• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 13, 2009

    तीजको रहर कस्तो बरिलै !

    कल्पना बान्तवा

    खोलाकिनारको स्नान ध्यान । छेवैमा फूल-बेलपत्रले सिंगारिएर ढुङ्गे शिवजी पनि पुजिन तम्तयार। शिवजीलाई फूलपाती चढाएर छ्यामा काकी दिदीहरु खोला किनारमै सँगिनी पारामा एकझम्को नाचेपछि उनीहरुसँगै घरतिर लागिन्थ्यो केही रउसे भने बेला बेला 'तीजको बेलामा सबै जान्छन् माइत, आफ्नो माइती मुग्लानपारी छैन साइत .........।' भन्दै नाच्दैगाउँदै पनि हिँड्थे। हामी भुराहरु त्यो रामरमाइलो पछ्याउँदैमा दंग ! यसरी हाम्रो तीज बडो सरलसहज रुपमा आउँथ्यो र जान्थ्यो - हृदयलाई कुनै बोझ नदिएर रहरलाग्दो मीठो याद बनेर रहेको छ जीवनमा।

    तर अब त समयको रंगमंचमा फेरिएको परिदृश्य छ। परिवर्तनले तीजलाई पनि अछुतो रहन दिएन। सत्य जुगमा पार्वतीले महादेव वर पाउन गरेकी ब्रतपूजाबाट थालिएको भनिने सनातन तीजको स्वरुप बिस्तारै उत्तर आधुनिक बन्दैछ। पति अथवा प्रेमीको भलो चिताउँदै नुहाइधुवाइ भोलेनाथको पूजा आराधना गर्नाले मात्रै यो चाड सार्थक हुनेमा सायद ढुक्क छैनन् आजका नारी। यसको महिमालाई थप अर्थपूर्ण बनाउन त होला सकेजति जटिल बनाईंदैछ यसको सरलता र सहजतालाई। आजको युगमा जे छ जटिलतामै त छ!
    केही वर्षयता सहरबाट गाउँतिर पनि छिर्न थालेको छ नानाभाँती लाएर देखाउनुपर्ने र तीजमा दर हैन भतेर खाने रोग। कतै यसले यो चाड मनाउने सारालाई आपुनो पासोमा अल्झाएर तीजको मौलिक संस्कृतिमा निहित हार्दिकताकै बिल्लीबाठ पार्दिने त हैन
    आजभोलि दर त झन्डै दुई तीन साता अघिदेखि नै खाइन्छ ! निकै अघिदेखि तीज बजार लाग्न थाल्छ। सौदापात गर्नेको घुँइचोमा हराएका मान्छे खोज्न गाउँको मेलामा भैषं माइकिङ नै गर्नुपर्ला जस्तो हुन्छ । माइतीको आँगनमा दिदीबहिनी दुःखसुख कहँदै सकेको मिठोमसिनो मिलीजुली खाने दर त अचेल 'बुफे सिस्टम'को पार्टी हुन पुगेको छ। मानौं तीज कुनै भतेर हो । यसरी तीजले आपुनोपन गुमाउँदैछ । लुगाफाटादेखि अन्य किनमेलका सन्दर्भमा समेत अर्थशास्त्रको बजार नीतिले मलजल हाल्दै गोडमेल गर्न पनि थालिसकेको छ । बाइ वन गेट वन प्रुी ! तीज सेल धमाका आदि इत्यादि ।
    तीजमा सकेसम्म महँगा राता झल्कने सारी र पहेँला पोते हुनैपर्छ भन्ने मानसिकताले धेरैमा जरा गाडेको छ । छड्के तिलहरी र अन्य गरगहनाको जोरजाम थालिन्छ । पोहरसाल एउटी साथीले बडो रहरले डेढतोला तेजाबी सुनको छड्के तिलहरी बनाएकी थिई तीजमा लाउन भनेर । अफसोस ! दरखाने दिनै यस्तो डरमर्दो पेट दुख्यो कि केही दिनलाई अस्पतालै भर्ती हुनपर् यो उसले । बिसेक भएपछिको उसको गुनासो ऊ गुज्रेको पेटदुखाइको पीडाभन्दा भयंकरको थियो । बडेमाको तिलहरी ढल्काएर छमछमी पशुपतीमा नाच्न नपाएको रनाहामा ऊ आफैसँग बेस्सरी झोंक्किएकी थिई । उसको बिस्मातले मलाई सोंच्न बाध्य बनायो यो तीज पतिप्रतिको हार्दिकता र प्रेमको द्योतक बनेर आउने हो कि वैभव प्रदर्शन गर्ने दिवसका रुपमा
    मनमा लोग्नेका प्रति प्रियका प्रति छताछुल्ल भएर पोखिने माया अजम्बरी रहिरहोस्।

    उसको मीठो साथको रहर कहिल्यै नमेटियोस्। मनले कर्मले र विचारले एकअर्कालाई सदैव जोडिरहुन्। यिनै होइनन् र माया नीष्ठा सद्भाव र समर्पण भन्नु अनि यिनलाई जगाइराख्न-जोगाइराख्न त उस्तै भावना समझदारी र सत्प्रयास भए छेलोखेलो भइहाल्यो नि ! के खाँचो यी फोस्रा आडम्बर र दुईदिने तामझामको खासमा यी बेकारका अनुत्पादक प्रदर्शन हन् सम्पत्तिको। श्रम र पसिनाका भरमा जेनतेन बाँच्नेहरुप्रति नमीठो व्यंग्य हो र थाहा नपाएजस्तो गरेर हुनेले नहुनेलाई हेपेको पनि हो।

    केटाकेटीको मेरो तीजले आजसम्म पनि मोहक झझल्कोमा बाँधिराखेको छ मलाई । त्यो मृदु स्मृति मेरो साँस्कृतिक सम्पत्ति पनि हो भन्ठान्छु । जब जब यताको देखावटी रौनकले निस्सासिन्छु गाउँकी मेरी उनै लुरी बच्चीदिदीलाई सम्झन्छु । खोलामा एक डुबुल्की मारेर पचास रुपैयाको छिपाको सारी एकफन्को बेर्दै गरिएको शिव आराधना नै उनको पतिप्रेम-पतिधर्मको पर्याय बन्थ्यो जो आजपर्यन्त अनेक सास्ती सहे् पनि रोगी अशक्त पतिप्रतिको प्रेम र कर्तव्यका रुपमा कायम छ ।

    मैले त तीजको सरसतालाई महसुस गर्ने र त्यसमा रमाउने अवसर पाएँ तर कतै अबका पुस्ताले यो अनुपम धार्मिक साँस्कृतिक पर्वलाई लुगाफाटा र गहना गुरियाको थुप्रोको रुपमा मात्र पो चिन्ने हुन् कि ?
    नया तीजका गीतहरु हेर्न एहा क्लिक गर्नुहोला http://www.teejgeet.blogspot.com/

    No comments:

    Post a Comment