• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 16, 2009

    नेपाली नागरिकता अब अंग्रेजीमा पनि

    किरण पुन, काठमाडौ, साउन १, गृह मन्त्रालयले परिवर्तित नयाँ स्वरुपको नेपाली नागरिकता असोज पहिलो साता बाँड्न थाल्ने भएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका नयाँ स्वरुपको नागरिकताको आकार केही ठूलो हुनेछ।

    कानुन मन्त्रालयबाट सम्पादन भएर आइसकेको नागरिकताको नमुना राजपत्रमा छापिएपछि गृहले नागरिकता दिन थाल्ने छ।

    'हाम्रो तर्फंबाट तयारी पूरा हुँदैछ,' गृहमन्त्रालयका प्रवक्ता नवीनकुमार घिमिरेले नागरिकसित भने, 'आशा गरौं, असोजदेखि तपाईंहरुले पाउनु हुनेछ।'

    '१ असोजदेखि नागरिकता वितरण गर्ने हाम्रो प्रस्ताव हो,' गृहमन्त्रालयका एक अधिकृतले भने। उनले पहिलो साताबाट हुने दाबी गरे।

    प्रवक्ता घिमिरेका अनुसार विद्युतीय प्रविधिबाट नागरिकता दिने प्रक्रिया थाल्ने गृहले प्रस्ताव गरेको छ। त्यसो भएमा बिजुली भएको ठाउँमा बिजुली र नभएको ठाउँमा जेनेटरको माध्यमबाट नागरिकता वितरण गरिने छ।

    'नागरिकता दिने सफ्टवेयर तयार भइसकेको छ,' उनले भने। गृहमन्त्री भीम रावलको सिफारिसमा गृहले तयार पारेको नागरिकताको नमूना कानुन मन्त्रालयलाई सम्पादनका लागि पठाइएको थियो। नमूना सम्पादन भएर आइसकेको प्रवक्ता घिमिरेले बताए। सम्पादन गरिएको नागरिकताको नमूना राजपत्रमा अंकित भएपछि वितरण सुरु हुने छ।

    यसअघिको नागरिकता भन्दा यसको साइज केही ठूलो हुने छ। २००९ मा आएको नागरिकता ऐन क्रमशः २०२० र २०६३ मा संशोधन भएको छ। थालनीमा बडाहाकिमले नागरिकता हातले लेखेर दिन्थे। २०४५ सालसम्म पहाडी कागजमा लेखिएको नीलो रंगको बाक्लो कभर भएको सानो बुकलेट जस्तो नागरिकता दिने प्रचलन थियो।

    नयाँ स्वरुपको नागरिकतामा दुईवटा फोटो टाँसिने छ। फोटोको आकार २.५×३ सेन्टीमिटरको हुने छ।

    नयाँ नागरिकतामा लिंग पनि लेखिने छ। तर कुन लिंग भन्ने विषयमा भने बाँकी खाली राखिएको छ।

    हालसम्म कास्कीबाट एकजनाले तेस्रो लिंगी भनेर विष्णु अधिकारीले लिएकी छन्। उनले आफूलाई तेस्रो लिंगी भनेर दाबी गरेकी छिन्। सर्वोच्च अदालतले दिने भने पनि कानुनी वितरण गरेको छैन। महिला र पुरुषबाहेकलाई 'उभयलिंग' राख्ने कि भनेर गृहमन्त्रालयले प्रस्ताव गर्ने भएको छ।

    'अहिले खाली राख्दैछौं। हामीले उभयलिंगी भनेर प्रस्ताव गर्दैछौंं,' गृहमन्त्रालयका एक अधिकृतले भने।

    वंशजको आधारमा दिइने नागरिकता र अंगीकृत नागरिकता स्पष्ट चिन्ने गरी बनाइएको छ। वंशज र जन्मको आधारमा के हो ? त्यो उल्लेख हुने छ। 'बैबाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र' 'अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र'को पछिल्तिर नागरिकता दिने निर्णय गरेको हो ? त्यो लेखिएको हुने छ।

    नयाँ नागरिकतामा नयाँ सूचनासमेत लेखिएको छ। नागरिकताको पछाडिपट्ट ि'यो प्रमाणपत्र कसैले फेला पार्नु भएमा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिनुहोला' लेखिएको छ।

    यसको साथै नागरिकता अंग्रेजी भाषामा पनि लेखिने छ। यसका लागि नागरिकता लिने व्यक्तिले आवेदन फारममा नै स्पष्टरुपमा लेख्नुपर्ने छ। क्यापिटल लेटरमा नाम, इस्वी सम्वत्मा जन्ममिति लगायतका जानकारी लेख्नुपर्ने छ।

    नेपाली भाषामा मात्र लेखिएको नागरिकताले समस्या पार्दैआएको थियो। खासगरी राहदानी नचाहिने भारत जाने नेपाली र चीन सीमाक्षेत्रमा यस्तो समस्या देखिदैआएको थियो। त्यसलाई हल गर्न भारतस्थित नेपाली राजदूतले पटकपटक अंग्रेजीमा राख्न आग्रह गर्दैआएका थिए।

    'भारतमा नेपालीलाई अग्रेजीमै नभएको कारण नेपालीलाई ह्यारेसमेन्ट भयो। अंग्रेजीमा भए सजिलो हुन्थ्यो भनेर राजदूत दुर्गेशमान सिंहले पटकपट भन्नुभएको रहेछ,' गृहमन्त्रालयका एक अधिकृतले भने।

    नेपाली नागरिकता सम्मानार्थ, अंगीकृत, बैबाहिक अंगीकृत, जन्म र वंशजको आधारमा नागरिकता दिने प्रचलन छ। सम्मानार्थ नागरिकता अहिलेसम्म एडमण्ड हिलारीलाई मात्र दिइएको छ।

    No comments:

    Post a Comment