• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 11, 2009

    माओवादीमा प्रश्न: नेता र जनताबीच जीवनस्तरमा यत्रो फरक किन ?


    गंगा बीसी
    काठमाडौं, माओवादीभित्र शुक्रबार गजबको सबालले प्रवेश पायो, नेता र जनताबीच जीवनस्तरमा यत्रो फरक किन ?
    अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलमा सदस्य जुटेका थिए । तर केहीले प्रश्न उठाए, 'सर्वहारा वर्गका नेतामा नै सर्वहारा चिन्तन देखिएन, यस्तो किन ?' प्रश्न उठ्न नपाउँदै अन्य सदस्यले पनि यसलाई साझा ठाने । र, यही प्रश्न दोहोर्‍याए ।
    तीन करोडमा हालै किनिएको कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयबाहिर नेताहरूका 'सानदार गाडी' को भीड थियो । हलभित्र नेताहरू सर्वहारा चिन्तन र जीवनशैलीको बहस गर्दै थिए ।
    केही केन्द्रीय नेताले तर्क राखे, 'गाउँमा जनता चप्पल लाउन नसक्ने छन्, नेताहरू सानदार गाडीमा सयर गर्न मिल्दैन ।' उनीहरूले शीर्ष नेताबीच प्रश्न गरे, 'सर्वहारा वर्गीय चिन्तन भनेको यही हो ?'
    माओवादीका केही नेता तथा कार्यकर्ताको जीवनस्तरमा परिवर्तन भएको उनीहरूले नै स्वीकारेका छन् । थुप्रै बैठकमा छलफल भए पनि 'समयको आवश्यकता' भन्दै नेताहरू जीवनस्तर सुधार्न व्यस्त रहे, पार्टी र जनताको नाममा । पार्टी नेतृत्व र्वजनिक भएको केही समयपछि माओवादी केन्द्रीय समिति बैठकले ६ जना शीर्ष नेताले मात्र गाडीको प्रयोग गर्ने निर्णय गर्‍यो । तर त्यो निर्णय एक महिनापछि लागू भएन, बरु तीव्र गतिले उल्लंघन भयो ।
    पार्टी एकीकरणअघिका प्रायः सबै केन्द्रीय सदस्यका आफ्नै गाडी छन् । ती अधिकांश गाडी सशस्त्र द्वन्द्वका बेला प्रयोग भएका र शान्ति प्रक्रियामा आइसकेपछि सरकारले अस्थायी दर्ता दिएका हुन् । क्षेत्रीय ब्युरो र जिल्लास्तरका केही नेता पनि गाडी चढ्छन् । सबैभन्दा धेरै गाडी भएको पार्टी पनि माओवादी नै हो ।
    नेताको आचरण र व्यवहार सुधार्न ल्याएको आचारसंहितामा 'सर्वहारा चिन्तन र व्यवहारलाई दह्रो अवलम्बन' गर्ने भनिएको थियो । आठ महिनाअघि मुख्य सचेतक पोस्टबहादुर बोगटीले तयार पारेको आचारसंहिता संविधानसभा दलको बैठकमा पारित नगरी थन्क्याइएको छ ।
    माओवादी र एकता केन्द्र मसालबीच एकीकरण भएपछि आचारसंहिता संशोधन गर्न तत्कालीन कानुन तथा संविधानसभा व्यवस्थामन्त्री देव गुरुङलाई जिम्मा दिइएको थियो । त्यसपछि आचारसंहिता अलपत्र छ ।
    जारी केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले जीवनशैलीप्रति प्रश्न उठाएपछि पुनः आचारसंहिता बनाउने धुनमा माओवादी छ । 'कतिपय नेताहरूमा सर्वहारा वर्गीय चिन्तन भत्केको छ,' एक केन्द्रीय नेताले भने, 'पार्टी गलत चिन्तन र कार्यशैली हावी भएकाले विषय उठाएका हौं ।'
    'जीवनशैली सरल बनाउनुपर्छ भन्नेबारे कुरा उठेको छ,' सचिवालय सदस्यसमेत रहेका बोगटीले कान्तिपुरसँग भने, 'कस्तो आचारसंहिता बनाउने भन्नेबारे छलफल हुँदैछ ।'kantipur

    No comments:

    Post a Comment