• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 8, 2009

    अपराध चोखिनु हुन्न

    गगन थापा
    भावशून्य भएर छोरी ख्यातीको तस्बिरमा हेरिरहनुभएको आमाले मतिर फर्किएर सोध्नुभयो- 'अब केही दिन तपाईँहरूले ख्यातीलाई सम्झनुहुन्छ होला । अनि त्यसपछि उनलाई सम्झने हामी मात्रै हुन्छौ होला ।' हिंसाको सहज स्विकारोक्ति हाम्रो स्वभाव बन्दै गएको सन्दर्भमा ख्याती श्रेष्ठको आमाको आशंका सायदै गलत साबित होला Û
    ख्याती श्रेष्ठको वीभत्स हत्याले केही विषयमा जबर्जस्त बहस छेडेको छ । मृत्युदण्डको पक्ष र विपक्षमा वादविवाद प्रारम्भ भएको छ । एउटा संगठित अपराधका रूपमा अपहरण कसरी मौलाउँदै गएको छ तथा कुन र कति आपराधिक समूह यस्तो धन्धामा संलग्न छन्, सञ्चारमाध्यमले यस्ता समाचारलाई प्राथमिकतामा राखेका छन् ।
    तर यो घटनापछि पनि बहसमा नआएका केही विषय भने छन् । ख्याती, न कुनै राजनीतिक संगठनसँग आबद्ध थिइन्, न कुनै धार्मिक वा जातीय समूहसँग, न त उनी कुनै सम्पन्न परिवारको सदस्य । क्रूरताका सबै सीमा नाघेको वीरेन श्रेष्ठ पनि न यस्ता कुनै संगठनसँग आबद्ध थियो, न त कुनै आपराधिक गिरोहको सदस्य नै । अवोध ख्याती आमनेपालीमध्येकी एक थिइन्, अनि दुर्जन वीरेन श्रेष्ठ पनि यस्तै नेपालीमध्येको एक । यसको अर्थ, नेपाली समाज यस्तो अवस्थामा आइपुगेको छ जहाँ कुनै पनि बखत कोही पनि अपराधी बन्न सक्छ, अनि जो कोही पनि पीडित । के नेपाली समाज सदा यस्तै नै थियो ? निःसन्देह थिएन ।
    यसैकारण यो घटनापछि सहरमा बस्ने सामान्य परिवारको बेचैनी बढेको हो । कसलाई भरोसा गर्ने ? कसलाई नगर्ने ? के को आधारमा म र मेरो परिवार सुरक्षित र अभेध्य छ भन्ने विश्वास गर्ने ? वीरेन श्रेष्ठ अब कुन रूपमा प्रकट होला, मेरो छिमेकी वा घरपतिको, मेरो कुनै नातेदारको वा मेरो कुनै मित्रको ? सुरक्षाको खोजीमा आपmना नानीलाई अपहरणबाट जोगाउन सक्ने भए, सबै भाग्थे होलान् वीरेन श्रेष्ठहरूले नभेट्टाउने ठाउँमा । यो घटनापश्चात् मेरो मनमा भने एउटै प्रश्न उठिरहेको छ, कुनै समय शिक्षक रहेका बुज्रुक नागरिक जोसँग न कुनै हतियार थियो, न कुनै अपराधमा पूर्वसंलग्नता, कसरी यस्तो जघन्य अपराधको कल्पना मात्र पनि गर्न सकेको होला ?
    केही मानिसले अपराध गर्छन् र केहीले गर्दैनन्, जसले अपराध गर्दैनन् उनीहरूलाई सुरक्षित महसुस गराउनु र जसले अपराध गर्छन् उनीहरूलाई अपराध गर्न निरुत्साहित पार्नु वा गरेमा पक्रनु, यही नै 'पुलिसिङ' को सैद्धान्तिक मान्यता हो । प्रहरीको उद्देश्य भनेकै नै नागरिकहरूलाई सुरक्षित महसुस गराउन अपराध न्यूनीकरण गर्नु हुन्छ । यसका निम्ति न्यूनतम आवश्यकता भनेकै अपराध गर्नेलाई पक्रन र दण्डित गर्न प्रहरी सक्षम छ भन्ने विश्वासको सिर्जना हो । प्रहरीबल कमजोर हुँदा यसले आपmनो न्यूनतम दायित्व पनि सम्पादन गर्न सक्दैन । युद्धमा पराजित भएको, आन्दोलनमा गलेर शिथिल भएको अनि राजनीतिक लेनदेनमा व्यावसायिकता गुमाएको नेपालको प्रहरीबललाई 'जनआन्दोलन' पश्चात् जति कमजोर बनाइएको छ, सायदै कुनै कालखण्डमा यो यति कमजोर रह्यो होला ? प्रहरी सेवामा बढ्दै गएको राजनीतिक हस्तक्षेपले त यसको व्यावसायिक क्षमतामा ह्रास ल्याएको थियो नै । पछिल्लो समयमा, राजनीतिको आवरणमा गैरराज्य संगठनहरूले समानान्तर ढंगले प्रहरीको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै यसको भूमिकालाई सीमित तथा निष्प्रभावी बनाइदिँदा, हाम्रो प्रहरी सेवा निकम्मा हुन पुगेको छ । प्रहरीको उपस्थितिले कुनै नागरिकलाई सुरक्षित भएको अनुभूति नहुनु भनेकै, कुनै पनि व्यक्तिलाई उसको उपस्थितिले अपराध गर्नबाट निरुत्साहित गर्न नसक्नु पनि हो । वीरेन श्रेष्ठ जतिखेर अपहरणका बारेमा सोच्दै थियो, प्रहरीले आफूलाई पक्रन सक्छ भन्ने डरले पटक्कै पनि छोएन होला ? न अपराध गरेपछि उसलाई जोगाइदिने कुनै राजनीतिक संगठन थिए न त अपराधमा साथ दिने कुनै आपराधिक समूह नै थियो तर पनि ऊ उत्तेजित थियो, किनकि ऊ आफूलाई सुरक्षित ठानिरहेको थियो ।
    प्रश्न प्रहरीबल कति सक्षम छ भन्ने होइन, प्रहरीप्रतिको विश्वासको अनि सम्भाव्य अपराधीलाई प्रहरीसँगको डरको हो । प्रहरीबलले अपराधीलाई उन्मुक्ति दिँदैन भन्ने विश्वास भएको भए के वीरेन श्रेष्ठले अपहरणबारे सोच्ने साहस गर्न सक्थ्यो होला ?
