Sunday, July 12, 2009

मैले देखेको अमेरिका-


शशांक लामा
राजनीतिका अप्ठ्यारा, घुमाउरा, भेउ पाउन नसकिने रकमी र झेली कुराहरुलाई एकातिर पन्छाएर आज म नेपाली पाठकसामु संयुक्त राज्य अमेरिकी शिक्षण प्रणालीबारे केही भन्न आफ्नो नागरिक दायित्व ठान्दछु। “प्रत्येक ब्यक्तिलाई आफ्नो योग्यता अनुसार र प्रत्येकलाई आफ्नो श्रम अनुसार” भन्ने सिद्धान्त पूँजिवादी नभएर साम्यवादी भएपनि पूँजिवादी देश अमेरिकामा यही सिद्धान्त जनजीवनमा लागू भएको छ भन्दा साम्यवादका हिमायतीहरुले ममा मार्क्सवादको अल्पज्ञान रहेछ भनेर प्याच्च भन्ला। तर समाज विकासको उपल्लो खुडकिलो कहलिएको तथाकथित साम्यवादी मुलुकहरुमा यो सिद्धान्त ब्यवहारमा नआउनु, तर एक तहमुनिको पूँजिवादी मुलुकहरुमा यो कार्यान्वयनमा आउनुले पूँजिवादको चरम विकासबिना समाजवाद र साम्यवादको प्राप्ति हुँदैन रहेछ भन्ने कुरा प्रमाणित गर्दैन र? त्यसैले म त भन्छु- आफूलाई समाजवादी मुलुक भन्नेहरुभन्दा अमेरिका समाजवाद, साम्यवादतर्फ बढी उन्मुख छ। यसो भन्दा गगनचुम्बी महलहरुमा यसोआरामले बस्ने यहुदीहरु र साना साना झुपडी समान घरमा बस्ने दक्षिण अमेरिकाली,एशियाली,अफ्रिकेली मुलका अमेरिकामा स्थायी बसोबास गर्नेहरु समान छन् भन्न खोजेको होइन। किनकी यहाँ पूँजिवाद छ। तर असमानताभित्र रहेर समानताको प्रराम्भिक जग बसाउन खोजिएको प्रशस्त प्रमाणहरु भेट्टाउन सकिन्छ। उदाहरणको लागि शैक्षिक क्षेत्रको प्रकृयालाई नै लिउँ: संयुक्त राज्य अमेरिकामा नानीहरुलाई स्कूल भर्ना गर्दा केवल तीन कुरा सोधिन्छ- नाम, जन्ममिति र ठेगाना। जाति,लिङ्ग,धर्म, सम्प्रदाय आदिको नाममा भेदभाव हुनेछैन भनेर दरखास्त फाराममा प्रष्ट लेखिएको हुन्छ। तर कुन महादेशबाट आएको भन्ने कुरा चाहीँ उल्लेख गर्नु पर्दछ। तीनपुस्ते नाम चाहिँदैन। नानीहरुको हकमा वैधानिक वा अवैधानिक (अध्यागमनसँग सम्बन्धित) के हो भनेर सोधनी हुँदैन। स्कुलेहरुलाई निशुल्क बस र रेल सेवा, निशुल्क पाठ्य पुस्तक र निशुल्क दिउँसोको खाना उपलब्ध हुन्छ। के पुँजिवादमा यस्तो सम्भव छ र ? भनेर तथाकथित साम्यवादीहरुले शंका प्रकट गर्न सक्दछन्। यो बिल्कुलै सम्भव छ र मेरी छोरीले यि सुविधाहरु उपभोग गर्दैछिन्।
अमेरिकी स्कुललाई तीन तहमा छुट्याइएको हुन्छ: प्रराम्भिक (१ देखी ५ कक्षा), माध्यामिक (६ देखी ८) र हाइस्कुल (९ देखी १२)। संयुक्त राज्य अमेरिकामा राज्यै पिछे अलग अलग नियम कानुनहरु हुनेहुँदा सबैतिर यस्तो नहुन पनि सक्छ। अहिले मैले चर्चा गरेको चाँही न्यूयोर्क राज्यको न्यूयोर्क शहरको हो। प्रारम्भिक स्कुल सिध्याएपछि स्कुलबाट दीक्षान्त