• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, September 3, 2009

    राजधानीका बुजु्रकहरूको मोफसलमा आकर्षण


    ईश्वरी न्यौपाने
    पोखरा, बिहान उठ्नासाथै एफएमका सञ्चारकर्मी नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलालाई समात्न पुगिहाले । राजधानीको उकुसमुकुसबाट बल्लबल्ल पर्यटकीय सहर पोखरा आएका उनले अलि रोमान्टिक मुड बनाउन पाएनन् । राजधानीबाट आउने नेता हुन्, कुनै पनि आन्दोलनका अगुवा वा अन्य बुज्रुकलाई एफएमले छाडेनन् ।आफ्नै कार्यक्रम लिएर राजधानीबाहिर निस्केका राष्ट्रिय व्यक्तित्वलाई आफ्नोमा तान्न मोफसलका एफएम रेडियोबीच हानथाप हुन थालेको छ । रेडियोले अन्तर्वार्ता वा बहसमा पाएसम्म राजधानीका बुज्रुकलाई प्राथमिकता दिने गरेका छन् ।
    नागरिक आन्दोलनका क्रममा आयोजित कार्यक्रमका लागि यहाँ आइपुगेका अगुवालाई बिहानै सबेरैदेखि रेडियोमा अन्तर्वार्ता दिन भ्याइनभ्याई भयो । 'सबै एफएमले राजधानीबाट आएका अगुवाको समय खोज्छन्, कुनमा को जाने ? समय मिलाउनै गाह्रो भयो,' अगुवाहरूको सम्पर्कमा रहेर समन्वय गरिरहेका पत्रकार रुद्र भट्टले भने, 'एक दिन आएका बेला कतिवटा रेडियोमा बोल्न भ्याउन् । सबैले आफ्नोमा लान पाए हुन्थ्यो भन्छन् ।' बिहीबार 'बिग टक' मा संग्रौलाको बहस थियो भने रेडियो अन्नपूर्णको 'आजको बैठक' मा अर्का अगुवा कृष्ण पहाडी सहभागी भए । अर्जुन पराजुली, देवेन्द्रराज पाण्डे, डा. रेणु राजभण्डारी, श्याम श्रेष्ठले पनि कसैले टेलिफोनबाट त कसैले छापामा टिपाएर भए पनि स्थानीय रेडियोलाई प्रतिक्रिया दिए ।
    अघिपछि यहाँका एफएमहरूले टेलिफोनबाट २/४ मिनेट मात्र प्रतिक्रिया लिने गरेका छन् । लामो कुराकानी गर्न एसटीडी टेलिफोन चार्जका कारण मोफसलका रेडियोले खर्च धान्ने अवस्था नभएकाले आएका बेला भरपूर उपयोग गर्नुपरेको बिग एफएममा 'बिग टक' सञ्चालक अमित रिजाल बताउँछन् । 'देशमा संविधान निर्माण र संक्रमणकालीन अवस्थाले केन्द्रीय चासो नै जनताको मुख्य सरोकार रहेकाले राष्ट्रिय व्यक्तित्वको विचार सुनाउनु अपरिहार्य रहेकाले उनीहरू आउँदा प्राथमिकतामा पर्छन्,' रिजालले बताए । रेडियो अन्नपूर्णमा सञ्चालित 'आजको बैठक' का सञ्चालक दीपेन्द्र श्रेष्ठले पनि अरू नै विषय तय गरिएको भए पनि राष्ट्रिय मुद्दाका समसामयिक विषयमा स्थानीय श्रोतालाई धेरै जानकारी होला भन्ने हेतुले राजधानीबाट आएका अगुवालाई सहभागी गराएको बताए ।
    राज्य केन्द्रीयताको विद्यमान अवस्थाले पनि त्यस्ता व्यक्तित्वका विचार सुनाउनुपर्ने देखिन्छ । राजधानी मात्रै केन्दि्रत हुन खोज्ने बुज्रुकलाई रेडियोका यस्ता कार्यक्रमले बिस्तारै मोफसलतिर पनि आकर्षण बढाएको छ ।
    यहाँ नौवटा एफएम रेडियो सञ्चालित छन् । प्रायःसबै रेडियोले बिहानको समयमा कुनै न कुनै किसिमको बहसमूलक कार्यक्रम चलाएकै छन् । एफएमका यस्तै कार्यक्रममा राजधानीका बुज्रुकसँग स्थानीय रेडियोले राष्ट्रिय विषयमा धक फुकाएर बहस गर्न पाएका छन् । बुद्धिजीवीहरूले पनि राजधानीबाहिरका जनतामाझ आफ्ना सवालहरू पुर्‍याउन सजिलो भएको अनुभव गरेका छन् । पहिला आफ्नो कार्यक्रम नसकी रेडियोमा नबोल्ने मान्यता बनाएका पहाडीले आफूलाई परिवर्तन गरेको बताए । 'मैले पहिला मूल कार्यक्रमभन्दा अगाडि नबोल्ने मान्यता बनाएको थिएँ । तर लाइभ इन्टरभ्युहरू सार्थक भएको अनुभवले आजकाल सकेसम्म समय मिलाउने गरेको छु,' उनले भने ।
    राष्ट्रिय विषयमा स्थानीयभन्दा राष्ट्रिय व्यक्तित्व नै प्रभावकारी हुने गरे पनि मोफसलमा उनीहरू उपलब्ध नहुँदा समस्या हुने गरेको छ । प्रायःजसो ३० देखि ४५ मिनेटमा हुने त्यस्ता बहसमूलक कार्यक्रममा राजधानीमा टेलिफोन गर्दा डेढ सयदेखि दुई सय रुपैयाँसम्म लाग्छ ।

    No comments:

    Post a Comment