• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    जेलभित्र बसेर बाहिर अपराध

    image

    मोहन भट्टराई/नयाँ पत्रिका विराटनगर, ९ भदौ सप्तरी कारागारमा रहेका कुख्यात भारतीय अपराधी शम्भु मसैता यादवले कारागारबाटै आपराधिक गतिविधि सञ्चालन गरिरहेको खुलासा भएको छ । जेलभित्र रहेका श्रीमान्को निर्देशनमा श्रीमतीले अपराध मच्चाएको पुष्टि भएको छ । जेलभित्र रहेका श्रीमान् शम्भुसँग सातवटा मोबाइल थिए, तिनै मोबाइलबाट उनले श्रीमतीलाई फोन गर्थे, आपराधिक गिरोहलाई निर्देशन दिन्थे अनि सर्वसाधारण र व्यापारीलाई धम्क्याएर पैसा असुल्थे । भूमिगत संगठनका नाममा काम गर्ने उनकी श्रीमतीसहित दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मसैताको निर्देशनअनुसार उद्योगी-व्यापारी र सर्वसाधारणसँग चन्दा असुल्ने तथा मार्ने धम्की दिने सप्तरी बदगाहाका वीरेन्द्र यादव र सुनसरी नर्सिङ— ३ घर भई विराटनगर— १६ बस्ने आशा मण्डललाई हतियार र बन्दोबस्तीका सामानसहित पक्राउ गरिएको हो । भूमिगत संगठनका नाममा लाखौँ रुपैयाँ चन्दा माग्ने, नदिए बम पड्काएर तर्साउने गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेपछि शम्भु यादवको आपराधिक सञ्जाल भताभुंग भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा प्रक्राउ परेका अपराधीलाई खरखजाना तथा ठगी मुद्दाका लागि अदालतमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी विद्यानन्द माझीले बताए । प्रहरीका अनुसार किर्ते नागरिकता बनाएको मुद्दामा सप्तरीको राजविराज कारागारमा रहेका सुनसरी नर्सिङ— ३ का शम्भु मसैता भनिने सुरेन्द्र यादवकी श्रीमती आशाले विराटनगरमा डेरा लिएर यहाँका उद्योगी-व्यवसायीलाई धम्क्याई रकम असुल्ने गरेकी थिइन् । श्रीमान् भेट्ने बहानामा कारागार प्रवेश गरी आशाले त्यहीँ आपराधिक योजना बनाउने गरेको प्रहरीको दाबी छ । आशाले वीरेन्द्रको सहयोगमा मधेसी मुक्ति टाइगर्सका नाममा चन्दा असुल्ने गरेकी थिइन् । शम्भुले कारागारबाटै आफूलाई अभिषेक, मुन्ना, रञ्जित बताउँदै उद्योगीलाई टेलिफोनमा धम्क्याउने गरेका थिए ।

    उनीहरूले प्रयोग गर्नेगरेका सातवटा मोबाइल नम्बर पनि प्रहरीले पत्ता लगाएको छ । बाहिर फोन गर्दा प्रयोग गर्नेगरेको मोबाइलबाहेक श्रीमती र आफूबीच कुरा गर्न शम्भुले छुट्टै नम्बरको मोबाइल प्रयोग गर्ने गरेका थिए । श्रीमतीसँग सल्लाह गर्दा शम्भुले मेरो मोबाइलको ९८०४७७८५२४ र श्रीमती आशाले ९८०४७७८५२३ नम्बर प्रयोग गर्ने गरेका थिए । आशाको डेराबाट प्रहरीले नोकिया मोबाइल दुई थान, मेरो र भारतीय मोबाइलको सिम एक-एक थान, एसएलआरको गोली दुई थान र नेपाली नागरिकताको प्रमाण-पत्र एक थान बरामद गरेको छ । त्यसैगरी वीरेन्द्रका साथबाट १५ थान गोली, मधेसी मुक्ति टाइगर्सको पर्चा एक थान, मोटरसाइकलको बा १२ प ४२५४ नम्बरको प्लेट दुई थान बरामद गरेको छ । प्रहरीले मधेसी मुक्ति टाइगर्सका नामबाट विराटनगरको बिक्की हार्डवेयरलाई लेखेको एक पत्र पनि बरामद गरेको छ ।

    को हुन् शम्भु मसैता ? भारतमा दर्जनौँ अपराध गरेर नेपाल छिरेका शम्भु मसैता यादव भारतको अररिया जिल्ला नरपतगन्ज निर्वाचन क्षेत्रअन्तर्गत लक्ष्मीपुर -अचरा) का बासिन्दा हुन् । उनका बाबु योगेन्द्र मसैताको नाम लक्ष्मीपुरको मतदाता सूचीमा छ । फारबिसगन्जका व्यापारी अरुण गोल्छाको हत्यापछि उनी नेपाल आएर बस्न थालेका हुन् । उनले सुनसरी नर्सिङ— ३ बाट जोगी यादवलाई बाबु बनाई सुरेन्द्र यादवका नामबाट १५ चैत, ०६३ मा वंशजका आधारमा नागरिकता लिएका थिए । यादव अहिले सुनसरी जिल्ला अदालतको आदेशमा किर्ते नागरिकता मुद्दामा पुर्पक्षमा सप्तरी कारागारमा छन् । ९ मंसिर ०६३ मा विराटनगरका युवा उद्योगी पवनदास राठी र सुनसरी हरिनगराका व्यापारी सूर्यकिरण बोथराको अपहरणमा पनि मसैता संलग्न थिए । कारागारभित्र कैदी, बन्दीलाई फोन प्रयोग गर्ने इजाजत नभए पनि शम्भुले आठवटा मोबाइल प्रयोग गर्दा पनि कारागार प्रशासनलाई भने पत्तो थिएन । उनीलगायत सोही कारागारमा रहेका धीरेन्द्र यादवले पनि मोबाइल प्रयोग गर्दै आएका छन् । उनीहरूले कारागारभित्रै एन्टेना राखी भारतीय मोबाइल प्रयोग गर्दै आएका छन्

    No comments:

    Post a Comment