समारोहको आयोजना गरिन्छ,जस्मा पाँच जना उत्तिर्ण गरेका फुच्चाफुच्चीहरु कलेज कै विद्यार्थी सरह कालो गाउन, कालो थेप्चे टोपी र प्रमाणपत्र मुठ्याएर तस्बिर खिचिरहेका हुन्छन्। ८ र १२ कक्षाका दीक्षान्त समारोहहरु त झन भब्य हुने भैहाल्यो। धेरैजसो ठाउँमा यी तिनै तहका स्कुलहरु छुट्टा छुटटै भवनमा हुन्छन्। कुनै कुनै ठाउँ,चार्टर स्कुलहरुमा चाँहीँ १ देखी १२ सम्म एउटै भवनमा हुन्छ।
Elementry स्कुल सकेपछि आफ्नो नानीलाई कुन Middle स्कुलमा भर्ना गर्ने र Middle सकेपछि कुन हाइस्कुल रोज्ने भन्ने कुराले अभिभावकहरुलाई चिन्ताले सताउँछ। झन उच्च शिक्षा हासिल गर्न र राम्रो विश्वविधालय र कलेज पाउनु त फलामको च्युरा चपाउनु बराबर हो। राज्यबाट सबै स्कुलले बिद्यार्थी संख्या अनुसार समानरुपमा बजेट प्राप्त गरेपनि स्कुलको आन्तरिक ब्यवस्थापन र शिक्षकहरुको कार्यदक्षता आदि बिभिन्न कारणहरुले गर्दा सबै तहका स्कुलहरुलाई शैक्षिक मापदण्ड अनुसार वर्गिकरण गरिएको हुन्छ। तसर्थ अभिभावकहरु घरजग्गा खोजे जस्तो राम्रो स्कुलहरु खोजिरहेको पाउँछौँ, आफ्नो डेराडण्डा पनि राम्रो स्कुलहरुकै छेउछाउमा मिलाउँछन। नानीहरु सात कक्षामा पुगेपछि specialized स्कुलको लागि Board of education बाट दरखास्त आह्वान गरिन्छ र ती विशेष स्कुलमा भर्नाको लागि अति प्रतिस्पर्धात्मक प्रवेश जाँच लिइन्छ र विधार्थीको प्राप्तांक हेरी स्कुलको स्तर अनुसार भर्ना लिइन्छ। मैले अहिले वर्णन गरेको ठाउँ न्यूयोर्क शहरको हो र म पब्लिक स्कुलको वर्णन गर्दैछु।
यस शहरमा प्राइभेट स्कुलहरु पनि ब्रगेल्ती छन्, तर यि स्कुलहरुमा साधारण नेपालीको त कुरै छोडौँ, मै हुँ भन्ने धनाढ्य नेपालीलाई पनि हम्मे हम्मे पर्छ। तसर्थ नजाने गाउँको बाटै नसोधौँ भने झैँ यसबारे चियोचर्चो नै गरिएन। प्राइभेट स्कुलमा पढदैमा ज्ञानी होइन्छ भन्ने पनि होइन, अंगुर अमिलो भन्न खोजेको पनि होइन। गोरखाको धुले लुइँटेल स्कुलका विधार्थी बाबुराम भट्टराईले प्राइभेट स्कुलै नपढी नेपाल थर्काए।
कतिले ठान्ला, यो specialized स्कुलको नाटक गगनचुम्बी महलहरुमा बस्ने धनाढयहरुले गरीबहरुलाई आँखामा छारो हाल्न रचेको होला,आखिर त धनीकै छोराछोरी नै त्यहाँ दाखिला हुन्छ भनेर शंका,उपशंका हुनु स्वभाविकै हो। तर त्यस्तो पटक्कै नहुँदो रहेछ। त्यसको जिउँदो साछी म छु र मेरी छोरी न्युयोर्क शहरको दोश्रो सबभन्दा राम्रो स्कुल Bronx Science High School मा अध्ययनरत छिन्। यसको लागि मैले सिनेटरको अफिस धाउनु परेन, कंग्रेसम्यानलाई चाकरी गरिन, न्युयोर्कको मेयरलाई खुशामद गर्नु परेन र Board of Education का कर्मचारीलाई चन्दा(घूस) पनि दिइँन। कसैलाई ढोग्नु परेन र सित्तै भयो। छोरीको लगन र परिश्रम थियो र बिधिको शासन अन्तर्गत यो सम्भव हुँदो रहेछ। त्यसै भनेको होइन रहेछ यो मुलुकलाई- Land of opportunity।
