• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 26, 2009

    घरेलु कामदारको सधैंको नियती

    घरेलु कामदार बनेर खाडीको साउदी अरेबिया पुगेका नेपाली युवतीहरुको एक समुह कामको चाप र सास्ती बेहोर्न नसकेर स्वदेश फिरेका छन् । रियादस्थित नेपाली दुतावासको आश्रयस्थलमा महिनौंसम्म आश्रति भएर मुश्किलले जोहो गरेको घरफिर्ती टिकटका भरमा बिजोगको मनस्थिती लिएर १५ युवती एकसाथ घर फिरेका छन् । खाडीका साउदी, कतार, संयुक्त अरब इमिरेट्ससहितका मुलुकबाट हरेक साताजसो पीडित घरेलु कामदार युवती फिर्ने क्रम जारी भएपनि यति ठूलो संख्यामा बिचल्ली बेहोर्नेहरु एकसाथ फिरेको यो पहिलो घटना हो । घरेलु कामदारको हैसियत र यथास्थिती स्पष्ट पार्न नसकेको श्रम मन्त्रालय र कामदारले बेहोर्ने समस्यामा कुटनीतिक समाधान पहिल्याउन अनिच्छुक परराष्ट्र मन्त्रालयका निम्ति यो घरफिर्ती समाचार गम्भीर चासोको बिषय बन्नु जरुरी छ ।

    दुइ बर्षअघि खाडीको कुवेतमा नेपाली युवती डोल्मा शेर्पाको प्रकरण चर्किएपछि सरकारले त्यहाँ घरेलु कामदार जानमा प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै साउदी अरेबियामा पनि घरेलु कामदारले बेहोर्नुपर्ने सामाजिक, आर्थिक र शारीरिक असुरक्षाका कारण रियादस्थित नेपाली दुतावासकै आग्रहमा श्रम मन्त्रालयले त्यहाँ पनि घरेलु कामदार नपठाइने प्रावधान राखेको छ । यसबाहेक, कतार, साउदी अरेबिया, ओमान, बहराइनमा घरेलु कामदार जाने क्रम यथावत छ । तर प्रतिबन्ध भनिएपनि अथवा केही नभनेर द्वैध नीति अवलम्बन गरेपनि खाडी मुलुकहरुमा घरेलु कामदार जाने क्रम भने रोकिएको छैन । ती मुलुकमा रहेका नेपाली नियोगहरुले घरेलु कामदारको दयनीय अवस्थाका बारे बारम्बार कहिले अध्ययन प्रतिवेदन त कहिले स्थलगत विवरणहरु परराष्ट्र तथा श्रम मन्त्रालयमा पठाइरहेकै छन् । तर यसको कहींकतैबाट सुनुवाइ हुन नसकेको यथार्थ पनि उत्तिकै छर्लङ्ग छ । सरकारले सधैंजसो भारतीय नाका हुँदै महिलाहरु खाडी जाने भएकाले यसमा छेकथुन गर्न नसकिने बनावटी उत्तर दिदै आएको छ । जबकि कुटनीतिक आधारमा भारत सरकारलाई आग्रह गरिएको अवस्थामा यो कठीनाइ हल हुन नसक्ने भन्ने होइन । बिशेषत व्यक्तिगत -तनुवा० भिसाका भरमा घरेलु कामदार बनेर खाडी पुग्नेमा कमजोर आर्थिक तथा सामाजिक पृष्ठभूमी भएका महिला छन् । उनीहरुलाई गाउँघरमैं पुगेर सपना बाँढ्ने र यथार्थको छनक दिनै नचाहने एजेन्टहरुलाई निरुत्साहित गर्न पनि सरकारले व्यक्तिगत भिसाका पद्धतीमा पुर्नबिचार गर्नु जरुरी छ । अर्कातिर लैङ्िगक समानता र अधिकारको मुद्धा चर्कै रुपमा उठाएपनि खाडी मुलुकको सामाजिक बस्तुस्थिती एकसाथ आँकलन गर्नु पनि उत्तिकै जरुरी छ । सरकारले खाडीका कतार, संयुक्त अरबसहितका संगठनात्मक क्षेत्रमा महिला कामदार पठाउँदा खासै समस्या नदेखिएको र त्यो आफैंमा बैंदेशिक रोजगारीको सम्भावनायुक्त क्षेत्र भएकाले यसतर्फ नीति तर्जुमा हुनु जरुरी छ ।

    खाडीबाहेक मध्यपुर्वको इजरायल पुगेका केयर-टेकर महिलाहरुको आर्थिक र सामाजिक अवस्था निकै सकारात्मक छ भने मध्यपुर्वकै लेबनान पुगेका महिलाहरुले बेहोर्नुपरेको असुरक्षाको स्थितीबारे समाचार सार्वजनिक भैरहेकै छन् । सरकारले बैदेशिक रोजगारीका नाममा जे भएपनि, जसो भएपनि विदेश पठाउने वा पठाउन सहायक बन्ने यथास्थितीबादी सोचाइमा अब परिवर्तन खोज्नुपर्छ । सबैभन्दा सुरुमा, खाडी मुलुकमा द्धरेलु कामदार पठाउने हो कि नपठाउने भन्ने बिषयमा स्पष्ट रुपमा नीति निर्धारण हुन सक्नुपर्छ । अन्यथा अहिले देखिएको बिचल्लीको अवस्था एकपछि अर्को गर्दै दोहोरिंदै आइरहने निश्चित छ ।

    No comments:

    Post a Comment