Monday, August 10, 2009

छोरो पत्रकार भएपछि. .

भवसागर घिमिरे
उनको खुसी

बा दङ्ग परे ।
लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ ।

भवसागर घिमिरे
बा दङ्ग परे ।
लामो समय पछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरो सम्म डोर्याए । नयाँ कटेरो । भकारोको स्वरूप फेरिएछ । गाई ब्याएछ । साँदै पिच्छे मान चार दुहुनु छ । सानो बाच्छी बु्रक बु्रक उफ्रदै गोबरका छिट्टाले हिर्काउँथ्यो । मलखाद नेरै फक्रेको सागले घाँटी तन्काउँदै मलाईनै हेरेको भान हुन्थ्यो । बा मलाई हेर्थे, म उनका मुहार केलाउँथे । अनुहारभरि छिरलिएका ६० भन्दा बढी मुजा बराबरैकै उनको उमेर । उनैलाई हेर्दै टोलाएँ, 'साँच्ची बाले किन सोझै कटेरो देखाए ?'

गोठधन्दाको दैनिकी र खेतबारीको चारघेरा नै उनको संसार थियो । त्यहीनै उनको संविधान । त्यहीनै सरकार । 'नमरून्जेल यहीमाटो सुमसुम्याउने इच्छा छ' हर पटक उनले भनेको याद छ मलाई । त्यसैले म सुस्ता, कालापानीको कथा सुनाउन सक्दिनथे उनलाई । दशगजाको व्यथा बारे बोल्ने साहस ममा आउँदैनथ्यो । माटोको माया राख्ने मेरा बाले गोबर सोरेर बारीमा मिल्काउँदै गर्दा 'सिमा चेपिनाले' नेपालसँगै नेपालीको मन पनि साँघुरीदै गएको बारे चुप बसेँ म । 'राजधानीमा जनशक्ती प्रदर्शन गर्नेहरू सुस्तामा गएर कर्ुर्ले हुने । विश्वविद्यालयमा दादागिरी देखाउँनेहरू कालापानीमा छाती फुलाए हुने' बाले देश बुझथे त यहि भन्थे । तर समाचारबाट बेखबर उनले असन्तोषका ज्वाराभाट निकालेनन् ।

कोरेली गाइ

'जाइर कस्तो छ ?' उनले मौंनता तोडे । 'राम्रै छ बा' मेरो मुन्टो हल्लियो । 'काम के अर्नी हो -' एकपछि अर्को गर्दै बाका उत्सुक्ताले मेरो ओठ खुल्न बाध्य थियो । 'पत्रिकामा हो बा, पत्रकार' उत्तरले बा दंग परे । कपाल कन्याए । सोचमग्न भए । च्यापु चलाए । दर्ुइ हात पसारेर इसारा गर्दै बुझै झै गरि भने, 'ए˜ कागज पढ्ने ।'

अक्षर चिन्नेमा मुस्कीलले आफ्नो नाम कोतर्न सक्ने उनलाई पत्रकारिताको अत्तोपत्तो थिएन् । पत्रिकामा लेख्ने पनि पत्रकार, पत्रिका पढ्ने, देख्ने पनि पत्रकार । बोक्ने, बाँड्ने मात्र हैन बेच्ने पनि पत्रकार । म कुनचाइ परेँ अर्थ्याउन कर लाग्यो । 'त्यसो हैन बा । त्यो समाचार छाप्ने पत्रिका हुन्छ नी, हो त्यसमा लेख्ने ।' सोझा बाको मुन्टो बुझेझै गरि फेरि हल्लियो ।

उनलाई न देशको पत्तो थियो न राजनीतिमा चासो नै । सत्तामा कुर्चीको लडाइँ हुँदा उनी गोबर र माटोसँग लुट्पुटिँदै हुन्थे । सेना बिबादबारे अनभिज्ञ उनी 'खोरा साइला' ले फटाहा बोलेको कुरो उप्काउँदै प्रसँग बदल्थे । राजधानीको संविधान सभा सचिवालयमा सदन अवरुद्धको नाटक चलिरहँदा खेतका भत्किएका आँठा मिलाउँदै हुन्थे उनी । न उनलाई नयाँ संविधानको पत्तो थियो न अहिलेको सरकारको ।

आफैले माटो मुछेर उठाएको गाह्रो, बारीका रूख ताछेर तेसाइएको दलिन अनि दलिनमाथि घप्लक्कै टिनओढेर बसेको घर । चिसापानीको डाँडो ताछेर ल्याइएको रातोमाटो टल्काउँदै ठिङ्रिङ्ग उभिएको त्यही आवरणनै उनको देश थियो । संघियताकाबारे उनलाई बुझाउनु अघि घरका दाजुभाई छुट्टभिन्न नहुँनु भन्दै अर्थ्याउँथे उनी । 'यो घर चिरैचिरा नपार्नु, भाइबैनीका मन चिरैचिरा नपार्नु' उनका आँखा टिल्पिलाएका थिए ।

सानी बाच्छी

मलाई थाहा छ, उनको हातले माटो नसुमसुम्याएको भए आज मेरा हातमा कलम थामिन्थेनन् । कामको चेपाईले उनका खुट्टा चिराचिरा परेर नफुटेका भए मेरा मस्तिष्क अनुभवले कस्सीने प्रयास गर्दैन्थ्यो । हो, उनका पसिनाले मेरो कलममा मसि भरिन्थ्यो । कापी, किताब जुथ्र्यो र मैले पढ्न पाउँथे ।

