• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 29, 2009

    अमेरिकामा नेपाली कुची

    दीपक अधिकारी
    काठमाडौं, अमेरिकाको युनिभर्सिटी अफ टेक्सासमा ललितकला स्नातक पढिरहेका हेटौंडाका युवा अनुप भण्डारीले जब पूर्वी टेक्सासका ७ कलाकारहरूको कला प्रदर्शनीमा आफू पनि छानिएको खबर पाए, एकछिन त उनलाई पत्यारै लागेन ।
    'यो एकदमै ठूलो प्रदर्शनी हो र म यसमा छानिएको कुरा पत्याउन अझै मलाई हम्महम्मे पर्छ,' कान्तिपुरसँगको ई-कुराकानीमा उनले भने । टेक्सासको लङ भ्यु म्युजियम अफ फाइन आर्टस्मा साउन ३ गतेेदेखि भदौ १३ गतेसम्म चल्ने प्रदर्शनीमा उनका १७ पेन्टिङ छन् । उद्घाटनमा आएका मान्छेको भीड देखेर र आफ्ना पेन्टिङप्रतिको प्रतिक्रिया सुनेर अनुप हौसिए । 'ख्यातिप्राप्त कलाकारसँग प्रदर्शनीमा भाग लिन पाउनु अहोभाग्य हो,' २९ वर्षे अनुपले भने ।
    के हो त अनुपको कथा ? हाल टेक्सासको किल्गोरमा श्रीमती आस्था तुलाधरका साथ बसेका अनुपले ४ वर्षअघि दिवंगत आफ्ना बुबा अच्युतलाई मुख्य श्रेय दिन्छन् । 'सानैदेखि कलातर्फ आकषिर्त भएँ,' काठमाडौंको बूढानीलकण्ठ स्कुल पढेका उनी भन्छन्, 'तर म राम्रा चित्र बनाउन जान्दिनथें । बुबाले चित्रहरू किनेर ल्याइदिनुहुन्थ्यो ।' यतिखेर उनी कल्पनामात्र गर्न सक्छन्, उनको सफलताबाट बुबा कति खुसी हुने थिए भनेर । 'उहाँ हुनुभएको भए सायद गौरवान्वित हुनुहुन्थ्यो होला,' अनुप भन्छन् ।
    दुई वर्षअघि उनले नेपालमै कला प्रदर्शनी गरेका थिए । लाजिम्पाटको एक आर्ट ग्यालरीमा भएको 'डि्रम्स इन् द डार्कनेस' शीर्षक प्रदर्शनीका लागि उनले अमेरिकाबाट पेन्टिङ ल्याएका थिए । पेन्टिङबाट उठेको पैसा च्यारिटीमा दिने गरेको अनुप बताउँछन् । 'अरूलाई सहयोग गर्दा आनन्द आउँछ,' उनी भन्छन् । शान्ति स्कुल प्रोजेक्ट र ब्राइट फ्युचरजस्ता बालबालिकालाई स्कुल जान सहयोग गर्ने सामाजिक संस्थालाई आफ्ना पेन्टिङ बिक्रीबाट आएको पैसा उनले दिएका रहेछन् ।
    भ्यान गग र ज्याक्सन पोलोकजस्ता कलाकार रुचाउने अनुप नेपालमा नयाँ शिल्पी र प्रवृत्तिका कलाकारको उदय भएकोमा औधी खुसी छन् । 'नेपालमा कलाकारितालाई प्रवर्द्धन गर्नुपर्छ,' आगामी वर्षदेखि युनिभर्सिटी अफ टेक्सासमै स्नातकोत्तर पढ्ने सोच बनाएका उनी भन्छन् ।
    पेन्टिङलाई संवादको माध्यम मान्ने अनुप असाध्यै छिटो चित्र कोर्दारहेछन् । आफू नेपाली भएकाले चम्किलो रङको प्रयोग बढी हुने उनी बताउँछन् ।
    अनुपले एक समय यति धेरै पेन्टिङ बनाएका थिए कि उनको अपार्टमेन्ट नै त्यसले भरिएको थियो । 'मेरो सिलिङ, बाथरुम, किचन सबैतिर पेन्टिङले भरेको थिएँ,' उनले सम्भिmए । त्यतिखेर एक स्थानीय दैनिक र टेलिभिजन च्यानलले उनको कोठैमा आएर त्यसबारे समाचार बनाएका थिए रे । तर अब सायद ती पेन्टिङलाई उनले कोठामा असरल्ल छाड्न नपर्ला कि ?

    No comments:

    Post a Comment