• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 11, 2009

    माओवादी शिविरमा सकस

    किरण पुन, काठमाडौं, असार २७- अस्थायी शिविरमा बस्दैआएका माओवादी लडाकु पाल र टहरा मर्मतमा ब्यस्त छन्। गत चैत र जैठमा उडाइएका टहरा र पाल टाल्दै बर्खामासमा आउने झरी र हुरीसँग जुध्न उनीहरुले मर्मत थालेका हुन्। ६३ सालमा लडाकुले ६ महिनाका लागि कामचलाउ घरका रुपमा बाँसका टहरा बनाएका थिए। त्यसपछि सरकारी तहबाट नयाँ घर बनेको छैन। त्यसो त उनीहरुले मासिक तलब र रासनभत्ता कटाएर शिविरमा केही पक्की घर बनाएको बनाएका छन्।
    कतिपय लडाकु त पालमुनि बस्दै आएका छन्। शिविरमा पाल र टहरा बराबर छन्। हरेक वर्ष झरी र हुरीमा समस्या दोहोरिए पनि स्थायी समाधान खोजिएको छैन।
    '६महिना-वर्ष दिनका लागि बाँसका टहरा बनाइए। तीन वर्ष हुन लाग्यो तर नयाँ बनाइएको छैन'- तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्की मगरले भने 'सबै जीर्ण छन्। सरकारी तहबाट मर्मतको पनि कुनै पहल भएको छैन।'
    माओवादी नेतृत्वमा रहेको यसअघिको सरकारको पालामा शिविर सुधारका लागि रकम माग गरेको र प्रक्रिया सुरु भएको थियो तर बीचमै सरकार फेरिएपछि प्रक्रिया रोकिएको उनीहरुको भनाइ छ।'चौथो डिभिजन कमान्डर तेजबहादुर ओलीका अनुसार एउटा शिविरको सामान्य मर्मतका लागि कम्तीमा १ करोड रुपैयाँ चाहिन्छ।
    'एक साताअघि आएको पानी र हुरीले ६७ टहरा उडायो। छानोमाथि प्लास्टिक खर र पाल गाँसेर कतै टिनका थोत्रा पाता गाँसेर आफैंले हल्का मर्मत गरेका छौं'- सातौं डिभिजन कार्यवाहक कमान्डर जीवनले भने- 'हाम्रो त बिजोग छ।'
    कैलालीस्थित सातौ डिभिजनमा गत जेठमा हावाले रुख ढाल्दा १४ जना घाइते भएका थिए। दुई वर्षअघि पनि रुख ढल्दा दुई जना मारिएका थिए भनै दुई दर्जनभन्दा बढी घाइते भएका थिए।
    मर्मतसम्भारका लागि सरकारी सहयोग नभएको र आन्तरिक बजेटले नपुग्ने भएकाले समस्या उल्झिएको उनको भनाइ छ। 'आन्तरिक बजेटले मर्मतसम्भार गर्ने स्थिति नै छैन'- उनले भने '६ लाखजति आयो रे भन्ने पनि सुन्यौं। फेरि असार मसान्तसम्म काम पूरा नगरे फ्रिज हुन्छ भन्ने पनि सुन्यौं।'
    यसबाट लिस्नेगाम स्मृति बिग्रेड बडाइपुर सबभन्दा प्रभावित छ। त्यसपछि मुख्यालय रहेको तालबन्द चिसापानीमा रहेको लोकेश स्मृति ब्रिगेड सहजपुरमा रहेको बहुवीर स्मृति ब्रिगेड पनि पानी र हुरीले प्रभावित भएको जीवनले बताए।
    वर्षाले बाढी सुरु भई जमिनमा पानी जम्मा हुन थालेपछि सर्पको प्रकोप अत्यधिक बढेको बताए। झाडापखालाले लडाकु आमा र बालबालिका प्रभावित भएका छन्। रोल्पाको दहबनमा रहेको पाँचौं डिभिजन मुख्यालयमा अहिलेसम्म हुरी र झरीले प्रभावित नपारे पनि दाङको संक्राममा रहेको सहायक शिविरमा भने गत जेठ अन्तिम साता आएको हुरीले झन्डै २१ टहरा उडाएको छ। घाइते बस्दैआएको घर भने जगदेखि नै भत्काएको छ। डिभिजन सहकमान्डर रामलाल रोकामगरका अनुसार सम्भावित खतरा टार्न मुख्यालय दहवन टिला र उँगामा पनि मर्मत थालिएको छ। 'सबैजसो पाल र टहरा छन्। तलबाट सिम आउँछ। चिसोले सुत्न नै सिकँदैन। झरी नै परे त झन् के कुरा' उनले भने ।
    सुर्खेतमा रहेको छैठौं डिभिजनमा पनि मर्मत कार्य थालिएको छ। गत चैतमा हुरीले दर्जनौं टहरा र पाल उडाएको थियो। डिभिजन सहकमान्डर विवेकका अनुसार डिभिजन मुख्यालय दशरथपुर र लेकफसारको अस्थायी शिविर प्रभावित छन्।'आफ्नै हिसाबले मर्मत गर्दैछौं यसरी गरेको मर्मतलै के धान्ला र बर्खा तैपनि त्यसै बस्न त भएनु उनले भने।
    चौथो डिभिजन कमान्डर तेजबहादुर ओलीले गत जेठको अन्तिम सातातिर हावाले उडाएका पाल र टिनका छाना मिलाउने काम गरिरहेको बताए। 'बर्खामा बस्न सक्ने स्थिति छैन'- उनले भने 'जेनतेन टार्नै पर्यों। रासनभत्ता कटाएर मर्मत गरिरहेका छौं।'- उनले भने।झरीले शिविर जाने बाटो एक सातायता बन्द छ। नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथौ डिभिजन मुख्यालय जाने बाटो अरुण खोलाले कटान गरेपछि बन्द छ। 'राजमार्गबाट शिविरमा जाने बाटो कटान गरेर एक सातायता बन्द छ। डोजर लगाइरहेको छ। कहिले खुल्छ थाहा छैन'- उनले भने।
    इलामकॊ चुलाचुलीमा मुख्यालय रहेको पहिलो डिभिजनका कमान्डर यमबहादुर अधिकारीले धराननजिकै रहेको याङसिला गेड इलामकै दानाबारी र मोरङको टाँडीमा रहेका सबै शिविरमा समस्या रहेको बताए। उनका अनुसार याङशिला र दानाबारीमा आवासको सबैभन्दा बढ्ता समस्या छ।
    'बाँसका कच्ची घरभित्र पानी पसेर हैरान छु कमान्डर अधिकारीले भने 'शिविर व्यवस्थापन कार्यालयमा निवेदन हालेका छौं।' उनले सम्भावित समस्या टार्न ऋण लिएर मर्मत थालेको बताए। उनले ७५ भन्दा बढी घर मर्मत गर्नुपर्ने बताए।
    देशका विभिन्न भागमा सात मुख्य र २१ सहायक शिविरमा प्रमाणीकृत १९ हजार ६ सय २ लडाकु बस्दै आएका छन्।

    No comments:

    Post a Comment