• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 19, 2009

    प्रधानमन्त्रीसँगै आयो नौ जना नेपालीको शव,


    दीपक भट्टराई/अर्जुन सुवेदी, काठमाडौं, साउन ४- पाँच दिने विदेश भ्रमण सकेर फर्केका प्रधानमन्त्री माधवकुमार नेपालसँगै शनिबार नौ जना नेपालीको शव पनि विमानस्थल उत्रियो। कतार एयरेजबाट उत्रिएपछि बिदेश भ्रमण सफल भएको बयान प्रधानमन्त्रीले पत्रकारमाझ दिइरहँदा कतारमा मरेका नेपालीका आफन्त जहाजबाट शव झार्न ब्यस्त थिए।

    भारत, पाकिस्तान, बंगलादेशका प्रधानमन्त्री र अन्य थुप्रै सरकार र राष्ट्रप्रमुखलाई भेटेर असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनबाट फर्केका प्रधानमन्त्री ओठमा मुस्कान छरेर पत्रकारमाझ पेस भइरकेका थिए भने वैदेशिक रोजगारमा गएर मरेकाको शव बुझ्नेका आँखा छचल्किरहेका थिए।

    त्रिभुवन विमानस्थलका अधिकारीहहरू दैनिक लगभग ७ सय नेपाली कामको खोजीमा बिदेश जाने र तीनवटा शव नेपाल र्फकने गरेको बताउँछन्। सरकारी तथ्यांकअनुसार गत सात वर्षमा कामका लागि बिदेशिनेको संख्या १२ लाख छ।

    प्रधानमन्त्रीलाई आफू चढेको बिमानमा नेपाली कामदारको शव रहेको थाहा थियो। उनले दोहास्थित नेपाली दूतावासमा ती कामदारप्रति श्रद्धाञ्जली व्यक्त गरेको उनीसँगै भ्रमणमा रहेका परराष्ट्र प्रवक्ता मदन भट्टराईले बताए।

    प्रधानमन्त्रीसँगै जहाजमा आएका मृतकका एक आफन्त गोविन्दबहादुर खम्चाहाले सरकारका तर्फबाट केही हुने आशामा घटना विवरण सुनाएका थिए। 'प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुभयो, केही राहतको आशा भने दिलाउनुभएन,' खम्चाहाले भने।

    राजधानी उत्रेर गरिएको पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्रीले यसबारे दुःखमात्र व्यक्त गरे। परराष्ट्र प्रवक्ता भट्टराईले भने मृतकहरूले कार्यरत कम्पनीबाटै प्रतिव्यक्ति ४० लाख रुपैयाँ बिमाबापत पाउने भएकाले सरकारका तर्फबाट तत्काल राहत घोषणा नभएको बताए।

    शनिबार नेपाल ल्याइएका शव कतारमा तीन साताअघि पानीजहाज दुर्घटनामा मरेकाको हो। मृतकहरू २० देखि ४० वर्षका छन्। रोल्पा जौलीपोखरी-८ का २० वषीय जयबहादुर पुन मगरसँगै महोत्तरी बगडा-६का ४० वषीय शेषनाथ यादवको शब राजधानी आइपुगेको छ। मगर ६ महिनाअघि बिहे गरेर फर्केका थिए। शनिबार पशुपति आर्यघाटमा मा ६ जनाको दाहसंस्कार हुँदा मगरको शव पनि जलिरहेको थियो। तर, रोल्पाबाट उनका बाबुआमा र श्रीमती शव बुझ्न आउन सकेनन्।

    आर्यघाटमा शनिबार मगरसँगै पर्वत कर्घा-३ का ऋषिप्रसाद शर्मा पौडेल, पाल्पा गौराकोट-१ का तिलकबहादुर खम्चाहा, बाग्लुङ छिस्ती-१ का लीलाराम पौडेल, अर्घाखाँची दिभर्ना-३ का मानसिंह खत्री र महोत्तरी सुगा भवानी-५ का राजीवकुमार दत्तको दाहसंस्कार भयो।

    बारा फेटा-८ का मेहदी हुसेन मियाँ र बाँके कठकुजा-१ का अब्बास अहमद सईको मुसलमान परम्पराअनुसार दाहसंस्कार गरिने भएकाले उनीहरूको शव आफन्तले बुझेर लगेका थिए।

    शवको पहिचान र आवश्यक प्रक्रिया पुरा हुन नसकेको भन्दै अन्य तीन जनाको शव आएको छैन। नवलपरासीका घनश्याम विष्ट, धादिङका गंगाबहादुर गुरुङ र दाङका शंकर बिष्टको शव आउन नसकेको हो। गत असार १५ बिहान युएईस्थित एचबिके पावर क्लिनिङ कम्पनीमा कार्यरत ती कामदारलाई लिएर दुबईबाट दोहा गइरहेको जहाज दुर्घटनामा परेको थियो जसमा १२ नेपालीसहित ३० जनाको मृत्यु भएको थियो।

