• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 12, 2009

    साँचो यही हो- हामी पलायन भएकै हौं

    गिरीश पोखरेल/ वासिंङटन डीसी
    अझै पनि एकखाले नेपालीहरु भारतमा कोइलाखानी अनि जीवनसंघर्षका लागि भारतका अन्य ठाउँमा श्रम गर्न गइरहेकै छन् । तिनैमध्येका आफूलाई अलि हुनेखाने वर्गको ठान्नेहरु कामको खोजीमै मलायातिर लाग्थे, बेलायती सेना हुन्थे भारतीय सेना हुन्थे, वर्मातिर जान्थे तर तीमध्ये धेरै नेपाली नेपाल फर्केर मलायको लाहुरे, भारतीय लाहुरे अनि बेलायती लाहुरे भनेर चिनिन्थे। अनि भारतका आछामबाट नेपाल पुगेपछि आछामे भनेर चिनिन्थ्यो अनि वर्माबाट फर्के भने वर्मेली नेपाली भनेर चिनिन्थ्यो। कोही फर्कन्थे कोही भारतकै आछाम अनि भुटान त वर्मासम्म पनि घरजम गरेरै बस्थे। यो चलन वा बसाइसराइको चलन हिजो पनि थियो र आज पनि देशै छाडेर सदासदाका लागि आफू र आफ्नो सन्तानको भविष्यका लागि भन्दै कतिपय नेपालीहरु युरोप, अमेरिकातिर पलायन भएर घरवार नै उतै गरिरहेका छन्। यी नेपालीहरुका लागि नेपाल फर्कने कुरा सोध्यो भने खै सन्तान बढेपढेपछि त नेपाल नै फर्कनुपर्ला भन्छन्। तर होइन, सच्चाइ यही हो नेपालीहरु परदेशिने क्रम बढ्दो छ र यो क्रम भनेको पलायन नै हो।
    सायद हिजो तपाईका पुर्खा पनि अहिले तपाई बसेको ठाउँमा सिधै आएर बसेका थिएनन् कहीँ न कहीँ कतै न कतैबाट बसाई सराइ नै गरेर आएका हुन्। हिजो यातायातको सुविधा थिएन आफ्नै तवरबाट हिड्दै वर्दै बन्द व्यापार वा कुनै माध्यमका कारण विभिन्न ठाउँमा आफ्नो बस्ती बसाए। आखिर आजका नेपाली पनि नयाँ काम र आफूलाई सहज रुपमा जीवन व्यतित गर्ने क्रममा युरोप अमेरिका, अस्ट्रेलिया लगायतका विभिन्न ठाउँमा पुगेका छन्। जो आफ्नो परिवार सहित पुगेका छन् तिनीहरु उतै भासिएकै हुन्। जो आफू एक्लै पुगेको छ त्यसले पनि आफ्ना सन्तान वा परिवार कसरी आफू बसेको ठाउँमा बोलाउने भन्ने घनचक्करमा परिरहेको छ। जो जुन ठाउँमा कामकै लागि मात्र पुगेको छ हो, त्यो सायद नेपाल फर्कला। तर पनि सकेसम्म त्यसको उद्देश्य पनि कामकै सिलसिला बनाएर अन्यत्र देशमा आफूलाई स्थायी रुपमा बसाउन पाए हुन्थ्यो भन्ने सोचाइमै बसेको यो परदेशिएका नेपालीहरुको यथार्थ हो।
    उमेरको आफ्नो आधा भन्दा बढी जोवन नेपालमा बिताएर जो परदेशतिर भासिने क्रममा छ त्यसलाई नेपालकै चिन्ता छ। त्यही कारण परदेशमा बसेका नेपालीहरु पनि नेपालको राजनीतिक खिचातानीमा प्रत्यक्ष रुपमा संलग्न हुन चाहन्छन्। तर, यो उनका लागि बेकार हो उनीहरु अब परदेशिइसकेका छन् तिनको नेपालको समग्र राजनीति र नेपालका नेताहरुको माया भन्दा नेपालकै मात्र माया गरे हुने हो। तर त्यो उनीहरुमा लागू हुनसक्दैन किनकि ती प्राणीहरु हिजो आफ्नो जोवनको अधिकांश समय त्यस्तै राजनीतिक खिचातानीमा परेर स्वाद लिएर बसेका भएकाले तिनलाई परदेशमा वर्षौं बिताउँदा पनि आफूलाई कोही फलानो कांग्रेस ठान्छ कोही ढिस्कानु कांग्रेस त कोही कम्युनिस्टहरुको साख्खै नातेदार नै भइटोपल्छ। उसलाई अमेरिका र युरोपको राजनीतिमा फँस्न कठिन छ। अनि त्यसैले उसले आफ्नो वर्चश्व राख्नका लागि उही नेपाली फोहोरी राजनीतिको परदेशमा समेत हिलो छ्यापाछाप गर्छ।
