकै उमेरमा सात–आठवटा बिहे गर्न भ्याएकी छन्, दाङ, तुल्सीपुरस्थित एयरपोर्टडाँडा, चरिगाउँ– १ की एक युवतीले। सातवटा बिहे गर्ने यिनका नामहरु नै झन्डै दर्जनजति छन्। अहिले कलाकार सम्पदा गिरी भनेर परिचय दिने गरेकी छन् उनले। उता उनले बिहे गर्दै, रकम असुल्दै छाडेका श्रीमान्हरू भने उनलाई 'ठीक' पार्ने अभियानमा जुटेका छन्। 
६ वर्षपहिले बनेको 'बज्रपात' नामको सिनेमामा पहिला कल्पना भन्ने नाम भनेर हिरोकी बहिनीको भूमिकामा खेलेकी उनले दोस्रोपटक निशाना भन्ने सिनेमामा सिर्जना नाम भनेर एकदिन काम गरेकी थिइन्। सिनेमा खेलेयता मात्रै पाँच श्रीमान् फेरेकी छन्। त्यसमध्ये उनीसित विवाह गरेर भयानक पीडामा परेका दुई पूर्वपति जनआस्थाको सम्पर्कमा छन्। हेटौंडाका सन्तोष दाहालले त उनीसित जीवन बिताउने वाचा मात्रै गरेका थिएनन्, घरबाट उनलाई भित्र्याउन इन्कार गरेपछि बाबुसित अंश मागेर बेग्लै बसे। तर, सन्तोषले बाबुबाट ल्याएको अंशमध्ये १६ लाख लिएर उनी बेपत्ता भइन्। खोज्दै जाँदा दुबई पुगेको खबर आयो। सोध्दै खोज्दै सन्तोष तुल्सीपुर पुगे, उनको घरमा। उनकी आन्टी शोभाले सुनाइन्, 'तपाईंसमेत गरेर आठवटा ज्वाइँ देख्न पाइयो।' सात वर्षको एउटा सानो भुन्टे खेलिरहेको थियो। शोभाले भनिन्, 'यो फुच्चे पनि उसैको छोरो हो, तर कुन ज्वाइँबाट जन्माई, हामीलाई थाहा भएन।' हेटौंडा फर्केपछि जीवनबाट विरक्तिएर सन्तोषले आत्महत्याको प्रयास गरे। तर, बाबुआमाले फकाइ–फुल्याई गरेर थुम्थुमाए। सन्तोषले ०६५ वैशाख ३० गते पोखरामा उनीसित बिहे गरेका थिए। 
भनिन्छ, '१० झापाली, एक स्याङ्जाली।' तर, यी दंगालीले स्याङ्जालीलाई पनि बिहे गरी पैसा धुत्न भ्याइन्। स्याङ्जास्थित कृष्णगण्डकी–५ का खिमानन्द भट्टराईको नक्साल, गैह्रीध्ाारामा मोटरसाइकल वर्कसप थियो। किनेर मोटरसाइकल चढ्नुको सट्टा वर्कसपको मालिकसितै बिहे गरिन्। खिमानन्दले पनि फिल्मको हिरोइन पाएको, अरू के चाहियो र! रक्सीको गन्ध सुँघ्न पनि मन पराउँदैनथे खिमानन्द। तर, प्राणभन्दा धेरै प्यार दिन्छु भन्ने नवपत्नीले कर गरेपछि रक्सीको लत बस्यो। बिहान र दिउँसो मात्र होइन, मध्यरात पनि सिनेमाको प्रोड्युसरले एग्रिमेन्ट गर्न बोलायो भनेर मोटरसाइकल लिएर जान्थिन् उनी। सोझा खिमानन्दलाई के थाहा, के हो एग्रिमेन्ट? कतिचोटि डिस्को र बारमा देखिन्थिन्। खिमानन्दलाई लाग्थ्यो, फिल्म खेल्ने 'एग्रिमेन्ट' भनेकै त्यही रै'छ। 
सात वर्षअघि गोरखा एयरलाइन्समा रिसेप्सनिस्टको काम गर्दा अनुप खड्कासित उनको पहिलो विवाह भएको थियो, त्यसबेला उनको नाम थियो– सरिता। गाउँमै बस्थे उनीहरू। तर, तिनै अनुपसित ६ लाख रुपैयाँ लिएर काठमाडौं छिरेकी सरिता गाउँ फर्किइनन्। बरु, फिल्मका पोस्टरमा फोटो देखिन थाल्यो उनको। अन्तिम पूर्वपति सन्तोषले त बिहे गरेपछि उनको नागरिकता पनि अर्कै बनाइदिएका थिए। गाउँमा सरिता गिरीको नामको नागरिकता थियो, तर सन्तोषसित विवाह गरेपछि उनको नाम भयो, सिर्जना दाहाल। सन्तोषका हजुरबा पर्ने तोयानाथ पौडेलको काठमाडौंस्थित क्षेत्रपाटीमा होटल थियो, पिस नाइट नामको। हजुरबालाई ती युवती मनपरेकी रहिछन्। बिहे गर्न भनेर देखाइदिए। वैशाख १९ मा देखाएको, ३० का मितिमा पोखरा गएर विवाह गरी भ्याए। पोखरामा विवाह गरौँ भन्ने तिनै युवतीको प्रस्ताव थियो। 
उनकी आन्टी शोभाले सन्तोषलाई यो पनि भनेकी पनि रहिछन्, 'काठमाडौंमा बिहे गर्न कुनै मन्दिर बाँकी भए पो...!' आन्टीले मात्रै होइन, युवतीको मामाघरकी हजुरआमाले पनि त्यसै भनिन् सन्तोषलाई। 
नुवाकोट घर भएका अर्जुन थिए, जोसित ती युवतीको भेट दुबईमा भएको थियो। उतै उनीहरूको विवाह भयो। यो विवाह सन्तोषसित भन्दा ठ्याक्कै डेढ वर्षअगाडि, अर्थात् सातौँ विवाह थियो। युवतीले अर्जुनसित आफू दुबई नबस्ने र देश फर्किने बताइन्। फर्किने नै भए घरमा लगेर ३० लाख दिनू भनेर अर्जुनले 'श्रीमती' को हातमा पैसा पनि पठाए। उनी काठमाडौं त आइन्, तर अर्जुनको घरमा पैसा पुगेन। केही दिन त उनी अर्जुनका दाजु–भाउजूले चलाएको किराना पसलमा साडीचोलो र पोते लाएर पनि पुगिन्, तर पैसा पठाएको भनिनन्।  
'नगर्नु जीवनमा गल्ती भइसक्यो,' पीडित खिमानन्दले बताए, 'ठगिएको पैसा र सामान फिर्ता पाइएला भन्ने आश थियो, कता बस्छे पत्तै भएन।' सन्तोष पनि उनलाई पत्नी भनेर बनाइदिएको नागरिकता कानुनबमोजिम बदर गर्न चाहन्छन्, तर भेट छैन। अर्जुनलाई ३० लाख उठाउनु छ, उनीचाहिँ बेपत्ता छिन्। प्रथम पति अनुपचाहिँ पैसा–सैसा केही होइन, यस्तालाई मृत्युदण्ड दिनुपर्ने बताउँदै हिँड्छन् साथीभाइका माझमा। janaastha

No comments:

Post a Comment