• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, September 15, 2009

    डुप्लिकेट !


    केपी ढुंगाना/
    काठमाडौं, २८ भदौ
    उपत्यकामा यातायात साधन चलाउने चार लाख ५० हजार चालकमध्ये ७० हजारसँग नक्कली लाइसेन्स छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नै यातायात व्यवस्था विभागको लापरबाहीले नक्कली लाइसेन्सको बिगबिगी भएको दाबी गरेको छ ।
    महाशाखाले हरेक दिनजसो लाइसेन्स नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । महाशाखाका प्रमुख रविराज श्रेष्ठका अनुसार सरदर १५ प्रतिशत लाइसेन्स
    नक्कली भेटिने गरेका छन् । 'अनुसन्धानका लागि दैनिक रूपमा लाइसेन्स नियन्त्रणमा लिने र अनुसन्धान गर्ने अभियान नै चलाएका छौँ, करिब १५ प्रतिशत नक्कली भेटिएका छन्,' श्रेष्ठले भने ।
    नक्कली लाइसेन्सको धन्दा गर्ने समूहले सरकारी निकायले छापेको कार्ड र नम्बरको प्रयोग गर्दै भटाभट नक्कली लाइसेन्स बाँडिरहेका छन् ।
    तीन महिनादेखि नक्कली लाइसेन्सको अनुसन्धानमा लागेका एसपी श्रेष्ठका अनुसार बरामद लाइसेन्समा प्रयोग भएका दर्ता नम्बर, कार्ड र कुनै-कुनैमा त होलोग्रामसमेत सक्कली भेटिने गरेको छ । श्रेष्ठले भने, 'उनीहरूले सहजै कार्ड र दर्ता नम्बर प्रयोग गरेर आफ्ना सम्पर्कमा आएका व्यक्तिले चाहेअनुसारको विवरण राखेर लाइसेन्स दिइरहेका छन् ।'
    कानुनतः १६ वर्ष उमेर पार नगरी दुईपांग्रे सवारी चलाउने अनुमति पाइँदैन । हलुका सवारी चलाउन १८ वर्ष पार गर्न अनिवार्य व्यवस्था गरिएको छ । त्यस्तै हलुका सवारी चलाएको दुई वर्षपछि मात्र भारी सवारीसाधन चलाउने लाइसेन्स लिन सकिने व्यवस्था छ ।
    यातायात व्यवस्था विभागले छापेको कार्ड र त्यहाँको नम्बरसमेत मिलेकोले नक्कली लाइसेन्समा यातायात व्यवस्था विभाग जिम्मेवार भएको एसपी श्रेष्ठको आरोप छ । 'अधिकांश नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागमा दर्ता भएको लाइसेन्सको नम्बर मिल्छ,' उनले भने, 'दलालहरूले कार्यालयका कर्मचारीलाई प्रभावमा पारी लाइसेन्स दर्ता नम्बर लिएर त्यसैको आधारमा नक्कली लाइसेन्स बनाउने गरेका छन् ।'
    लाइसेन्स लिने योग्यता नपुग्दा दलालको भर पर्ने तथा लाइसेन्स लिने प्रक्रिया नै पूरा नगरी हतारमा लाइसेन्स लिन चाहने प्रवृत्तिका कारण नक्कली लाइसेन्स बढेको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरू निष्कर्ष निकाल्छन् ।
    एसपी श्रेष्ठले भने, 'कानुनअनुसार लाइसेन्स लिन योग्यता नपुगेका र योग्यता पुगे पनि छोटो बाटो समातेर सहज र छिटो लाइसेन्स लिन दलालहरूको भर पर्नेहरू नक्कली लाइसेन्सको फन्दामा फसेका छन् ।'
    यातायात व्यवस्था विभागका महानिर्देशक शरद पौडेल पनि नक्कली लाइसेन्सको प्रयोग बढेको स्विकार गर्छन् । दलालहरूले विभिन्न बहाना बनाएर लाइसेन्सको नक्कल लिई त्यसको दुरुपयोग गर्ने गरेको उनको भनाइ छ ।
