• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    वैज्ञानिकभन्दा कम छैनन् किसान

    image

    कास्कीको लेखनाथ नगरपालिका- १० निवासी सूर्यप्रसाद अधिकारी एक किसान हुन् । उनले पर्माकल्चर डिजाइन र पार्टिसिपेटरी प्लान्ट बि्रडिङको तालिम लिएका छन् । उनी साधारण किसान होइनन् । यस अर्थमा कि उनी आफ्ना स्तरबाट निरन्तर अनुसन्धान र अन्वेषण गरिरहेका छन् । र, अनुसन्धान र अन्वेषण केवल विज्ञ र विद्वान्का पेवा हुन् भन्ने कुरालाई गलत सावित गरिरहेका छन् । ६० वर्षको उमेरमा पनि उनमा नयाँ कुरा सिक्ने र अन्वेषण गर्ने गजबको उत्साह छ ।

    उनको अनुसन्धानको सबभन्दा राम्रो परिणाम लाहीकीरा नियन्त्रणमा देखिएको छ । उनले लाहीकीरालाई राता कमिलाबाट नियन्त्रण गर्ने गरेका छन् । यस अनुसन्धानमा सफल भएका उनी आफ्नो सफलता लाहीकीराको समस्या भएको ठाउँमा पुर्‍याउन सके लाखौं कृषक लाभान्वित हुन सक्ने बताउँछन् । 'अरू कृषकका समस्या समाधान गर्न म यथाशक्य योगदान गर्न चाहन्छु ।'

    उनको परिवार सानो र सुखी छ, उनी, श्रीमती र एक छोरा । उनका छोरा न्युजिल्यान्डमा फिल्म अध्ययन गरिरहेका छन् । छोराको फिल्म प्राविधिक हुने धोको रहेछ ।

    सूर्यप्रसादलाई एक सफल प्रगतिशील कृषकका रूपमा जिल्ला र जिल्लाबाहिर सम्मान गरिन्छ । आफ्नो सफलताका लागि उनी परिवारको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । भन्छन्, 'परिवारको सहयोगविना जतिसुकै राम्रो काम पनि असफल हुन सक्छ । मेरी श्रीमती मेरा हरेक कदममा साथ दिन्छिन् । त्यसैले पनि म नयाँनयाँ अनुसन्धान गर्न सधंै उत्सुक हुन्छु । '

    उनी हाल कफीको बोक्रा कसरी सदुपयोग गर्न सकिन्छ, त्यसको खोज गरिरहेका छन् । कफी उत्पादन गर्दा निस्केका कफीका बोक्रा यत्तिकै खेर गइरहेका छन् । कफीको बोक्रा खेर गएको उनलाई चित्त बुझेको छैन । 'म हाल कफीको बीउको बोक्रा प्रयोग गरेर च्याउ उत्पादन गर्न सकिन्छ कि भनी अनुसन्धान गरिरहेको छु,' उनी भन्छन्, 'यस अनुसन्धानलाई यौटा टुंगोमा पुर्‍याइछाड्ने उद्देश्य छ मेरो ।'

    उनले बेसार, सिमि्रक र सजीवनको झोल बनाएर छर्किदा सुन्तला र कफीको ढुसी नियन्त्रण हुने पत्ता लगाएका छन् । अब यस झोललाई इएम छर्केझैं छर्किन मिल्ने बनाउने अनुसन्धानमा जुटिसकेका छन् उनी ।

    कृषि सबभन्दा राम्रो पेसा हो भन्छन् उनी । अनुभव र केही तालिमका आधारमा कृषि अन्वेषक बनेका उनी कृषिमा आएका समस्यालाई गहिरिएर बुभ\mनुपर्छ र समस्यालाई समाधान गरी कृषकहितका लागि आप\mनो क्षेत्रबाट योगदान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । कृषिका विद्यार्थी तथा शिक्षकले कृषक-अन्वेषकबाट धेरै कुरा सिक्न सक्ने बताउँछन् उनी । 'किताबी ज्ञान मात्रै सबथोक होइन । माटोको कुरा माटोमा कुल्चिएर जान्नुपर्छ ।' सही ढंगले कृषिका कथा/व्यथा केलाई अन्वेषणमा पत्ता लागेका कुरा जनता माझमा पुर्‍याउनुपर्ने माग छ उनको । 'प्रचारप्रसारका माध्यमबाट किसानवर्गलाई सुसूचित गर्नुपर्छ ।'

