• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 19, 2009

    अपडेट छैनन् मुलुकका प्रमुख दलका वेबसाइट

    कुलचन्द्र न्यौपाने/गंगा बीसी

    काठमाडौं, मुलुकका प्रमुख दलहरू कति अद्यावधिक होलान् ? खोजिपस्दा उदेक लाग्छ र निराश होइन्छ जब यिनका आधिकारिक वेबसाइट 'लगअन' गरिन्छ ।

    सञ्चार सञ्जालमा पूरै विश्व सेकेन्ड/सेकेन्डमा अद्यावधिक भइरहेका बेला ठूला दलहरू माओवादी, कांग्रेस र एमालेका वेबसाइट महिनांैदेखि 'अपडेट' छैनन् तर पनि एमाले भने थोरै व्यवस्थित देखिएको छ । सशस्त्र द्वन्द्वकालमा युरोपबाटै सञ्चालन गरेर भए पनि माओवादीले आफ्नो वेबसाइटलाई प्रचारको भरपर्दो माध्यम बनाएको थियो । तर दल र नेताहरू सार्वजनिक भएपछि यो -सीपीएनएम डट ओआरजी) अलपत्रजस्तै छ ।

    प्रहरी हिरासतमा मारिएका माओवादी पत्रकार कृष्णसेन इच्छुकको नाममा सञ्चालन भएको अनलाइन समाचार सेवा अपडेट नगरेको पनि महिनौं भएको छ । उक्त आधिकारिक वेबसाइटमा

    पुरानै नाम नेकपा माओवादी राखिएको छ भने 'प्रचण्डपथ' पनि हटाइएको छैन जबकि पथप्रदर्शक सिद्धान्तबाट प्रचण्डपथ हटाइसकिएको छ भने पार्टीको नाम पनि एकीकृत नेकपा माओवादी भइसकेको छ । साइटमा अंग्रेजी, नेपाली गीत, भिडियो राखिए पनि ती प्रायः खुल्दैनन् । पार्टीका आधिकारिक पत्रिकाका वेबसाइट पनि खुल्दैनन् । विज्ञप्ति खण्डमा पनि असोज २०६१ अघि जारी भएका वक्तव्य मात्र छन् ।

    प्रवक्ता दीनानाथ शर्माले माओवादीले आफ्नो वेबसाइट अपडेट गर्न नसकेको स्वीकारे । पार्टी एकीकरणपछि नयाँ ढंगले वेबसाइट बनाउने सोच बनाए पनि प्राविधिक विषय मिलाउन बाँकी रहेको उनको तर्क छ ।

    कांग्रेसको वेबसाइट

    -नेपालीकांग्रेस डट ओआरजी) पनि गत माघदेखि अपडेट छैन । माघ ८ गते कांग्रेसका पूर्वमहामन्त्री श्रीभद्र शर्माको निधनको विज्ञप्ति नै अन्तिम अपडेट हो । पार्टीका गतिविधिलगायत केही जान्नुपरे फोनको सहारा लिनु वा पार्टी कार्यालय सानेपा धाउनुको विकल्प छैन ।

    'जमाना डब्लूडब्लूको हो तर दलहरू पछि परेका छन्,' कांग्रेस नेता एवं मन्त्री प्रकाशशरण महतले भने । उनले पार्टी एकतापछि कार्यविभाजन र जिम्मेवारी बाँडफाँड नभएकाले वेबसाइट व्यवस्थित हुन नसकेको बताए । 'जिम्मेबारी बाँडफाँड नहुँदा वेबसाइट मात्रै होइन, पार्टीका धेरै काम व्यवस्थित हुन सकेका छैनन्,' उनले भने ।

    वेबसाइटको बायाँ साइटको 'बिल्डिङ' लिंक क्लिक गर्दा पार्टीको भव्य भवन देखिन्छ । तर गृहपृष्ठ उदेकलाग्दो छ ।

    केन्द्रीय नेताहरूको बायोडाटा राख्न खोजिएको छ तर त्यसमा तस्बिरबाहेक कुनै विवरण छैन । 'आकर्षक वेबसाइट बनाउने प्रयास गरिरहेकाले पुरानोलाई अपडेट नगरेको हो,' कार्यालयका सहसचिव प्रकाश शर्माले भने ।

    माओवादी र कांग्रेसको तुलनामा एमालेको वेबसाइट -सीपीएनयूएमएल डट ओआरजी) व्यवस्थित र आकर्षक छ । त्यहाँ १२ दिनअघिको अध्यक्ष झलनाथ खनालको पत्रकार सम्मेलनको समाचार पढ्न पाइन्छ । त्यसपछि उसले पनि अपडेट गरेको छैन ।

    एमालेले पार्टी इतिहास, नेतृत्व, ऐतिहासिक दस्तावेज र नीतिगत कार्यक्रम, प्रकाशनहरू वेबसाइटमा राख्ने तयारी गरेको छ । महासचिव एवं प्रचार विभाग इञ्चार्ज ईश्वर पोख्रेलले वेबसाइट छिट्टै व्यवस्थित र जानकारीमूलक गराउने बताए । 'महाधिवेशनपछि व्यवस्थित हुन सकेको छैन,' उनले भने, 'अब छिट्टै व्यवस्थित हुनेछ ।'

    No comments:

    Post a Comment