• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, July 10, 2009

    अराजकताको आगो

    दशक लामो राजनीतिक हिंसाबाट त्राण नपाउँदै नेपाली समाजमा अब नागरिक तहमै हिंसाको गम्भीर नकारात्मक प्रवृत्ति हावी हुन थालेको छ । व्यक्तिगत र संगठित दुवै प्रकारका हिंसा पछिल्लो समय मौलाउने क्रममा छन् । एकातिर राज्य यस्ता हिंसालाई काबुमा ल्याउन असक्षम हुँदै गएको देखिएको छ भने अर्कोतर्फ कानुनी व्यवस्थाप्रतिको बेवास्ता झन् बढेको छ । अवस्था कति बिघ्न भयावह छ भने, जनता कानुन हातमा लिने अमर्यादित तहमा ओर्लिन थालेका छन् ।
    कानुनी मर्यादाको बेवास्ताको पछिल्लो नजिर बनेको छ- भक्तपुर, ठिमीको चपाजो काण्ड । मंगलबार मध्यपुर ठिमी-५ धुन्चेपाखाको हिमालचुली बोर्डिङ स्कुलअगाडि केही स्थानीय युवा र बाहिरबाट गएका केही युवाबीच भएको झडपले यस्तो अपि्रय स्थिति सिर्जना भयो । नतिजा, बालबालिका अपहरणको आरोपमा दुई किशोर अनाहकमा मारिए । अघिल्लो दिन आफ्ना साथीसँग भएको झगडाको बदला लिन पुगेका यी युवालाई स्थानीय केही युवाले बालबालिका अपहरण गर्न आएको भनी झूटो आरोप लगाएपछि स्थानीय बासिन्दाले उल्टिएर तिनलाई मरणासन्न हुने गरी कुटेका थिए । कुटपिटबाट दुई मारिए भने दुईको उपचार भइरहेको छ । ँहामी अपहरण गर्न आएका होइनौं’ भन्दा पनि लखेटी-लखेटी कुटपिट गरेर स्थानीय चपाजोवासीले संवेदनाहीन प्रवृत्ति देखाएका छन् ।
    दसवर्षे द्वन्द्वमा मार्ने र मर्ने हजारौं दृष्टान्त देखे-भोगेर असंवेदनशील भएको नेपाली समाजमा थप संवेदनहीनताको डरलाग्दो प्रवृत्ति विकास हुँदै छ । ठिमीमात्रै होइन, केही समययता मुलुकभर बढिरहेका यस्ता दर्जनौं दृष्टान्त छन्, जसबाट समाजलाई संवेदनाहीनताले पराधीन बनाउँदै छ । असार महिनामा मात्रै राजधानीका विभिन्न ठाउँमा अपहरणको आरोपमा नौ जना कुटिएर घाइते भएका छन् भने डेढ/दुई महिनाअघि तराईका सुनसरी, महोत्तरी, मोरङ, धनुषालगायत जिल्लामा अपहरणको आरोपमा १६ जनाको हत्या भइसकेको छ ।
    समाजमा संवेदनहीनता मात्रै बढेको होइन, अपहरणलगायतका आपराधिक क्रियाकलाप त्यत्तिकै बढ्दै छन् । भारतबाट तराई र तराईबाट राजधानी भित्रिएको अपहरण अपराधले यहाँ एक प्रकारको आतंक सिर्जना गरेको छ । तर यसको समाधान जहाँ पायो त्यहीं, जसलाई पायो त्यसलाई अपहरणको आरोप लगाउनु र कुटपिट गर्नु समस्याको सही समाधान होइन । आशंकाकै भरमा कानुन हातमा लिने यस्ता क्रियाकलापले आपराधिक घटना घट्दैन, बरु यसले समाजलाई थप अराजकता र हिंसातिर धकेल्नेछ ।
    राजनीतिमा हिंसाको बाहुल्य, स्थिर शासन व्यवस्थाको अभाव, सुरक्षा प्रशासनको गिर्दो प्रभाव, सत्ताप्रधान र संवेदनहीन राजनीतिक नेतृत्वमा सामान्य जनताको कष्टकर जीवन र असन्तुष्टिले जनतालाई आक्रोशित र हिंस्रक मनोवृत्तिको सिकार बनाउँदै लगेको छ । त्यसमाथि भीडबाट निर्देशित हुने मनोविज्ञानले पनि यो प्रवृत्तिलाई धेरथोर मलजल गरेको छ । अहिले मुलुक गम्भीर संक्रमणकालमा रहेका बेला यस्ता अराजक घटनाबाट पूरै जनमतलाई आतंकित पार्न खोज्ने स्वार्थ समूह एकातिर सल्बलाइरहेका छन् भने अर्कोतिर व्यक्तिगत रिसइबी साँध्ने नियत बोकेकाहरू पनि यस्ता घटनाका पछाडि हुनसक्छन् । यसलाई रोक्न मुलुकमा बढ्दो दण्डहीनताको अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्छ । गैरकानुनी काम वा अपराधमा संलग्न रहेको आशंका छ भने त्यसलाई कानुनी कारबाहीका लागि सुरक्षा प्रशासनको जिम्मा लगाइनुपर्छ ।
    निःसन्देह सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले यस्ता गैरकानुनी प्रवृत्ति बढेका हुन् । जनतामा सुरक्षा प्रशासनले छानबिन र कारबाही गर्ला र ? भन्ने आशंका नभएको पनि होइन । तर हामीसँग सुरक्षा प्रशासन र कानुनी व्यवस्थालाई मजबुत पार्ने बाहेकको विकल्प छैन । किनभने हामी लोकतान्त्रिक शासनपद्धति संस्थागत गर्ने अभियानमा छांै र यही पद्धतिमा विश्वास गछार्ंै । त्यसकारण सुरक्षा प्रशासन कमजोर अवस्थामा छ भने यसलाई मजबुत बनाउन जति राजनीतिक इच्छाशक्ति चाहिन्छ, त्यति नागरिकका तहबाट पनि सहयोग हुनुपर्छ । सुरक्षा प्रशासनले पनि समयमै आफूमा रहेका कमजोरी हटाएर जनतामा विकसित गैरकानुनी र हिंस्रक प्रवृत्ति नियन्त्रण गर्नतर्फ आफ्नो सम्पूर्ण सामथ्र्य लगाउनुपर्छ । अन्यथा अराजकताको आगो अरू सल्कने खतरा छ ।

    No comments:

    Post a Comment