कीर्तिपुरे बर्साईका ती एक समय थिए । हर विहान आँखाका ढकनी उघारिँदा पत्रिकाले ढोकाको चरबाट मलाई चियाइरहेको हुन्थ्यो । दिनदिनै देश भत्किएको समाचारले कन्चटका रौंलाई उम्लदैगरेको चियाले भन्दा बढी तताउँथ्यो । हर दिन ती उत्कन्ठाहरू कलमबाट चुहिन्थे, मसी बनेर । राष्ट्रिय पत्रिकाको 'मेरो आँगन, मेरो पाठक मञ्च' । कहिले आफैलाई त्यसमा प्रतिबिम्बित गराउन पाउँथे त कहिले अवमूल्यनहुँदै बिलाउँथे मेरा लेखाई । जति अवमूल्यानमा परेपनि हर पटक नयाँ मूल्य निकाल्ने मेरो प्रयासले आज यो बाटो सम्म डोर्याएको थियो ।

'लौं पानी नभएको बेलाँ जाती भो' कोरेली गाइले गहुत्याउँदै गर्दा बाले हत्तनपत्त गोबरलिपिएको हात पखाल्दै भने-'यो गाईसाह्रै गुनी छ ।' हो बा, मान्छे भन्दा जनावर गुनी भएको देश हो यो । जिउँदो गैँडाको खाग उखेल्छन् मान्छे । पैसाका लागि हात्तीका दाह्रा उप्काउँछन्, बाघ मार्छन्, बिदेशमा बाँदर बेच्छन् । आफ्नै छोरीचेली बेच्नेसँग अरू के कुरा - 'हामी जन्तु यिनीहरू मान्छे, है बा ?' बा हाँसे ।
बा गोठमा काम गर्दै

'पत्रिकाँ के लेख्छस् त, सम्चार ?' मैले हो भन्दै टाउको हल्लाउँदा उनले थपे, 'कस्तो -' । साँच्ची म कस्तो समाचार लेख्छु - मैले यो प्रश्न कहिल्यै आफुलाई सोधिन । मलाई थाहा छ, मेरो कलमले हुम्लाको भोक बोल्नु अगि पिज्जा र बर्गरको इतिहास कोर्ने गर्छ । रूकुम, रोल्पा र जाँजरकोटको बिकराल स्वास्थ्यबारे बेखबर यो कलम नेतालाई ज्वरोआउँदा मसी वाक्ने गर्छ । ताप्लेजुङ्गको १५ दिने कठिन पैदलबारे १५ हरफ कोर्न नपाउँदै काठमाडौंको १५ मिनेट जामबारे पाँच पान्ना भरिन्छ । मन कुँडाउँदै भन्नु पर्छ, हो बा म समाचार लेख्छु, 'कस्तो' हैन 'सस्तो' ।

मैले थप केहि बोल्ने आँट गरिन । आर्थिकमन्दिले विश्वभर नेपालीका रोजगारी छिनीएको बखत । नयाँ बजेट भाषणसँगै चुलिँदो महंगीले अर्चापेकोे उनको शरिरका कानले 'सस्तो' शब्द धेरै पछि सुनेको हुनर्ुपर्छ । कान कम सुन्ने उनले पुराना गिजा देखाउँदै भने, 'अँ सस्तो हुनर्ुपर्छ, त्यस्तै लेख्नु पर्छ ।' हुन पनि हो, 'महंगो समाचार' ले धेरै पत्रकार आफै समाचार बनेका छन यहाँ, मृत्युको अनि बेपत्ताको । बिरेन्द्र शाहा गाड्ने खाल्डो खनियो, उमा सिंहकाट्ने खुकुरी उधाईयो । 'जनादेशका मिलन नेपाली कसको आदेशमा बेपत्ता भए -' कोही बोल्दैनन् । तर कलम कातर बन्दैन, कोही नबोले एकदिन बोल्नेछ यही कलम ।

'कलम खस्न लाग्यो' मनाँ बल्या आगोको रापले होला खल्तिबाट फराल्नै लागेको कलम देखेर बाले ओठ चलाए-'ख्याल राख्नु पर्छ ।'

अचम्म छ । बा एउटो कुरो बोल्छन म अर्कै कुरो सुन्छु । बा एक अर्थ लाउँछन म धेरै अर्थ बुझछु । मलाई थाहा छ, वास्तवमा मेरा बा बोल्दैनन्, तर म उनको कुरो सुन्छु । उनी रूदैनन् तर उनको आँशु देख्छु । बा, मेरो कलमले तपाईको आवाज कुर्लेन भने, यो खल्तिको पानाको पत्तोले तपाईको आँशु पुछेन भने, म 'म -पत्रकार)' रहन्न । राजधानीका चारघेराको चङ्गुलमा फसेका मेरा आँखा, फैलाउनु छ मैले । बुझेँ बा, म हुर्केको आँगन । मेरो बिगत, वास्तविकता । बाले त्यसै देखाएका रहेनछन्, मेरो गाउँले कटेरो । जहाँ बाच्छी झै म खेल्थे, मैले कहिल्यै भुल्नु हुँदैन् ।

No comments:

Post a Comment