• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    भैंसीको पनि जन्मदर्ता !

    माधव अर्याल

    पाल्पा, 'सबैको सहयोग भयो भने यो सम्भव छ,' झपेन्द्र जीसीले भने, 'यसो नगरिए बजारवासीले दुई वर्षपछि दूध खान पाउने छैनन् ।'

    मदनपोखराका यी किसान जिविसको समीक्षा गोष्ठीमा थिए । पाल्पाका गाउँमा भैंसी अभाव हुन थालेको विषयले प्रमुखता पाएपछि उनले सुझाव दिए, 'यो पशुको पनि जन्मदर्ता गरिनुपर्छ ।'

    मासुका लागि पाडापाडी, बकेर्नो -दूध दिन छाडेको) र बच्चा नपाएका भैंसी बेच्ने चलन गाउँगाउँमा बढिरहेकाले लैनोको मूल्य अकासिन थालेको सन्दर्भमा जीसीको सुझाव आएको हो । पोखरा, काठमाडौं र बुटवलमा मासुका लागि यहीँबाट भैंसी लैजाने गरिन्छ । पाल्पाका भैरवस्थान, ढुंगाखानी, तीनगिरे, चिहानडाँडा, अर्गली, बतासे लगायतमा भैंसी संकलन केन्द्र छन् । केन्द्रमा गाउँगाउँबाट भैंसी ल्याइन्छन् । केही समययता गुल्मीसमेतबाट दिनहुँ एक ट्रक भैंसी निकासी भइरहेको छ । व्यापारीहरूका अनुसार भैंसी तराईमा भन्दा पहाडमा सस्तो पाइन्छ । पोखरा र बुटवल लैजान सहज भएकाले पनि पाल्पा व्यापारीको पहिलो रोजाइ पर्दै आएको छ ।

    जीसीले भैंसी गणनाको माग राख्दै जिल्ला प्रशासन, जिविस र गाविसले गम्भीर चासो राख्नुपर्ने औंल्याए । 'गाविसमा यसको जन्म, मृत्यु र निकासीको दर्ता हुनुपर्छ,' उनले माग गरे, 'अर्को गाविसमा लग्नुपर्दा सम्बन्धित गाविसको सिफारिस अनिवार्य हुनुपर्छ ।' अन्य किसानले पनि संरक्षण नगरे आउँदो दिनमा जिल्लामा भैंसी सकिने बताए । 'पाडी बेचिनाले एउटा लैनोको मोल ३०/३५ हजार रुपैयाँभन्दा बढी पर्न थालेको छ,' हालैको उक्त गोष्ठीमा किसान सीता खनालले भनिन् ।

    बर्खा दूधको सिजन हो तर यही बेला गाउँबाट पुग्दो दूध बजार भित्रिन नपाएकाले डेरी सञ्चालकसमेत चिन्तित देखिए । 'दूध फालाफाल हुने र बाहिर जिल्ला निकासी गर्ने यो सिजनमा यहीं संकट छ,' तानसेनस्थित जयकिसन डेरीका प्रमुख टीकाराम खरालले भने, 'गाउँमै भैंसी छैनन्, अनि कसरी बजारमा दूध आउँछ ?'

    तानसेन बजारमा मात्रै प्रतिदिन २५ हजार लिटर दूधको माग छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार आपूर्ति भने १५ देखि १७ हजार लिटर छ । सदरमुकाम तानसेनमा उपभोक्ताहरू अचेल दूध किन्न लाइन बसेको देखिनु सामान्य भइसकेको छ ।

    खरालले भैंसी संरक्षण समिति बनाउनेबारे जीसीको मागको समर्थन गर्दै तत्काल यस्तो पहल नगरिए पाउडर दूधको भर पर्नुपर्ने अवस्था छिट्टै आउने बताए ।

    गोष्ठीमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख रुद्रप्रसाद पौडेलले भने मासु जाँच ऐनका कारण भैंसीको निर्बाध बिक्री भइरहेको बताए । 'उक्त ऐनले पोथी प्रजातिका पशुपन्छीको पनि बध गर्न पाइने व्यवस्था गरेको छ,' उनले भने, 'यसले गर्दा भैंसीको बेचबिखन बढेको हो ।' उनका अनुसार स्याहारमा कठिनाइले पनि किसानले भैंसी पन्छाउने गरेका हुन्

    No comments:

    Post a Comment