• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, August 7, 2009

    फिसिङ भिसा (इ नाइन–फाइभ) मा कोरिया नपठाउँ

    -सच्चिदानन्द जोशी

    अहिले नेपालबाट कोरिया जाने कामदारहरुमध्ये कैयौं व्यक्तिहरु माछा मार्ने कामको लागि आएका र त्यहाँ आएर काम गर्न नसकी अलपत्र परेका छन्। यो माछा मार्ने काम अरु कामभन्दा अत्यन्तै जोखिमपूर्ण त छदैछ थप के छ भने यस कामलाई कोरियाको श्रम कानुनले समेत समेटदैन। समुद्रमा गएर कामगर्नुपर्ने हुँदा हाम्रोजस्तो समुद्र नभएको देशका मान्छेहरुलाई थप अत्यास लाग्ने र मानसिक समस्या पनि देखिने गरेको छ।
    सामान्यतया इपीएस प्रणालीअन्तर्गत कोरिया आउने कामदारले चित्त नबुझेमा ३ वटासम्म कम्पनी फेर्न पाउने कानुनी व्यवस्था छ। त्यसरी फेर्दा अन्य कतिपय क्षेत्रमा आएका मान्छेहरुलाई कामको क्षेत्र फेर्ने पनि सुविधा छ। उदाहरणको लागि निर्माण उद्योगबाट कृषि उद्योगमा जान सकिन्छ।
    तर यो सुविधा माछामार्ने कामदारहरुले पाउदैनन्। कम्पनी चित्त बुझेन भने अर्को माछा मार्ने कम्पनीमा त जान सकिन्छ तर काम नै चित्त बुझेन भने निर्माण वा कृषि आदिमा जान पाइदैन। सामान्यतया अन्य सबैजस्तो क्षेत्रमा काम गर्ने समयको निश्चतता हुन्छ। कति बजेबाट कति बजेसम्म काम गर्ने? दिनमा कति घण्टा काम गर्ने? जस्ता विषय निश्चित हुन्छन्।
    त्यसभन्दा बढी काम गराइदा थप कामको थप ज्याला पाइन्छ। कतै कतै छुट्टी समायोजन गर्ने गरेको पनि पाइन्छ अर्थात कुनै दिन बढी काम गरेवापत अर्को दिन छुट्टी दिने। तर यस्तो सुविधा माछा मार्ने कामदारहरुले पाउँदैनन्। न त कामको समय नै निश्चित हुन्छ न ओभरटाईम कामको थप ज्याला नै दिइन्छ।
    कति सम्म भने किनाराबाट कयौं किलोमिटर टाढा समुद्रको बीचमा स–साना डुङ्गा चढेर जानुपर्ने र कहिले काहिँ समुन्द्रमा नै रात बिताउनु पर्ने हुन्छ। तर अधिकांस के देखिन्छ भने कामदारहरुलाई लाइफ ज्याकेटसमेत दिइएको हुदैन।
    कम्पनी चित्त नबुझी फेर्न चाहेमा अर्को कम्पनीले लिन मान्दैन। कतिपयले स्पष्ट शब्दमा नेपालमा समुद्र नभएकोले तिमीहरु काम गर्न सक्दैनौ, हामी लिदैनौं भन्ने जवाफ दिने गरेका छन्। माछा मार्ने कामको लागि आएका कामदारहरु सहयोगको लागि यताउति भट्किरहेका र अलपत्र परेका देखिन्छन्।
    कानुनको अभावमा यस्ता कामदारहरुलाई सहयोग गर्ने संघसंस्थाहरु, टेड युनियनहरु र दुतावासले समेत केही गर्न सक्दैनन। उनीहरुसँग जम्मा तीन वटा विकल्प छन्। या त पीडा र जोखिम सहेर समुद्रसँग पौंठेजोरी खेल्नु, या त गैरकानुनी भएर लुकिछिपि काम गर्नु अथवा फर्केर नेपाल जानु। तीन वटै विकल्प कुनै पनि सुखद छैन।
    नेपाल सरकार र नेपाली जनताको दुई वटा समस्या छन। एक कुरा नबुझ्नु र दुई नबुझे जस्तो गर्नु। अधिकांस सरकारी अधिकारीहरु या त यो समस्यालाई बुझ्दैनन् जसले बुझ्दछन् उनीहरु आँखा बन्द गर्छन्। जनता पनि या त यस्तो समस्या बुझ्दैनन् जसले बुझ्दछन् उनीहरु आँखा बन्द गर्छन्।
    थप के पनि छ भने एउटा यस्तो प्रवृत्ति पैदा भएको छ जस्को तहत मान्छेहरु जे सुकै होस् के मतलब भन्ने पनि छन्। मिडिया पनि सत्य तथ्य खोज्न पछि लाग्दैन बरु मर मसालालगाएर जसरी पनि मान्छे बिदेश जावस् भन्ने खालको कुरा मात्र पस्किन्छन्। पैसाको लोभमा यति अमानवीयकरण भइ सकेको छ कि एउटा व्यक्ति जतिसुकै कष्टसाध्य प्रयत्नबाट पनि पैसा कमाउन चाहन्छ, परिवार र परिवारका सदस्यहरु उसको पैशामा रमाउन चाहन्छन्।
    समाज पैसा कमाउनुलाई नै सफलता पुष्टि गर्ने आधार देख्दछ र सरकार मान्छे बेचेर आएको हुन्डी देखाएर सफल देखिन चाहन्छ। भोग्नेले लाज लागेर अनुभव सुनाउदैन। सुनाए पनि जसले भोगेको छैन, ऊ पत्याउदैन र के ठान्छ भने यो मलाई प्रगति गर्न नदिने चालबाजी हो। जिम्मेवार र अनुसन्धानात्मक पत्रकारिताको अभावमा सतही कुरा मात्र मिडियामा आउछ। थप मान्छे लोभिन्छ। यो क्रम अनन्त हुदैजान्छ।
    अतः यसक्रम लाई रोक्न तत्काल गर्नैपर्ने केही कामहरु छन्। सबैभन्दा पहिले त फिसिङ भिसा (इ नाइन–फाइभ) मा कोरिया आउन रोक्ने। कामदारहरुले फिसिङको लागि आवेदननै नगर्ने र छनौटमा परेकाले पनि सम्भौता नगर्ने। सरकारले माछा मार्ने कामदारलाई पनि कोरियाली श्रम कानुनअन्तरगत पार्न कुटनैतिक प्रयास गर्ने। मिडियाले यसप्रकारको चेतना फैलाउन र सरकारलाई दबाब सृजना गर्न योगदान दिने।


    No comments:

    Post a Comment