• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 26, 2009

    इजरायली अरबीहरुको यो दुर्दशा

    image

    सामी सालेमले बिबिसीका पत्रकार कात्या एड्लरलाई आफ्नो ध्वस्त भएको घर देखाउँदै भने, 'यस घरसँगै मेरा सपना पनि ध्वस्त भए ।' असरल्ल अवस्थामा रहेका फलामे डन्डी, इँटा तथा अन्य निर्माण सामग्री हेर्दै र भुइँमा लात्ती हान्दै यी पैँसठ्ठी वषर्ीय वृद्ध आक्रोशित भएर भन्दै थिए, 'यो मेरो पुख्र्याैली जमिन हो ।'

    तर, इजरायलले उनको जमिनलाई राज्यको सम्पत्तिका रूपमा दाबी गरेर यस जमिनमा रहेको उनको घरमाथि डोजर चलाइदिएको थियो । सालेमलाई उनको यस जमिनमा घर बनाउन निषेध गरिएको छ ।

    सालेमको नयाँ घर उत्तरी इजरायलको अरबी सहर मजदल क्रुममा छ । उनको घर गैरकानुनी ढंगमा निर्माण भएको छ । त्यसो त, यहाँको पूरै बस्ती गैरकानुनी ढंगमा बसेको छ । सालेमको १४ सदस्यीय परिवार केवल तीन कोठाको यस घरमा बसिरहेको छ । सालेमकी पत्नी आसी भन्छिन्, 'घरभित्रको वातावरण एकदम अल्छीलाग्दो र निराशाजनक छ ।'

    सालेमा अरबीका रूपमा यहुदी राज्य इजरायलमा जन्मिनु नै आफ्नो दुर्भाग्य भएको बताउँछन् । 'तिनले मेरो घर ध्वस्त बनाइदिएपछि मेरो सबथोक लुटिएको छ । मेरो पनि समान अधिकार हुन्थे भने म यस अस्तव्यस्त बस्तीमा बस्न बाध्य हुने थिइनँ । यहुदीहरू सजिलै निर्माणको अनुमति प्राप्त गर्छन् । बिजुली, पानी, फोहर व्यवस्थापन, सडक-बत्ती, पार्क... यहुदीलाई सारा सुविधा उपलब्ध छन् । उनीहरू यति सुविधापूर्वक बाँचिरहेछन् र हामी अरबी मूलका मानिसलाई भने सुविधाका नाममा केही पनि प्राप्त छैन । विभेदको योभन्दा ज्वलन्त उदाहरण अरू के हुन सक्छ ?'

    सालेमको घरबाहिर एकहुल केटाहरू फुटबल खेलिरहेका छन् । सालेमको जस्तै उनीहरूको परिचय पनि जटिल छ । उनीहरू इजरायली हुन् र हुन् अरबी पनि ।

    इजरायलको मुख्य कानुनले सबै नागरिक बराबर हुन् भने पनि इजरायली अरबीहरू राज्यबाट त्यस प्रकारको व्यवहार प्राप्त नभएको गुनासो गरिरहेका छन् । सालेमहरूको बस्तीनजिकै हरिलोभरिलो र समृद्ध यहुदीहरूको बस्ती म्यानोफ छ । उत्तरी इजरायलमा यहुदीबस्ती विस्तारका लागि इजरायली सरकार सन् १९७० देखि नै क्रियाशील छ ।

    उत्तरी इजरायल इजरायली अरबीहरूको धेरै जनसंख्या भएको ठाउँ हो । इजरायली अरबीहरू उनीहरूलाई योजानमुताबिक र जानाजान पेलिएको छ भन्ने गुनासो गरिरहेका छन् । तर, रिजनल काउन्सिलका प्रमुख रोन सानी उत्तरी इजरायलमा कुनै विभेद नभएको बताउँछन् । उनी भन्छन्, 'उत्तरी इजरायलमा जातिवाद हावी भएको छैन । यहाँ अरबी छन्, यहुदी छन्, र अरू समुदाय पनि छन् । हामीले एक-अर्कालाई सम्मान गर्नु जरुरी छ । अरबीहरूको भूमिमाथि सरकारले जबर्जस्ती कब्जा जमाएको छैन ।' तर, सत्य के हो भने अरबी मूलका मानिसका जग्गाजमिन इजरायल स्वतन्त्र राष्ट्र भएयता राज्यले हडपिरहेको छ । अरब भूमिका अधिकांश हिस्सा इजरायल सरकारले 'त्याग गरिएको सम्पत्ति'को लेबल लगाएर अधिग्रहण गरेको छ ।

    हनान स्वेद इजरायली संसद् नेसेटका सदस्य हुन् । उनी इजरायली अरबी हुन् । उनी भन्छन्, 'गरिबी, अपर्याप्त जमिन, इजरायली अधिकारीका अरबबस्तीमाथिको वक्रदृष्टि, निर्माण-प्रतिबन्ध आदि इजरायली अरबीका समस्या हुन् ।'

    साख्निन बस्तीलाई घेरेर बसेको सैनिक शिविरको उदाहरण दिँदै उनी भन्छन्, 'यस शिविरले साख्निनका मानिसका जग्गा कब्जा गरेको छ । त्यस्तै, साख्निनका घरहरू र औद्योगिक क्षेत्रबीचको दूरी केवल दस मिटर छ । तर, औद्योगिक क्षेत्रका फाइदाजति यहुदीबस्ती मिस्गाभले उपभोग गर्छ ।'

    ओर कमिसनले इजरायली अरबीका अवस्थामाथि सन् २००३ मा एक प्रतिवेदन प्रकाशित गरेको थियो । यसले स्पष्ट भनेको छ कि, इजरायली अरबीहरूको बस्ती विस्तारलाई इजरायलले प्रभावकारी ढंगमा रोकिरहेको छ । यसका लागि इजरायली अरबीबस्तीलाई राजमार्ग, सैन्य क्षेत्र तथा अन्य घेराबन्दीबाट घेर्ने काम गरिएको छ ।

    इजरायलको स्वतन्त्रतापछि इजरायली अरबी जनसंख्या सातगुणा बढेको छ । मानव अधिकारवादी समूहका अनुसार जमिन गुमाएका र निर्माण-प्रतिबन्ध लगाइएका कारण वर्षैपिच्छे इजरायली अरबीका भूमि खुम्चिँदै गएका छन् । ओर कमिसनले भनेको छ, 'अरबी समुदायप्रति इजरायली सरकारको रबैया विभेदकारी छ । उसले यस समुदायको उपेक्षा गरेको छ ।' हनान स्वेद भन्छन्, 'इजरायल सिद्धान्ततः यहुदी र प्रजातान्त्रिक मुलुक हो । तर, वास्तविकतामा यो प्रजातान्त्रिक छैन । यहुदी राज्यका रूपमा इजरायलको परिभाषा गरिएका कारण उत्तम चिजजति यहुदी नागरिकका भागमा पर्छन् । हामी अरबीहरू भेदभावका सिकार भएका छौँ ।'

    No comments:

    Post a Comment