• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, August 7, 2009

    बेलायत पढ्न आउनुअघि

    बीपी खनाल

    विगत केही वर्षयता नेपालीहरू विदेशिने प्रवृत्ति ह्वात्तै बढेको छ । सरकारले देशको जनशक्तिलाई देश बाहिर जान कसरी रोक्ने ? समयमै नसोच्ने हो भने मुलुकले नै ठूलो दुर्घटना भोग्नु पर्नेछ ।

    उच्च तथा मध्यमवर्गका नेपालीहरू छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने दौडधुपमा लागेका छन् । डाक्टर, इन्जिनियर, प्रोफेसर, कर्मचारी र राजनीतिक नेताका छोराछोरी लगायत आफूलाई समाजमा गन्यमान्य भन्नेहरूसम्मका बच्चाहरू विदेशमा पढिरहेछन् । त्यतिमात्र नभएर रातारात धनी हुनेहरू बच्चाहरूलाई माध्यम बनाएर विदेशमा पैसा जम्मा र व्यापार व्यवसाय गर्नेहरू पनि हाम्रो समाजमा देखापरेका छन् । अष्टे्रलिया सरकारको अध्यागमनसम्बन्धी फितलो नीतिका कारण २/३ वर्षदेखि नेपाली विद्यार्थीको बाढी नै आएको छ । करिब १७ हजारको संख्यामा रहेका भनिएका नेपाली विद्यार्थीमध्ये धेरै कमले मात्र सपना पूरा गरेका वा गर्नेवाला छन् । धेरैको सपना चकनाचुर भएको छ ।

    प्रसंग बेलायतको

    गत मार्च महिनाभन्दा अघि बेलायत सरकारको कडा नियमले गर्दा सन् २००८ मा करिब २०० को संख्यामा मात्रै नेपालीले बेलायतका कलेज तथा विश्वविद्यालयमा पढ्ने मौका पाएका थिए । अहिले दिनमा २ सयले भिसा पाउन थालेका छन् । बेलायत सरकारले उसको आफ्नै भाषामा भन्दा 'हालसम्मको सबैभन्दा कडा नियम' लागू गरेपछि -अपि्रल १, २००९ देखि) बेलायतमा पढ्न आउने विद्यार्थीहरूको संख्या ह्वात्तै बढेको छ । बेलायत सरकारले अंकमा आधारित पद्धति लागू गरेको छ, जसका लागि युरोपेली बाहेक अन्य राष्ट्रका विद्यार्थीहरू बेलायत ल्याउन कलेजहरूले युकेबीए लाइसेन्स होम अफिसबाट लिनुपर्ने अनिवार्य गरिएकोे छ । बेलायतमा रहेका करिब १५ हजारमध्ये हालसम्म १६ सय कलेजले मात्र लाइसेन्स प्राप्त गरेका छन् । लाइसेन्स लिनुपर्ने यो नियमले गर्दा अधिकांश कलेज बन्दसमेत भइसकेका छन् । बाँकी केही पनि

    बन्द हुने तयारीमा छन् ।

    बेलायत सरकारले लाइसेन्स प्राप्त कलेजहरूलाई वाषिर्क कोटा दिने र त्यही कोटाभित्र सीमित रहेर विद्यार्थीहरू ल्याउन पाइने नियम बनाएको छ । तर यो नियम फेब्रुअरी २०१० देखिमात्र लागू गर्ने 'होम अफिस'ले बताएको छ ।

    विगत २/३ महिनाको संख्यालाई नियाल्दा सन् २००९ मा मात्रै बेलायत आउने नेपालीहरू १० हजारसम्म पुग्न सक्ने सजिलै अनुमान गर्न सकिने

    आधार फेला परेका छन् । यसरी विद्यार्थीहरू आउने क्रमले बन्द हुनै लागेका केही कलेज फेरि मौलाउने सम्भावना बढेको छ ।

    बेलायत सरकारले आर्थिक मन्दीबाट परेको प्रभावलाई कम गर्न केही मात्रामा सहयोग पुग्ने आशामा विद्यार्थीहरूको बेलायत प्रवेशलाई सजिलो बनाइदिएको हुनसक्ने अनुमान केही विश्लेषकको छ । बेलायत सरकारको अहिलेको नीतिबाट फाइदा उठाउन काठमाडौंका गल्ली-गल्लीमा खुलेका एजुकेसनल कन्सल्टेन्सीहरू रातारात ठूलो धनराशि कमाउने दाउमा विद्यार्थीहरूलाई गलत सूचना दिएर भए पनि बढीभन्दा बढी विद्यार्थी बेलायत पठाउने होडबाजी गरिरहेछन् । यस्तो अवस्थामा नेपाली विद्यार्थीले बेलायत आउनुभन्दा पहिला अनिवार्य रूपमा जान्नुपर्ने केही तथ्य