    तर, उपत्यका ट्राफिकमा एसपी श्रेष्ठले भनेजस्तै नक्कली लाइसेन्समा सरकारले छापेको होलोग्राम प्रयोग भएको भने अस्वीकार गरे । 'कहिलेकाहीँ सक्कली कार्ड प्रयोग गरेर नक्कली लाइसेन्स बनाएको पाइएको छ । तर, सरकारी होलोग्राम प्रयोग भएको दाबी असत्य हो,' महानिर्देशक पौडेलले भने । उनले भने, 'पुरानो लाइसेन्समा रहेको होलोग्राम उप्काएर प्रयोग गरेको भेटिएको भए थाहा भएन तर, विभागले प्रयोग गर्ने सक्कली होलोग्रामको चुहावट भएको छैन ।' नक्कली लाइसेन्समा भेटिएका होलोग्राम नक्कली हुने गरेको पौडेलको दाबी छ ।
    नक्कली सवारीचालक अनुमतिपत्र बोक्नेमा सार्वजनिक सवारीचालक धेरै छन् । सार्वजनिक यातायातका चालक प्रायः अर्धशिक्षित हुने गरेकाले लिखित परीक्षा छल्न दलालको भर पर्दा नक्कली लाइसेन्स लिने गरेको महाशाखाका प्रमुख श्रेष्ठको ठम्याइ छ ।
    प्रक्रियागत रूपमा लाइसेन्स लिन करिब चार दिन लाग्ने भएकाले कामकाजी र व्यस्त उच्चतहका व्यक्तिहरूले समेत दलालको सहयोग लिने गरेको उनले बताए । 'ती शिक्षितहरूले सक्कली लाइसेन्स पाएँ भने पनि नक्कली हुनसक्छ,' श्रेष्ठले भने ।
    एसपी श्रेष्ठ सवारी दुर्घटना बढाउनुमा नक्कली लाइसेन्स प्रमुख कारण रहेको बताउँछन् । महाशाखाको तथ्यांकअनुसार ०६४/०६५ मा कुल दुई हजार दुई सय ११ सवारी दुर्घटना भएकोमा ०६५/०६६ मा बढेर दुई हजार सात सय ६६ पुगेको थियो । महाशाखाका अनुसार उपत्यकामा दैनिक १० वटा दुर्घटना हुने गरेका छन् जसमा दुईवटा गम्भीर प्रकृतिका हुन्छन् ।
    प्रहरीले केही नक्कली लाइसेन्सबाहकलाई पक्राउ गरी किर्तेमा कारबाही गरे पनि नक्कली लाइसेन्सको धन्दामा सक्रिय गिरोहलाई पक्राउ गर्न सकेको छैन । कारबाहीमा पर्ने नक्कली लाइसेन्सधारी चालकको संख्यासमेत न्यून छ । तीन महिनामा ६ सय ८२ वटा नक्कली लाइसेन्स फेला परे पनि केवल ४५ जनालाई मात्र कारबाही गरिएको छ । अन्य चालकमाथि किन कारबाही नगरेको भन्ने जिज्ञासामा एसपी श्रेष्ठको जवाफ छ, 'अरू त लाइसेन्स लिनै आएनन्, जो-जो आए उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएका हौँ ।' गिरोह पक्राउ पर्न नसक्नुमा नक्कली लाइसेन्सबाहक चालकको असहयोग प्रमुख कारण रहेको उनको दाबी छ ।
    नक्कली लाइसेन्सधारीहरूको संख्या बढिरहेकोमा सम्बन्धित निकायका जिम्मेवारी अधिकारीहरू ज्ाानकार छन् । तर, नियन्त्रणका लागि के गर्ने स्पष्ट योजना छैन । एसपी श्रेष्ठ लाइसेन्स दर्ता-पुस्तक गोप्य राख्ने र लाइसेन्सको सबै विवरण डिजिटल फम्र्याटमा राखेर वेबसाइटमार्फत सार्वजनिक गर्न सक्ने हो भने नक्कली लाइसेन्सधारीको संख्यामा कमी आउने बताउँछन् । लाइसेन्स वितरण प्रणालीमा रहेको केही जटिलतामा सुधार गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।
    विभागका महानिर्देशक पौडेलले लाइसेन्स वितरण प्रक्रिया सकेसम्म सरल बनाउन गृहकार्य भइरहेको बताए । नक्कली लाइसेन्स वितरण-प्रणाली रोक्न वितरण भएका लाइसेन्सहरूलाई डिजिटल रेकर्डमा राखेर सर्वसाधारणको जानकारीका लागि वेबसाइटमा राख्ने तयारी भइरहेको जानकारी दिए । तर, अहिलेसम्म लापरबाही कहाँबाट भएको छ भन्नेमा सरकारी निकायहरूबीच नै विवाद भएकाले समस्या पहिचान गरी समाधान हुने छाँट छैन ।नयाँ पत्रिका

    No comments:

    Post a Comment