• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 18, 2009

    सार्नुपर्छ राजधानी

    सुदर्शन प्रधान

    वास्तवमा राजनीतिक केन्द्र हुने राजधानी भनेको औद्योगिक केन्द्र बन्नुहुँदैन । काठमाडौं भने बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रले भरिएको छ । यसले गर्दा काठमाडौंमा घना आवादी भयो । उद्योग र आवादीका कारण उपत्यकाको वातावरण विनाश भयो । काठमाडौं शिक्षा र स्वास्थ्यको केन्द्र पनि बनेकाले आवादी बढेको हो ।

    राजधानीका चौडा सडक र घरवरपर बोटबिरूवाले ढाकिनुपर्छ, जसले स्वच्छ हावा र सन्तुलित तापक्रमको ग्यारेन्टी दिन्छ । राजधानी भनेको त घना आवादीस्थल नै हुने हो, जहाँ जल र ढल व्यवस्थित हुनुपर्छ । काठमाडौंका नदीको मृत्यु भएको छ भने ढलको बिजोग हेर्नै नसक्ने भएको छ । अतः नयाँ राजधानीले खोला, नदी र ताल-तलैयालाई हत्या गर्नुहुँदैन । त्यहाँ फोहोर-मैलाको पुनपर््रयोग गर्ने र त्यसबाट इन्धन निर्माण गर्ने व्यवस्था हुनुपर्छ, घातक र खर्चिलो डम्पिङसाइट बनाउनुको तुक छैन ।

    अब काठमाडौंलाई पर्यटनकेन्द्र, शैक्षिककेन्द्र र स्वास्थ्यकेन्द्र बनाउनुपर्छ र यसलाई आराम गर्न दिनुपर्छ । यहाँको औद्योगिक केन्द्रलाई पनि देशका विभिन्न ठाउँमा सार्नुपर्छ । अत्यन्तै उर्वरभूमि भएको काठमाडांै उपत्यकालाई खेतीयोग्य भूमि बनाई पहाडमा बस्ती विस्तार गरिनुपथ्र्यो, तर यहाँ उल्टो भइरहेछ ।

    यस्ता समस्या हेर्दा राजधानीका लागि आवश्यक आधारका बारेमा ठोस प्रस्ताव राख्न सकिन्छ । ती आधार हुन् ः पहिलो, राजधानी स्वच्छ र स्वस्थ वातावरण र सबै भू-भागका जनतालाई पायक पर्ने ठाउँ हुनुपर्छ । दोस्रो, यो सामरिक दृष्टिले सुरक्षित हुनुपर्छ । युद्ध भएमा फौजी आक्रमणबाट बच्न सक्ने स्थानमा हुनुपर्छ राजधानी । धेरै घर बनाउन 'बन्जर' जमिन बेसी भएको भू-भागमा राजधानी हुनुपर्छ । चौथो, यो पानी, बिजुली र सडकका पर्याप्त सुविधा दिन सक्ने ठाउँमा हुनुपर्छ । पाँचौँ, नजिकै अन्तर्राष्ट्रिय हवाईमैदान भएको ठाउँ भए अझ राम्रो ।

    यी आधारलाई ध्यानमा राखेर हेर्दा पृथ्वीराजमार्गको नजिक, मुग्लिङबाट २२-२४ किमि पश्चिममा मस्र्याङ्दी नदीपारि गोर्खा जिल्लास्थित च्याङलिङ राजधानीका लागि सबैभन्दा उपयुक्त स्थल हुन सक्छ । त्यहाँ एउटा विशाल फाँट छ, जुन खेतीका दृष्टिले चितवनको तुलनामा कम उपयोगी छ । विमलनगर, सतीघात, विरौटामा ३/४ वटा पक्की पुल मस्र्याङ्दीमा बनाइयो भने यो तनहुँको बन्दीपुर र भानु गाविससँग जोडिन्छ । भानु गाविसको भन्सार नाइसटारमा अर्को ठूलो समथर भूभाग पनि छ, जहाँ अन्तर्राष्ट्रिय हवाईमैदान बनाउन सकिन्छ । ठुल्ठूला पहाडले घेरिएको सो ठाउँ सामरिक रूपले पनि सुरक्षित छ । हरियो जंगल, स्वच्छ वातावरण, मस्र्याङ्दी नदी भएको सो क्षेत्रबाट मनास्लु, गणेश र अन्नपूर्ण हिमशंृखला देख्न सकिन्छ ।

    चितवन भौगोलिक रूपले देशभरिकै जनताका लागि केन्द्र हो, यसमा दुईमत छैन । तर, चितवन सामरिक रूपले भने कमजोर छ । यो नेपाल-भारत सिमानाबाट २-३ मिनेटमा प्लेनको दूरीमा छ । अन्नको भणडार मानिने त्यस जिल्लालाई राजधानी बनाइएमा उर्वरभूमि नासिनेछ ।

    राजधानी बनाउनका लागि दोस्रो उपयुक्त स्थल हुन सक्छ लेखनाथ नगरपालिका । विशाल समथर भूमि, बेगनास र रूपा ताल र निर्माणाधीन अन्तर्राष्ट्रिय हवाईमैदान त्यसका विशेषता हुन् । सामरिक दृष्टिले पनि उपयुक्त रहेको यो ठाउँ मुलुकको केन्द्रस्थलमै पर्छ ।

    दुई सय ३८ वर्षको शाही राजतन्त्रलाई बिदा दिइसकेको छ, अब त्यसका नराम्रा विरासतलाई पनि बिदा दिने वेला आइसकेको छ । लामो समयदेखि राजतन्त्रद्वारा राजधानी बनाइएको काठमाडौंको यो हैसियतका बारेमा पुनर्विचार गरी ठोस निर्णय गर्ने उचित वेला यही हो । अतः अबको नयाँ पुस्ताले काठमाडौंको सुन्दरतालाई बचाउन अर्को ऐतिहासिक नयाँ कदम चाल्नुपर्छ, त्यो कदम हो ः राजधानी काठमाडौंबाट बाहिर सार्ने !

    (प्रधान नेपाल पर्यावरण संरक्षण तथा सम्बर्धन संघका संस्थापक संयोजक हुन्)

    No comments:

    Post a Comment