• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, August 10, 2009

    को हुन् यी ?तुलप्रसाद शेरचन

    केपी ढुंगाना

    आठ वर्षअघि तत्कालीन राजा वीरेन्द्रको समूल विनाश हुने गरी गराइएको नारायणहिटी दरबार-हत्याकाण्डको मुख्य योजनाकार आफू भएको दाबी गर्ने ६० वषर्ीय तुलप्रसाद शेरचन प्रहरी खोरमा पुगेका छन् । १९ जेठ ०५८ मध्यरातमा भएको दरबार-हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, दीपेन्द्र शाह, श्रुति शाह, नीराजन शाहलगायत १० जना राजपरिवारका सदस्यको मृत्यु भएको थियो ।

    हत्याकाण्डको छानबिनका लागि तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित समितिले हत्याको दोष तत्कालीन युवराज दीपेन्द्रलाई लगाए पनि छानबिन समितिको निष्कर्षले जनविश्वास पाउन सकेको थिएन ।

    वीरेन्द्रको वंशनाश भए पनि उनका भाइ ज्ञानेन्द्र शाहको परिवार भने हत्याकाण्डबाट सकुशल बच्न सफल भएकाले हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता रहेको आशंका कायमै थियो । राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको स्थापना भएपछि नारायणहिटी छोडेर जाने क्रममा हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिएका थिए ।

    राजधानीमा पत्रकार-सम्मेलन नै गरेर शेरचनले आफूलाई कतै अस्तित्वमा नदेखिएको रोयल इन्टेलिजेन्स ब्युरोको प्रमुख भएको दाबी गर्दै हत्याकाण्डको योजनाबारे श्रव्यदृश्यसमेत सप्रमाण सुरक्षित भएको सार्वजनिक गरेका थिए । शेरचनले आफूलाई दरबार-हत्याकाण्डको योजनाकार बताएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी अनुसन्धानका लागि भन्दै बिहीबार बेलुका खोरमा राखेको हो ।

    बुधबार पत्रकारहरूलाई डाकी खुल्लमखुल्ला हत्याकाण्डको जिम्मा लिएर उनी सकुशल पुतलीसडकबाट बाहिरिएका थिए । उनको दाबीबारे समाचार प्रकाशित भएपछि मात्र प्रहरीले उनको खोजी सुरु गरेको थियो । खोजीका क्रममा म्याग्दी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएका शेरचन सुनधाराको एक लजमा बसेको खबर पाएपछि काठमाडौं परिसरको एक प्रहरी टोलीले लज पुगेर उनलाई पक्राउ गरेको थियो ।

    पक्राउ गरेलगत्तै हनुमानढोका ल्याएर प्रहरीले उनको केरकार गरेको थियो । केरकारमा संलग्न एक प्रहरीका अनुसार उनले सोधपुछका क्रममा समेत आफू योजनाकार भएको साक्षीका रूपमा विभिन्न व्यक्तिको नाम लिँदै बाँकी आफैँ अनुसन्धान गर्न प्रहरीलाई उल्टो चुनौती दिएका छन् । शेरचनको चुनौती उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, 'दरबार-हत्याकाण्डबारे मलाई पहिला नै जानकारी थियो भन्ने थाहा पाउने धेरै व्यक्ति छन् उनीहरूसँग कुरा गरेर आफैँ पुष्टि गर्नुहोस् ।'

    शेरचनले दरबार-हत्याकाण्डअघि पुनर्गठित नेकपा माओवादीका अध्यक्ष मातृका यादवसँग भेट भएको र सो भेटका क्रममा दरबार-हत्याकाण्डबारे यादवलाई जानकारी दिएको दाबी गरेका छन् । तर, यादवले भने जेलमा शेरचनसँग भेट भए पनि हत्याकाण्डको योजनाबारे केही नबताएको बताएका छन् । 'जेलमा भेटचाहिँ भएको हो, तर सो बेला उसले दरबार-हत्याकाण्डबारे केही बताएको थिएन,' यादवले भने, '६ दिनअघि एक्कासि आफ्नो कोठामा आएर उटपट्याङ गफ गर्न थालेपछि चिया खुवाएर पठाएको हुँ, उसको योजनाबारे मलाई जानकारी छ भन्नु हावा कुरा हो ।

    नक्खु कारागारमा बन्दी हुँदा मातृका यादवसँग शेरचनको भेट भएको रहेछ । उनीनिकट स्रोतका अनुसार शेरचन ठगी मुद्दामा कारागार चलान भएका थिए । पुख्र्यौली थलो म्याग्दी भए पनि बच्चैदेखि उनी काठमाडौं बस्दै आएका थिए । उनले सेन्ट जेभियर्सबाट एसएलसी उत्तीर्ण गरी क्याम्बि्रज उत्तीर्ण गरेका छन् ।

    शेरचन राजनीतिमा समेत सक्रिय थिए । पञ्चायतकालमा उनी रूपन्देहीबाट संसद् उम्मेदवार बनेका थिए । तर, पराजित भए । उनको कुनै स्थायी पेसा नभएको उनका भाइ श्याम शेरचनले बताए । तुलप्रसाद शेरचनले प्रहरीसँग आफूले 'बाबु-बाजेको सम्पत्ति बेचेर बसेको' बताएका छन् । उनी बुटवल र सानेपामा करोडौँ सम्पत्ति भए पनि ती सबै बेचेर हाल ललितपुरको नखिपोटमा डेरामा बस्दै आएका थिए ।

    उनले बुधबार पत्रकार-सम्मेलन गरी जे-जस्ता दाबी गरेका थिए, प्रहरी हिरासतमा पनि त्यही दोहोर्‍याएका छन् । उनले प्रहरीसमक्ष हत्याकाण्डको योजनाको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरिरहेका भए पनि प्रमाण कहाँ छ भन्ने बताएका भने छैनन् ।