साम्यवादी मुलुकहरुमा जेहेन्दार विधार्थिको लागि specialized school को परिकल्पना गरिएको छैन, यदी गुपचुप रुपमा रहेछ भनेपनि पोलिटब्युरो सदस्यका छोराछोरिहरुले मात्र अवसर प्राप्त गर्छन्। सर्वहाराले त सुँघ्न पनि पाउँदैन। पूँजिवादी देशमा बसेर् साम्यवादलाइ गाली गर्नु कुन अनौठो कुरो भयो र भन्नु होला,तर अध्ययनको शिलशिलामा मलाई पुर्व सोभियत संघमा लामो समयसम्म बस्ने अवसर मिलेको थियो र म त्यहीँ हुँदा पनि त्यसबेलाका बिक्रितीहरुको बिरोध गर्थें। साम्यवादका पनि सुन्दर पक्षहरु छन्, तर ती नारा र सिद्धान्तमा मात्र सिमित रहे,जीवनमा प्रभावकारी रुपमा रुपान्तरण हुन सकेन। अमेरिकी शिक्षण प्रणालिबारे कुरा गर्दा गर्दै म त साम्यवादको लेखाजोखा पो गर्न पुगेछु।
अमेरिकी शिक्षण प्रणाली विश्वकै सर्वोत्तम चाहिँ होइन। हालै गरिएको सर्वेक्षण अनुसार फिनल्याण्ड, दक्षिण कोरिया, जर्मनी आदि देशहरु शिक्षाक्षेत्रमा अग्रपंक्तिमा छन् भने संयुक्त राज्य अमेरिका १५ औँ स्थानमा छ। प्राथमिक तहको y स्कुलको पढाई फितलो भएको कुरा थुप्रै अभिभावकहरुबाट सुन्न पाइन्छ। पाठकहरुलाई एउटा जानकारी गराउँ- अमेरिकामै हुर्केर पढेकाहरु बोल्न फरासिला, हँसिला र बोलक्कड हुन्छन्, तर लेख्ने मामिलामा कमजोर र अशुद्ध वाक्य लेख्छन्, अक्षर चाहिँ कागले छेरेको जस्तै हुन्छ।
स्कुल निशुल्क भएपनि कलेज र विश्वविधालयहरु सशुल्क छन्। प्राय:जसो कलेज र विश्वविधालयलाई पनि स्कुल नै भन्ने चलन छ। प्रतिष्ठित उच्च विधालयहरु: हार्वड, येल, कोलम्बिया, प्रिन्स्टन, NYU आदिहरुको वार्षिक शुल्क नै $ ५०००० भन्दा माथि हुन्छ। धनीले त पैसा तिरेर नै पढला! तर निम्न आय भएका गरीब जेहेन्दार बिद्यार्थीहरुले त्यस्तो बिधालयमा अध्ययन गर्न चाहे उसको शैक्षिक योग्यता हेरी विधालयले छात्रब्रिती दिन सक्छ र सरकारले पढाईको लागि ऋण प्रवाह गर्छ र त्यस्तो ऋण विधार्थिले पढाई सकी काम गर्न थालेपछि बिस्तारै किस्ताबन्दी रुपमा बुझाउँछन्। पूँजिवादभित्र रहेका थुप्रै असमानताका बाबजुद समानताका लागि गरिएका यस्ताखाले प्रयत्नहरुलाई जश दिन जान्नु पर्दछ। “वाद” जस्तोसुकै होस,त्यसका सुन्दर पक्षहरुलाई सबैले अंगाल्नु पर्छ, प्रशंसा गर्नुपर्छ र जीवनपयोगी बनाउनु पर्छ। यो त भयो अमेरिकाको एउटा सानो पाटो, अर्को पाटो लिएर अर्को चोटि भेटौँला। आजलाई यति। my sansar

No comments:

Post a Comment