    वैदेशिक रोजगारमा मर्नेहरूको संख्या वृद्धि भएसँगै सरकारले बैदेशिक रोजगार कल्याण कोषबाट मर्नेका आफन्तलाई एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

    राष्ट्र बैंकका अनुसार गत १० महिनामा बिदेश काममा गएकाहरूले १ खर्ब ६९ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन्। त्यसै आधारमा नेपालको अर्थतन्त्र टिकिरहेको विश्व बैंकको पछिल्लो प्रतिवेदनमा छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा १८ प्रतिशत योगदान वैदेशिक रोजगारको छ।

    शव ल्याउन घर बन्धकी

    अजित तिवारी, बेलबारी (मोरङ)- खाडीमा ज्यान गुमाएका नेपाली कामदारमध्ये सबैको शव स्वदेश आइपुग्दैन। कतिको त वर्षौंसम्म शवको मात्र पर्खाइ हुन्छ। मोरङको बेलवारी- ३ स्थित रमेश गिरीको शव ल्याउन उनको परिवारले आफू ओत लाग्ने एउटै घर पनि दुई लाख रूपैयामा बैंकमा बन्धकी राखेका छन्। तर घर बन्धकी राखेर झिकेको ऋण ११ महिनादेखि शव ल्याउन नेपालबाट हारगुहार गर्दैमा खर्च हुँदै गएको छ।

    परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, श्रम विभाग सबैतिर गुहारिसक्यौं, तर सबैले आश मात्र देखाए,' ११ महिनादेखि काठमाण्डौंमै बसेर लास ल्याउने प्रयासमा रहेका रमेशका भाइ विमल गिरीले फोनमा नागरिकसित भने।

    रमेशको शव साउदीअरबको दननअलसाथी अस्पतालमा छ। सउदीमा तीन वर्षसम्म शव बुझ्न कोही नआए मिल्काइदिने गरिन्छ। 'शव झिकाउन बैंकबाट झिकेको दुई लाख पनि सकिन लागिसक्यो,' विमलले भने।

    गाउँले साहूसँग ७० हजार रूपैयाँ ऋण लिएर ०६२ साल साउनमा ३१ वषिर्य रमेश स्काई ओभरसिजमार्फत सउदी अरब पुगेका थिए। म धेरै कमाउँछु, सबै ऋण तिर्छु, तिमीहरु चिन्ता नगर, सबैलाई खुशी पार्छु' रमेशसित अन्तिमपटक फोनमा भएको कुराकानी नागरिकलाई सुनाइरदा उनकी विधवा मीनाका आँखा रसाए।

    महिनैपिच्छे फोन आउँथियो, तर साहूको ऋण तिर्ने चिन्तामै बित्थ्यो हाम्रो कुराकानी' मीना भन्छिन्।

    मासिक सात सय ५० रियाल तलव हुने सहमतीमा सउदी पुगेका रमेशले पहिलो महिनाको तलब चारसय रियाल मात्र पाएका थिए।

    भनेअनुसारको पैसा दिएन, अब अर्कै कम्पनीमा जान्छु,' रमेशले मीनासित फोनमा सल्लाह गरेको केही समयपछि महिनाको १२ सय रियाल पाउने डेरी कारखानामा काम पाए। डेरी कारखानामा काम गर्न थालेपछि वर्षदिनमै लाख रुपियाँसम्म पठाउनु भो,' उनी भन्छिन्।

    ०६५ भदौ ४ गते दुध पुर्याउन जाने क्रममा डेरीको ट्रक दुर्घटना हुँदा रमेशको घटनास्थलमै मृत्यु भएको थियो।

    घटनापछि मीनामा मानसिक असर परेको छ। दिनभरि टौलाइरहन्छिन्, गाउँमा कोही अपरिचित व्यक्ति आए भने उफ्रिन्छिन्,' छिमेकी इन्द्र तामाङ भन्छिन्- रोजगारी गर्दै घरखर्च चलाइरहेका परिवारका एक्ला सदस्यको मृत्युपछि परिवारको बिचल्ली हुने नै भयो।'

    भोजपुरबाट मोरङको बेलवारीमा १९ घुर जग्गामा टिनको घर बनाई बसोवास गर्दै आएका राकेशका तीनटी छोरी क्रमशः १०, ६ र ४ वर्षका छन् जसको पढाइलेखाइमा व्यवधान आइसकेको छ।nagarik