    राख्न चाहन्छु ।

    कृपया तपाईंहरू आउनुभन्दा पहिला एकपटक राम्रोसँग बेलायतमा पढिरहेका आफ्ना साथी या नातेदार छन् भने उनीहरूसँग पनि जानकारी लिनुहोस् । आफ्नो आर्थिक अवस्था राम्रोसँग केलाउनुहोस् । ब्याजमा पैसा खोजेर बेलायत आउन खोज्नुभएको हो भने कृपया एकपटक पुनः गम्भीर भएर सोच्नुहोस् । यदि तपाईं कमाउने आशामा आउन लाग्नुभएको छ

    भने कृपया आजै आफ्नो प्रोसेस

    बन्द गर्नुहोस् ।

    बेलायतमा अहिले काम पाउने सम्भावना अत्यन्त कम छ । आर्थिक मन्दीले गर्दा यहीं नै काम नपाउनेको संख्या २२ लाख नाघिसकेको छ र त्यो बढ्ने क्रममा कमी आएको छैन । कलेजमा नियमित रूपमा हुनुपर्ने उपस्थितिले पनि विद्यार्थीलाई काम पाउन तथा पाइहालेमा पनि काम गर्न अप्ठ्यारो पारेको छ । त्यतिमात्र होइन, यदि कुनै विद्यार्थी २ पटकसम्म फेल भए कलेजले होम अफिसमा रिपोर्ट गर्नु अनिवार्य छ । अन्यथा कलेजको लाइसेन्स नै खारेज गरिदिन्छ । यस अवस्थामा नेपाल र्फकनु विकल्प रहँदैन ।

    यहाँ आउनुअघि अंग्रेजी राम्रो बनाउनुहोस् र आईईएलटीएसको जाँच पनि दिनुहोस् । यो अनिवार्य त होइन, तर तपाईंको अंग्रेजी राम्रो छैन भने काम पाउन र कक्षामा पढाइ बुझ्न पनि गाह्रो हुनेछ । आफ्नो परिवार तथा आर्थिक सहयोग गर्नसक्ने नातेदारहरूलाई आवश्यक पर्दा पैसा पठाउनुपर्ने अवस्थाको बारेमा पनि सचेत गराउनु जरुरी छ ।

    आफूले पढ्न खोजेको विषयको बारेमा पनि राम्रो अनुसन्धान गर्नु जरुरी छ । ताकि नेपाल फर्केरसमेत आफूले पढेको विषयमा काम पाउन सजिलो होस् वा व्यवसाय गर्न सकियोस् । प्रोसेस सुरु गर्नुअघि बेलायतस्थित कलेजको लाइसेन्स चेक गर्नुहोस् । 'ए' दर्जाको लाइसेन्स भएको कलेजमा मात्रै भर्ना हुनुहोस् । कन्सल्टेन्सीहरूलाई कलेजको फी नगदमा कहिल्यै पनि नदिनुहोस् । शंका लागेमा कलेजमा इमेल गरेर बुझ्नुहोस् । सही कलेजले अवश्य उत्तर पठाउनेछन् ।

    माथि उल्लिखित कुरामा ध्यान दिनुभएन भने तपाईंको सपना चकनाचुर हुनसक्छ । त्यसैले कामलाई भन्दा पढाइलाई प्राथमिकता दिएर आउन अनुरोध गर्छु । पहिलाजस्तो भिसा बढाउने बेलामा मात्रै कलेजमा आएर हुँदैन र दस दिनसम्म लगातार कक्षामा वा कलेजमा आउनुभएन भने रिपोर्ट गर्नुपर्छ । नगरे तपाईंको भिसा खारेज हुनसक्छ ।

    यदि थोरै पैसा तिरेर भर्ना हुने कलेजमा जाने विचारमा हुनुहुन्छ भने पनि त्यो काम निकै कठिन हुनसक्छ । यिनै कुरामा ध्यान दिन नसकी असम्भव सपना बोकेर गएका भारतीय विद्यार्थीहरूको गएको वर्ष अष्टे्रलियामा मात्रै ५० भन्दा बढीको ज्यान गएको थियो । त्यसैले बेलायतमा पढ्न आउनु अघि धेरैतर्फ विचार पुर्‍याउनुपर्छ । काम, पढाइ र पैसा यी तीन कुराको तालमेल मिलाउन सक्नेबारे विश्वस्त भएमा वा परिवारले पढाइको लागि चाहिने रकम पुर्‍याउन सक्ने निश्चित छ भनेमात्र विदेश जाने प्रक्रिया सुरु गर्नुहोला । पैसा कमाउने र मोजमस्ती गर्ने उद्देश्यले मात्र लन्डन आउन खोज्नुभएको हो भने सावधान, तपाईं डुब्नु हुन्ोछ ।

    लेखक लन्डन थेम्स कलेजका निर्देशक हुन् ।Kantipur

    No comments:

    Post a Comment