    आखिर यी परदेशिएका जो जति नेपाली छन्, तिनी अमेरिका छन् भने अमेरिकैमा जीउनका लागि परिश्रम गरिरहेका छन्। त्यसैगरी क्यानाडा, अस्ट्रेलिया, बेलायत, जर्मन, बेल्जियम जो जता छन् तिनीहरु त्यहीं बिलाउने घनचक्करमै छन्। त्यही पनि तिनलाई नेपालको राजनीतिले प्रत्यक्ष प्रभाव पार्न भने छाडेको छैन। यो अवस्था हराएर जान निक्कै कठिन छ। किनकि दिनदिनै नेपालीहरुको परदेशिने क्रम जारी छ। त्यो क्रमका कारण हिजो सक्रिय रुपमा राजनीतिक खिचातानीमा लाग्नेहरु विस्तारै हराउँदै गए पनि आज आउने नयाँ पिढींलाई त्यो घृणित राजनीतिले छुन्छ। अनि त्यही भएर कोही सुशील कोइराला आउँदा फूलमाला पहिर्‍याउँदै त्यसलाई आफ्नै राजनेता ठान्छ अर्को गोपालमान श्रेष्ठ आउँदा अविर दल्दै आफ्ने नेता सम्झन्छ अनि अर्को पक्ष कम्युनिस्ट नेताहरु आउँदा आफ्नै बन्धुबान्धव आएजस्तो सत्कारका लागि अगाडि सर्छन्। कोठे बैठक गर्न नेपालकै जस्तो पछि पर्दैनन्।
    आखिर यी सबै नेता परदेशमा बस्ने नेपालीहरु त्यसमा पनि अमेरिका, युरोप र अस्ट्रेलियामा बस्नेहरुका लागि केही पनि होइनन्। एउटा नेपाली पात्रका रुपमा यिनलाई हेर्नुपर्ने हो। तर त्यो हुन सकेको छैन। तिनका अघिपछि कसले धेरै ह्विस्की र जीन ख्वाउने अनि कसले सेवा सत्कार गर्ने भन्नेमा समेत हानाथाप पर्छ। त्यो नेताका लागि त फाइदाजनक नै छ। तर ती नेताहरुलाई परदेशमा बस्ने नेपालीहरुका गाथाकथा सुन्न फुर्सद हुन्न। ती नेताहरु सयर गर्छन् नेपाल फर्कन्छन् अनि नेपालकै घनचक्करमा लाग्छन्। यिनलाई परदेशमा रहेका नेपालीको कुरा सुन्ने के फुर्सद छ र ? नेपालभित्रकै नेपालीको समस्या डंगुर छ। सुकिला मुकिला परदेशमा आफ्नो स्वार्थका लागि पलायन भएका नेपालीहरुका आआफ्नै सुविधाका कुरा छन् तिनका कुरा सुन्ने फुर्सद कसैलाई छैन।
    यसैले नेपालबाट आउने नेता अभिनेताहरुमध्ये कसैलाई गाली गर्ने कसैलाई काखी च्याप्ने भन्दा पनि सबै नेपालमा बसेर नेपालको हितका लागि केही गर्न खोजेका नेता छन् भने तिनीहरु तपाईँ हामीभन्दा एक कदम अगाडि नै छन्। उनीहरुले नेपालमै बसेर कमसेकम नेता भएका छन् । काम गर्न नसके पनि देश र जनताका लागि काम गर्छु भन्दै कसम खान त छाडेका छैनन्। हामीजस्तो चटक्कै देशमा बस्न सकिएन भन्दै देशै छाडेर हिँडेका त छैनन्। जे गर्दैछन् तिनले गरेका राम्रा काम भए तिनको समर्थन गरौं नराम्रो काम भए तिनलाई खबरदारीसम्म गरौं । तर ती नेताका भाषण तपाईँ हामीले सुन्नुको कुनै औचित्य छैन। तिनलाई खाली हामी नेपाली एकत्रित भएर बसेका छौं, नेपालीहरु आज विदेशमा पनि बढ्दो संख्यामा छन् है भन्ने सन्देशसम्ममात्र दिने हो।
    यो लेख सबैलाई नपच्ला। तर पचेन भने पनि गालीगलौजमा उत्रनु भन्दा सोच सकारात्मक राख्नुहोला। आजलाई यति नै।my sansar

    No comments:

    Post a Comment