    अर्कोतर्फ युद्धरत पक्षका बीचमा राजनीतिक समझदारी त भयो तर युद्धकालमा भएका अपराधहरूलाई दण्डको घेराभित्र ल्याउने र पीडितलाई न्याय दिलाउने प्रयत्न प्रभावकारी हुन सकेनन् । परिणामतः आपmनो उद्देश्य पूर्तिका निम्ति हिंसाको प्रयोग जायज हो अनि हिंसा कुनै वर्जित विषय होइन यो त पुरस्कृत पनि हुन सक्छ भन्ने मान्यता स्थापित हुँदै गयो । शान्ति सम्झौतापछिको परिवेशमा हामी धेरै कुरा फेर्न सक्थ्यौँ । अब, नेपालमा कुनै पनि अपराधीले उन्मुक्ति पाउने छैन, कुनै पनि बहानामा गरिने हिंसा सह्य हुनै छैन, राजनीतिक आवरणमा कुनै अपराधले छुट पाउने छैन, यी र यस्ता मान्यता स्थापित गर्न सकिन्थ्यो । तर, यसको विपरीत आपmनो प्रभावलाई विस्तार गर्न, एउटा पक्षले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणलाई आपmनो कार्यनीतिको अंग नै बनायो भने अर्को पक्षले शान्ति प्रक्रियाको मन्त्र जप्दै यस्ता व्यवहारलाई प्रोत्साहित नै गरिरह्यो । यो बीचमा यस्ता घटनाले समाजको मनोविज्ञानमा पारेको प्रभावलाई नजर अन्दाज गरियो । रामहरि श्रेष्ठको वीभत्स हत्यापछि बोरामा पोको पारेर खोलाको बगरमा शव गाडियो । अपराधीलाई दण्डको भागिदार बनाउने आवाजलाई राजनीतिक पूर्वाग्रहकै अभिव्यक्तिका रूपमा लिइयो । राजनीतिक आवरणमा अनेकन रामहरि मारिए, लुटिए, लखेटिए, तर पीडकले उनमुक्ति नै पायो । यस्तो वातावरणमा नै वीरेन श्रेष्ठहरूको आपराधिक मनोविज्ञान तयार हुँदै गएको हो । एकपल सोचौँ त शान्ति प्रक्रिया प्रारम्भ भएपश्चात् कुनै पनि अपराधी संरक्षित पनि भएन र सुरक्षित पनि रहन सकेन भन्ने अवस्था भएको भए वीरेन श्रेष्ठले यस्तो अपराधका बारेमा सोच्नसम्म सक्थ्यो होला ?
