• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, September 3, 2009

    राष्ट्रपतिलाई जिल्ल्याएर प्रधानमन्त्रीको उदघाटन

    बलराम बानियाँ, काठमाडौं, भदौ १८- एमाले नेता माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रपति रामवरण यादवको सम्मानमा कन्जुस्याइँ गर्छ र जिल्ल्याउँछ भन्ने कुरा पत्यार नलाग्न सक्छ। तर, प्रधानमन्त्री आफैंले बुधबार राष्ट्राध्यक्षलाई जिल्ल्याएका छन्।
    गृह मन्त्रालय सँगै बनाइएको भव्य भवनमा राष्ट्रिय सूचना प्रविधि केन्द्र राष्ट्रपतिले उदघाटन गर्ने भनी ताम्रपत्र तयार थियो। तर, रातारात ताम्रपत्र परिवर्तन गरियो र प्रधानमन्त्रीले उदघाटन गर्ने भनेर अर्को ताम्रपत्र तयार गरियो। नयाँ ताम्रपत्रअनुसार प्रधानमन्त्रीले बुधबार दिउँसो आयोजित कार्यक्रममा केन्द्रको उदघाटन गरे।
    राष्ट्राध्यक्षले उदघाटन गर्ने भनिएको केन्द्र प्रधानमन्त्रीद्वारा उदघाटन भएपछि राष्ट्रपतिमात्र होइन दाता मुलुक दक्षिण कोरियाका राजदूताबासका कर्मचारीसमेत छक्क परेका छन्। कोरियाको सहयोगमा सरकारी एकीकृत डाटा सेन्टर स्थापना गर्न केन्द्र खोलिएको हो।
    यसअघि राष्ट्रपतिले साउन २ गते केन्द्र उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। तर उक्त दिन निजामती कर्मचारीले सरकारद्वारा बजेटमा तलब वृद्धि नगरिएको विरोधमा सिंहदरबारभित्र यातायात ठप्प पारेर आन्दोलन गरेका कारण कार्यक्रम स्थगित भयो, अर्को नयाँ तिथिमा राष्ट्रपतिबाटै उदघाटन गराउने भनेर।

    स्रोतका अनुसार एकाएक उदघाटन गर्ने व्यक्ति परिवर्तन हुनुमा प्रधानमन्त्री नेपालको 'नाम राख्ने लोभ' र केन्द्रको तालुकवाला मन्त्रालय विज्ञान तथा प्रविधिका सचिव रामहरि अर्यालको प्रधानमन्त्रीलाई खुसी पार्ने चाहना नै प्रमुख कारण हुन्।
    'विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका प्रधानमन्त्रीलाई उक्त केन्द्र आफैंले उदघाटन गर्ने लोभ लाग्यो र त्यही कुरा मन्त्रालयका उच्चपदस्थ कर्मचारीसित राख्नुभयो' मन्त्रालयका एक अधिकारीले नागरिकसित भने- 'सचिव अर्यालसमेत त्यही चाहनुहुन्थ्यो। फलस्वरूप राष्ट्रपतिलाई समेत जानकारी नदिई प्रधानमन्त्रीबाट केन्द्र उदघाटन गराइयो। 
    विज्ञान तथा मन्त्रालयका सचिव अर्यालले बजेटको विरोधमा उत्रिएका कर्मचारीले सिंहदरबार बन्द गरेकाले सुरक्षा अधिकारीले राष्ट्रपति यादवलाई सिंहदरबारमा ल्याउन नचाहेकाले त्यतिबेला उदघाटन कार्यक्रम स्थगित भएको बताए। उनले उदघाटनको नयाँ कार्यक्रम तय गर्दा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका प्रधानमन्त्रीलाई बोलाइएको बताए।

    उदघाटन गर्ने बेलासम्ममात्र प्रधानमन्त्री नेपाल विज्ञान तथा प्रविधि मन्त्री थिए, तर, त्यसको एक घन्टापछि नै उनी उक्त मन्त्रालयबाट निवर्तमान भए। उक्त मन्त्रालयमा प्रधानमन्त्रीले बुधबार अपराह्न नै राष्ट्रिय जनशक्ति पार्टीका इन्द्रप्रसाद ढुंगेललाई क्याबिनेटस्तरका राज्यमन्त्री नियुक्त गरेका छन्।
    राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सम्पूर्ण सरकारी कार्यालयका डाटा, वेबसाइट, राष्ट्रिय विद्युतीय परिचयपत्र, इलेक्ट्रोनिक पासपोर्टलगायतका महत्वपूर्ण सूचना र दस्तावेज राखिनेछ। सम्पूर्ण सरकारी कार्यालयलाई विद्युतीय सञ्जालमा जोड्ने कामसमेत केन्द्रले गर्नेछ। 'सम्पूर्ण डाटा राखिसकेपछि कसैको पासपार्ट हरायो भने सम्बन्धित जिल्लामा गइरहनुपर्दैन। केन्द्रको रेकर्ड हेरेर राजधानीबाट अर्को पासपोर्ट बनाउन सकिन्छ' केन्द्रका कार्यकारी निर्देशक सुवर्ण शाक्यले भने।

    No comments:

    Post a Comment