    प्रहरीसमक्ष उनले आफूले सेन्ट जेभियर्स स्कुल जावलाखेलबाट ०२६ सालमा एसएलसी दिएको बताएका छन् । दरबारका प्रायः सबैजनासँग आफ्नो निकट सम्बन्ध रहेको उनले दाबी गर्दै आएका छन् ।

    नेपालको विकासका लागि आएको वैदेशिक सहयोग दरबारियाहरूले आफ्नो स्वार्थमा खर्च गरेको सहन नसकेर सन् १९७० ताका नै आफूले धीरेन्द्र शाहलाई 'यस्तै ताल हो भने नेपालमा राजसंस्था लामो समय टिक्न नसक्ने' चुनौती दिएको शेरचनले दाबी गरेका छन् ।

    शेरचननिकटका अनुसार उनी धेरै पहिलादेखि नै यस्तै उटपट्याङ कुरा गर्ने गर्थे । उनीनिकट एक व्यक्तिले भने, 'कहिले ठूला-ठूला हस्तीलाई गोली हानेर मार्न सक्छु भन्थे त कहिले आफूले चाहे नेपालमा पेट्रोल र डिजेलको खोलो बगाउन सक्छु भन्थे ।'

    सार्वजनिक स्थानमा हत्या गरेको दाबी गरेका आधारमा प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिए पनि शेरचन दरबार-हत्याकाण्डका योजनाकार रहेको भन्नेमा प्रहरीहरू नै विश्वस्त छैनन् । प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिए पनि कुन अभियोगमा मुद्दा लगाउने भन्ने तय गर्न सकेको छैन ।

    अनुसन्धानका लागि प्रहरीले शुक्रवार शेरचनको डेरामा छापामारी केही कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि प्रहरीले शेरचनसँगै अन्य तीनजनालाई समेत हिरासतमा राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी नवराज सिलवालले शेरचनमाथिको अनुसन्धानको प्रारम्भ उनको मानसिक अवस्थाबाट सुरु गरिने बताए । उनले भने, 'मानसिक सन्तुलन ठीक भएको व्यक्तिले सार्वजनिक स्थानमा पत्रकार-सम्मेलन नै गरेर घटना गराएको स्वीकार गर्ने कमै हुन्छन् । त्यसैले प्रारम्भमा उनको मानसिक अवस्था कस्तो छ भन्ने परीक्षणपछि मात्र अन्य अनुसन्धान अघि बढाउनेछौँ ।'

    हत्याकाण्डको आठ वर्षपछि शेरचनको आफू नै हत्याको योजनाकार भएको दाबी गरेकाले यसका पछाडि अन्य कारणहरूसमेत हुनसक्ने अनुमान गर्दै प्रहरीले राजनीतिक कोणबाट समेत अनुसन्धान गर्ने तयारी गरेको छ । एसपी सिलवालले भने, 'उनले गम्भीर घटनामा आफू संलग्न रहेको दाबी गरेकाले हामी हरेक कोणबाट अनुसन्धान गर्छौं ।'

    किन आफैंलाई दुःख दिनुभएको होला ?

    -श्याम शेरचन

    तुलप्रसादका भाइ

    उहाँ बुद्धिजीवी नै हुनुहुन्थ्यो । जावलाखेलमा रहेको सेन्ट जेभियर्सबाट एसएलसी पास गर्नुभएको हो । उहाँले त्यस वेलामा क्याम्बि्रज पास गर्नुभएको थियो । पञ्चायतकालमा रूपन्देहीमा सांसदको उम्मेदवार बनेर पराजित हुनुभएको थियो ।

    दरबारसँग उहाँको सम्बन्धका बारेमा हामीलाई धेरै जानकारी नै छैन । हामीसित कुरा गर्दा गोदावरीमा पढ्दा दरबारका व्यक्तिहरू चिनेको छु भन्नुहुन्थ्यो । तर, त्यति चासो राखिएन । हामी त व्यापारी मान्छे । तर, उहाँ कुनै कामै गर्नुहुन्नथ्यो । उहाँ रोयल इन्टेलिजेन्स ब्युरोको अध्यक्ष भएको कुरो त समाचार हेरेर मात्र थाहा पाएका हौँ ।

    दाजुभाइ अलग बस्ने भएकाले कहिलेकाहीँ मात्र भेट हुन्थ्यो । सात महिनाअघि उहाँसँग भेट भएको थियो । घरमा भाउजू र भतिज मात्र छन् । भाउजू पनि बिरामी हुनुहुन्छ । उहाँले किन यस्तो भन्दै हिँड्नुभएको हो, मेसो पाउनै सकिएन । किन आफैँलाई दुःख दिनुभएको होला ?Naya Patrika

    तुलप्रसाद मानसिक अस्पतालमा

    दरबार हत्याकाण्डको जिम्मा लिएका तुलप्रसाद शेरचनको मानसिक सन्तुलन जाँच गराउन प्रहरीले आइतबार उनलाई पाटनस्थित मानसिक अस्पताल लगेको छ । दरबार हत्याकाण्डको जिम्मा लिएको भए पनि उनको मानसिक सन्तुलन ठीक भए नभएको बारेमा आशंका उत्पन्न भएपछि उनलाई मानसिक अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।
    उनको मानसिक अवस्था ठीक भए नभएको बारे एक हप्तामा खुल्ने मानसिक रोग विशेषज्ञ डा मोहनराज श्रेष्ठले जानकारी दिए ।
    तर शेरचनले आफ्नो मानसिक अवस्था ठीक भएको र आफूले सत्य बोलेको दाबी गरेका छन ।


    No comments:

    Post a Comment