• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, July 10, 2009

    के गरिखालान् नानीहरुले ?

    राजेश कोइराला
    बालकोसेली 'कोपिला' ले आफ्नो प्रकाशनको साढे आठ वर्षमा धेरै व्यक्तित्वको बाल्यकाल पाठकसामु ल्याएको छ । वार्ता ४० वर्षदेखि १ सय वर्षभन्दा बढीका व्यक्तित्वसँग गरिए । वार्तामा भएका कतिपय प्रसंग बालबालिकाका लागि नहुने भएकाले छापिएनन् । त्यस्ता प्रसंगमध्ये उहाँहरूले जागिर खाएका विषय सबै अभिभावकले पढ्न जरुरी छ ।
    दुई पुस्ता ः दुई प्रसंग
    कुनै जमाना थियो, थोरै भए पनि शिक्षा पाएका वा सीप भएकालाई राजाले बोलाएर जागिर दिन्थे । हुकुम प्रमांगी जारी हुन्थ्यो । शिक्षा वा सीप भएकालाई त्यसबेला जागिर खानु कुनै अप्ठ्यारो थिएन । त्यसपछि अर्को पुस्ताले पनि केही सजिलै जागिर पायो । वार्ताकै क्रममा कतिपयले भने, 'बुबाले चिनेका भरमा मैले जागिर पाएँ ।' कसैले भने, 'बुबा जागिरे हुनुहुन्थ्यो । बैंकबाट उहाँ रिटायर्ड भएपछि मलाई जागिर मिल्यो । मैले खाएँ ।' तर उहाँ आफ्नो छोरालाई त्यसरी जागिर ख्वाउन सक्नुहुन्न । जनसंख्या बढ्यो । साक्षरतामात्र बढेन । शिक्षितको संख्या बढ्यो । यो वृद्धि जारी छ । शिक्षा सीपमूलक छैन । डिग्री हासिल गरेपछि त्यो व्यक्ति कुर्सी खोज्छ । हाम्रो शिक्षाले त्यही सिकाएको झैं लाग्छ । पढेअनुसार जागिर नहुँदा के बिग्रन्छ र ?
    पढ्नु त पर्छ नै
    गत साल 'बीबीसी साझा सवाल' को एक शृंखलामा सहभागी हुँदा शिक्षा एकातिर काम अर्कातिर हुनुलाई अनौठो नमान्न मेरो आग्रह थियो । मसमेत सहभागी नायक राजेश हमाल र विद्यार्थी नेता एन्जिला न्यौपानेसँग प्रश्न सोधिएका थिए । उत्तरमा पनि हमाल नायक बने । उनी अंग्रेजीमा स्नातकोत्तर हुन् । उनी डिग्रीको प्रमाणपत्र बोकेर कुनै विश्वविद्यालय वा कलेजको ढोका चहार्न पुगेनन् । इच्छा लाग्यो, नायक बने । नेपाली चलचित्रको इतिहासमा उनको नाम लेखिनेछ । उदाहरण राजेशको मात्रै । पढ्नु भनेको सभ्यताको रंगमञ्चको कलाकार हुनु हो । अरूको अगाडि उभिन सक्ने हुनु हो ।
    बिहानले दिनको संकेत
    सीपमूलक शिक्षा नभएकाले धेरै शिक्षित युवा बेरोजगार छन् । हजारौंलाई राजनीतिक दलले दुरुपयोग गर्ने मौका पाएका छन् । ४० वर्षको भएपछि थाहा पाउँछ, थुक्क जिन्दगीमा केही गर्न सकिएन । टाठाबाठा ओहदामा पुग्छन् । सडकमा उत्रने लाटोसोझो युवा आफैंलाई धिक्कार्ने अवस्थामा पुग्छन् । २००७ साल र त्यसपछिका कांग्रेस विद्रोहमा लागेका युवा अहिले कहाँ छन् ? कम्युनिस्ट आन्दोलनका लाटासोझा युवा कता पुगे ? माओवादीको सशस्त्र विद्रोह र त्यसपछि लागेका युवामा त्यही इतिहास दोहोरिन्छ । सबै पुस्ताका युवाले आफूले आफैंलाई लोप्पा ख्वाउनेछन् । राजनीति गर्नेहरूले प्रत्येक दशकमा युवा भड्काएका छन् । कस्तो अचम्म यी दशकहरू किन यस्ता युवा जन्माउँछन्, जो आफ्नो विवेकले भन्दा बढ्ता अरूको मन्त्रमा अल्मलिन्छन् ? क्या लोभलाग्दो 'पिचरप्लान्ट' जस्तो राजनीति, तान्यो, चुस्यो, फ्याँकिदियो ।
    अर्कातिर लाखौं युवा विदेश गएका छन् । लामो समय देश युद्धमा होमिँदा पनि रेमिट्यान्सले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायो । धन्य छन्, ती युवा । युवा गए, एउटा परिवारको भविष्य उज्ज्वल भयो । तर सबै सकुशल फर्केका छैनन् । दिनहुँ दुई युवाको लास फर्केका छन् । यसो गर्दा वर्षमा साढे सात सय परिवार बिचल्लीमा पनि पर्दैछन् ।
    कुशल शिक्षा र सीप भएको अर्को एक थरि युवा राम्रा राष्ट्रमा भास्सिएका छन् । किनभने आफूजस्तै सडकमा उत्रिरहने अर्काथरि युवाको बहुलठ्ठीपना देखेर ऊ आजित हुन्छ र विदेसिने फैसला गर्छ । त्यसैले हामी यथास्थितिमा रह्यौं भने हाम्रा नानीको भविष्य छैन ।
    देश बने चाहिँ के होला ?
    यदि नेताहरूका मीठा भाषण जस्तै देश बन्यो भने के होला ? चीन र भियतनामका कथा रोचक छन् । चीनमा कम्युनिस्ट आउँदा र भियतनाम युद्ध हुँदा अमेरिका, अस्टे्रलिया, क्यानडा, जर्मन, आदि मुलुक पुगेका बालबालिका अहिले जवान भए । त्यहाँको शिक्षाबाट खारिए । उनीहरू आफ्नो मुलुक र्फकँदा ठूलो राशिको जागिर पाउने र सुरक्षित महसुस गरी र्फकँदैछन् । त्यहाँ विदेशिनेको भन्दा र्फकनेको भीड छ । हाम्रो देश पनि बन्यो भने विकसित मुलुक पुगेका बालबालिका दक्ष युवा बनेर र्फकनेछन् । उताबाट फर्केकाले धेरै राशिको जागिर पाउलान् । यहाँका नानीहरूले कम । देश यथास्थितिमा रहे भोलि त आजजस्तै हो । देश गतिलो बन्यो भने देशमै प्रशिक्षित हुने आजका नानीहरूले के गर्लान् ?

    No comments:

    Post a Comment