    उनीजस्ता खोजमूलक कृषकले आफूले गरेका कामका बारेमा अरू कृषक, कृषि वैज्ञानिक, अध्यापक र विद्यार्थीलाई थाहा दिनुपर्छ भन्छन् उनी । 'चेतनशील कृषकको काम आफ्नै ढंगमा निरन्तर अनुसन्धान गरिरहनु हो । खेतबारीमा धेरै कुरा पत्ता लगाउन सकिन्छ । र, यसका लागि पढेलेखेको हुनुपर्छ भन्ने छैन । आफूले गरिखानुपर्ने कृषिका कयौं समस्या हामी आफैं हल गर्न सक्छौँ । बस्, हामीले सोच्न थाल्नुपर्‍यो ।'

    कृषिका विद्यार्थी र कृषक-अन्वेषकहरूबीच निरन्तर अन्तरक्रिया हुनुपर्छ भन्छन् उनी । 'कृषकले गरेका अनुसन्धानमा वैज्ञानिक तौरतरिका थप्ने काम विद्यार्थीले गर्नुपर्छ,' उनी भन्छन् । अनि, कृषि र पशुविज्ञानका प्राध्यापकका कामचाहिँ के-के हुन् त ? उनीसँग तयारी जवाफ छ, 'कृषक-अन्वेषकरुले गरेका सफल प्रयोगमा थप अध्ययन-अनुसन्धान गर्ने र अन्वेषक र अरू कृषकलाई सरसल्लाह दिने । प्रचार-प्रसार र प्रवर्द्धनको एउटा माध्यम या स्रोत तयार गरिदिने ।'

    अनि, विश्वविद्यालयले चाहिँ कस्तो भूमिका खेल्नुपर्छजस्तो लाग्दोरहेछ त यी कृषक-अन्वेषकलाई ? 'परम्परागत ज्ञानमा आधारित घरेलु उपचार तथा किसानसँग भएका ज्ञानका बारेमा अध्ययन-अनुसन्धान गर्ने काम विश्वविद्यालयको हो । 'स्थानीय जडीबुटीबाट पशुस्वास्थ्य उपचारको खोजी गर्नुपर्छ । र, त्यस्तो ज्ञान कृषक-कृषकबीच आदान-प्रदान गर्न विश्वविद्यालयले सक्रिय भूमिका खेल्नुपर्छ ।'

    राज्यले अन्वेषण कार्य गरिहेका कृषकलाई कुनै प्रोत्साहन नदिएको गुनासो छ उनको ।

    'किसानले पनि अनुसन्धान गरिराखेको हुन्छ र केही पत्ता लगाउन सक्छ भन्ने विश्वास छैन राज्यलाई । त्यसैले अन्वेषण गर्न सक्नेलाई राज्यले हौसला दिने या कदर गर्ने काम गरेको छैन ।' उनका अनुसार कृषक-अन्वेषकलाई प्रोत्साहन दिनका लागि राज्यले छुट्टै निकाय स्थापना गर्नुपर्छ । कृषक-अन्वेषकको पहिचान गरी उनीहरूबीच सहकार्यका लागि यौटा मञ्चको आवश्यकता देखेका छन् उनले ।

    आफ्नै खर्चमा विभिन्न अनुसन्धान गरिरहेका छन् उनी । तर, कहिलेकाहीँ भने उनले अरू व्यक्ति या संस्थाका सहायता नलिई हुँदैन । 'आफूले तयार गरेको कम्पोस्ट मल या गँड्यौला मलको असर थाहा पाउन ल्याब टेस्ट गर्नु जरुरी हुन्छ । यसका लागि अरूको सहयोग लिनै पर्‍यो ।' प्रांगारिक खेती, गँड्यौला मल बनाउने तरिका धैरै किसानलाई सिकाउनुपर्नेमा जोड दिन्छन् उनी । 'कृषिप्रधान देश भनेर मात्रै कृषिमा उन्नति गर्न सकिन्छ र ?' उनको प्रश्न निकै जायज लाग्छ ।डा . धर्मराज डंगोल


    No comments:

    Post a Comment