    ०६१ मा, नबिल बैँकबाट मध्याह्नमै करिब ६१ लाख फगत एक्लै लुटेर भाग्ने निरञ्जन खनाल, केही दिन अगाडि एक व्यापारी महेश सारडाको अपहरणमा पुनः पक्राउ परे । उनले दिएको बयानअनुसार सारडाको अपहरणका लागि आवश्यक गाडी र हतियारको बन्दोबस्त गर्न केही वर्ष अगाडि 'सुधारगृह' मा भेटिएका काठमाडौं- २ नम्बर क्षेत्रका वाईसीएल इन्चार्ज दीपेन्द्र तिमल्सिनालाई भेटे । दीपेन्द्रलाई उनले बस यति भने- 'कति अभावको जीवन बिताउँछौ, मेरो एउटा काममा साथ देऊ, एउटै काममा ३१ लाख आउँछ ।' दीपेन्द्र सहजै अपहरणको कुकृत्यमा सहभागी हुन राजी भए । पोखराका एक युवा उद्यमीले आफूसँग एक लाख चन्दा असुल्ने वाईसीएलमा आबद्ध एक युवाको सन्दर्भमा यस्तो भनेका थिए- 'एक लाख गुमाएकामा मलाई कुनै चिन्ता लागेको छैन तर त्यो एक लाख पुँजीलाई श्रम र सिर्जनामार्फत् दस लाख बनाउन एक निमेष पनि नसोचेर थप नौ लाख कोसँग धुतेर दस लाख पुर्‍याउने भन्नेमा नै उसको चिन्तन रहेको देख्दा मलाई अफसोच लागेको छ ।' यी त प्रतिनिधि घटना मात्र हुन् । प्रत्येक दिन बढ्दै छ यस्तो संख्या जो सुत्दा कंगाल भए पनि करोडपति भएर उठ्न चाहन्छ । अनि यसरी करोडपति बन्न जुनसुकै कृत्य पनि जायज हुन्छ भन्ने उसको मान्यता छ । क्यासिनोको कुलतबाट कंगाल बन्न पुगेको वीरेन श्रेष्ठ पनि यसैगरी प्रत्येक पल लाखौँ रुपैयाँ हात पारेको सपना बुनिरहन्थ्यो र यसका निम्ति जे गर्नु पनि जायज भएको ठान्थ्यो । हाम्रा वरिपरि यस्ता कति मेरिना र वीरेन श्रेष्ठहरू होलान्, जो बिहान करोडपति भएर उठ्न चाहन्छन् ।
    केही दिन अगाडि व्यवस्थापिका संसद्मा यिनै सन्दर्भहरू उल्लेख गर्दै ख्याती हत्या प्रकरणको व्यापक अर्थ प्रकाशनको आग्रह गर्दा माओवादी सम्बद्ध एक सांसद मित्रले पुरानो कुरा कोट्याएर शान्ति प्रक्रिया भाँड्न खोज्ने भनेर तीतो प्रतिक्रिया व्यक्त गर्नुभयो । केही समयअघि माओवादी नेता बाबुराम भट्टराईले भन्नुभएको थियो, 'जति बढी भद्रगोल र अराजकता मच्चिन्छ, हामी त्यति नै चाँडो सत्ता प्राप्तिको नजिक पुग्दछौँ । तर यस्तो भद्रगोल हाम्रो नियन्त्रणमा रहनुपर्छ ।' अफसोच यस्तो भद्रगोल र यसको प्रभाव कमरेडहरूको नियन्त्रणमा भने रहन सकेन । एउटा 'सिम कार्ड' का निम्ति तराईमा एउटा युवक कसैको पनि ज्यान लिन तयार छ, क्रान्तिकारी दर्शनबाट दीक्षित एउटा तन्नेरी वाइसीएल, युथ फोर्स वा अन्य कुनै आवरणमा बैंक लुट्न तयार छ, अनि यी सबै कुकृत्यहरूको प्रभावमा सयौँ वीरेन श्रेष्ठहरू धारिलो नङ्ग्रा लिएर ख्यातीहरूको गर्दनतिर बढ्न तयार छन् ।
    अनेकन राजनीतिक असमझदारी छन् तर कुनै पनि बेला समझदारी बन्न सक्छ । नयाँ संविधान पनि लेखिएला, राजनीतिक कार्यसूचीमा रहेका सबै काम सम्पन्न गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पनि पुर्‍याउँला । तर वीरेन श्रेष्ठहरूले भरिएको नेपालमा नयाँ संविधानको अर्थ के ? शान्तिको परिभाषा के ? हामी कस्तो मूल्यसहितको नयाँ समाज बनाउँदै छौं ?
    अब ख्यातीहरू मारिने क्रम रोकिनुपर्छ । तर यसका निम्ति याचना वा कामना गरेर मात्र हुँदैन । राजनीति र अपराधलाई छुट्याएर हेर्ने दृढ राजनीतिक इच्छाशक्ति चाहिन्छ । अपराध कुनै पनि बहानामा चोखिन सक्दैन, अनि अपराधी कुनै पनि नाममा उम्कन सक्दैन भन्ने विश्वास स्थापित गर्नुपरेको छ । न सुरक्षा गार्डको बीचमा आपmनो नानीलाई विद्यालय पठाउनु उपाय हो, न त कतै भाग्नु नै । आवश्यकता छ त सशक्त आवाजको, संगठित प्रयासको । कुनै राजनीतिक पूर्वाग्रहबिना सबैले एउटै स्वरमा भनौँ, हामीलाई सभ्य समाज चाहिएको छ । हिंसाबाट मुक्त समाज, अपराधबाट मुक्त राजनीति । ख्यातीकी आमाले भन्नुभएजस्तो ख्यातीलाई सम्झने काम उनको परिवारलाई मात्र नछोडौँ, अवोध ख्यातीलाई सबैले सम्झिरहन आवश्यक छ । किनकि ख्याती घरघरमा छिन् ।
    लेखक कांग्रेस सभासद् हुन् ।

    No comments:

    Post a Comment