• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    लुटेरालाई निम्तो गहना !

    जितेन्द्र साह

    काठमाडौं, ज्ञानेश्वरको चिउरी गल्लीमा आइतबार दिउँसो ३७ वषर्ीया चित्रकुमारी सापकोटाले लगाएको डेढ तोला सुनको सिक्री मोटरसाइकलमा आएका दुई युवकले थुतेर लगे । मोटरसाइकलको नम्बर र रङअनुरूप त्यही दिन राति आठ बजे ती युवकलाई प्रहरीले पक्राउ गर्‍यो तर सुनको सिक्री भने फेला पर्न सकेन ।

    राजधानीको कालीकास्थानमा २२ वषर्ीया यशोदा ढुंगानालाई मंगलबार अपरिचित व्यक्तिले नशालुपदार्थ खुवाई ४० हजार रुपैयाँ बराबरको सुनको तिलहरि र झुम्का लुटेर लगे । महानगरभित्र चोरीझैं दैनिक रूपले हुने यस्तो प्रकृतिको लुट हुनु सामान्य भएको छ ।

    महानगरीय प्रहरीको रेकर्डमा दैनिक रूपले एक महिलाको गरगहना लुटिएको देखिन्छ । अपरिचित व्यक्तिले विभिन्न बहानामा भोजन र पेयपदार्थमा नशालुपदार्थ मिसाएर खुवाई महिलाको धनमाल लुटेको सातामा दुईदेखि तीन घटनाको जाहेरी पर्ने गरेको छ ।

    अनुसन्धान अधिकृतका अनुसार सुरक्षाकर्मीको उपस्थिति नभएको र भीडभाड स्थलमा गहना थुत्ने घटना हुने गर्छन् । अधिकांश गहना थुत्ने घटनाचाहिँ भीडभाड हुने ठाउँमा बिनायोजना र दैनिक रूपले आवतजावत गर्नेमाथि निगरानी राखेर सुनसान स्थलमा हुने गरेको प्रहरीले जनाएको छ ।

    उनीहरूका अनुसार अर्कोतिर फलामलाई सुन बनाउने, कागतलाई डलर बनाउने र जोखाना हेर्नेलगायतका बहानामा घरमा प्रवेश गरेर बेहोस बनाएर हुने लुटका घटनाचाहिँ अन्धविश्वास, असावधानी र लापरबाहीको परिणाम हो । प्रहरीका अनुसार गहना लुटको घटनामा हरेक पृष्ठभूमिका महिला पीडित हुने भए पनि अपरिचित व्यक्तिले बेहोस बनाएर लुट्ने घटनामा पीडित हुनेमा अशिक्षित, तन्त्रमन्त्र र झाडफुकमा विश्वास गर्ने हुने गरेका छन् ।

    महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वीरेन्द्रबाबु श्रेष्ठका अनुसार हाउभाउ र व्यवहारबाट यस्ता ठग एवं लुटेराको पहिचान गर्न सकिन्छ । 'अलिकति चनाखो हुनेबितिकै यस्ता अपराधीलाई चिन्न सकिन्छ,' उनले भने, 'शंका लाग्नेबितिकै स्थानीय प्रहरीलाई खबर गरेमात्र पुग्छ, त्यस्ताको तत्काल पोल खुल्छ ।'

    एसएसपी श्रेष्ठका अनुसार घरवरिपरि वा किनमेलका क्रममा अपरिचित व्यक्तिको गतिविधिमा अलिकति ध्यान पुर्‍याएमा अधिकांश यस्ता घटनाबाट बच्न सकिन्छ । 'हेर्दाखेरि निकै सभ्य र भलादमी देखिने व्यक्तिको यस्ता घटनामा संलग्नता देखिएको छ,' उनले भने, 'त्यही अपरिचित व्यक्तिकोे सुन्दर अनुहार, मीठो बोली र कुनै खालको प्रलोभनमा पर्नु हुन्न ।'

    'दिनहुँझैं यस्तो घटना भए पनि केही दिनदेखि बढेको देखिन्छ,' महाशाखाका डीएसपी प्रकाशजंग कार्कीले भने । उनका अनुसार ठूला पर्वको आगमनसँग बजारमा किनमेल गर्नेको भीडसँगै सार्वजनिक स्थलमा यस्ता लुटको घटना बढ्ने गरेको छ ।

    डीएसपी कार्कीका अनुसार तीज महोत्सवमा यही कारणले पशुपति क्षेत्र र सहरभरि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 'सतर्कताका कारणले केही हुन पाएन,' उनले भने, 'अहिले त्यस्ता घटना बढी हुने स्थल र बढी आवागमन हुने स्थलमा सादा पोसाकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।'

    कतिपय पीडित पक्षले गहना थुतिएपछि मौखिक रूपले यस्ता घटनाबारेमा जानकारी गराए पनि लिखित उजुरी नदिने हुनाले सुचारु रूपले अनुसन्धान हुन नसकेको प्रहरीको भनाइ छ ।

    सामाखुसीमा मंगलबार बिहान एक महिलाको गहना लुटिए पनि पीडितले जाहेरी नदिँदा प्रहरी अन्योलमा परेको थियो । प्रहरीको रेकर्ड हेर्दा लुटपाटको यस्तो एक प्रतिशत घटनामा मात्र लुटेरा पक्राउ परेको देखिन्छ । तीमध्ये आधा प्रतिशत घटनामा मात्र सामान बरामद हुने गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीको भन्दा पनि पीडित पक्ष र स्थानीयवासीको आफ्नै पहलमा एकदुई घटनामा दोषीलाई पक्राउ गरिएको देखिन्छ । करिब तीन साताअघि गहना लुटेर भाग्दै गर्दा राजधानीको महाराजगन्जमा धरान ८, भोटेपुलका २२ वषर्ीय दिक्पाल राई र पछि फरार रहेका सन्तोष लिम्बूलाई पीडित पक्षको हारगुहारपछि पक्राउ गरिएको थियो ।

    मोटरसाइकलमा आएका उनीहरू स्थानीय किरानापसले ४७ वषर्ीया जानुका खनालको तीन तोलाको सुनको सिक्री झम्टेर भागेका थिए । उनले गुहार गरेपछि स्थानीयवासी र प्रहरीले मिलेर पछाडि बसेका राईलाई सिक्रीसहित समातेका थिए ।

    प्रहरीका अनुसार यो घटनामा खनालले सचेत भएर हल्ला गरे पनि अप्रत्यासित रूपले हुने सार्वजनिक स्थलमा हुने अधिकांश घटनामा पीडित महिला आतिएर होस गुमाउने हुनाले लुटेरा भाग्ने गरेका देखिन्छन् ।

    No comments:

    Post a Comment