    हामीहरू लाशको खेती गर्दैछौं

    - दीपक अर्याल

    कतारमा पानीजहाज दुर्घटनामा परि मरेका १२ जना नेपाली मध्ये ३ जनाको छाडेर अन्यको लाश नेपाल आइपुग्यो।२०-४० वर्ष उमेर समुहका यी युवाहरूको मरणले हामीलाई छुँदैन, देशलाई छुँदैन।गोरखाबाट मनाङ छिरेका ७ युवाहरूलाई लखेटी लखेटी मारिन्छ र गाडिन्छ तर हामीलाई छुँदैन, हामीलाई दुख्दैन।बच्चा अपहरण गर्न आएको बहानामा ३-३ जना युवालाई पिटेर मारिन्छ तर त्यसले पनि हाम्रो मनलाई विचलित बनाउँदैन।ख्याती श्रेष्ठलाई क्रुर तरिकाले मार्दा पनि हाम्रो शीर लाजले झुक्दैन, शर्मले पसीना पसीना हुँदैन।नेपाली संस्कृति, पहिचान, इतिहास, सहनशीलता, सहिष्णुता र राष्ट्रियताका ठूला-ठूला कुरा गर्ने हामीहरूलाई यस्ता घटनाले छुँदैन।यस्ता घटनाले संवेनशील बनाउँदैन।चर्चमा बम विस्फोटन गरेर वच्चा मार्नेहरूले पनि आफूलाई नेपाली भएकोमा गर्व गर्छन्, हिन्दू धर्म मानेकोमा गर्व गर्छन्।मस्जिदमा विष्फोट गरेर नेपाली मार्नेहरूले आफुलाई राष्ट्रको पहरेदार र सच्चा राष्ट्रवादी सम्झन्छन्।हामी वामीयानमा रहेका बुद्धका मुर्तिहरूको टाउको बमले उडाउने तालीवानीहरू भन्दा कहाँ नेर फरक छौं?हामी ट्रेनमा आगो लगाएर निर्दोषहरू मार्ने नरेन्द्र मोदीका चेलाहरू भन्दा कहाँ र कसरी फरक छौं?के हामीलाई यस्ता घटनाहरूपछि पनि नेपाली भएकोमा लाज लाग्दैन?
    कहिले इराक त कहिले कतार अनि कहिले कार्गिल र अफगानिस्तानमा नेपाली कामदार वा बीर गोर्खालीका नाममा मारिने नेपाली दाजुभाइहरू देख्दा स्वतन्त्र मुलुक भएकोमा धाक लगाउनेहरूलाई थुइक्क “तेरो स्वतन्त्रता” भन्न मन लाग्दैन?नेपाल भित्र घटेका विभत्स घटनाहरू देखेपछि पनि बुद्धका नाममा गर्व गर्ने र घमण्ड गर्ने हाम्रो शीर किन झुक्दैन?कतारमा मारिएका युवाहरू त कामका सिलसिलामा मारिएका हुन् उनीहरूलाई नेपालभित्र भएका घृणित कार्य र घटनासँग कुनै सरोकार रहने कुरा भएन तर, पराइको देशमा मजदुरी गर्ने क्रममा मारिएका हाम्रा युवाहरूलाई सम्झेर के हामीलाई लाज लाग्दैन?के हामीलाई हाम्रो विवशता र वाध्यताका कुराले पोल्दैन? फेरि किन झुठो शान लिएर “नेपाली” भएकोमा गर्व गर्दैछौं? फेरि के नेपाली राष्ट्रियता, स्वतन्त्रता, परम्परा र इतिहासका खोक्रा आदर्श बोकेर दुनियाँका अगाडि ठूलो हुन खोज्दैछौं। फेरि के को शान्तिप्रिय नेपाली, सहनशील नेपाली, स्वतन्त्र नेपाली भनेर धक्कु लगाउँदैछौं?

    वास्तवमै भन्ने हो भने, नेपालमा बस्ने हामीहरू या त मान्छे मारिरहेका छौं, या त मार्नेहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सघाइरहेका छौं।त्यसैले मलाई नेपाली हुनुमा गर्व हुन छाडेको छ, बरू एक हत्यारा बन्नु्मा गर्व हुन थालेको छ।कानूनी दाउपेच र पार्टीगत आस्थाका आधारमा समाजमा दादागिरी देखाउनमा मजा आउन थालेकोछ।मलाई क्याम्पस भित्रको टेन्डरका लागि गोली चलाउन र मान्छे मार्न अनि आफुलाई देशको शिक्षित नागरिक भन्नमा गर्व गर्न मन लागेको छ।मलाई जनता मारेर पनि पार्टीको केन्द्रीय सदस्यमा प्रमोशन हुने राजनीतिज्ञ वा चेलीलाई बलात्कार गरेपछि वा आफ्नै क्याम्पभित्र पचासौं मान्छेको हत्या गर्न सकेकोमा प्रमोशन पाउने सैनिक अधिकारी बन्ना मन लागेको छ।मलाई मेरो कुनै पनि इतिहासमा गर्व छैन, मलाई गौतम बुद्ध र शान्तिप्रति कुनै चाख छैन।मलाई मान्छे मार्न वा मान्छे मारिएको हेर्नमा मजा आउन थालेको छ।मलाई शान्ति, नैतिकता, सदाचार वा कानूनी व्यवस्थाप्रतिको आस्थामा प्रश्न गर्न मन लागेको छ।शंका गर्न मन लागेको छ।मलाई यस्तै भद्रगोल र लाशको खेती गर्ने देशको सच्चा नागरिक बन्न मन लागेको छ।मलाई हिंसा-हत्याको आदत भएको एक नेपाली बन्न मन लागेको छ र शायद बन्दैछु पनि।MY SANSAR
    deepakaryal@gmail.com

    No comments:

    Post a Comment