• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 19, 2009

    नेपाली पैसा नचल्ने गाउँहरू

    दुर्गालाल केसी

    दाङ, कामको सिलसिलामा दाङको बेला-३ सुकौली पुगेका घोराहीका अजय शर्माले त्यहाँको पसलमा किराना सामान किनेर पैसा दिन खोजे ।

    पसले विजय विकले ती सामानको मोल भारतीय रुपैयाँमा सुनाए । भारुलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेर दिँदा उनले लिन मानेनन् । नेपाली रुपैयाँ मात्रै बोकेका शर्मा संकटमा परे ।

    'नेपाली भूमि भए पनि त्यहाँ भारतीय रुपैयाँको मात्रै कारोबार हुने पछि मात्र थाहा भयो,' शर्माले भने, 'आफू नेपाली भूमिमा छु कि भारतमा भनेर अन्योलमा परें ।'

    सुकौली मात्रै होइन, जिल्लाको सीमा क्षेत्रका २२ वटै गाउँको समस्या यही छ । सीमा क्षेत्रमा नेपाली बजार नहुँदा भारतीय बजारकै भर पर्नुपर्ने भएकाले यहाँका गाउँहरूमा पनि भारतीय रुपैयाँकै कारोबार गर्नुपर्ने बाध्यता छ । 'खाना पकाउने बेलामा सलाई भेटिएन भने पनि दौडेर भारत पुग्नुपर्छ ।

    नेपालमा हाम्रो बजारै छैन,' सुकौलीका विजय विकले भने, 'भारतले नेपाली पैसा चलाउँदैन । नेपाली पैसा हामीलाई कामै छैन ?'

    जिल्ला सदरमुकाम घोराहीबाट एकदेखि दुई दिनसम्मको पैदल दूरीमा रहेका सीमा क्षेत्रका गाउँहरू जिल्लाको सम्पर्कबाट बाहिर छन् । त्यहाँ नेपालका तर्फबाट फोन, यातायात, स्वास्थ्य उपचार लगायतका कुनै पनि सुविधा उपलब्ध नभएकाले सीमाबासीको नेपालसँगको सम्पर्कविच्छेद छ । सानो समस्या पर्‍यो भने भारततिरै जानुपर्ने बाध्यता छ ।

    नुनतेल, चामल, औषधिलगायतका दैनिक उपभोग्य वस्तु लिन भारतमा जानुपर्ने भएकाले सकी नसकी दिनदिनै भारतीय रुपैयाँ जुटाउनुपर्ने बाध्यता रहेको सीमावासीको भनाइ छ । आयस्रोतको मुख्य माध्यम चौपाया भएका सीमावासीलाई आफ्नो उत्पादन नेपालीसँग बिक्री गर्दासमेत भारतीय रुपैयाँ नै माग्नुपर्ने बाध्यता छ । 'पहिलोपटक आउनेहरू भारतीय रुपैयाँ नलिई आउँछन् ।

    त्यस्तो बेला नेपाली लिएर फेरि भारतीय नोटसँग साट्न निकै दौडधुप गर्नुपर्छ,' राजपुर ७ खङग्राकी जुनसरी घर्तीले भनिन्, 'यो ठाउँ नेपाल भन्ने मात्रै हो । सबै काम भारतकै हुन्छ । भारतीय सशस्त्र सीमा बलका जवानसमेत हामीले तिमीहरूको सुरक्षा गरेका छौं भनेर खसी कुखुरा माग्न आउँछन् ।'

    सीमा क्षेत्रमा भारतीय मोबाइल टावरले काम गर्ने भएकाले फोन गर्न चाहनेले भारतीय सिम बोक्नुपर्छ । 'आफ्नै जिल्लामा फोन गर्न पनि अन्तर्राष्ट्रिय कल गर्नुपर्छ,' बेला-३ बरवाका लक्ष्मण केसीले भने । मोबाइलको पैसा सकिए रिचार्ज कार्ड किन्न भारतमै जानुपर्छ । जे गर्दा पनि भारतीय रुपैयाँकै आवश्यकता पर्छ । नेपाली रुपैयाँको यहाँ केही काम छैन ।'

    सीमा क्षेत्रमा स्वास्थ्य चौकी नभएकाले नियमित खोप लगाउन र औषधि उपचारका लागिसमेत भारतमै जानुपर्छ । भारतीय रुपैयाँको जोहो नभए एक्कासि बिरामी पर्दा आपत पर्ने बेला ३ सिरियाकी लक्ष्मी बुढा बताउँछिन् । उनले भनिन्, 'कहिलेकहीं साथमा नेपाली रुपैयाँ मात्रै हुन्छ । एक्कासि घरमा कोही बिरामी पर्‍यो भने भारतीय रुपैयाँ साट्न दौडधुप

    हुन्छ । कहिले त बिरामीको हालत खराब भइसक्दा पनि पैसा साट्न पाइँदैन । भारतीय रुपैयाँ नभेटिए उपचारै गर्न सकिँदैन ।'

    नेपालमा भारतीय रुपैयाँको कारोबार भएजस्तै भारतमा पनि नेपाली रुपैयाँको कारोबार हुने व्यवस्था भए सहज हुने सीमावासीको भनाइ छ । सरकारले हामीलाई सबै सुविधा यहीँ उपलब्ध गराए भारतको भर पर्नुपर्ने थिएन,' स्थानीय एक महिलाले भनिन् ।

    जिल्लाका मुसी, खबरी, गुरुङ, सुकौली, सिरिया, पटौली, बरवा, बिसखबरी, कल्याणपुर, खङग्रा, अरबडवा, पैलवा, गौरिया, गन्धला, छेक्रिया, डगमारा, गम्भिरा, सुनपथ्री, सुगैया, भैसाही, खिरकी, भौवालगायतका नाकाहरूमा नेपाली रुपैयाँ नचल्ने समस्या छ । यी नाकाहरूमा करिब १ हजार २ सय परिवारका ६ हजारभन्दा बढी जनसंख्याको बसोबास छ ।

    No comments:

    Post a Comment